धेरै समय भएकै थिएन, मैले आफ्नै सपना पोल्नु परेको । धेरै समय भएकै थिएन, जिन्दगीदेखि नै जिन्दगीको एक पाटो अलग हुनुपरेको । आफ्नी प्यारी श्रीमतीको भौतिक जिन्दगी आफ्नै आँखादेखि अकस्मात् हराएपछि एक अँगालो उनका सम्झनाहरू र छोराछोरीका एक झोला माया बोकी आफ्ना तीन  छोराछोरीलाई गाउँमै राखी श्रीमतीको काजक्रिया सकेको तीन महिनापछि म काठमाडौं फर्केको थिएँ ।

त्यतिखेर बुद्धनगरमा थियो मेरो डेरा । मैले फर्स्ट फ्लोरमा एक फ्ल्याट् भाडामा लिएर बसेको थिएँ भने माथि दुई विद्यार्थी परिवारहरू दुई/दुई कोठा भाडामा लिई बसेका थिए । उनीहरू दुवै परिवारका कोठामा टिभी थिएन । कहिलेकाहीं समाचार सुन्नुपर्‍यो र टिभी हेर्न मन लाग्यो भने उनीहरू मेरै बैठक कोठामा आई टिभी हेर्ने गर्थे र कुराकानी गर्थे ।

तिनीहरूमध्ये दुई कोठा भाडामा लिएर बस्ने गोरखा जिल्ला बजारभन्दा माथि पहाडका दुई जना दाजुबहिनीहरू बस्थे । दाजुको नाम बद्री ओझा थियो भने बहिनीको नाउँ प्रियंका ओझा थियो ।

भूतले डामेका घाउहरू मलाई यसै पनि कोट्याउनु थिएन । भविष्यको दुःखहरूको पहाडहरू कति उचाइमा छन् भन्ने मलाई अहिले नै नाप्नु थिएन । बस् वर्तमानको सिलौटामा पिसिनु थियो मलाई । बस् वर्तमानको निरसिलो मरुभूमिको यात्राको दूरी जसरी पनि नाप्नु थियो मलाई । यही दूरी कसरी नाप्ने भनी परिकल्पना गर्दै बार्दलीमा राखिएको कुर्सीमा बसी म सिङ्गै आकाशलाई नै आफ्ना एक जोर आँखाभित्र अटाउँदै टोलाइरहेको थिएँ ।

“नमस्ते दाइ, कैले आउनु भो ?” कसैले कोठाभित्र छिर्दै सम्बोधन गर्‍याजस्तो लाग्यो ।

मैले पछि फर्की हेरें । ऊ माथि कोठामा बस्ने उही बद्री ओझा भाइ रहेछ ।

“नमस्ते भाइ । हिजो भर्खरै आ’को । बस्नूस् न भाइ ।” मैले उसलाई सोफातिर बस्ने इशारा गर्दै भनेँ ।

म उठें र कोठाभित्र छिरी टिभी खोल्दिएँ ।

“ल बसेर मजाले टिभी हेर्नुहोला भाइ ।” उसको हातमा रिमोट थमाउँदै म फेरि बार्दलीमा आएँ र सोही बार्दलीको कुर्सीमा बस्दै आफ्ना हराएका वर्तमानहरू आकाशका ताराहरूमा कहीं भेटिन्छन् कि भनेर खोज्नतर्फ एकछिन व्यस्त भएँ ।

टिभी आफैं मात्रै एकोहोरो बोलिरहेको कानले सुन्दै थिएँ । म भने आकाशमा पर्तमान खोज्दै ठिक्क थिएँ ।

“दाइ, अनि ! के छ त गाउँघरतिरका हालखबर ?” बद्रीले टिभी बन्द गर्दै भन्यो ।

“सबै ठीकठाकै छन् भाइ ।”

बद्री भाइलाई एक्लै बोर लागेछ कि क्या हो ? ऊ पनि बार्दलीतिर आयो र पूर्व कोनातिर रेलिङमा अडेस लाग्यो र तल गुडिरहेका सवारीहरू र हिंडिरहेका मान्छेहरूतिर एक मुठी  नजर फ्याँक्यो उसले ।

निकै दिन भएको थियो बद्री भाइसँग कुराकानी नभएको । यसै पनि म कोठामा हुँदा वेलावेलामा बद्री भाइ टिभी हेर्ने निहुँ बनाई आइरहन्थ्यो ।

मलाई मनमा लाग्यो, “बद्री भाइ मसँग केही कुराकानी गर्न चाहन्छ ।”

मलाई अघिदेखि नै कफीको तलतल नलागेको भने होइन । कफी खाऊँ कि खाऊँ कि जस्तो भएर मन उम्लिरहेको थियो तर अल्छी लागेको हुनाले कफी नबनाई बसिरहेको थिएँ । अब भने बद्री भाइको निहुँ पनि भयो मलाई । बसिरहेको कुर्सीबाट उठें ।

“भित्रै बस्दै गर्नुस् है भाइ । म एकेक कप कफी बनाएर ल्याउँछु ।” भन्दै म किचेनतिर लागें ।

एकछिनपछि ट्रेमा दुई कप कफी बोकिआएँ र टी टेबुलमा राखें । ऊ अझै बाहिरै बार्दलीमै उभिरहेकै थियो ।

“बद्री भाइ, आउनुस् न भित्रै कफी खान ।” मैले सोफामा बस्दै उसलाई बोलाउँदै भनें । र कफी उठाएर एक सुर्को सुरुप्प पारें ।

