एनएमबि बैंकले मिति २०७९ बैशाख ३ गते शनिबार हेरिटेज वाक सम्पन्न गर्यो ।

एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई वसन्तपुर डबलीसम्म पुगी समापन भएको नवौं हेरिटेज वाक कोभिड १९ को प्रकोपपश्चात २ वर्षपछि आयोजना गरिएको हो ।

समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा वसन्तपुर डबलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारण गरी लगभग ५०० जनाको सहभागिता रहेको थियो । सहभागीले प्ले कार्डसहित डबली क्षेत्रसम्म पुगेका थिए भने नेपाल हेरिटेज सोसाइटी तथा स्थानीय सिन्हा स्वान खलालाई बैंकले डस्टबिनहरू पनि हस्तान्तरण गरेको थियो ।

यस्तै कार्यक्रम प्रदेश १, २, ४,५,६ र ७ मा समेत आयोजन गरिएको छ । प्रदेश १ मा विराटनगर शाखादेखि पिण्डेश्वरी मन्दिर, मधेस प्रदेशमा वीरगञ्ज शाखादेखि गहवा माई मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि भद्रकाली मन्दिर, प्रदेश ५ मा ट्राफिक चोक शाखादेखि जीतगढी किल्ला र सुदूर पश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मन्दिरहरू सरसफाई गरेको छ ।

उक्त हेरिटेज वाकमा साँस्कृतिक सम्पदालाई आफ्ना सन्तानलाई जत्ति नै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु, साँस्कृतिक सम्पदा संरक्षण भावि सन्ततिको लागि मार्गदर्शन, अतिथिको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना, लगायतका नारा अंकित प्ले कार्डहरू प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर माइकल क्रोफ्ट लगायतले सम्पदा संरक्षणको महत्वबारे प्रकाश पार्नु भएको थियो भने एनएमबि बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले स्वागत मन्तव्य दिनु भएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सांस्कृतिक सम्पदा हाम्रो राष्ट्रको गौरव भएको र यसलाई संरक्षण गर्न हातेमालो गर्नु पर्नेमा जोड दिँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । यो द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।