यो रात मेरो लागि उत्तप्त कुण्डजस्तै भएको छ । जहाँ म रातभरि यहीँ कुण्डभित्र पोलिरहेकी छ । असीम यातना भोगिरहेकी छु ।

मानसिक यातना प्रलय प्रवाहभन्दा बढी भयावह र कष्टकर हुँदोरहेछ ।

 

म यतिखेर भीषण द्वन्दमा छु । अब कोसँग यी दुई हात फैलाऊँ ? हात फैलाउँदा फैलाउँदा लुला र कमजोर भएका छन्  मेरा हातहरू ।

दुबै किड्नी फेल भएर हप्ताको दुईपल्ट डाइलसिसमा रहेर वर्षौं देखि बिछौनामा परेका श्रीमानको स्थिति रोगले गर्दा थकित भएको छ भने श्रीमानको उपचार गर्ने क्रममा आर्थिक कठिनाइसँग पलपल सङ्घर्ष गर्नुपरेका अथाह पीडा र दुःखले हरिबिजोक भएको मेरो जीवन ।

म एकदमै रित्तिएकी छु आर्थिक रूपमा, शारीरिक र मानसिक रूपमा पनि । जता छामे पनि, जता टटोले पनि जुन भाँडामा हेरे पनि रित्तै । कहीँ कतै भिरभराउ छैन ।

हिजो राती श्रीमानले अत्यन्त टिठलाग्दो आवाजमा भने “सानु के तिमी मलाई बचाउन सक्छ्यौ र ? म बाँच्न चाहन्छु सानु ! म मरेँ भने तिमीहरूको के गति होला ?”

उनलाई म के भनेर जवाफ दिऊँ !

सत्य कुरा गर्न पनि म असमर्थ छु— झूटो आश्वासन दिँदादिँदै लाग्छ मेरा सारा शब्दहरू खोक्रिँदै जाँदै छन् । लाग्छ ती शब्द ब्रह्मले नै मलाई श्राप दिँदै छ ।

घरको स्थिति त ऐना झैँ छर्लङ्ग छ उनलाई । उनी बिरामी भएदेखि आम्दानीको स्रोत ठप्प छ । घरको थोरै बहाल र मेरो सानो नोकरीले यस्तो सर्वश्व गर्ने रोग धान्न सक्छ र ? सुकेको इनार झैँ । तर उनी मृत्युको कल्पनासम्म गर्दैनन् । जीवन कति प्यारो ।

परिवार छोराछोरी सबै संसार कति प्यारो !

मृत्यु कति भयावह र अप्रिय ।

यो सारा माया मोहको संसार छोडेर जान कसलाई मन लाग्छ र ? जीवन र मृत्युलाई मान्छेले सहज रुपमा ग्रहण गर्न सकेको भए यो संसारमा ‘भय’ शब्दको कुनै अस्तित्व नै रहने थिएन । मृत्यु शब्द पनि यति भयावह कसैलाई हुँदैनथ्यो । डरलाग्दो अन्धकारमय र सदाका लागि विसर्जित हुने मृत्यु छ त मान्छेलाई जीवना प्रिय छ- अनमोल छ मृत्यु अनिवार्य छ भन्ने कुरा थाहा भएर पनि जीवनको मायाबी समुद्रमा मान्छेलाई हमेशा आफ्नो छुट्टै पहिचान लिएर पौडन मन लाग्दो रहेछ ।

यो धरतीको सुन्दर र विस्मयकारी रङ्ग मञ्चमा आफ्नै किसिमको नाटक मञ्चन गर्दै जतिसुकै अवरोध र यातनाका छालहरूले यताउता ठक्कर दिँदै हुत्याउँदा पनि कहीँ कतै सहाराको मुढा समातेर यो माया जालको समुद्र तर्न इच्छा हुँदोरहेछ ।

डाइबेटिज, प्रेसरको रोगी हुँदाहुँदै श्रीमानकाे दुबै किड्नी फेल भएर अशक्त हुँदा दसौँपटक अस्पतालमा बस्नु परे पनि निरास र उदास भएर मृत्यु शब्दालाई सम्बोधन गरेका छैनन् । पैसाको लागि यताउता सापट माग्दै दौडेको र दुःख पाएकै देख्दा जीवनदेखि हरेश खाएर भन्नुपर्थ्यो “सानु ! मलाई बचाउने कोसिस नगर । तिमीलाई धेरै दुःख भयो । भैगो मलाई मर्न देऊ ।”

कुन बिरामीले यसरी सजिलै मृत्युवरण गर्ने घोषणा गर्न सक्छ र ?

