छिस्स..,छिस्स..!

आफ्नै सुरमा कोठाभित्र खेलिरहेको एक वर्ष दुई महिनाको छोरालाई म आएको जनाउ दिएँ । छोराले पुलुक्क मलाई हेर्‍यो र खेल्दै गरेको गुडिया त्यतै छोडेर तोते बोलीमा ‘देद्दी..!’ भन्दै म भएतिर भर्खर हिंड्न सिकेका खुट्टा लडबडाउँदै आयो । छातीमा चिपिक्क टाँसें र कोमल ती दुवै गालामा चुम्बन गरें एकएक । गिजामा भर्खर उम्रिंदै गरेका सेता चार दाँत देखाउँदै फिसिक्क हाँस्यो छोरो । जुन हाँसोले मलाई फिदा मात्रै बनाएन बरु दिनभरीको थकाइ, भोक र प्यास मेटाइदियो त्यो बाल्य मुस्कानले ।

म कोठा आइपुग्दा अँध्यारो भइसकेको थियो । मैले मोबाइलमा समय हेरें बेलुकीको सवा सात बजिसकेछ ।

ढोकाबाटै कोठा नियालें । श्रीमतीजी खै के आफ्नै काममा व्यस्त छिन् । टिभीमा समाचार बजिरहेको छ आफ्नै सुरमा ।

‘खै त बाबु ?’ सानो छोरालाई अङ्गालोमा च्यापेर कुर्चिमा बस्दै श्रीमतीलाई प्रश्न गरें मैले ।

‘ञा खेल्दैछ ।’ आफ्नो कामलाई निरन्तरता दिंदै मलाई हेरेर श्रीमतीजी बोलिन् ।

म बोलेपछि मात्र थाहा पायो बाबुले ।

‘ड्या..डी..! मामुले मलाई हानिसो ।’ रुन्चे स्वरमा आफूले ममीबाट दिउँसो पाएको सजायको उजुरी गर्दै चार वर्ष पूरा गरेर पाँचमा हिंड्ने बाबु मैतिर आयो । खासमा जेठो छोरालाई बाबु र कान्छो छोरालाई मायाले पुन्टु भन्छौं ।

‘हो…ल ? मामुले किन पिटिसो त बाबु…?’ बाबुलाई पनि अँगालोमा राख्दै निकै मायालु स्वरमा बोलेर एक चुम्बन गरें फुटेर खस्रो भएको दायाँ गालामा । ‘त्यत्तिकै पिटिसिन्छ मलाई..!’ निकै लाहुरे स्वरमा बोल्यो बाबु ।

‘अँ… त्यतिकै कुटेको हो ? कति दुःख दिए दुवै छोराले…!’ ओभानो पिठोमा घ्यू मोले जस्तै रुखो बोलीमा माया मोल्दै श्रीमतीजी बोलिन् ।

मेरो कोठा रोडैमा छ । ठूलो सटर अगाडी सानो पसल र पछाडि खानेबस्ने कोठा । कोठा पनि त्यस्तै अस्तव्यस्त । जति सफा गरे पनि बाबु र पुन्टुले खेल्दाखेल्दै उस्तै बनाइहाल्छन् । कोही पाहुना आए भने पनि बस्न उकुसमुकुस मान्लान् जस्तो ।

छोराहरूको पुलपुल्याइले पूरै शरीरमा माया नै माया तरङ्गित भयो । मैले दुवै छोरालाई एकएक चुम्बन गरें फेरि ।

सोध्न मन त थिएन । बाबुलाई सान्त्वना दिनलाई भए पनि मैले थकित  स्वरमा प्रश्न गरे, ‘किन पिटेको त ?’