ऊ पनि आएर सोफामा बस्दै कफीको कप उठायो । एक सुर्को मार्‍यो र फेरि टेबुलमा कप राख्यो ।

“अनि, के छ त बद्री भाइको हालखबर ? निकै दिन भो’ है, भाइसँग कुराकानी नि नभ’को ?” रिमोट्ले टिभी अन गर्दै यो चोटि भने मैले नै सोधें ।

“के हुनु नि दाइ । जिन्दगी उल्टिहोला जस्तो भ’र आइसक्यो । सोच्या जस्तो क्यै नि  नहुँदोरहेछ दाइ ।” उसले कफीको दोस्रो सुर्को मार्दै उदासिलो भएर भन्यो ।

म छक्क परें उसको कुरा सुनेर । एकछिन त मेरो मन चीसो भएर आयो । “कतै मेरै जस्तो कुनै घट्ना त घटेन यिनको परिवारमा पनि ?” मनमा कताकता लाग्यो ।

“किन, के भो’ र भाइ ? कतै घरमा कुनै घट्ना पो घट्यो कि ? भाइको कुरा सुन्दा त तेस्तै पो लाग्यो त ।” मैले उसको मनभित्रको कुरोको पोयो खोल्ने प्रयास गर्दै भनें ।

“होइन दाइ तेस्तो त । किन हो किन ? तर पनि जिन्दगी वाक्क लागेर आउँछ ।” उसले फेरि कफीको तेस्रो सुर्को तानेर कप राख्दै भन्यो ।

अझै भन्दै गयो उसले, “ब्याचलर पास गरेर जागीर खाँदा क्या आनन्द थियो । दुईचार हजार रुपियाँ आफूसँग कहिल्यै टुट्दैन थ्यो दाइ । कैलेकाइँ घरजाँदा बुढीलाई मन पर्ने गिफ्टहरू उसलाई किनेर लगिदिन्थे अनि छोरोलाई पनि । बाआमालाई पनि क्यै यसो किनेर लगिदिन्थें । सबै जना खुसी हुन्थे । आउँदा बुढीको हातमा यसो एकदुई हजार पनि थमाई आउँथेँ दाइ । जैलेदेखि मास्टर गर्न भनेर आइयो तैलेदेखि सारै दुःख पाइयो दाइ ।” उसले घोसेमुन्टो लाउँदै भन्यो र फेरि कफीको एक सुर्को मार्‍यो ।

म पनि उसको कुरो ध्यानले सुन्दै वेलावेलामा कफीको सुर्को मारिरहेको थिएँ ।

फेरि भन्दै गयो उसले, “बाले पठा’का सीमित पैसामा महीना काट्नुपर्छ । कैले काइँ त बस चढ्नेसम्म पैसा हुन्न दाइ ।” यति भन्दै उसले मतिर पुलुक्क हेर्‍यो ।

फेरि अर्को सुर्को मार्‍यो कफीको र टिभीलाई रिमोट्ले अझै थोरै साउन्ड कम गर्‍यो र टिभीतिर एकोहोरो घोरिइरह्यो ऊ ।

म उसको कुरो सुनेर तीन छक परें ।

मनमनै भनें, “ह्या … केके न पर्‍यो भन्या त केटोलाई यत्ति जाबो कुरोले पो पिरोलेको रै’छ । मान्छेले जिन्दगीका सिङ्गै पहाड काँधमा बोकेर हिंड्दा त आत्तिंदैनन् । यो बद्रीलाई भने यित्रु सानो कुरोले मनभित्र डढेलो नै लाइसकेछ ।”

हुन त यो मेरो मनभित्र उम्रेका व्यक्तिगत विचारहरू हुन् यी । सबैका आआफ्ना समस्याहरू हुन्छन् । उसलाई त्यै जाबो समस्या नै पहाड लागेको पनि हुन सक्छ । कोहीकोही जुत्ता राम्रो पाइएन भनेर रोइलो मचाउँछ भने कोही कोही विना खुट्टाकै पनि त बाँचिरहेका छन् । कोहीकोही अमेरिका घुम्न जान पाइएन भनेर गुनासो पोख्छ भने कोहीकोही  आँखै विनाको पनि त  बाँचिरहेका छन् । कोहीकोही दरबारभित्रै पनि खुशी छैनन् भने कोहीकोही पुलमुनि पनि बिन्दास जिन्दगी बाँचिरहेका छन् । उनीहरूलाई न कसैप्रति गुनासो छ न त कसैप्रति ईर्ष्या र डाहा नै छन् । मनमा मेरा यस्तै यस्तै कुराहरू खेले र बद्रीलाई कसरी सम्झाउने भन्ने बारेमा मेरो ध्यान जोतिंदै गयो ।

“छोरो कति वर्षको भो ?” कफीको सुर्को मार्दै सोधें ।

“दुई वर्षको भो दाइ ।” उसले मतिर नहेरीकनै उत्तर दियो ।

“खेतीपाती त छन् मनग्गे पहाडमा ?”

“छन् दाइ, खान त मजाले पुग्छ ।”

“श्रीमतीको फोटो छ भाइसँग ?”

