‘उम्म्.. म्वाँ ।’

‘उम्म्.. म्वाँ ।

‘उम्म्.. म्वाँ !! अ… प… र् णा… आइ लभ यू । पाताल, धर्ती र आकाशसम्म यो आवाज गुञ्जियो… अ… प… र् णा. आइ लभ यू !’-

मन्त्री नन्दन शाहले दुवै हत्केला जोडेर तिनका बीचका आठ वटा औंलामा तीन पटक ताता म्वाइँ खाए र अँजुलीभरि म्वाइँ लिएर गुलाफका फूलझैं भ्रमकी प्रेमिकातिर फुकेर उडाइदिए । त्यसपछि जोर-जोरले कराए-

‘…अपर्णा !

…अपर्णा !!

…अपर्णा !!!’

मन्त्री पूरा पागल होइनन् । आधीउधी पागल हुन् । आधीउधी, किनभने दिमागमा कहिले टावर आउँछ, कहिले पूरै गोल । पूरै गोल भएको बेलामा उनी श्रीमती, छोरा-छोरी, काम गर्ने केटो, सबैलाई बिनासित्तीमा भकुर्नसम्म भकुर्न थाल्छन् । उनीहरूले कंकला शब्द गरेर रोएको आवाज मेरो झुपडीसम्म पुग्दछ । उनले घरका भाँडाकुडा, टिभी., कम्प्युटर सबै सडकमा हुत्याउन थाल्छन् । दिमागको टावर पूरै गोल हुन अलिक कसर बाँकी रहेको बेला उनी तीनतले घरको बार्दलीमा उभिन्छन् र भाषण ठोक्न थाल्छन् । सडकलाई उनी संसद भवन ठान्छन् र सडकमा उभिएका मानिसहरूलाई सांसदहरू । भाषणका विषय गजबका हुन्छन् ।

उनको आजको विषय थियो- ‘राजनीतिको प्रारम्भिक इतिहासदेखि आजसम्मको राजनैतिक व्यवस्थाको उथलपुथुलमा यौनको भूमिका, र भाषणको निर्क्योल थियो, ‘गाँधीदेखि महराजसम्मको राजनैतिक जीवनमा जब यौनको यत्रो महत्वपूर्ण भूमिका रहेको छ भने यौन-कर्मलाई स्क्यान्डल बनाएर त्यसको आधारमा कुनै मुलुक वा समाजलाई ठूला महापुरूष, नेता वा अन्य प्रतिभावान व्यक्तिले दिन सक्ने योगदानबाट वञ्चित गर्नु अनैतिक हो, ऐतिहासिक अपराध हो ।’

भाषणको अन्त्यमा उनले सडकमा उभिएका मानिसहरूसित प्रश्न गरे, ‘कसैको केही बिगार नगरी यदि कसैले रक्सी र सेक्सको आनन्द लिन्छ भने के यसलाई अपराध भन्न मिल्छ ? यो डाहा हो, बुझ्नु भो, आफूले भोग्न नपाएको सुख अरूले भोग्न पाएकोमा ईर्ष्या हो ।’ …नन्दू, अर्थात् मन्त्री नन्दराम तेलीले फेरि थपे, ‘साथीहरू हो ! पढाइ लेखाइ छाड, कुनै राजनैतिक पार्टी ज्वाइन गर, पार्टीभित्रको एउटा शक्तिशाली गिरोहको अगुवालाई धर्मपिता बनाऊ तिमीले राज गर्नेछौ । होइन भने तिम्रो जीवन कुकुरको जीवनभन्दा बढी केही हुने छैन । सबैले थपडी बजाए । मन्त्री नन्दन शाह रोष्ट्रमबाट सीटमा अर्थात् कोठामा फर्किए तर तीला भाउजूले अलिक बल-प्रयोग गर्नुपर्यो ।

