रोहन ! मेरो प्रिय नाति ! पाँच वर्षको । उमेरभन्दा दुई गुणा अघि कुदेको छ उसको सोचाइ र बुझाइ । त्यसैले पनि होला प्रश्न गर्नमा माहिर छ । उसका प्रश्नले घरपरिवार नै आच्छुआच्छु बनाउँछ ।

मामलमा हजुरबाको मृत्यु भएपछि आमासँग रोहन मामल गएको थियो । त्यहाँबाट फर्केपछि झन् गाह्रो प्रश्न गर्ने गरेको छ । मृत्यु सम्बन्धित अद्भुत प्रश्नहरू !

प्रश्न सुन्ने कसैलाई पनि यो कुरा विश्वास गर्न गाह्रै पर्छ । यति साह्रो बुद्धि प्रखर कसरी भयो उसको ? ताजुब हुन्छन् देख्ने-सुन्ने ।

यसैले त भन्ने ढुक्कै भन्छन्, ‘‘दस वर्ष नाघेका नानी केटाकेटी पनि ऊ बराबर मान्न सकिँदैनन् ! मानिँदैनन् ! धेरैलाई त उसका प्रश्नै अचम्मका हुन्छन् । के जवाफ फर्काउने भनी हामी स्वयम् टोलाउँछौँ ।’ भेट हुने तीन छक्क पर्छन् । रोहनको घरबाट कोही पनि फर्कंदा यस्तै विविध उपलब्धि लिएर फर्कने गर्छन् ।

कसै कसैले बाहिर पाखा रोहनका घरकाले नसुन्ने गरी भनेको सुनिन्छ, “यति कलिलो उमेरमा यस्तो छ ! पछि सम्हाल्न सकिन्न कि ! उसको भविष्य उज्ज्वल छ या घुर्मैलो ? अहिले भन्न साह्रो छ !’’

यस्ता जोखाना हेर्नेको संख्या पनि कम छैन ! बरु बढ्दै छ । तर मान्छेलाई उसको वर्तमानले भाउन्न छुट्याएको छ ! सो कुरा स्वीकार नगरे पनि अस्वीकार गर्न लगभग असम्भव नै छ । रो

‘नयाँ जमानाकै चमत्कार होला भनी चित्त बुझाउने धेर नभए पनि थोर छैनन् । बढ्दो बदलिंदो जमाना ! बदलिंदो जमानाको उपज हो । अचेलका केटाकेटी सबै एकसे एक छन् । सोचे भन्दा बढी एडभान्स ! उमेर न बाधा न फरक ! नत्र पाँच वर्षे नानी यति असाध्यै चतुर्याइँ कसरी हुन्छ ! आम्मा ! के हो यस्तो ? जन्मिंदै तीन पाते !’ देख्ने-सुन्नेको मुखबाट यस्तै बोली निस्केको  सुनिन्छ ।

तर ऊ चित्त नबुझे सम्म प्रश्न माथि प्रश्न थप्छ । हम्मेसि थामिंदैन । यसै उसको हर चिजमा कौतूहल झन् भन्दा झन् बढिरहेको हुन्छ । उसको प्रश्न गराइमा समयसीमा हुँदैन । पाँच वर्षको बालक न हो ।

गणपति मास्टरले समेत रोहनले प्रश्न गरेको देखेर भने, “नानी केटा केटीले प्रश्न गरेको चतुराइको लक्षण हो ! सोधे जानेको कुरा भनिदिएको राम्रो ।” मास्टरको सुझावअनुसार झर्को नमानी जानेअनुसार मिलाएर छोराको प्रश्नको जबाफ दिने काम हीमाको बढेको छ । छोराको हर प्रश्न सकिनसकी, झर्को नमानी उत्तर दिने धैर्य जुटाउन कर लागेको छ । बाबु रतिकान्तलाई अफिस जाने आउने धमाधम । जति बेला हेर्‍यो अफिसकै काममा व्यस्त । सायद त्यसैले होला रोहन, बाबु भन्दा बढी आमा र हजुरबालाई पच्छ्याउने गर्छ।

….माइतबाट आएका दिनदेखि हीमालाई रोहनले मृत्यु सन्दर्भमा गरेका अद्भुत प्रश्नका जबाफ दिन त के, अघिल्तिर उभिन उसलाई हम्मे हम्मे पारेको छ । नपारोस् किन ? कतिपय प्रश्न हीमाले पनि बल्ल सुन्दै छ । जसको उत्तर न ऊसँग ! न खोज्दा भेट्छे ! तर उसलाई रोहनले निरुत्तर भई बस्न कतै दिँदैन । आमाको स्थिति ऊ बुझ्दैन । बुझ्नु छैन उसलाई । हीमालाई न बोल्दा सन्च ! न चुप्प बस्दा । यो बिसन्च हीमाले मात्र  मज्जाले बुझेकी छ । बुझ्न परेको छ ।