“छन् दाइ । पख्नुस् है त दाइ ।” यत्ति भन्दै ऊ जुरुक्क उठी दगुर्दै माथि उक्लियो ।

तुरन्तै माथिबाट श्रीमतीको चार वटा फोटा र छोरोका पनि सिङ्गल दुई वटा फोटो लिई ऊ कोठाभित्र पस्यो ।

मैले सबै फोटो एकेक गरी हेरें । श्रीमती सलक्क परेकी गोरी अनि लोभलाग्दी रहेछिन् । छोरो त्यस्तै प्यारो ठम्ठम् हिंड्ने ।

“फेरि केको पीर लिइबस्या त भाइ । कति राम्री श्रीमती रै’छिन् अनि छोरो तेस्तै राम्रो । बाआमा सबै ठीकठाक र खेतीपाती पनि टन्नै रै’छन् त । नपुग्दो के रै’छ त भाइको ? पढ्दै हुनुहुन्छ ऐले । संघर्षको पहाड उक्लँदै हुनुहुन्छ । एकदिन सफलताको म्याराथुनको दौड अवश्य जितिएला नि । मास्टर्स गरेपछि राम्रै नोकरी पनि पाइएला । श्रीमती र छोरो ल्याई यतै काठमाडौंमै राख्नुहोला र पढाउनुहोला । के बिग्र्याछ त भाइ ? सबै ठीकठाकै त देख्छु त म ।” मैले उसको काँधमा धाप मार्दै भनें ।

“अँ दाइ, त्यो त हो ।” पुलुक्क टाउको कान्याउँदै उसले मतिर हेर्दै भन्यो ।

“मेरो बारेमा भाइलाई क्यै था’छ ?”

“अहँ दाइ ।”

“याँ भाउजूलाई देख्नु भो ?”

“अहँ दाइ ।”

“तपैंरू याँ कोठामा आउँदा, तपैंहरूलाई मीठो च्या बनाई ले’र आउने तपैंहरूकी प्यारी भाउजू आज यो दुनियाँमा छैनन् ।” यति भनेर म एकछिन रोक्किएँ ।

ऊ निस्तब्ध भयो । एकाएक बादलभित्र घाम लुक्दा दिन अँध्यारो भएर आए जस्तै उसको मुखाकृति एक्कासि अँध्यारो भई आयो ।

“हो र दाइ !” उसले यत्ति भन्यो ।

अघिसम्म धपक्कै बलिरहेको उज्यालो अचानक उसको अनुहारबाट झ्याप्पै निभ्यो ।

“मलाई कैले उदास देख्नु भो ?” फेरि भनें ।

“अहँ दाइ ।”

“मलाई कैले दुःखी देख्नु भो ?”

“अहँ दाइ ।”

“मलाई पीरको भारी बोकेर हिंडेको यो अनुहारमा कैले देख्नु भो ?”

“अहँ दाइ ।”

“स्वास्नी मरेकी पीरमा जाँड रक्सी खाई माती हिंडेको मलाई कैले देख्नु भो ?”

यो चोटि भने ऊ मौन रह्यो । उसका दुवै गाला टमाटरझैं राताराता भई आए । उसका आँखाहरू कुवा रसाएझैं रसाइरहेका देखिन्थ्यो । ओठहरूमा थोरै कम्पन आएझैं भान हुन्थ्यो । तर ऊ अवाक रह्यो । मानौं, ऊसँग अब कुनै शब्दहरू थिएनन् जवाफको लागि ।

“र त म हाँसिरहेछु । हेर्नुस् भाइ…, शोक एउटा यस्तो आगो हो । जो जलेपछि कोइला बन्छ । फेरि त्यो कोइला पनि जलेपछि विभूति हुन्छ । अब विभूति बनिसकेपछि त्यो काठ र कोइलाजस्तो जल्दैन र कहिल्यै बल्दैन । हो, म त्यै विभूति हुँ र त्यै खरानी हुँ । अब मलाई आगो जस्तो बल्नु छैन । अब मलाई कोइला जस्तो जल्नु छैन ।” यति भनिसक्दा म आफैं पनि अगेनाछेउको नौनीझैं पग्लिसकेको रहेछु ।

“भाइलाई ढुङ्गा हुन सिकाउँदै थिएँ । कत्तिखेर आफैं नौनीझैं पग्लिएछु ।” उसको दायाँ कुममा मैले देब्रे हात राख्दै नाक सुकसुकाउँदै भनें ।

मेरा दुवै आँखाबाट दुई ढिका आँसु तप्प तल खसे । मानौं, मैले मेरी मुनाका यादहरू त्यही दुई ढिका आँसुमा बगाएको हुँदो हुँ । एक्कासि मेरो नाक सर्सराएर आयो । सिंगान चुहुलाचुहुला जस्तै भएर आयो ।

म उठेर आफू सुत्ने कोठाभित्र गएँ । रुमाल लिएँ र नाक सुकसकाउँदै पुछें । आँखाभित्रको आँसु आँखाभित्र नै सुकाएँ । फेरि बैठक कोठामा नै फर्किएँ र ऊसँगै बसेँ सोफामा ।

“यस्तै हो जिन्दगी भाइ । हामी भन्छौं नि अररिएर – म कसैसँग सम्झौता गर्दिनँ । तर ती सबै झ”टा रहेछन् भाइ । हामी कदमकदममा जिन्दगीसँग अथवा भनौं समयसँग सम्झौता गरिरहेका हुँदारहेछौं । तर पनि हामी भन्न बिर्सन्नौं – म कसैसँग सम्झौता गर्दिनँ, तर नि हामी पलपलमा सम्झौता गरिरहेका हुन्छौं भाइ ।” फेरि रुमालले सुल्सुलिएको नाकको सिंगान पुछ्दै भनें ।