नन्दू तेली मेरा छिमेकी मात्र होइनन्, मेरा सहपाठी पनि हुन् । हामीले चौरीमा सँगसँगै भैंसी चराएका हौं । भैंसी चराउँदा भैंसीको पिठ्‌यूँमा सुतेर नन्दूले गाएको गीत अझै सम्झिन्छु म, ‘हेलल हेलल महिसिया पानीमे ।’

केटाकेटी छँदा गुरूहरूलाई तेलमालिस गर्ने नन्दू, गाउँका डुमलाई पनि काका वा दादा भनी सम्बोधित गर्ने नन्दू, जामुनाका ठूल्ठूला रूखका टुप्पा-टुप्पासम्म पुगी काला-काला जामुना खाएर कालो-नीलो जिब्रो देखाउने नन्दू, गाउँका पोखरीहरूमा दिन दिनभरि पौडी खेलेर ज्वरोले आँखा लालगेडी जस्ता राता-राता पारी घर फर्किने र पिता हरेराम तेलीका लात खाने नन्दू, एक दिन मन्त्री होला भन्ने कसले कल्पना गरेको थियो ?

सामान्यतया नन्दू सबैका प्रिय थिए, आँखामा राखे पनि नबिझाउने । तर, स्कूलमा कुटाइ नै नखाने चाहिं होइनन् । गाउँको बीचमा एउटा झ्याम्म परेको नीमको रूख थियो । त्यस रूखमुनि एउटा भारतीय गुरुजीले हातमा छडी लिएर स-साना बच्चाहरूलाई पढाउँथे- ‘दुई एकान दुई, दुई दुनी चार’ ।

हामी पनि बोरा, काठे पाटी र खली लिएर त्यहाँ पढ्न जान्थ्यौं । गुरुजीका आँखा बल्ढ्‌याङ्ग्रा थिए, त्यसैले गाउँलेहरूले ‘बलढ्याङ्ग्रे गुरूजी’ भनेर उनको नयाँ न्वारान गरेका थिए । एक दिन कुर्सीमा बस्न लाग्दा कुर्सीको पौवा खुकुलो हुनाले बलढ्याङ्ग्रे गुरूजी उत्तानो पल्टिनुभएछ र धोती माथि उचालिएछ । गुरूजीको दुर्वासा-आतंकले आतंकित चेलाहरूले केही नबोले पनि मुख हत्केलाले थिची खितितिती हाँसेका मात्र थिए, तर नन्दूले थाम्न नसकी ताली पिट्न थाले, ‘देखिहालें… देखियो… गुरूजीको देखियो । सोझो नन्दू तेलीले धेरै कुटाइ खाएका थिए, त्यो दिन ।

नीमको रूखदेखि अलिक पर एउटा हर्फारेबडीको रूख थियो । त्यहाँ एउटा दारीवाल मौलबी बाख्रा चराउन आउँथे । एक दिन मौलबी इस्लामी टोपी लगाएर बीडीको धूवा बुङ्बुङती उडाउँदै बाख्रा चराउँदै थिए । नन्दूलाई कुन्नि, के सूर चल्यो, बाख्रालाई देखेर जोरले नग्वपुरे पाराले कराए, ‘अल्ला- अल्ला… ले, ले, अल्ला ।’

मोरो नन्दूले ‘र’ बोल्दा ‘ल’ निस्किन्छ भन्ने कुरा कुप्रे मौलबीलाई के थाहा ? उनले प्रष्ट सुने, ‘अल्लाऽऽ. अल्लाऽऽ. ले, ले. अल्लाऽऽ. ।’

दारीवाल कुप्रे मौलबीलाई झनक्क रिस उठ्यो, ‘मलाई ‘अल्ला- अल्ला भनी गिज्याउने ?’ उनी जुरूक्क उठे, दौडेर नन्दूलाई च्याप्प समाए । कन्सिरीबाट आगोको झिलि‌ङ्गो निस्किने गरी चार झापट ड्याम्म-ड्याम्म हिर्काइहाले । बिचरो नन्दूले केही बुझ्न सकेनन् । हत्तपत्त बूढोलाई ढोगे । घर फर्किए । रून पनि सकेनन् । मात्र गाला सुमसुम्याइरहे ।