‘एकचोटी मान्दैन भनेको । पुन्टुले दिशा गरेका सुरुवाल धुन ट्वाइलेट गएँ । दुवैलाई बिस्कुट खान दिएर । त्यो रोडमा गएछ पुन्टु सरासर पोरी ट्वाइलेटमा गयो । ढोका लाऊँ भन्या छैन । सटर लाउन सकिंदैन । म क्या गरूँ एक्लै । अनि कुटेँ बेस्सरी कुच्चिगाँठाले ।’

छोराप्रतिको माया र चिन्ताको भाव अनि रीसको सम्मिश्रणमा श्रीमतीजीको मुखारविन्दबाट जवाफ पाएँ मैले । श्रीमतीजीको बोलीमा पश्चिमेली भाषा झल्किन्छ । हामी पश्चिमेली हौँ । श्रीमतीको माइतीघर कालिकोट र पोइलीघर बाजुरा ।

‘बाबु..! अबदेखि रोडमा जानुहुँदैन है ?’  बोलीमा चिल्लो घसेर मायालु स्वरमा फकाउँदै बोलें ।

‘हस्, हुन्छ ।’ छोटो जवाफ दियो ।

‘गाडीले किच्छ, बाइकले हान्छ अनि गुन्डाले चोरेर लान्छ नि..! हजुरलाई केही भयो भने बाबु कसलाई भन्ने त !’

बाबु चूप रह्यो । पुन्टु भने मोबाइलमै मक्ख थियो ।

‘आज स्कूलमा के पढाको मिसले ?’ पुन्टुले खेलिरहेको मोबाइलमा हेरिरहेको बाबुको अनुहार नियालेर बोलें ।

“सयौं थुँगा फूलका हामी एउटै माला नेपाली….!” भन्ने गीत सिकाको नि ! लयमै जवाफ दियो बाबुले ।

‘थ्याङ्क्यु ! छोरो अझ धेरै पढ्नुपर्छ, सिक्नुपर्छ है ?’

‘हस्, ड्याडी वेल्कम्…!’ मस्किएर बोल्यो बाबु ।

‘खै मैले झोला राख्नुपर्‍यो, जुत्ता खोल्नुपर्‍यो, हातखुट्टा धुनुपर्‍यो एकछिन खेलिसो है ?’ दुवै छोरालाई अङ्गालोबाट तल राखें ।

पिठ्यूँबाट झोला निकालेर खाटमा राखेँ, जुत्ता खोलेर खाटमुनि छिराएँ । हातमुख र खुट्टा धोई बिस्तारै ऐ..या, गरेर खाटमा थचक्क बसें ।

बिहान खाना खायो-नखायो, तयारी भयो, झोला भिर्‍यो, हिंड्यो । बाँसबारी पीपल बोटबाट दश मिनेट हिंड, चप्पल कारखाना जाऊ, नेपाल यातायात कुर, बस चढ, रोक्दै, जाममा पर्दै बीसतीस मिनेटपछि टङ्गालमा झर, पाँच मिनेट फेरि हिंड, अफिस पुग, हिजोको रिपोर्टिङ फम बुझाऊ हाजिर गर, फेरि हिंड, नेपाल यातायात कुर, चढ, चालीस-पचास मिनेटमा नयाँ बानेश्वरको तीनकुने झर, मार्केटमा कुद, फोटो खिच, अफिसको भाइवर पेजमा फोटो हाल, जता समस्या आयो उतै जाऊ, सके इमेल गर, नसके हाकिमलाई कम्प्लेन गर, तीनकुने, सिनामङ्गल, भिमसेनगोला, पुरानो बानेश्वर हुँदै मिडबानेश्वर हिंडेरै पुग, बेलुका साढे पाँच बज्छ फेरि गौशालाको बाटो तता, गौशाला पुगेर चप्पल कारखानातिर जाने जुनसुकै गाडी आउँछ चढ, चप्पल कारखाना झर फेरि हिंडेर कोठा पुग राति सात-आठ बजे । मेरो दिन चर्या यही हो । कहिले खाजा खाने फुर्सद हुँदैन त कहिले बसकै भाडा तिर्ने रुपियाँ ।

यही सानो पसल पनि सयकडा पाँचको ब्याजदरले ऋण काढेर राखेको । श्रीमतीजीलाई बसिबियाँलो भनौं क्यारे । छोराले केही खान चाहे भने कमसेकम अरूबाट किनेर त ल्याउनु पर्दैन । छोरालाई यसो भुलाउने मेलोमेसो मिलाउन सकिने माध्यम मात्रै । पसल पनि सोचेजस्तो चल्दैन । म कम्पनीको फिल्ड सुपरभाइजर भएर के गर्नु ? खानबस्नलाई  पुग्दैन तलबले काठमाडौँमा । अरूलाई आफ्नो कम्पनीको नाम र पद सुनाउँदा छाती चौडा भइदिन्छ तर स्यालरी कति छ भन्दा मन चीसो बनाएर ढाँट्नुपर्ने हुन्छ । त्यस्तै बीसपच्चिस हजार… ।