मेरा कुराहरू सुनिरह्यो मात्रै उसले । ऊ शून्यमा पुगेको हुनुपर्छ शायद । ऊ निकै गम्भीर बनिसकेको भान हुन्थ्यो । कतिखेरै उसले टिभी बन्द गरिसकेको रहेछ तर मैले कुनै चालै पाइनँ ।

“जिन्दगी एउटा नदीजस्तो पनि हो भाइ । उसले चाहेर पनि सिधा बग्न सक्दिन । जिन्दगी एउटा स्वयम् आफैंमा पृथ्वी पनि हो भाइ । उसले चाहेर पनि आफू बोझिलो भयो भन्दैमा आफ्नो आङमाथिको पहाड र हिमाल उखेली कहिल्यै फाल्न सक्दिन । जिन्दगी एउटा आफैंमा उकालो र ओरालोको सर्पजस्तै बाङ्गोटिङ्गो गोरेटो बाटो पनि हो भाइ । हामीले चाहेर पनि ती बाटाहरू सम्म र सोझा हुन सक्दैनन् ।

यत्ति बुझ्नू भाइ, हामीले बाटो सिधा बनाउँदैमा सर्प कहिल्यै सिधा हिंड्दैन । ऊ बाङ्गोटिङ्गो नै भएर हिंड्ने गर्छ । हो, ठीक त्यस्तै गरी हामी जिन्दगीलाई सिधा बाटोमा हिंडाउन खोज्छौं तर पनि परिस्थिति सर्प जस्तै बाङ्गोटिङ्गो भई हिंडिदिन्छ ।

त्यसैले, कलेजका पुस्तकहरू मात्रै पढेर हुँदैन भाइ । जिन्दगीका पुस्तकहरू र जीवन दर्शनहरूका बारेमा पढ्नु र बुझ्नु छ भने उसले सर्वप्रथम आफू स्वयंलाई पढ्नुपर्छ । आफ्ना अनुभूतिहरूका पानाहरूलाई पल्टाईपल्टाई पढ्नुपर्छ र आँखाले देखिने प्रकृतिहरूसँग धेरै कुराहरू सिक्नुपर्छ ।

यत्ति बुझ्नू भाइ, ती सबै हाम्रा जिन्दगीका कुनै शुल्क नलिई ज्ञान दिने पुराना महागुरुहरू हुन् ।” यो चोटि भने मैले नै उसको दायाँ तिघ्रामा थपथपाउँदै भनें ।

फेरि भनें उसलाई, “जिन्दगीमा सबै दुःखहरूका पहाडहरूसँग ठोक्किनु परोस् तर भाइ यत्ति भन्छु म, भुस्याहा कुकुरहरूभन्दा पनि बीभत्स जिन्दगी कसैले बाँच्न नपरोस् ।” यत्ति भन्दै मौन म बसें ।

एक्कासि मेरो आँखामा २०४५ सालकोलाटोलठेप्रो’को दृश्य सिनेमाको पर्दाझैं एकपछि अर्को गर्दै कुदिरह्यो । कुदिरह्यो ।

* * *

वि. स. २०४५ साल

स्थान – ढल्केबर, धनुषा

करीब पैँतिस वर्षअघि अर्थात् भनूँ, २०४५ सालको कुरा हो । यत्तिका वर्षपछि एक्कासि मेरो दिमागमा मलाई ढल्केबर चोक अथवा विकलाङ्ग ‘लाटोलठेप्रो’को दृश्यले नराम्ररी हल्लायो । यो दृश्य साँच्चै ! भन्नुपर्दा निकै बीभत्स दृश्य थियो । निकै दयनीय दृश्य थियो । एक भयानक मानवले भोग्नुपरेको एक बीभत्स कथा थियो यो ।

यो ढल्केबर चोक धनुषा जिल्लामा अवस्थित छ । यो एउटा यस्तो चोक हो जुन चोक हुँदै पूर्व इटहरीदेखि बिर्तामोडसम्म जाने महेन्द्र राजमार्ग लमतन्न तेर्सिएको छ । चोकदेखि दक्षिण जनकपुरदेखि जलेश्वर भिट्ठामोडसम्म जाने पिचबाटो छ भने चोकदेखि उत्तरपूर्व हुँदै लालगढ, बर्दीबास हुँदै पूर्व पथलैया, हेटौडा र नारायणगढ हुँदै पश्चिम जाने र काठमाडौं जाने महेन्द्र राजमार्ग पिचबाटोहरू लमतन्न नछुटाई तन्किएका छन् ।

धेरै वर्ष पहिले यो चोकमा एउटा ढल्किएको बुढो बरको रूख थियो रे । गाउँले साथीभाइहरू कतै जानु अथवा भेट्नुपर्‍यो भने “काँ पर्खिने र भेट्नेभन्दा त्यै क्या त्यै ढल्केको बुढो बर छ नि, हो त्यैं  पर्खिने र भेट्ने हामी सबैजना अनि सँगै जाने” भन्थे रे ।

हो, त्यही ढल्किएको बुढो बरको नाउँले नै यो चोकको नाउँ ढल्केबर राखिएको हो भन्ने बुढापाकारहरूका किंवदन्ती छन् । तर अहिले ढल्केबर चोकमा त्यो बुढो रूख भेटिंदैन र देखिंदैन । त्यो बुढो रूख कहिले काटियो र कसले काट्न लायो भन्ने बारेमा भने कसैलाई कुनै जानकारी छैन ।

