हिजो राति १० बजेतिर ऊ हस्पिटलमा भर्ना भएकी थिई । भर्खर बेथाले छोएको थियो उसलाई त्यस बेला र रातभरि प्रसववेदनाले ऊ छटपटाइरही । दुईवटी नर्स, दुईवटी धाई र म व्यस्त थियौँ उसैका लागि । जति जति पीडा बढ्‌दै जान्थ्यो त्यति त्यति ऊ बडबडाउँथी, गाली गर्थी आफ्नो लोग्नेलाई ।

सतीश उसको लोग्ने नै थियो शायद, त्यसैले ऊ त्यही नाम लिँदै फोहोर गाली निकाल्थी मुखबाट र ‘ऐय्या ! मरें !’ चीत्कार गर्थी । उसलाई एउटा बेडमा उत्तानो पारेर सुताइएको थियो र नर्स र धाईहरूले उसका पाखुरा र गोडाहरू बलियो गरी समातेका थिए । ऊ प्रत्येक चीत्कारसितै जुरुक्क उठ्न खोज्थी र बन्धनबाट फुत्किन नसक्दा फेरि बडबडाउन लाग्थी – फोहोर गालीहरू ।

म सोच्नमा व्यस्त थिएँ – प्राकृतिक ढङ्ग अपनाउनुपर्ने हो कि !

उसको छटपटी र चीत्कारले मलाई झन् दोधारमा पारिरहेको थियो । नर्स र धाईहरू भने उसका गालीहरूले गर्दा शिर ठाडोसम्म पार्न नसकेर आ-आफ्ना पाखुराहरूमा टाउको लुकाएर बेडको चारैतिर उभिएका थिए उसलाई समातेर ।

म कुनै निष्कर्षमा पुग्न सकिनँ । सम्झें इमर्जेन्सीमा डा. श्रेष्ठ छन् भन्ने कुरा र उनको सल्लाह लिने विचारले नर्सहरूलाई झट्ट फर्किन्छु भन्ने सूचना दिएर सरासर इमर्जेन्सी वार्डतिर हान्निएँ । नभन्दै डा. श्रेष्ठ फुर्सदकै अवस्थामा फेला परे । सम्पूर्ण हिस्ट्री उहाँलाई सुनाएँ र हामी के गर्ने भन्ने विचारमा मात्र लागेका थियौँ, एउटी नर्स हतारिँदै मलाई बोलाउन आइपुगिन् ।

डा. श्रेष्ठ र म दुवै उनको पछि-पछि बिरामीको कोठातिर दगुर्यौं । डेलिभरी प्राकृतिक ढङ्गबाट हुन लागेको रहेछ । नर्स र धाईहरूलाई निर्देशन दिँदै म पनि उनीहरूसँगै जुटें । उसको तीखो चीत्कारसितै डेलिभरी सम्पन्न भयो । घडी हेरें, बिहानको सवा पाँच बजेको रहेछ । शिशुको नाल काटिदिएर म हातको पन्जा फुकाल्न मात्र लागेको थिएँ, ऊ एक्कासि डाको छोडेर रुन लागी ।

डा. श्रेष्ठ त्यस बेलासम्म मेरो पछिल्तिर उभिइरहेकै थिए । नर्स र धाईहरू पनि आ-आफ्नो काममा व्यस्त थिए । लामो यन्त्रणाबाट मुक्त भएपछि त्यस बेलाको यातना सम्झेर रुनु स्वाभाविक नै थियो र उसको रोदनप्रति उस्तो केही वास्ता नराखी म डा. श्रेष्ठसहित कोठाबाट बाहिर निस्कें र नजिकै रहेको आफ्नो कोठामा पसेर हात धुन लागें । डा. श्रेष्ठ सरासर आफ्नो कोठातिर गइसकेका थिए । एउटा सिरियस स्टेजमा पुगिसकेको केसबाट सजिलै निवृत्त हुन पाउँदा आफूलाई पनि आनन्द लागिरहेको थियो । हात धोइसकेर कुर्सीमा बसी चुरोट सल्काएर तान्न लागें ।

एकछिनअघिसम्म उसले गरिरहेका गालीहरू सम्झी-सम्झी मलाई हाँसो उठ्छ । सतीश नाम भएको कुनै मानिसको अनुहार कल्पना गर्न लाग्छु जसलाई उद्देश्य गरेर ऊ गाली गर्दथी । मेरा आँखामा कुनै पनि अनुहार बस्दैन । म सोच्छु को होला सतीश ? के ऊ उसको लोग्ने होइन होला ?