जीवनका आफ्ना सारा रहर, आकांक्षा, इच्छा र योजनाहरू अधुरै छोडेर कसलाई मर्न मन लाग्छ र ?

सायद श्रीमान् आस्तिक भएको भए अर्को जन्मको विश्वासमा भगवानको नाम सुमिरन गर्थे होला र- उनी त पक्का नास्तिक भएकोले मृत्युसँग डर र बाँच्ने इच्छा उत्कट हुँदा आशक्त अवस्थामा अस्पतालमा भर्ना हुनासाथ श्रीमानको अनुहारमा बाँच्छु भन्ने भावना दरिलो हुँदै गएको उनको उज्यालो अनुहारबाट थाहा हुन्छ ।

अश्रुपूर्ण आँखाले मेरो अनुहार टुलुटुलु हेर्दै जीवनको भिख माग्दै भन्छन् उनले- “सानु ! के तिमी मलाई बचाउन सक्छौ र ?”

श्रीमानको प्रबल बाँच्ने जिजीविषा देख्दा मन भिरएर आउँछ- आँसु छचल्किन्छ आँखामा । करुणा र प्रेमले भिजेको आँखा र मन लिएर म उनलाई भ्रमपूर्ण आश्वासन दिँदै भन्छु- “किन हरेश खानुहुन्छ ? तपाईंलाई केही हुँदैन । जसरी पनि तपाईंलाई बचाइहाल्छु नि !”

मेरो आश्वासन सुनेर अँध्यारो मेटिन्छ उनको अनुहारमा स्वयम् बिरामी मान्छेले जीवनको कामना गर्दा साह्रै पीडाबोध हुँदोरहेछ । मलाई थाहा छ- दिन प्रतिदिन उनी मृत्युको ढोकातिर जाँदै छन् । उनलाई बचाउने आधारहरू केही कतै छैनन् । जताततै उनको मृत्युको सङ्केतले म जल्दै र गल्दै जान्छु । यत्रो संसारमा आफूलाई एक्लो पाएकी छु । म अत्यन्त असह्य र धैर्यहीन हुँदै गइरहेकी छु ।

अभावको अगुल्टोले सधैँ डामे पछि संवेदना र माया भन्ने शब्द पनि रुखो, खस्रो, स्वादहीन, रङ्गहीन र महत्वहीन हुँदोरहेछ । कहिलेकाहीँ लोग्नेको बाँच्ने चाहना पनि मेरा लागि दुर्भाग्य भएको सम्झन्छु ।

सोच्छु यो दरिद्र र मगन्ते रात यहीँ स्थिर होस्- भोलिको दिन यो समयले पाइला नटेकोस् ।

भोलि कुन पैसाले श्रीमानको डायलसिस गरूँ ? कोसँग हात फैलाऊँ ? यो निगृणि ऋणको बोझ कति थामुँ ?

अस्ति नै एक जना आफन्तकहाँ पैसा सापट लिन जाँदा आफन्तले खिन्नता प्रकट गर्दै भने- “अब त चन्दा उठाएर औषधि गराउनुपर्छ कि ? यसरी सापटी लिएर कसरी चल्छ र ? भाइहरूलाई कति दुःख दिऊँ ?”