‘खाजा केही छ ?’ प्रश्न गरेँ । टिभीमा ताजा समाचार वाचन भइरहेको छ । बाबु र पुन्टु आफ्नै सुरमा मोबाइलमा कबाट कमल, खबाट खरायो…हरेर मस्त छन् ।

‘लिसो.. चियामा सातु मिसाएकी छु, खाना पाक्दैछ ।’ चम्चा हालेको गिलास मलाई दिंदै बोलिन् ।

‘आहा..! बाजुराको ताजा सातु ।’ भोकले रन्थनिएको स्वरमा बोल्दै तातो गिलास समातेँ ।

‘मकै, भटमास, जौ र गहुँको क्या वासनादार सातु ममीले आफ्नै हातले बनाएको । अस्ति उपचार गर्न आउँदा बुवाले ल्याउनुभएको ।’ मैले श्रीमतीको अनुहारमा केही परिवर्तन भएको महसुस गरें, निकै निरास । पच्चिस वाटको ब्लवमा भोल्ट नपुगेर मधुरो प्रकाश छरेजस्तो ।

‘के भयो तिमीलाई ?’

‘के हुनु र धुरुक्कै रुवाए छोराले । अघि त एक चोटी रोएँ पनि । गतिलो श्रीमान् भइदिए मलाई यस्तो दुःख किन हुँदो हो । छोरा एक ठाउँ आफू एक ठाउँ । यस्तै के-के सम्झिएर रोएँ । आफ्ना उमेरकी कस्ता-कस्ता धनीका, सरकारी जागिरेका पोइल गइन्…’

‘भयो, भयो ।’ मेरी श्रीमतीको कुरो काट्दै यति मात्र बोलेर चूप लागें ।

एक मिनेट जति मेरो हातको गिलास कुनै हलचल नगरी अट्किरह्यो । जोडले समातिरहें गिलास । हातमा तातोको कुनै महसूस नै भएन । मेरो मनमा २०७२ सालको भन्दा ठूलो रेक्टरको भुइँचालो गयो । म निकै चर्किएँ, उथलपुथल भएँ र भित्रभित्रै सिरिया भन्दा पनि बढी दुखेँ । मलाई केही बोल्ने आँटै आएन । मसँग मेरी श्रीमतीलाई दिनसक्ने उपयुक्त र उचित जवाफ नै छैन । सुखसयलमा जन्मिएकी, हुर्किएकी, ममीबुवा र आफन्तको मायाले फुर्किएकीलाई मसँग जीवन बिताउन कति गाह्रो होला ? यसबारे मैले महसूस नगरेको त कहाँ हो र । मेरी श्रीमतीको ठाउँमा म भइदिएको भए पनि यस्तै कुरा गर्थें होला शायद । मनमनै आफ्नो जिन्दगीलाई धिक्कारें, भगवानलाई तथानाम गाली गरें र फेरि म जस्तै अन्य मानिससँग म आफैलाई दाँजी हेरें । निकै खुशी र सुखको महसूस गरें । कमसेकम भोको बस्नु परेको छैन नाङ्गो हिंड्नुपरेको छैन । बस यति भए अरू के नै चाहियो र ? म त यो देशको एक प्रतिनिधि पात्र मात्रै हुँ । मभन्दा गएगुज्रेका कति छन् कति । मैले शान्तिको लामो सास फेरें ।

गिलासमा चम्चा घुमाएर सातु लेदो बनाएँ । एक-एक चम्चा गर्दै तात्तातो सातु फु-फु गर्दै खाएर गिलास रित्तो बनाएँ । त्यसपछि बल्ल बोल्ने आँट आयो ।