मभित्र कौतूहल बढ्दै जान्छ सतीश र उसको सम्बन्ध पत्तो लगाउने कौतूहल । म घण्टी बजाउँछु । एउटा पियन भित्र पस्छ । उसलाई बिरामीको केस-हिस्ट्री ल्याउन अराएर आफू फेरि तल्लीन हुन्छु सतीशको अनुहार खोज्नमा ।

एकछिनपछि पियन त्यस आइमाईको केस-हिस्ट्री लिएर मकहाँ आउँछ । उसको हातबाट फाइल लिएर म केही रहस्योद्घाटन गर्नुपरेझैँ त्यसलाई सरसरी हेर्दै जान्छु आइमाईको नाउँ शीला, उमेर २३ वर्ष, वतनको ठाउँ खाली छ र अभिभावकको नाउँको ठाउँ पनि खाली नै छ । त्यहाँ सतीशको नाम नदेख्दा मलाई च्वास्स कता कता घोच्छ । फाइल राखिदिन्छु । को होला सतीश ? कसलाई सोध्ने ? उसैलाई ? उसले भन्ली र ? म यिनै प्रश्नभित्र हराइरहन्छु ।

एक्कासि मेरो कोठाको ढोका उम्रिन्छ र एउटी नर्स हडबडाउँदै भित्र पस्छिन् । उनी आत्तिएकी हुन्छिन् र मतिर हेरेर डराई डराई भन्छिन्, “अनर्थ भयो सर ! तपाईं चाँडै हिँड्नोस् । उसले नानीको घाँटी च्यापेर मारिदिई !” आत्तिँदै म आफ्नो मेचबाट उठेर बिरामी भएतिर हान्निन्छु । नर्स मेरो पछि-पछि आइरहेकी हुन्छिन् । बिरामीको कोठामा पसेर देख्छु – शिशुलाई एउटी धाईले एउटा टावेलमा बेरेर लिइरहेकी हुन्छे । ऊ अर्थात् शीला मलाई देखेर पनि नदेखेझैँ ओछ्यानमा बसिरहेकी हुन्छे । म हतार-हतार शिशुलाई जाँच्छु, तर ऊ चिसो हिउँजस्तो भइसकेको फेला पर्छ । म अलमलमा पर्छु के गर्ने ?

नर्सतिर फर्केर झोक्किँदै सोध्छु, “कसरी हुन पायो ?”

नर्सलाई उछिन्दै एउटी धाई भन्न लागी, “नानी एक पल्ट देऊ, म हेर्छु भन्न लागिन् र उनलाई नानी दिएर म अरू काम गर्न लागें । एकछिनपछि ‘लेऊ तिमीहरूको नानी, मैले यसलाई मारिदिएँ…’ भन्दा पो म झस्कें र यसो हेर्छु त नानी चिसो भइसकेको थियो र सिस्टरलाई भनें ।”

म शीलातिर फेरि एक पल्ट हेर्छु । ऊप्रति एकाएक घृणाको बाढी नै उम्लेर आउँछ मेरो मनभरि । कस्ती राक्षस ! यस पल्ट भने ऊ अनुहारभरि सन्तोष लिएर मतिर हेरिरहेकी थिई एकोहोरो, मानौँ उसको भन्नु केही छैन । एउटी नर्सलाई डा. श्रेष्ठलाई बोलाउन पठाई म उसलाई प्रश्न गर्छु, “यो के गरेकी तिमीले ?”

मेरो प्रश्नमा ऊ कत्ति हच्किन्न र शान्त स्वरमा बिसाई-बिसाई भन्छे, “डाक्टर साहेब, यो पाप मैले नौ महिनासम्म पालें, अब पाल्न सक्दिनथें, त्यसैले मारिदिएँ । यसको बाबु सतीश थियो जो सात महिनादेखि बेपत्ता छ । म सँगसँगै यसलाई पनि कलङ्कित र हेय बनाएर राख्न चाहन्नथें । के दरकार त्यसले एउटा घृणित जिन्दगी बाँच्न ?”

यसैबीच डा. श्रेष्ठ आइपुग्छन् । म सबै वृत्तान्त उनलाई सुनाउँछु ।

किङ्कर्तव्यविमूढ भएर हामी मुखामुख गरिरहन्छौँ धेरै बेरसम्म । अन्त्यमा डा. श्रेष्ठ भन्छन्- “आफ्टर अल दिस इज ए मर्डर केस । सो वी मस्ट इनफर्म द पुलिस स्टेसन ।”

(हरिभक्त कटुवालको कथासंग्रह ‘स्पष्टीकरण’बाट)