पाँचौं कक्षासम्म नन्दू कक्षामा प्रथम आउँथे । सबैले भन्थे, ‘उसको बाबु हरेराम तेली स्कूलका सेक्रेटरी हुन्, त्यसैले ऊ फस्ट आउँछ । तर, रामरती देवी स्कूलबाट उत्तीर्ण भएर जब उनले सनसाइन माध्यमिक विद्यालयमा भर्ना लिए, उनी सामान्यभन्दा अलिक राम्रो छात्र मात्र सिद्ध भए । उनको संगत कौशल, रामचन्द्र, बौआलालजस्ता आवारा किशोरहरूसित भयो । जामुनाका रूखका टुप्पामा चढ्ने र पोखरीहरूमा पौडी खेल्ने जस्ता उनको बानी यसै बेला यिनै आवाराहरूको संगतमा आएको हो । केटाकेटीमा कसैले उनलाई ‘पढेर के बन्छौ बाबु ?’ भनेर सोध्दा उनले गर्वसाथ भन्थे ‘छाइन्तिस’ अर्थात् ‘साइन्टिस्ट’ । डा. हरेराम तेलीको छाती छप्पन इन्चको हुन्थ्यो, फुलेर । अब त्यो खुम्चिंदै गएको छ ।

कौशल नौ कक्षामा पढ्थ्यो, चार वर्षदेखि । सधैं फेल हुन्थ्यो । तर एक हूल

विद्यार्थीहरूको हिरो थियो । ऊ क्रिकेट राम्रो खेल्थ्यो । ऊ गीत राम्रो गाउँथ्यो । माउथ अर्गन राम्रो बजाउँथ्यो । नाच्न जान्दथ्यो । ने. वि. संघको सदस्य थियो; चाहेको बेला स्कूलमा हडताल गराउन सक्थ्यो ।

रामचन्द्र र बौआलालले उसको चाकरी गर्थे, स्कूलको फिस माफी गराउन । केही केटीहरू पनि उसको नजिक पर्न हुरुक्कै हुन्थे । कौशल चटके थियो । बीडी सल्काएर सल्केको भाग मुखमा हाल्थ्यो र नाकबाट सुर्र धूँवा निकाल्न सक्थ्यो । गाँजा र भाँङ पचाउन सक्थ्यो । ठाडो घाँटी लाएर दारूको बोतल रित्याउन सक्थ्यो ।

सावित्री भन्ने एकजना केटीले उसलाई रूखको टुप्पामा फलेर पहेंलो भई पाकेको आँप टिपेर ल्याइदिन लाडिएर भनी । रूख अग्लो थियो । ऊ टुप्पोसम्म पुग्यो । रूखमुनि रमिता हेर्ने विद्यार्थीहरू घुँइचो लागे । कौशल टुप्पामा रहेको एउटा पातलो न पातलो हाँगामा उभियो, नाच्न र ताली बजाउन थाल्यो । केटीहरूले ताली बजाए । त्यो झन् रौसियो । झन् मच्चिएर नाच्न थाल्यो । तल उभिएका लगभग पचास जना विद्यार्थीले पटटट ताली पड्काए ।

तर दुर्भाग्य । एकै छिनमा कौशल हाँगा सहित भुइँमा गर्त्यामगुर्लुम लड्यो । करङ, पिडौंला र पिठ्यूँ गरी सात ठाउँमा हाड पिटिक्क पिटिक्क भाँचिएर टुक्राटुक्रा भए । तीन महिना जत्ति अस्पतालमा प्लास्टर लगाएर अइया-आत्था गर्दै, ठसठसी कनिरह्यो । तै पनि स्कूलका राम्राराम्रा केटीहरूले हेर्न आउँदा, उसलाई छाम्दा, सुमसुम्याउँदा उसलाई स्वर्गानुभूति र गर्व हुन्थ्यो ।

