परिशिष्ट
हामी गोर्कीको ‘आमा’ उपन्यासका पात्रहरूका लागि अत्यन्त कठोर समयमा उनीहरूसँग बिदा हुन्छौँ । पाभेल भ्लासोभ हजारौँ किलोभिाटर टाढा सधैँका लागि साइबेरिया निर्वासित हुन्छ र उसकी आमा पेलागेया निलोभ्ना त्यही सुटकेससँगै, जसमा अदालतमा पाभेलले गरेको भाषण छापिएका गैर कानुनी पर्चाहरू राखिएका थिए, राजनीतिक पुलिसको हात पर्छिन् । पुलिसहरू तिनको अपमान गर्छन्, मारपिट गर्छन् तर आमा आफ्ना वरिपरि जम्मा भएका मानिसहरूलाई जीवनका सच्चाइ बताउने मौका चुकाउँदिनन् । तिनी आफ्ना हत्याराहरूलाई भन्छिन् –

“रगतको खोलाले पनि सच्चाइलाई डुबाउन सक्दैन… ए उल्लूहरू, तिमीहरू जति बढी अत्याचार गर्दै जान्छौ, हाम्रो घृणा पनि त्यत्तिकै बढ्दै जानेछ !”

गोर्कीको उपन्यासका मुख्य पात्रहरूका मूल प्रतिरूपहरू – प्योत्र जालोमाभ र उसकी आमा आन्ना किरोलोभ्नाको बाँकी जीवन कसरी बित्यो त ?

प्योत्र जालोमाभ अझ धेरै वर्ष बाँचे र सन् १९५५ मा ७८ वर्षको उमेरमा मृत्यु भयो । उनकी आमा आन्ना किरोलोभ्ना पनि धेरै वर्षसम्म बाँचिन् । तिनीबारे गोर्कीले लेखेका थिए – “… सोरमोभोमा मे दिवसको उपलक्ष्यमा जुलुस निकालेवापत् सन् १९०२ मा सजाय पाएका प्योत्र जालोमोभकी आमाकै प्रतिरूप पेलागेया निलोभ्ना हो । तिनी गोप्य सङ्गठनहरूमा काम गर्थिन् र सन्यासिनीको भेषमा गोप्य पत्रपत्रिकाहरू बाँड्ने गर्थिन् … ।”

सन् १८४९ मा एक सार्की परिवारमा आन्ना किरिलोभ्नाको जन्म भएको थियो । तिनले धेरै कठिन जीवन बिताउनु परेको थियो । पतिको मृत्युपछि त तिनको जीवन अझ धेरै कठिन हुन गयो । बच्चाहरू सात जना थिए, तिनी तथाकथित बिधुवा घरको अँध्यारो चिसो छिँडीमा बस्थिन् । आमाको दृढता र परिश्रमले मात्र परिवार बच्न सक्यो । केटाकेटीहरू बिस्तारै बिस्तारै हुर्किन थाले । ठुलाहरू काम काम गर्थे, सानाहरू पढ्थे । प्योत्र क्रान्तिकारी मण्डलीमा भर्ना भए र “हाम्रो जीवनमा ताजा फुर्तिलो हावाको झोक्का आयो” – प्योत्रकी बहिनी भारभरा जालोमोभा पछि गएर आफ्ना संस्मरणमा लेख्छिन् । छिटै पूरा जालोमोभ परिवारले क्रान्तिकारी आन्दोलनमा भाग लिन थाल्यो । अक्टोबर क्रान्तिपछि आन्ना किरोलोभ्ना आफ्ना केटाकेटीहरूसँग बस्न थालिन् – तिनी कहिले आफ्नी कान्छी छोरीसँग लेनिनग्रादमा बस्थिन् त कहिले सोरमोभोमा छोराहरूसँग ।

छोटो कदको यी बूढी महिला अत्यन्त सजीव थिइन् र मुस्कान पनि त्यतिकै मधुर थियो । तिनका फुलेका केश पुरानो छाँटको लेसवाल कालो रुमालले ढाकिएको हुन्थ्यो । लेनिनग्रादको उरी चक्की फैक्ट्रीमा मजदुर नारीहरू, निझ्नी नोम्गोरोदका स्कुले छात्रहरू, सोरमोभोका मजदुरहरू र ती सबै मान्छेहरू, जसले तिनलाई देखेका र सुनेका थिए, सबैको हृदयमा आन्ना किरोलोभ्नाको यही चित्र सदाका लागि अङ्कित थियो । तिनी अत्यन्त सिधासादा र सरल तरिकाले अतीतबारे, आफ्नो क्रान्तिकारी कामबारे, आफ्नो छोराबारे चर्चा गर्थिन् … ।

