प्रीति आत्रेय ज्ञवाली

 

प्रीति आत्रेय ज्ञवाली

समयको चक्र घुमिराख्छ
चर्खाझैँ चलिराख्छ
आज सन्तान भएकी तिमी
आफैँ सन्तानकी आमा हुन्छ्यौ
जसरी म भएकी थिएँ

भन्दै आमा भन्ने
म कुरा सुन्ने

कतिपय कुराहरू
शैक्षिक र व्यावहारिक कुराले
सिकिईँदैन छोरी
समय आएपछि
आफैँ सिक्दै जानेछ्यौ

जसरी मैले सिकेँ समय सँगसँगै
केही अघटित र अकथित कुराहरू
परिबन्दले सिकाउँछ अपठित कुराहरू

हो आमा !
तिमी सही थियौ र छ्यौ
तिमीले जस्तै मैले पनि
अपठित अलिखित र अकथित
कुराहरूको सामना गर्न पुगेँ जीवनमा
र स्वत: समयअनुसार परिपक्व हुँदै गएँ

तिमीले सिकेको सिकाइ
भिन्न थियो
मैले सिकेको सिकाइ भन्दा
अहिले मेरा सन्ततिको सिकाइ
नितान्त भिन्न छ मेरो भन्दा

जति नै भिन्न भए पनि
तिनका सिकाइहरू
फरक भएन ममतामा
फरक भएन संस्कारमा

संस्कार भने एकै छन्
माया पनि उस्तै छन्
व्यवहारी हुन खोज्छन्
समाजमा घुल्न खोज्दैछन्
देश अनुसारको भेष
कपाल गुनाको केश भनेझैँ
समय र परिस्थिति अनुरूप
आफ्नो मूल्य र मान्यताको ख्याल राख्दै
आफ्नो परिधिमा रही
अघि बढ्न-हिँड्न खोज्दैछन्

अहिले म पनि
त्यही कुरा
आफ्ना सन्तानलाई भन्ने भएकी छु
जसरी तिमी भन्ने गर्थ्यौ
कहिलेकाहीँ कुनै कुरामा
प्रश्नको प्रत्युत्तरमा
मन खाली खाली हुँदा
झर्को लागेको बेलामा
पछि थाहा पाउँछ्यौ भनेर

म पनि त्यस्तै
हुन्छु किंकर्तव्यविमूढ
कहिलेकाहीँ हुँदै थकित
र तिमीलाई सम्झिँदै
दोहोर्याउँछु तिनै शब्दहरू
पछि थाहा पाउँछौ !

प्रीति आत्रेय ज्ञवाली