हो, त्यही चोकको थोरै उत्तरपश्चिमतिर लहरै टाँसिएर रहेका रोडलाइन चिया, नास्ता र खानाको लागि खोलिएका झुपडी होटलहरू थिए । ग्राहकहरूले खाइसकेका अथवा खाइनसकी छाडिएका त्यही जूठोपूरोहरू थुपार्नको लागि ड्रमलाई आधा काटी होटलहरूका अघि अधकट्टी ड्रमहरू लहरै राखिएका थिए ।

त्यही लहरै राखिएका ड्रमहरूमा ड्रमैपिच्छे भुस्याहा कुकुरहरू झुरुप्प-झुरुप्प भई जुदीजुदी जूठोपूरो खाइरहेका थिए । त्यही झुन्डमध्ये त्यो विकलाङ्ग लाटोलठेप्रो पनि ती भुस्याहा कुकुरहरूसँग मिली जूठोपूरो टिप्दै खाइरहेको बीभत्स दृश्य मेरा एकजोर आँखामा आएर एकाएक ठोक्कियो ।

घटना नं. १ –

उसले निकै कठिनपूर्ण त्यो ड्रमबाट एउटा टपरी निकाल्यो । जुन ड्रममा अघिदेखि नै तीनवटा भुस्याहा कुकुरहरू मुन्टो जोतेर झुठोपूरो खाइरहेका थिए । टपरी पनि पूरै सग्लो थिएन । आधा च्यातिएको थियो र त्यो टपरीमा आलुदमको तरकारी र गिजोलिएको थोरै भात मात्रै बाँकी थियो । उसले त्यो टपरी कुँजिएको हातले सकी नसकी बोकेर अलि पर लगी घुँडा खुम्च्याएर बस्यो र खान थाल्यो ।

बिचरा उसको हाम्रोजस्तो मुठी राम्ररी खुल्दैन थियो । टपरीको झुठोलाई मुठीमा कसेर मुखमा पुर्‍याउने सक्दो कोशिश त गर्थ्यो तर आधा जति तलै झर्थ्यो । आधा उसको मुखमा पर्थ्यो । तर  पनि ऊ मीठो मानी खाइरहेको थियो । सबैभन्दा मीठो भनेको भोक हुँदोरहेछ । हो, त्यही मीठो भोकको प्रमाण दिइरहेको थियो उसले हामी सबैलाई । एकैछिनमा परतिरको ड्रमबाट लुतो लागेको र एउटै रौंसम्म नभएका एउटा भुस्याहा कुकुर लुसुक्क आयो र उसले खाइरहेको त्यो टपरी च्याप्प मुखले चेपी पर लग्यो र खान थाल्यो ।

ऊ ट्वाल्ल परेर हेरेको हेर्‍यै भयो ।

यो घटनाले मलाई सात चोटे कमिलोले चिल्या जस्तै नराम्रो गरी भित्रैसम्म चिल्यो । म निस्तब्ध भएँ । मैले दायाँबायाँतिर मेरा एकजोर आँखा एकैचोटि फ्याँके । तर कसैका पनि नजर त्यो लाटोलठेप्रोतिर ठोकिएका थिएनन् । सबै आआफ्नै सुरमा थिए । बसहरू पप्वप् गर्दै हर्न बजाइरहेका थिए । यात्रीहरू भने हतार हतारमा बस छुट्ला कि भनेर दौडादौड् गरिरहेका देखिन्थ्यो । रोडछेउको किनाराहुँदै कुनै कुनै कुल्लीहरू ठेलागाडीमा सामान राखेर ठेल्दै वारि र पारि गरिरहेका देखिन्थ्यो । सबै आआफ्नै सुरमा थिए तर कसैलाई पनि उसको अलिकत्ति पनि पर्वाह थिएन ।

हेर्दाहेर्दै म अर्को दुनियाँमा हराएँ र म पनि विकलाङ्ग लाटोलठेप्रो बनें । ठ्याक्कै उसको जस्तै त्यही फोहरी रूपमा आएँ म पनि । त्यसैगरी ती भुस्याहा कुकुरहरूसँग मिली ड्रमको झुठोहरू खान थालें । एक्कासि चार-पाँचवटा कुकुरहरू झडप भई जुद्न थाले । कुनै कुनै कुकुरहरू एकर्कामा ङिंच्चङिंच्च दाँत देखाएर ङ्यारङ्यार गर्दै लड्दै थिए । उनीहरूलाई झुठोको भाग पुगेनन् कि क्या हो शायद । एउटा लुते कुकुरले आएर मेरो दायाँ पाँसुलामा अकस्मात दाँत गाड्यो ।

एक्कासि म कहालिएँ । नराम्री झस्किएको रहेछु म । कताकता आफैंभित्र लजाउनुसम्म लजाएँ । आफ्नै दायाँ हातले बायाँ हातलाई चिमोटेँ । दुख्ने गरी चिमोटेछु कि क्या हो “ऐय्या !” भन्न पुगेछु । तर म आफू भने सद्दे नै थिएँ । मेरो जीउ उत्तिनै खेर एकसय चार डिग्रीको ज्वरो आएजस्तो गरी रनक्क भई रन्किएर आयो । एक्कासि भित्रभित्रै दिकदारी भुलुक्क उम्लिएर आयो र दायाँबायाँ हेरें कसैले मलाई हेरिरहेका छन् कि भनेर । धन्न !  कसैको ध्यान मतिर थिएन ।