उनको कुरा सुनेर मन बाउँठिएर आएको थियो । हुन पनि आफन्तीहरूले पनि कति सहयोग गरून् ? केवल एउटा घर छ- छोराछोरीहरू छन् । औषधीपचारको क्रममा यो घर पनि जाला भन्ने कुरामा म त्राहीमाम छु । यो घर पनि गयो भने पाटीको बास हुने निश्चित नै छ । यो एउटा घर त जसरी भए पनि बचाउन त पर्यो नि । अरू उपाय के छ त बिरामीका लागि औषधि गर्न ।

ऋण लिनु जस्तो दरिद्री र निम्छरो काम अरू केही न हुँदोरहेछ । अरूसँग सापट माग्दामाग्दा आफ्नै अस्तित्त्व खण्डहर हुँदै गएको अनुभव भइरहेछ । कति जनाको आँखा र मनले कतिसम्म तौलिँदै जाउँ ? एउटा निम्नमध्यम वर्गीय मान्छेको किड्नी फेल भएर डायलसिस गर्नु र किड्नी ट्रान्स्फर गर्नु भनेका ज्युदै मर्नु बराबर हो । आफ्नो औकात बाहिरको कुरा हो । किड्नी ट्रान्स्फर गर्ने त परै जावोस् डायलसिस गर्न पनि धौधौ भएको छ ।

जब श्रीमानको अनुहार हेर्छु मायाको ज्वाराभाटा उर्लेर आउँछ मनमा- जब आर्थिक विसमताको कुरा सम्झन्छु- मन सर्पले डसे झैँ झन्झनाउँछ । कसरी श्रीमानलाई बचाउने भन्ने कुरा आँधीसरि हुण्डरी खेल्दै आउँछ- अभावको पहाडमा ठक्कर खाएपछि चकनाचुर भएर फुट्छ सिसाको गिलास फुटे झैँ ।

सारा आफन्तहरू हामीदेखि परपर भाग्दै गरेको देखिरहेकी छु । अरूको भरमा कसरी कहाँसम्म औषधि गर्न सकिन्छ । असम्भव । बिरामीको अवस्था बत्तीमा तेल थप्ने जस्तै हो । बत्ती नै सकिएपछि तेल थपेको कुनै अर्थ छैन ।

मेरा सबै उपायका ढोकाहरू बन्द हुँदै छन् ।

म कुन ढोका खोज्न जाऊँ ?

अब कसैको अगाडि हात पसार्नु भनेको मरेतुल्य हुनु हो । यो मनको दुर्दान्त पीडा रूक्ष भएको मायाले यो जिन्दगी अररो भएको छ ।

यो कस्तो जटिल र सीमाहीन समस्याभित्र जकडिँदै छु । के गरूँ म ? एक जना माइती देशको भाइको कलिली उमेरकी श्रीमतीको दुबै किड्नी फेल भएर घरखेत बिक्री गरी इण्डियामा किड्नी ट्रान्स्फर गरेर आएको एक महिनामै उनी बितिन् ।

सम्पत्ति पनि स्वाहा भयो- उनी पनि गइन् ।

कस्तो भष्मासुर रोग ।

कस्तो सर्वस्वहरण गर्ने रोग ।

के भनेर श्रीमानको स्वस्थ जीवनका लागि भगवानसँग प्रार्थना गरूँ ?

के भनेर शुभकामना दिऊँ ?

अब कुनै पुकार प्रार्थना र कामनामा जीवनको कुनै सुगन्ध छैन – कुनै जीवन्तता र विश्वास छैन । आर्थिक अभावको कारण मगन्ते जीवन जिउनुपर्दा हीनताबोधको चक्रव्यूहमा म आफू झन् झन् कैद भएको महसुस गर्दै छु ।

कसैसँग सापट लिएर लोग्नेलाई बचाउन खोज्नु भनेको लाग्नेसँग सती जानु जस्तै हो ।

यो स्वाभिमानी शिर उठ्न सक्तैन । यो शक्तिहीन आत्मा ऊर्जाशील हुन सक्तैन । उफ् । म कति शक्तिहीन भएकी छु- कति काँतर भएकी छु ।

बिहानै बिरामी श्रीमानको अशक्त स्वर कोठाभरि फैलिन्छ- “सानु ! आज डाइलसिस गर्न जाने होइन ?”

म शब्दहीन हुन्छु – म अब कोसँग सापटी मागूँ ? श्रीमानको मृत्युको कामनाबाहेक मसँग अरू उपाय छैन ।

(भागीरथी श्रेष्ठको कथासङ्ग्रह “समयको अर्को छाल”बाट)