बाह्र वर्षको नन्दू चटके कौशलको चुम्बकीय व्यक्तित्वले तानियो । अब उनी ने.वि, संघका बैठकहरूमा जान थाले । पढाइ छुट्यो । साइन्टिस्ट हुने सपना चकनाचुर भयो । देशमा प्रजातन्त्र ल्याउने सपनाको ताना-बाना बुनिरहन्थे उनी ।

नौ कक्षामा पुग्दा प्रत्येक विषयमा उनी अनुत्तीर्ण हुने अवस्थामा आए । तर, उनको बाबु डा. हरेराम तेलीको पुर्पुरोको अभिलेख । यसै वर्ष लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा लोकतान्त्रिक जन-आन्दोलन थालियो । क्रान्तिमा होमिने सप्तरीका विद्यार्थीहरूको नेतृत्व कंचनपुर गाउँको रणवीर सिंहले गर्थ्यो ।

नन्दूलाई पनि नेपाली कांग्रेसको झण्डा बोकेर जुलुसको अगाडि अगाडि हिंड्न लगाइन्थ्यो । विद्यार्थीहरूको जमात लिएर उनी प्रहरीहरूको समूहलाई ताकी ढुङ्गा-मुढा गर्न थाले, पसलका सटरहरू बन्द गराउन थाले । बसदेखि साना वाहनमा आगजनी र तोडफोड गर्थे । रणवीर सिंहले यी क्रान्तिकारी विद्यार्थीहरूलाई मासु-चखनादेखि ड्रगसम्म उपलब्ध गराउँथ्यो । भाला बर्षाले तिनलाई लैस गर्थ्यो र क्रान्तिमा होम्थ्यो । क्रान्तिकारी भाषणले उत्तेजित पारेर । उसले नन्दूलाई कुन्नि कुन ड्रग, कुन मात्रामा दिन्थ्यो, नन्दू मर्न-मार्न पागल हुन्थे । उनमा सय सिंहको बल आउँथ्यो र उनी राजाको सेनामाथि आक्रमण गर्न हुंकार गर्न थाल्थे । ठाउँ-ठाउँमा हात हतियारले लैस पुलिस र सेनाको टुकडीलाई देख्नासाथ उनी कम्मरमा बेरेको नेपाली कांग्रेसको झन्डा झिक्थे र हातमा लिई हावामा लहराउन थाल्थे, ‘नेपाली कांग्रेस-जिन्दाबाद, राजा वीरेन्द्र- मुर्दावाद !’

नेता रणवीर सिंहकी छोरी थिई अपर्णा । उमेरमा नन्दूभन्दा जेठी थिई । रूपवती थिई बैसालु थिई र रामनगर कृषि विद्यालयमा स्नातक प्रथम वर्षमा पढ्दै थिई । अपर्णाप्रतिको आकर्षणले नन्दूमा क्रान्तिको थप उन्माद थपेको थियो । सत्य त के हो भने, क्रान्तिमा आफ्नो शौर्य देखाएर उनी अपर्णालाई प्रभावित गर्न चाहन्थे । अपर्णाले पनि नन्दूमा के देखी, कुन्नि, उनलाई अंगालोमा लिई पटक-पटक म्वाइ खान्थी र सार्वजनिक रूपमा भन्थी, ‘नन्दू इज द लवलिएस्ट च्याप इन द वर्ल्ड ।’ यो वाक्य सुन्नासाथ नन्दूको शिरमा चार बोतल ब्ल्याक हर्सको नशा चढ्थ्यो । उनी नियन्त्रणहीन, पागल हात्तीजस्ता हुन्थे ।

