दोहा, कतार । कतारमा काठमाडौं महानगरपालिकाको प्रमुख बालेनको नामबाट पनि रेष्टुरेन्टको खुलेको छ । कतारको मानवअधिकार आयोगका नेपाली प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाले रिबन काटेर भव्य उपस्थितिमा सो रेष्टुरेन्टको उद्घाटन गर्नु भएको हो ।
करीब एक दशकदेखि कतारमा कार्यरत भंगहा नगरपालिका, महोत्तरी निवासी गुल्जार साफी र उनका सहकर्मीहरूको सहकार्यमा खुलेको रेष्टुरेन्टको नाम ‘बालेन सिटी’ राखिएको छ । दोहाको अल साद मेट्रो स्टेसननजिक बालेन सिटी रेष्टुरेन्ट खुलेको हो ।
पर्याप्त पार्किङ र मेन सडकमा खुलेको यस रेष्टुरेन्टले खानाका पारखीहरुको चाहना पूरा गर्न सक्ने मियाले बताउनु भयो । ७ जनाले खान मिल्ने ५० थरीका खानाको परिकार समेटिएको बहुबली थाली सेट यहाँको मुख्य मेनुको रूपमा केवल ९९ कतारी रियालमा उपलब्ध रहेको सन्चालक एवं प्रोपाइटर गुलजारले बताए ।

कतारमा नेपालीहरुले रेष्टुरेन्ट व्यवसायलाई तीव्रता दिने कार्य दिनानुदिन बढ्दै गएको छ । दोहामा सन् १९९८ मा पहिलोपटक खुलेको ‘चितवन टाइगर टप रेष्टुरेन्ट’, ‘नेपाली भान्साघर’ हुँदै ‘बालेन सिटी’सम्म आइपुगेको छ ।
विगतमा खुलेका रेष्टुरेन्ट र आज खुलेको रेष्टुरेन्टमा भने निकै फरक छ । बालेनको चुलिएको लोकप्रियता यतिबेला नेपालमा मात्र नभइ खाडीको कतारसम्म पुगेको देखिएको छ । आरम्भमा १३ जना स्टाफबाट शुरु गरिएको रेष्टुरेन्टमा १०० भन्दा बढी परिकारका नेपाली, इन्डियन, अरेबिक, चाइनिज र फिलिपिनो खानाका परिकार उपलब्ध रहेको छ ।
उदघाटन कार्यक्रममा दोहाका प्रतिष्ठीत व्यवसायी तथा राष्ट्रिय मुस्लिम परिषदका अध्यक्ष असलम साफी, महासचीव आजाद मन्सुर, प्रवक्ता मौलाना गुलाम नबीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ फाल्गुन २०८२, सोमबार 