‘त्यस्तो होइन नि मेरी श्रीमतीजी ! सबै नारीजातिले धनवालासँग बिहे गर्ने हो भने म जस्ता कैयौं गरीबी रेखामुनिका युवाहरूले त श्रीमती बिना चिल्लाराम भएर बस्नुपर्छ होला । तिमी किन फिक्री मान्छौ ? धनीमानीहरूलाई पनि हाम्रो जस्तै पिरचिन्ता हुन्छ, बुझ्यौ ? समस्या हजारौंहजार हुन्छन् । फरक यति हो गरीबको पीडा छर्लङ्ग देखिन्छ, धनीको पीडा ठूलठूला महलले छोपिदिएको हुन्छ । दुःख सबैले गर्नुपर्छ । परिश्रम बिना केही पाउनु असम्भव छ । दुःख नगरेर सुख मिल्दैन । आकाशबाट वर्षिने पानी, असिना र हिउँ होइन सुख ।’ सम्झाउने प्रयत्नमा यति धेरै फतफताएँ कि मेरो कुरोले मेरी श्रीमतीलाई आगोमा घ्यू थपे झैँ रिस बढाउने काम भइरह्यो ।

‘भयो, टालो हाल्नुपर्दैन ।’ ठुस्केको भावमा श्रीमतीबाट जवाफ पाएँ ।

सटर भित्रको सानो कोठा । दायाँ छेउमा सानो टेबुल । टेबुलमाथि टिभी । त्यसैमा टाँसिएको खाट । बायाँतिर अर्को खाट । खाटमाथि लथालिङ्ग ओढ्ने र ओछ्याउने कपडा । खाटको सिरानी नजिकै ग्याँसचुह्लो राखेको टेबुल । टेबुल मुनि अव्यवस्थित ढङ्गले राखिएका सानाठूला बट्टाहरू । पसल र खानेबस्ने कोठालाई छुट्टाछुट्टै पार्नलाई बीचको सीमारेखा छुट्याउने र्‍याक अनि फूलका बुट्टाले भरिएको रङ्गिन पर्दा । चुह्लोमा एक महिला केही पकाउँदै,  एक पुरुष खाटमा बसेर टिभी हेर्दै, दुई बालकहरू भुइँमा बसेर मोबाइलमा खै के-के खेल्दै कि हेर्दै । झट्ट हेर्दा नाटक मञ्चन भइरहेको जस्तो दृश्य हाम्रो कोठाभित्रको ।

गालामा हात लगाएर केही नबोली एकटकले टिभीमा हेरिरहें ।

‘आफ्नो जिम्मेवारी बहन गर्न नसक्नेले  किन गर्नु बिहे ? त्यो बेला त मेरो यसो छ, मेरो उसो छ, अलानु छ, फलानु छ दुःखै हुन्न भनेको होइन ? खै आज सुख ? के यही हो ?’ चूप लागेको मौकामा फ्याट्टै चौका हानिहालिन्  श्रीमतीजीले । ‘मैले भएकै कुरो त गरेको हो । त्यो बेला पनि झुटो बोलेको होइन क्यारे ! आफ्नो गर्ने जिम्मेवारी बहन गरेकै छु त !’ बिस्तारै बोलें, ‘मेरो पनि सरकारी जागीर खाने रहर नभएको कहाँ हो र ? अझै पनि छ रहर । भएर के गर्ने जहिले गुल्टिने हो । लोकसेवा आयोगबाट लिइने अधिकांश परीक्षामा सामेल भएकै हुँ तर लोकसेवाले कहिल्यै साथ दिंदैन । आफ्नो लागि आफै केही गर्नुपर्छ भन्ने भाव जब ममा पैदा भयो मैले संघर्ष गर्न छाडेको छैन । आफ्नो जिम्मेवारी आफैले बहन गर्नुपर्छ भन्ने कुरा मध्यनजर गरी अघि बढिरहेकै छु ।’

‘अन्त्यमा अब मुख्य समाचार…भोलि फागुन एक गतेदेखि नेपालभर रोजगार कार्यक्रम संचालन हुँदै । सो कार्यक्रम प्रधानमन्त्री द्वारा उद्घाटन गरिंदै..!’ टिभीमा बजिरहेको यो समाचारले मेरो ध्यानलाई भङ्ग गर्‍यो भनौं कि आकर्षण । ‘वा…ओ..!’ एक्कासि मेरो मुखबाट ऊर्जाशील स्वर निस्कियो ।

‘के भयो ?’ मेरो वाओ नटुङ्गिंदै प्रश्न वर्षिहाल्यो श्रीमतीजीको मुखबाट । बाबु र पुन्टुले पनि पुलुल्क हेरे मलाई ।