फेरि त्यो लाटोलठेप्रोतिर आँखा दौडाएँ । उसलाई त कुनै बहुला कुकुरले पिँडुलामा दाँत गाडेर घिसार्दै पर लगिरहेको थियो । ऊ पीडाले छट्पटाइरहेको थियो । उसको पीडाले उसलाई भन्दा मलाई बढी दुख्यो तर म निस्तब्ध भई टोलाइरहेँ ।

लाटोलठेप्रोले खान बसेको झुठो टपरी पनि लुते भुस्याहा कुकुरले खोसेर लगेको दृश्य देखेर एकाएक मेरो दिमागमा एउटा कविता टुसायो ।

 

भोकको युद्ध

केको युद्ध लड्यौ साथी

जवाफ देऊ मलाई साथी । 

 

तिमीले देखेका हौला

जस्तो कि

एउटा भोको गोरु,

एकमुठी घाँसको लागि अर्को गोरुसँग लडिरहेका  

एउटा भोको सर्प,  

एकथान भ्यागुतोको लागि लडिरहेका

एक थान हड्डीका लागि,  

दशौँ कुकुरहरू कुकुरहरूसँगै लडिरहेका । 

 

तर तिमीले कहिल्यै देखेनौ  

ढल्केबरको बाटोमा राखिएको 

फोहोरको कन्टनेरमा एउटा भोको पेट

आफ्नो भोकको लडाइँ 

दशौँ भुस्याहा कुकुरसँग लडिरहेका

युद्ध त त्यो हो कमरेड

जहाँ न रक्तपात हुन्छ न हिंसा 

युद्ध त त्यो हो कमरेड

जहाँ न बन्दुक हुन्छ न त बिछ्याइन्छ ग्रिनेट् ।  

 

थाहा छैन त्यो भोकलाई,  

के हो युद्ध र को हुन् योद्धा

को हुन् मित्र र को हुन् शत्रु

 

बुझ्दैन उसले त्यतिखेर देशलाई कहाँ दुख्छ ?  

र पढ्दैन उसले त्यतिखेर,

देशका सीमा च्यातिएका कथाहरू

पढ्छ त उसले आफ्नै भोक

आफैँले खान बसेको जुठो टपरी 

र भुस्याहा कुकुरहरूले खोसेर लगिरहेका

आफ्नै बीभत्स कथाहरू ।

 

जब सम्झिन्छ उसले – 

देश देशको लडाइँ –   

सीमा सीमाको लडाइँ –   

जब छाम्छ उसले आफ्नो भोको पेट  

र हेर्छ खोसिएको त्यो जुठो टपरी,

जहाँ कुकुरहरू रमाइरहेथे

र भन्छ बग्दै आँसुले उसले आफूलाई – 

म भोकको युद्ध हारेको एउटा सिपाही 

जसले भोकको युद्ध जित्यो 

बुझ्नू – “उसले देशको युद्ध जित्यो”

साथी,

वादको युद्ध तिमीले पछि लड्नू ।’’

 

* * *

त्योभन्दा पहिले मैले उसलाई यस ढल्केबर चोकमा कहिल्यै देखेको थिइनँ । कहाँबाट ऊ यहाँ आयो ? कसरी आयो ? कसले ल्याई यहाँ छोडेर गयो र ऊ कुन ठाउँको हो ? उसका बाआमा छ कि छैनन् ? आदि इत्यादि भन्ने कुराको जानकारी कसैलाई छैनन् ।

सायद उसलाई पहिले प्यारालाइस् भएको हुनुपर्छ अथवा ऊ यस्तै विकालाङ्ग नै जन्मिएको थियो । यसको जानकारी पनि उसैलाई जन्मदिने बाआमालाई थाहा थियो होला । तर मैले देखेदेखि उसलाई यस्तै विकलाङ्ग नै देखेको थिएँ । ऊ पूर्ण रूपमा सुस्त देखिन्थ्यो । उसको मुख बायाँतिर मोडिएको थियो ।

मुखबाट र्‍यालको लर्को लागी तल भुइँसम्म र्‍याल झरिरहेको थियो । उसको दुवै हात दुईतिर क्रस भएर अथवा कैँची बनेर दुवै हत्केला तलतिर लर्केका थिए । दुवै खुट्टा पैँतिस डिग्रीको कोणमा खुम्चिनुको साथै बाहिरतिर मर्किएको जस्तो गरी फर्केका हुनाले ऊ कुप्रो परी दुवै खुट्टा घिसारेर हिंड्दै थियो ।

उसका दुवै कुर्कुच्चा धानखेतको ध्वजा फाटेजस्तै हेर्नै नसक्ने गरी पट्पट् चर्केका थिए । कपाल पूरै लट्टा परेका थिए । खुट्टा र हातका औंलाहरू सबै भाले कुखुराको खुट्टाको नङ्ग्राजस्ता लामा लामा भएर कुनै बाङ्गिएका थिए भने कुनै भाँचिएका पनि थिए ।

जीउमा तीनचार थरीका पुराना च्यातिएका कटकटिएका कमिजहरू थिए भने कम्मरदेखि तल ठाउँठाउँमा च्यातिएका मैलले टलक्क टल्किएका तीनवटा सुरुवालमाथि एउटा ओभर साइजको जिनको हाप्पैन्ट लगाएको थियो उसले । त्यही हाप्पैन्ट अड्याउनलाई डोरीले बेल्ट बनाएर कम्मरमा कसेको थियो ।