अपर्णाका पिता रणवीर सिंहले क्रान्तिकारी विद्यार्थीहरूलाई समूह-समूहमा विभक्त गरे । तिनका लागि प्रदर्शन गर्ने कामको नाम, स्थान र समूहनायक तोके । नायकलाई कप्तान भनियो र फरक-फरक सूचीहरूको माथि उनको नाउँको अंग्रेजी संक्षेप लेखियो । अब ‘स’-समूहमा पो नन्दू तेली । उसले पाएको नामावली-सूचीको माथि लेखियो ‘कप्तान एन.टी. ।’

एन. टी. भनेको नन्दू तेली नभई नर्मदेश्वर थापा थियो । समूहका सबै सदस्यलाई एक-एकवटा टिनको सिठी, पार्टीको एउटा झन्डा र समूहको नामावली थमाइन्थ्यो । नन्दूको समूहले मेन रोडमा मशाल जुलुस निकाल्ने जिम्मेवारी पायो । जुलुस दुई सय गज अगाडि के गएको होला, अकस्मात् पुगेको सेनाको बख्तरबन्द गाडीबाट उत्रिएर सेनाले केटा र केटीलाई जथाभावी कुट्न थाले । लगभग सबै भाग्न सफल भए । महान् क्रान्तिकरी नन्दू तेलीलाई अपर्णाले विजय-तिलक लगाएर पठाएकी थिई, कसरी भाग्थे । नन्दूको तलासी लिइयो, उसको कमेचमुनि बाट चारतारे झन्डा निस्कियो । युवा क्रान्तिकारी समूहको त्यो नामावली निस्कियो, जसको टुप्पोमा लेखिएको थियो, कप्तान एन. टी. ।

सेनाको प्रमुखले अर्थ बुझ्यो, कप्तान नन्दू तेली । बुटैबुटले उनको जीउलाई रक्ताम्मे पारियो । उनलाई गाडीमा शवझैं लादियो र त्यस शवजस्ता नाबालकमाथि ती बुटधारी राक्षस सैनिकहरू क्रूरतापूर्वक उभिए । सात दिनपछि नन्दू नाबालक रहेको आधारमा मुक्त भए । उनले टाउको हल्लाउँदा धेरै दिनसम्म उनको खप्परभित्र बाट गिलासमा गुच्चा हालेर हल्लाउँदा निस्किने आवाज जस्तो आवाज निस्किन्थ्यो ।

उनको अवस्था देखेर डा. हरेराम धेरै रुन्थे । आमा पटक-पटक बेहोस हुन्थिन् । तर, नन्दू के मान्थ्यो । सेनाको क्याम्पबाट मुक्त गरिएपछि उनलाई हेर्न आएकी अपर्णाले उनको जीउभरि म्वाइ खाई। ऊ तंग्रियो । फेरि आन्दोलनमा फर्कियो ।

डा. हरेराम र उनकी श्रीमती रेखा देवीले रेडियोबाट सुने, नन्दू फेरि पक्राउ परे । उनलाई पुलिसले घिसार्दै लगे रे । उनले सात दिनदेखि केही खाएको थिएन रे ।

कसैले भन्थ्यो, सेनाले बन्दूकका नालीले कुट्ता-कुट्ता उनी रगत छादेर मारे। अर्कोले भन्थ्यो, उनको टाउको मात्रै चरीकोटको जंगलमा फेला पर्यो अरे ।

थरीथरीका कुरा सुनेर हरेराम दम्पत्तीको सातो जान्थ्यो । भोक थिएन, निद्रा थिएन । कसैको पदध्वनि सुनियो कि दुवै कुदिहाल्थे, छोरो आयो कि भनेर । एक दिन कसैले सुनायो, आर्मीका मान्छेले सात जना क्रान्तिकारीलाई कमला किनारमा खाल्डो खनी पुरिदिए । त्यसै दिन डा. हरेरामलाई हृदयाघात भयो । आमाको नाकका दुवै पोराबाट रगतको धार निस्किए । झन्डै ब्रेन ह्यामरेज भएन ।