‘रोजगार कार्यक्रम आयो । अब कोही बस्नुपर्दैन बेरोजगार ! सरकारले पनि आफ्नो जिम्मेवारी बहन गर्दैछ सुस्त-सुस्त ।’ व्यंग्यको भावमा हाँस्दै बोलें ।

‘आफ्नै आसेपासेलाई त होला रोजगार कार्यक्रम पनि । कार्यक्रम लागू भए के भयो र ?  हामीलाई सहयोग गर्ने न कोही अगाडि छन् न त पछाडि । खाना खानुपर्‍यो हात धोएर । आइसो । बाबु खाना खानुपर्‍यो अब आइसो ।’ यथार्थ ‌ओकलिन् ।

म भने केही नबोली हात धुन जुरुक्क उठेँ ।

छोरासँगै खाना खाँदाको छुट्टै रमाइलो भनौं कि झन्झट । एउटालाई खुवायो अर्को टुर्किने, अर्कोलाई खुवायो एउटा ठुस्किने । फकाउँदै, फुर्क्याउँदै खाना खुवाउँदाको क्षण नै कस्तो आनन्दको । खाना खायौं । चुह्लो सफा गरेर कोठामा बाबु र पुन्टुले छरेको भातलाई कुचोले बडारेर भाँडा माझ्नमा व्यस्त रहिन्  श्रीमतीजी । बाबु र पुन्टु खाटमा बसेर फेरि मोबाइलमै व्यस्त ए फर याप्पल, बी फर बल..,हेर्दै । म अर्को खाटमा दिउँसो भए गरेको कामको समरी रिपोर्ट लेख्न थालें । यो मलाई कम्पनीले दिएको जिम्मेवारीलाई जिम्मेवारीपूर्वक बहन गर्दै थिएँ । रिपोर्ट लेखेर सकें र अफिसियल भाइवर एप्समा रिपोर्टको फोटो खिचेर पठाएँ । बल्ल अफिसको काम सकियो । छोरा त मोबाइल हेर्दाहेर्दै सुतिसकेछन् । दुइटै छोरालाई सिरक ओढाइदिएर म पनि खाटमा पल्टिएँ ।

‘सटर लगाएर सुतिसो न त ! नौ बजिसक्यो ।’ श्रीमतीजी बोलिन् ।

‘कस्तो रह्यो पसल आज ?’

‘चारपाँच सय भयो होला । व्यापार पनि हुँदैन । मलाई त चिन्ता लाग्न आँट्यो । कसरी भाडा तिर्ने, कसरी ब्याज तिर्ने ।’ श्रीमतीको स्वर मेरा कानमा गुन्जियो । केही नबोलेर सटरलाई बन्द गरेर घर्रामा हेरें ।

‘दिनभरीको व्यापार जम्मा चार सय भएछ ।’ घर्रा बन्द गर्दै बोलें । बत्ती बन्द गरेर पुनः खाटमा आएर पल्टिएँ, लामो सुस्केरा हालेर ।

‘त्यही त व्यापारै हुँदैन भन्या । अब के गर्ने होला ? केही महीना हेरौं ।’  चिन्ता व्यक्त गरिन् ।

‘ल ल सुत अब । जस्तो होला त्यस्तै गरम्ला । टिभी बन्द गरूँ है ?’ टिभिलाई रिमोडद्वारा बन्द गर्दै बोलें ।

मनमा के-के कुरा खेलाउँदै पल्टिएँ । जो कोही राजधानीको खाडलमा पर्न आउँछन् । मेरा जस्तै सपनाहरू देखेर साकार पार्ने ध्येयले आउँछन् होला । ती देखेका सबै सपना कसका पो पूरा हुँदा हुन् र ? गाउँमा बुढेसकालको खाडलमा पुरिंदै गरेका बुढा ममीबुवालाई चटक्कै छोडेर आएको छु काठमाडौं नामको खाडलमा । जागीर पाए खाउँला । छोरालाई पढाउँला, ममिबुवाको बुढेसकालको लट्ठी बनुँला र एक मर्दले गर्ने हरेक जिम्मेवारलाई सदा बफादारीका सादा बहन गरुँला भन्ने सोच छ मेरो । यदि मैले यही जिम्मेवारी बहन गर्नसकें भने…. ।