सन् १९३८ मा आन्ना किरिलोभ्नाको देहावसान भयो ।

आउनोस्, अब प्योत्र जालोमाभोतिर फर्कौँ । जारशाही अदालतको फैसलाअनुसार प्योत्र जालोमोभ सन् १९०३ मा साइबेरिया निर्वासित भए । एक वर्षसम्म पैदल हिँडिसकेपछि उनी येनीसेई नदीको किनारमा पुगे र क्रास्नायस्र्कबाट तीन सय किलोमिटर टाढा रहेको माक्लाकोभ्का नामक एक सानो बस्तीमा बसोबास गरे । “निर्वासनमा दुई वर्ष बिताएँ । स्थानीय किसानहरूबिच प्रचार कार्य गर्न थालेँ । जिल्लाका मुन्सी र उनका दुई जना सहायकहरूलाई आफ्नो प्रभाव क्षेत्रभित्र पारेँ । आलेक्सेइ माक्सिमोभिच गोर्की मलाई हरेक महिना जुन आठ रुबल पठाउने गर्नुहुन्थ्यो । त्यो पैसा थानेदारले खान्थ्यो । म भोक भोकै रहन्थेँ र मलाई रक्त रोग लाग्यो … ।” – प्योत्र जालोमोभले पछि गएर आफ्नो संस्मरणमा लेखेका थिए ।

सन् १९०४ को मार्च महिनाको एक उज्यालो बिहानी प्योत्रको जीवनको अत्यन्त सुखद दिनहरूमध्ये एक बन्यो । उनी आफ्नो सानो कोठामा स्कीज बनाउँदै थिए । “मेरो मुटु शान्त थियो … एक्कासि ढोका खुल्यो । हजारौँ किलोमिटर पार गरेर जोजेफिना मकहाँ आएकी थिइन् । तिनले लोखर्केको छालाले बनेको पुरानो कोट लगाएकी थिइन् । जाडाले तिनका गाला राताराता भएका थिए ।”

यी दुई क्रान्तिकारीहरूको प्रेम मार्ग पनि अत्यन्त कठोर थियो । मास्कोबासिन अध्यापिका जोजेफिना गासेर (जो फ्रान्सेली जातिकी थिइन्)सँग प्योत्रले सन् १९०१ मा चिनापर्ची गरेका थिए । मजदुर बौठकहरूमा, सभाहरूमा, निझ्नी जोभ्गोरोदका सडकहरूमा उनीहरूको भेट हुन्थ्यो तर आफ्नो प्रणय भावना उनीहरूले सधैँ लुकाएर राख्ने गरेका थिए । हो, जब प्योत्र जालोमोभ गिरफ्तार भएर बुतिस्र्काया जेलमा आफ्नो भाग्य निर्णयको प्रतीक्षा गर्दै थिए, तब जोजेफिना भावी पत्नीका रूपमा आन्ना किरिलोभ्यानसँगै उसलाई भेट्न आएकी थिइन् ।

गोर्कीको सहायताद्वारा जोलोमोभलाई साइबेरियाबाट भागने बन्दोबस्त मिलाइयो ।

उनले पिटर्सवर्गमा गोप्य बोल्सेभिक सङ्गठनमा काम थाले र सन् १९०५ को क्रान्ति कालमा हतियार बन्द मजदुर टुकडीहरूको सङ्गठनमा भाग लिए ।

गोर्कीसँग प्योत्र जालोमोभको पहिलो भेट सन् १९०५ को गर्मीमा पिटर्सवर्गको नजिकैको कुओकाला भन्ने ठाउँमा भयो । यहाँ गोर्कीको देहाती बङ्गला थियो ।