लाटोलठेप्रोको हुलिया हेर्दा यस्तो लाग्थ्यो – मानौं, वर्षौंदेखिको नुहाएको थिएन उसले । फोहर, मैल र लुतोले गर्दा चिलाएकोले होला हातखुट्टा सबैतिर घावैघाउ थिए । सरर गरी बाहिरैबाट जुम्राहरू हिंडेका देखिन्थे उसको शरीरबाट । शरीरभरि माहुरी घारमा बसे जस्तै गरी छपक्कै भएर झिङ्गाहरू घाउदेखि लिएर जिउभरि बसेका देखिन्थे । परैबाट आएको उसको ह्वास्स हरकले नाक थामिसक्नुको हुँदैनथ्यो । त्यसैले, उसलाई मान्छेहरू छेउ पर्नै दिंदैनथिए । होटलमा पनि उसलाई कसैले जान दिदैनथ्यो । त्यही भएर ऊ भुस्याहा कुकुरहरूसँगै ड्रमहरूमा फालिएको झुठोपुरो खान्थ्यो र आफ्नो भोक मेटाउने गर्थ्यो ।

उसका कोही आफान्तहरू थिए त तिनै भुस्याहा कुकुरहरू थिए । तिनै भुस्याहा कुकुरहरू नै उसका साथी थिए । तिनै भुस्याहा कुकुरहरू नै उसका नाता/गोता र आमाबा सबै सबै थिए । त्यस सिवाय उसका कोही थिएनन् । त्यही कुकुरहरूसँगै खान्थ्यो र त्यही कुकुरहरूसँगै निदाउँथ्यो ।

* * *

घटना नं. २ –

म जनकपुरदेखि बाइकमा आउँदै थिएँ । महेन्द्रनगर कटेपछि एक्कासि बाइक्को पिकप कम भएर आयो । पेट्रोल ट्याङ्कले रिजर्ब माग्यो  । ढल्केबर आएपछि ढल्केबर पेट्रोल” पम्पमा पेट्रोल लोड गरी पेट्रोल पम्पको सामुन्नेको विशाल अशोकको रूख छेउमा बाइकलाई स्ट्याण्ड लगाई कोल्ड स्टोरमा फ्रुटी किन्नु पर्‍यो भनेर गएँ । फ्रुटी किनेर ल्याएर बाइकमै अडेस लागी फ्रुटी पिउँदै थिएँ । अशोकको रूखको फेदमा वेलावेलामा कुकुर भुकेको सुनिन्थ्यो । वेलावेलामा कुकुर कुइँकिएको पनि सुनिन्थ्यो । तर कुकुर भने कहीं यताउता देखिंदैन थियो । मैले चारैतिर आँखा यताउता कुदाएँ तर कतै पनि कुकुर देखिएन । म अझै रूखकै फेदैनिर आएँ र फेद वरिपरि घुमेर हेरें ।

मेरो होशै उड्यो । रूखको फेदमा पूर्वतिर लम्पसार हिरिक्क हिरिक्क भई  त्यही पन्ध्र दिनअघि भुस्याहा कुकुरहरूसँगै झुठोपुरो खाने उही ‘लाटोलठेप्रो’ जसलाई मेरै आँखाको सामुन्ने बहुला कुकुरले पिँडुलामा टोकेर घिसार्दै गरेको देखेको थिएँ ।  आज उही लाटोलठेप्रो घरीघरी कुकुरझैं भुक्दै थियो र घरीघरी कुकुर कुइँकुइँ गरेझैं कुइँकिंदै थियो ।

मैले सुनेको थिएँ, “बहुला कुकुरले टोकेका मान्छेहरूलाई वेलामा उपचार हुनसकेन भने रेबिज लागेर कुकुरझैं भुक्छ र कुइँकिन्छ र त्यही रेबिजले मर्छ मान्छे ।”

हो, ऊ त्यसरी नै भुक्थ्यो र कुइँकुइँ गर्थ्यो । जिउँदै आधा कङ्काल भई मुर्दासरि सुतिरहेको एउटा लासझैं थियो ऊ । शरीरमा मासुको अंश कहाँ छ भनेर देख्नै मुश्किल पर्थ्यो । जिङ्रिङ्ङ छालाले बेरिएको हड्डीमा धसिएर प्याला अट्ने जत्रै खोपिल्टो भएको सेतो आँखा वेलावेलामा पिर्लिक-पिर्लिक गरी पल्टाइरहेको थियो उसले ।

मलाई देखेर झन् उसको आँखाबाट सलल आँसु बगेर गालालाई किनारा बनाउँदै माटोमा गई मिसियो । मानौं, उसको सबै दुःख र पीडाहरू त्यही आँसुमै बगी उसलाई सन्चो गरायो ।  म अक्क न बक्क तीन छक परें । मेरो होशै उड्यो । एक्कासि मेरो शरीर जिरिङ्ङ भई काँडा उम्रेर आयो । मानौं, मध्यराति कहीँ हिंडिरहेको बखत कुनै भूतसँग अकस्मात झम्काभेट भएजस्तो ।

म एकछिन पनि त्यहाँ रुक्न सकिनँ । मैले उसलाई आँखाले हेर्नै सकिनँ ।

मात्रै आकाशतिर फर्की दुई हात जोड्दै यति भनें मैले, “हे भगवान् ! जिन्दगी सबैको देऊ  तर यस्तो लाटोलठेप्रोको जस्तो बीभत्स जिन्दगी कसैको नदेऊ ।”