जब देशमा बहुदलीय लोकतन्त्रको घोषणा भयो, झ्यालखानाका ढोकामा बन्द राजनैतिक कैदीहरूले मुक्त वायुमण्डलमा सास फेर्न पाए । नन्दू तेलीको स्वागतको भव्य तैयारी थियो सप्तरीमा । उनको अबिर जात्रा गरियो । उनलाई मालाको थुप्रोमा पुरियो । तर, उनको पितालाई फर्काउन सकिएन । आमाको अवस्था पनि चिन्ताजनक थियो ।

सप्तरीमा दलको कुनै राष्ट्रिय कार्यक्रम हुँदा पार्टीका शीर्ष नेताहरू गिरिजा बाबू, किसुन जी, गणेशमान सिंहको पदार्पण हुन्थ्यो । सबैले नन्दूको काँधमा हात हाल्थे । सबैले पिठ्यूँमा धाप मार्थे । जनताले देख्ने गरी । रणवीर सिंह र अपर्णा सधैं उनलाई छायाझैं पछ्याउँथे । सबैले भन्थे, अब यस पालि संसदीय चुनाउमा नन्दूले कांग्रेसको टिकट पाउने भए । तर, जातिवाद, सम्प्रदायवाद, नातावाद, कृपावाद, गिरोहवाद जस्ता फलामे सा‌लामा जेलिएका कथित लोकतान्त्रिक पार्टीहरूभित्रका घोर अलोकतान्त्रिक संस्कारको विद्रूपता जब टिकट वितरण र मनोनयनमा प्रकट हुन थाल्यो, उनको धैर्यको बाँध भत्किन थाल्यो । उनले कतै कुनै स्थान पाएनन् । उनी निराश हुँदै गए ।

फेरि, सिङ्गो मधेस कथित अधिकारवादी कान्तिको महाज्वालामा जल्न थाल्यो । थरी-थरीका अधिकारका माग उठे । एउटा राष्ट्रध्वंशक संस्कृतिको विकास देशमा हुन थाल्यो- पहाडेलाई गाली गरे मुख्यमन्त्री सम्म हुनसक्ने, मधेसेलाई गाली गरे प्रधानमन्त्री सम्म हुनसक्ने सम्भावनाको मनोविकास भयो । उनले पनि पहाडेहरूको घरमा ढुङ्गा फाले, चिच्याई चिच्याई गाली गरे । कथित मधेसवादी पार्टीका महान् नेता आजाद मधेस दलका माननीय अध्यक्ष सुखीलाल यादवको टाउकोमा पुलिसले लड्डी हान्दा सुखीलाल बेहोस भएको थियो । उसको खप्पर फुटेको थियो । विराटनगरको न्युरो अस्पतालमा एक्काइस दिनसम्म उसको उपचार भयो ।

यस एक्काइस दिनसम्म नन्दू तेलीले सुखीलाल यादवको त्यत्ति सेवा गरे, जति हनुमानले रामजीको सेवा पूरै जीवनमा गरेन होला । त्यसमाथि उनले गैरी खेत बेचेर एक करोड पार्टीलाई चन्दा पनि दिए । फलतः वरदान पनि पाए । जब बारबुँदे समझौतापछि गठबन्धन सरकार बन्यो, नन्दूले खाद्यान्न तथा कृषि मन्त्री बनेर राजनैतिक मोक्ष पाए ।

जुन दिन उनले मन्त्री पदको शपथ लिए, आन्दोलनको वेला पुलिसको हातबाट खोसेको बन्दूक लिएर चउरमा गए र एक सय एक हवाई फायर गरे । अलि-अलि त त्यसै वेला सन्किएका हुन् नन्दू । उनले कल्पनै गरेको थिएन उनको अगाडि पछाडि कुनै दिन चिल्ला कारहरूको लस्कर कुद्‌ने छ, बिहान-बिहानै सेनाले उनलाई सलामी दिने छ, उसको एउटा झझल्को पाउन भीडमा आएका जनता आपसमा तछाड-मछाड गर्नेछन् । उनको खुट्टा भुइँमा थिएन । उनले अब घण्टौं भाषण ठोक्न सक्थे, टिभीमा चामत्कारिक रूपमा राजनैतिक विश्लेषण गर्नसक्थे ।