भावी उपन्यासका लेखक र भावी पाभेल भ्यालासोभका मूल प्रतिरूप धेरै वर्षदेखि एक–दोस्रासँग परिचित थिए, तर मात्र पत्र व्यवहारद्वारा । सोरमोभोको मे दिवसभन्दा अगाडि नै गोर्कीले जालोमोभसँग भेट्न खोजेका थिए । तर प्योत्रलाई डर थियो कहीँ यस भेटले हानि पुर्‍याउने त होइन किनभने उनको नाम पुलिसको कालो सूचीमा परिसकेको थियो र राजनीतिक पुलिसले क्रान्तिकारी लेखकलाई बदनाम गर्ने कुनै पनि मौका हातबाट जान दिँदैन भन्ने कुरा पनि उनलाई थाहा थियो । पहिलो मेको जुलुस रत्यसका नेताहरूको गिरफ्तारीपछि गोर्कीलाई जालोमोभ र उनका साथीहरूबारे ठुलो चिन्ता पर्‍यो । प्योत्रकी आमा आन्ना जालोमोभमार्फत् उनले आफ्ना मातृ सहरका बासिन्दाहरू, निझ्नी नोभ्गोरोदवासीहरूलाई मद्दत पुर्‍याउने आश्वासन पठाए । गोर्कीले प्योत्रको खर्चका लागि हरेक महिना आठ रुबलका दरले साइबेरिया पठाउन कहिल्यै बिर्सेनन् र जब उनले जालोमोभको पारिवारिक कठिनाइहरूबारे थाहा पाए, दुईगुणचा रकम पठाउन थाले । अन्त्यमा त्यहाँबाट भाग्नका लागि तीन सय रुबल पठाए ।
यस प्रकारले निर्वासित जालोमोभ साइबेरियाबाट भागेर पिटर्सबर्ग आइपुगे । उनी सबैभन्दा पहिले गोर्कीलाई नै भेट्न गए ।

कहीँ जासुसहरू त पछि लागेका छैनन् भन्ने विचारले उनी स्टेसनसम्म गएनन् र अगाडि नै ट्रेनबाट ओर्ले र जङ्गलको बाटो समाते । बङ्गलाको ढोकाअगाडि पुगेपछि उनले चोकमा फोटोबाट अघिदेखि नै राम्ररी परिचित भएको अग्लो, दुब्लो पातलो व्यक्तिलाई देखे ।
“ओलेक्सेइ माक्सिमोभिच … ! – प्योत्रले डाके र आफ्नो नाम बताए । गोर्की मुस्कुराउँदै उसतिर बढे । एकै सहरमा जन्मेका दुई व्यक्तिले बडो प्रेमपूर्व अँगालो मारे । गोर्कीले रमाउँदै जालोमोभलाई टाउकोदेखि खुट्टासम्म हेरे र भने –

“ए त्यसो भए यस्तो पो हुनुहुँदो रहेछ तपाई !”

केही बेरपछि दुवै जना आरामसाथ मेचमा बसे र बिस्तारपूर्वक कुराकानी सुरु गरे । गोर्कीलाई लेखकको व्यावसायिक कुशलताअनुसार प्योत्रको जीवनी, आमाबाबु, क्रान्तिकारी काम र सोरमोभोको जुलुसबारे सोधपुछ गरे । मजदुर प्रचारले बडो कामकाजी तरिकाले सबै तथ्यहरू बताए, आफ्नो मानसिक स्थितिबारे कमै चर्चा गरे, आफ्ना सपनाहरूबारे केही उल्लेख गरेनन् । यो भेट बडो मधुर र स्नेहपूर्ण थियो र उनीहरूले फेरि भेटघाट गर्ने निर्णय गरे । यसैताका गोर्कीले आफ्ना एक मित्रलाई प्योत्रबारे लेखेका थिए –

“मकहाँ एक जना सोरमोभोबासी आउने गर्छ । कस्तो गजबको युवक छ त !”

प्योत्रले एकपछि अर्को पार्टीका कैयौँ उत्तरदायित्वपूर्ण कामहरू पूरा गरे ।

“मास्कोका मलाई हतियारबन्द मजदुर टुकडीहरूको सङ्गठन गर्ने काम सुम्पियो । मास्कोको सशस्त्र विद्रोह सुरु हुनुभन्दा केहीअगाडि पत्नी जोजेफिना एडबर्डोभ्नासँग मिलेर बमका खोलहरू बनाउने गर्थ्यो । तिनी हालसालै मात्र दश महिनाकी छोरी लिएर साइबेरियाबाट आएकी थिइन्, विद्रोहको बेला मोर्चा बन्दी लडाइँमा भाग लिएँ । सन् १९०६ को गर्मीतिर मुखबाट रगत आउन थालेको र एकदम कमजोर भएकाले गोप्य काम छाड्न बाध्य भएँ ।”

