गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यवसायीहरूको प्रभु बैंक लि.मा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न सकिने भएको छ ।

हालै भएको सम्झौताअनुसार विभिन्न बैंक/वित्त तथा अन्य गेट–वेमार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन प्रभु बैंक लि. र गण्डकी ट्याक्सी व्यवसाय प्रा.लि.बीच बिहीबार एक सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौतामा प्रभु बैंक लि.का गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको विशेष उपस्थितिमा बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसाय प्रालिका तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरी उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । उक्त कार्यक्रममा फोन पेका तर्फबाट प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरूले ट्याक्सी चालकहरूसँग रहेको प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्युआरमार्फत् बिना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । गण्डकी ट्याक्सी व्यवसाय प्रालिमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकका तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको छ ।

निकट भविष्यमा अन्य ३५० भन्दा बढी चालकहरूलाई उपलब्ध गराइने कार्यक्रम रहेको छ । कार्यक्रममा बैंकका तर्फबाट ट्याक्सी चालकहरूका लागि क्युआर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरूको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्यूनीकरणका उपायहरू सम्बन्धमा झण्डै एक घण्टाको दृष्यचित्रसहित चेतनामूलक सामग्री प्रस्तुत गरिएको थियो ।

पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरू तथा ट्याक्सी व्यवसायीहरूसमेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।