कहिलेकाहीँ
सपनामा
कति राम्रा कविता देख्ने गर्छु
बिहान उठेपछि प्रायः सबै
हराएर जान्छ

सधैँ पछि लाग्छु
भेटाउन खोज्छु
सधैँ झैँ केही
अंश हात लाग्छ
र फेरि,
तड्पिन बाध्य हुन्छु

हिजाे राति देखेको
कविताका केही अंश यस्ताे भेटियाे
ठूलो बतासमा
म चारैतिर रूमल्लिरहेको हुन्छु
मेरी बूढी आमाको
स्वर
ममा ठोकिन्छ
म तिम्राे आमा हुँ
अधिकारले बाेलेकी छु
तिम्राे महल बढिरहेकाे छ छोरा
तर
बिस्तारै सानाे तिमी,
भैरहेका छौ..

अर्को अंशमा
तिम्रा अनगिन्ति अघोषित आमाहरु
तिमीलाई सम्झदै गर्दा
वास्तविक आमाकाे आशीर्वाद
भने लिन नभुल ल…

क्रमशः अर्को अंश हुन्छ
तिमीले संसार नापी रहँदा
देशको पुरानो जमिन
नाप्नु पर्नेछ एकदिन
नभुल्नु ल..

कति मेरा
यस्तै अरु अंशहरु
आँखा मिच्दै गर्दा
मिचिएर जान्छन्
बिहान, सधैँजसो

मेरो प्रयास
आफैँलाई
भेट्ने कोसिसमा रहन्छ
तर पनि
कविताकाे पुरै अंश जस्तै
आफूलाई भेट्न
असफल रहन्छु
कहिलेकाहीँ त
कहिल्यै भेट्न सक्नेछु
.. लाग्दैन् !

साँच्चै,
मेरा कति कविताहरु
सपनामै मर्ने गर्छन्
कति मानिसका
“सपनाहरु जस्तै”

तर
फेरि पनि
सधैँ कतै देखिरहेकाे हुन्छु
मेराे देशकाे नक्शा र मेरी आमालाई
उस्तै मन लिएर मेराे कवितामा
सधैँ
उभिरहेका हुन्छन्
ती सबै कविताका हरफहरु
बिर्सिए पनी
कविताका मुख्य यी दुई पात्र
मेरा हर सपनापछि पनि
भेटिरहन्छन्

पुरै अंशमा !!