गोप्य काम छाडेर जालोमोभ राजधानी गए । निझ्नी नोभ्गोरोदका कालिगड प्योत्र जालोसोभले आफ्नो परिवारसहित कुस्र्क गुबेर्नियाको एक सानो सहर सूद्जमा बसोबास गर्न थाले ।

सुद्जको जीवन प्योत्रका लागि वास्तवमा दोस्रो निर्वासन नै थियो । उनलाई सहरबाट बाहिर जाने र कहीँ पनि काम गर्ने अनुमति थिएन । पुलिसले उनका प्रत्येक गतिविधिमाथि कडा दृष्टि राखेको थियो । भोक, जेल र निर्वासनका यातनाहरूले जर्जर भैसकेको जालोमोभको स्वास्थ्य यी वर्षहरूमा अरू बिग्रन थाल्यो । पत्नी जाजेफिना एडबार्डोभ्ना सूद्ज हाइस्कूलमा पढाउने काम गर्थिन् र तिनकै वेतनले परिवारको खर्च चल्थ्यो । यस समयबारे स्वयम् जालोमोभले लेखेका थिए – “सन् ९१७ को फेब्रुअरी क्रान्तिसम्म जासुसहरू र राजनीतिक पुलिसले ममाथि गोप्य रूपमा कडा निगरानी राख्न छाडेनन् र म खालि एक्लादुक्ला किसानहरूसँग मात्र काम गर्न सक्थेँ ।”

सन् १९१७ को फेब्रुअरी क्रान्ति पनि आइपुग्यो र त्यसपछि अक्टोबर क्रान्तिको गुञ्जन सुनियो । सोरमोभका यस सेनानी, साहसी क्रान्तिकारी फेरि सङ्घर्षको मैदानमा उत्रे । पहिलो आमसभामा नै जालोमोभले एक जोडदार भाषण गरे, सभामा जम्मा भएका किसान तथा कालिगडहरूसमक्ष पिटर्सबर्गमा घटेका सबै घटनाहरू स्पष्ट रूपमा अगाडि राखिदिए ।

आफ्नो भाइ अलेक्सान्दरको नाममा लेखिएको एक पत्रमा प्योत्र जालोमोभले क्रान्ति र गृहयुद्ध कालको जीवनबारे यस्तो सजीव वर्णन गरेका छन् –

“… सन् १९१७ मा मैले जिल्लामा सेभियत सत्ताको स्थापना–कार्यमा भाग लिएँ… छिट्टै श्रम कमिसार छानिएँ ।

सुद्जमाथि ह्वाइट गार्डहरूले कब्जा गरेका बेला उनीहरूले मलाई धेरैपल्ट फाँसीमा लट्काउन खोजे, तर म तीनपल्ट उनीहरूको हातबाट फुत्कन सफल भएँ । अन्तिमपल्ट देनिकिनका सिपाहीहरूले मलाई गिरफ्तार गरे र फौजी अदालतमा ममाथि मुद्दा चलाइयो । जेलर मेरो हाँसो उडाउँथ्यो र हरेक दिनजस्तो मलाई फाँसी दिने अथवा गोलीले उडाउने धम्की दिन्थ्यो … लालसेना आइनपुगेको भए बाँकी पनि राख्दैनथे होलान् ।”

लालसेनाले जालोमोभलाई मृत्युबाट बचायो । तर, शरीर एकदम क्षीण भैसकेको थियो – अब राम्ररी उपचार गराउने आवश्यकता थियो । जालोमोभ मास्को गए र धेरै दिनसम्म अस्पतालमा बसे । अब उनी बिस्तारै स्वस्थ हुन थाले । पुराना मैत्री सम्बन्धहरू फेरि कायम भए (प्रसिद्ध क्रान्तिकारी, लेनिनवादी ग्लेब क्रिजिजानोभ्स्कीको परिवारसँग) र गोर्कीको नायकको जीवनले एक नयाँ मोड लियो ।

जन्मजात प्रचारक प्योत्र जालोमोभले किसानहरूबिच धेरै प्रचार कार्य गरे – उनी किसानहरूलाई समाचारपत्रहरू पढेर सुनाउने गर्थे । दहातमा बस्ने मान्छेहरूलाई सोभियत सरकारको नीति, सरकारका नयाँ आज्ञाप्तिहरू र निर्णयहरू सिधासादा र स्पष्ट तरिकाले बुझाउँथे ।

सामूहिक फारम आन्दोलन सुरु भएपछि प्योत्रले सूद्जका किसानहरूलाई मिलाएर ‘लाल अक्टोबर’ फारम खोले । धेरै वर्षसम्म उनले यस फारमको अध्यक्ष र पछि गएर प्रबन्ध समितिको सदस्यका रूपमा काम गरे ।