बाइकमा जोडले किक् हानें र मनभित्रको क्यानभासमा उसैका ती बीभत्स चित्रहरू बाटाभरि कोर्दैकोर्दै घर आएँ ।

* * *

घटना नं. ३ –

त्यसको ठीक दश दिनपछि म कामले जनकपुर जाँदै थिएँ । लाटोलठेप्रो हिरिक्क भई लम्पसार परी सुतेको ढल्केबरको त्यही अशोक रूखलाई दायाँ पारी मलाई जानुपर्ने हुन्थ्यो । त्यही  रूखनिर आएपछि उसलाई एक्कासि सम्झें र हेरें तर ऊ त्यहाँ थिएन । मैले बाइक रोकें र यताउता नजर डुलाएँ र परपरसम्म पनि आँखालाई दौडाएँ तर उसलाई कतै पनि देखिनँ । एकाएक मेरो मन खिन्न भई आयो ।

आकाशतिर हेरें र भनें, “भगवान् तिम्रै मर्जी । तिम्रो लीला बुझिनसक्नुको छ ।”

मैले फेरि बाइक स्टार्ट गरें र जनकपुरतिर हुइँकिएँ मनभित्रको क्यानभासमा उही लाटोलठेप्रोको चित्र कोर्दैकोर्दै एकोहोरो बाइक दौडाइरहें ।

* * *

नक्टाझिज नेपाल सरकार नर्सरी कटेपछि औरही खोला आयो । औरही खोलाको पुलको ठीक करीब २५० मिटर पश्चिमतिर आँखाले नभ्याउने एउटा ठूलो सरकारी चौर थियो । त्यही चौरमाथिको आकाश हुँदै आठ-दशवटा गिद्धहरू धावनमार्गमा विमान अवतरण गर्ने खोजे जस्तै गरी वेगमा अवतरण हुँदै गरेका दृश्य देखिँदै थियो भने तल भूइँमा पन्ध्रबीस गिद्धहरू सिनो लुछुरहेका थिए ।

एकाएक मेरो मनमा आयो, “त्यो सिनो त्यही अशोकको रूखमा रेबिज लागी आधाप्राण भई लडेका लाटोलठेप्रो’ हुनुपर्छ । कसैले ल्या’र याँ फाल्देछ । हेर ! बिचरालाई कसैले पनि तेति खाल्डो खनेर पनि गाडिदिने घर्म निभाउन सकेनछ ।”

* * *

मैले उसलाई यत्ति कथा भनिसकेपछि म निस्तब्ध भएँ । के भयो भयो एक्कासि मलाई, मैले मन थाम्नै सकिनँ । उन्मत्त बैँसले बगेको बाढीले किनारा भत्काउँदै बगेझैं मेरो मन पनि एक्कासि भत्कियो र म डाकै छोडी रुन थालेछु ।

उसले मलाई दुई हातले सहानुभूति रूपी अँगालो मार्‍यो ।

एकछिनपछि आफूलाई सम्हाल्दै भनें, “भाइ, त्यो लाटोलठेप्रो’को जिन्दगी जस्तो भाग्य भगावान्ले कसैको भाग्य नलेखून्, बुझ्नु भो । तपैँ त धेरै भाग्यमानी हुनुहुन्छ भाइ ।”

शायद, ऊ मेरो कथाको दन्किंदो आगोले पग्लिए छ कि क्या हो ? ऊभित्रका मनहरू उम्लेर मसँगसँगै मेरो आँसुसित मिसिएर ऊ पनि बग्न थाल्यो ।

ऊ एकाएक जुरुक्क उठ्यो र मेरो खुट्टा समात्दै भन्यो, “दाइ । आएम् सो सरी । रियली रियली आएम् भेरी भेरी सरी दाइ । म आइन्दा दुःखी छु भनेर कैल्यै यसरी भन्ने छुइनँ दाइ । आज तपैँबाट मैले धेरै धेरै कुराहरू सिकेँ । मलाई माफ गर्नू दाइ, अब म कैल्यै यस्तो भन्ने छुइनँ ।”

त्यसपछि त्यो बद्री भाइसँग मेरो कहिल्यै भेट भएन । किनकि; म बद्री भाइलाई भेट भएको दुई दिनपछि त्यो डेरामै फर्केर कहिल्यै गइनँ ।

बद्री भाइले मसँग के सिक्यो के सिकेन त्यो उसको व्यक्तिगत कुरा हो । तर मैले भने जिन्दगीका पुस्तकहरूबाट धेरै कुरा सिकेको छु । पढेको छु र अझै पनि सिक्दैछु ।

लाटोलठेप्रोको कथा लेखिसकेपछि मैले ओझा भाइलाई हृदयदेखि नै धन्यावाद चढाएँ । किनकि; यो कथा उसकै कारणले जन्मिएको हो । नत्र भने मैले त ‘लाटोटठेप्रो’लाई उहिले मेरो दिमागबाट उखेली फालिसकेको रहेछु । यदि मसँग बद्री भाइ नठोकिंदो हो त यो कथा यत्तिकै मुर्दा भएर जान्थ्यो । कमसेकम म यत्ति आशा गर्छु; कथङ्काल यो कथा छापिएर बजारमा पुग्यो र बद्री भाइको हात पर्‍यो भने म आफूलाई धेरै धेरै आभारी ठान्नेछु ।