… रोहनका मुखमा मृत्यु सम्बन्धित सबै उत्तर फर्काउन सजिलो नहुने कुरा हीमाले बल्ल बुझी ! जानी । एक्कासि रिस र झर्को मान्दै हीमा भेउ नपाएर छोरालाई अलिक साह्रो हकार्छे, “यहाँ मलाई वाक्क  नपार है । जा तेरा हजुरबालाई गएर सोध् ! टाउको मेरो कति खान्छस् ?’’

कुरा के हो नबुझे पनि पाँच वर्षको नातिलाई बुहारीले गाली गरेको सुनेर हजुरबाले बाहिर बरन्डाबाटै सोधे, “होइन ! ए बुहारी ! बाबुलाई किन गाली गर्छेस् ? खै यता आइज बाबु !” भन्दै नातिलाई मायाले बोलाउँछन् ।

नाति स्याँकसुँक गर्दै हजुरबाको काखमा गुजुल्टिन पुग्छ । हजुर बालाई साउको भन्दा ब्याजको बढी माया छ ! नाति भने पछि हुरुक्क । नाति पनि केही आपत्ति भए सोजै गएर हजुरबासँग पोख्छ । यसै त हजुरबा । नातिलाई हात लाको त के गाली गरेको पनि सुन्न पचाउन सक्दैनन् । सायद हजुरबाको माया रोहनले पनि राम्रो बुझेको  छ ।

“…भन् त बाबु के भयो ?” काखमा गुजुल्टो परेको नातिलाई सुमसुम्याउँदै हजुरबाले सोधे ।

“हजुरबा ! हजुरबा ! हाम्रा मामलाका हजुरबा कहाँ जानु भयो ?”

“भगवान्को घरमा ।”

“भगवान्को घर कहाँ छ ?”

“अकाशमा !”

“अकाशमा किन जानु भयो त ?”

“भगवान्ले बोलाए !”

“हजुरबा ! भगवान्ले किन बोलाए  त ?”

“बुढो भएर !” हजुरबाको उत्तर सुनेर अस्सि काटेका हजुरबाको अनुहार पुलुक्क हेरेर रोहनले फेरि प्रश्न सोधे, “हजुरबा ! हजुरबा ! तपाईंलाई भगवान्ले कहिले बोलाउँछन् ?”

नातिको एक्कासि यस्तो प्रश्न सुनेर हजुरबा ट्वाल्ल परेर नातिको मुखमा हेरेको हेरै भए ! केही बोलेनन् ।

केही दिन पछि छोरा बुहारीसँग हजुरबा पनि हवाई जहाजको सवारी भए । सपरिवार लिएर  रतिकान्त हरिद्वार तीर्थ दर्शनमा निस्किए । गुवाहाटीदेखि दिल्लीसम्म हवाई जहाजमा ! जहाजमा आसन ग्रहण गरेर बुहारी सेल्फ लिन व्यस्त । बेला बेला रोहन र हजुरबालाई पनि “खै यता हेर्नु ! अलिकति हाँसिदिनु !” हीमाले खुसीले भन्दै थिई । अनि सबै हीमा पट्टि फर्कन्थे । तर हजुरबाका आँखा नातिमाथि थियो । किन हो नातिले प्रश्न गरेको छैन ! गर्न खोजेर पनि फेरि आँखा अन्त डुलाउँछ । हवाई जहाज उडेको मात्र थियो । हजुरबा बसेको सिटतिर एक्कासि हेर्दै नाति केटो रमाउँदै दुई हात माथि उचालेर जोडले करायो, “य्या ! अब म ! मामलाका हजुरबालाई आकाशमा देख्न पाउँछु !”

सबै छक्क परे ! छेउ छाउका अन्य  यात्रीले पुलुक्क रोहनलाई हेरे । किन यसरी करायो अरूले बुझे बुझेनन् यो कुरा तर हजुरबाले भने राम्रो बुझे । नाति केटो यतिञ्जेलसम्म किन प्रश्न नगरी बसेको रहेछ । मनमनै सोचे ! बुझे !  नातिले त उनले भनेको कुरा अझ बिर्सिएकै रहेनछ ! यत्तिका दिनसम्म मनमा लिएर हिँडेको रहेछ !

तेजपुर, असम