कडा बिरामी र डाक्टरहरूको मनाहीको विपरीत प्योत्र जालोमोभले आफ्नो काम जारी राख्न छाडेनन् । उनको आफ्नो क्रान्तिकारी यौवन र गोर्कीसँगका भेटघाटबारे संस्मरण लेखे, गोर्कीको ‘आमा’ उपन्यासका पाठहरूसँग पत्र व्यवहार गर्दै रहे । आफ्ना मित्रहरू – क्रिजियानोभ्स्की परिवारलाई लेखिएको एक पत्रमा जालोमोभले यसरी आफ्नो जीवन दृष्टिकोण व्यक्त गरेका थिए – “मेरा विचारमा दास त्यो व्यक्ति हो, जो आफ्नो दयनीय जीवन बदल्न छटपटाउँदैन । जसले स्वतन्त्रताका लागि सङ्घर्ष गर्ने निर्णय गर्छ, ऊ स्वतन्त्र व्यक्ति बनिसकेको हुन्छ, चाहे उसको हातमा हतकडी नै किन नलागेको होस् । म चाहन्नँ, दासहरूको अस्तित्व रहोस् । मलाई दासहरू मन पर्दैनन् । म सङ्घर्षकर्ताहरूलाई मन पराउँछु । म त्यस्ता व्यक्तिहरूलाई मन पराउँछु, जसमा स्वतन्त्र व्यक्तिको साहस छ ।”

प्योत्र जालोमोभ क्रान्तिको एक साधारण सैनिक थिए । आफ्नो समयमा उनले गोर्कीलाई मोहित तुल्याएका थिए र उनको दृढता र नैतिक स्वच्छताले आज पनि हामीलाई मुग्ध तुल्याउँछन् । उनको व्यक्तित्व, उनको जीवनी र उनको भाग्यमा बिसौँ शताब्दीको सजग रुसी मजदुरका श्रेष्ठतम गुणहरू प्रतिबिम्बित भएका छन् ।

सामूहिक फारम आन्दोलन सुरु भएपछि प्योत्रले सूद्जका किसानहरूलाई मिलाएर ‘लाल अक्टोबर’ फारम खोले । धेरै वर्षसम्म उनले यस फारमको अध्यक्ष र पछि गएर प्रबन्ध समितिको सदस्यका रूपमा काम गरे ।

कडा बिरामी र डाक्टरहरूको मनाहीको विपरीत प्योत्र जालोमोभले आफ्नो काम जारी राख्न छाडेनन् । उनको आफ्नो क्रान्तिकारी यौवन र गोर्कीसँगका भेटघाटबारे संस्मरण लेखे, गोर्कीको ‘आमा’ उपन्यासका पाठहरूसँग पत्र व्यवहार गर्दै रहे । आफ्ना मित्रहरू – क्रिजियानोभ्स्की परिवारलाई लेखिएको एक पत्रमा जालोमोभले यसरी आफ्नो जीवन दृष्टिकोण व्यक्त गरेका थिए – “मेरा विचारमा दास त्यो व्यक्ति हो, जो आफ्नो दयनीय जीवन बदल्न छटपटाउँदैन । जसले स्वतन्त्रताका लागि सङ्घर्ष गर्ने निर्णय गर्छ, ऊ स्वतन्त्र व्यक्ति बनिसकेको हुन्छ, चाहे उसको हातमा हतकडी नै किन नलागेको होस् । म चाहन्नँ, दासहरूको अस्तित्व रहोस् । मलाई दासहरू मन पर्दैनन् । म सङ्घर्षकर्ताहरूलाई मन पराउँछु । म त्यस्ता व्यक्तिहरूलाई मन पराउँछु, जसमा स्वतन्त्र व्यक्तिको साहस छ ।”

प्योत्र जालोमोभ क्रान्तिको एक साधारण सैनिक थिए । आफ्नो समयमा उनले गोर्कीलाई मोहित तुल्याएका थिए र उनको दृढता र नैतिक स्वच्छताले आज पनि हामीलाई मुग्ध तुल्याउँछन् । उनको व्यक्तित्व, उनको जीवनी र उनको भाग्यमा बिसौँ शताब्दीको सजग रुसी मजदुरका श्रेष्ठतम गुणहरू प्रतिबिम्बित भएका छन् ।