नन्दू तेली हिरो । उनले देशभरिका खाद्यान्न गोदाम र ठूल्ठूला होटल र मिठाइ पसलहरूमा छापा मार्न लगाए । मिलावट विरूद्धका कठोर कानुनहरूको कठोरतापूर्वक पालन गर्न लगाए । मिलावट गर्नेहरू सिधा जेल पुगे । कालाबजारियाहरू बोराका बोरा नोट उनको दैलोमा बर्साउन थाले । मन्त्री तेलीले नेपालको इतिहासमा पहिलो पटक कृषि बीमा लागू गरे । कृषकहरूले जयजयकार गरे । कृषक र कृषि विशेषज्ञहरूका लागि उनको ढोका सदा खुल्ला थियो । नेपाल कृषि अनुसन्धान केन्द्रको पहिलो बैठकमै पुग्दा डाइरेक्टरको पदमा अपर्णालाई देखेर उनी आश्चर्यचकित भए । दुवैको सम्पर्कमा प्रगाढता अझ बढ्न गयो । अपर्णाका पति राजकमल खड्‌का पुनरावेदन अदालतमा अधिवक्ता रहेछन् । पति यौन दुर्बलताका शिकार भएको हुनाले अपर्णाको हृदय मातृत्व-सुखका लागि हाहाकार गरिरहन्थ्यो । अब संभवतः उसको नारीत्वले नयाँ अर्थ ग्रहण गर्ने आशापूर्ण सम्भावना जागेको थियो ।

 

अपर्णाभन्दा कनिष्ठ कर्मचारीले माओवादी सरकारको पालोमा बढुवा पाएको थियो । त्यो प्रतिशोधको ज्वाला पनि ऊभित्र थियो । अब ऊ सजिलै सह-सचिव हुन सक्थी । त्यसैले दिन दहाडै ऊ नन्दूको मन्त्रालय जान्थी र मिटिङको निहुँले मन्त्रालय भित्रै नन्दूसित रोमान्स गर्थी । नन्दू नारीदेहमा पल्किंदै गयो, अपर्णाको उत्तेजना पाएर । अपर्णाकै सिफारिशमा रीता नाउँ गरेकी एउटी युवती उसको जालमा फँस्न पुगी । रीताका पिता र अपर्णाका पति पुनरावेदनमै साथी रहेछन् । मन्त्री नन्दू तेलीसित एउटा भद्र समझौता के भयो भने, नन्दूले रीतालाई आफ्नो मन्त्रालयमा अधिकृत स्तरको जागिर दिनेछ र त्यसको साटो रीतालाई लिएर मन्त्री महिनामा दुई पटकसम्म नगरकोट वा चन्द्रागिरिमा सँगै दिन बिताउन पाउनेछन् । निहुँ मन्त्रालयमा त्यही मिटिङको हुनेछ ।

नन्दूले देह-भोग रीतासँग जति गरे पनि उसको आत्मिक प्रेम अपर्णासितै थियो । एक पटक मन्त्रीले रीतालाई एउटा अन्तर्राष्ट्रिय कृषि सम्मेलनमा भाग लिन हङकङ सँगै लगे । त्यहाँ केही भयो, कि त्यहाँ मन्त्रीसँगै गएको मुद्दालाई लिएर घरमा सधैं चर्किने कलह चरम विन्दुमा पुगेर हो कि, त्यहाँबाट फर्किएको सात दिनभित्रै रीता होइन, रीताको लाश गुह्येश्वरीको जंगलमा एउटा सल्लाको रूखमा झुन्डिएको पाइयो । ऊ एक दिन पहिले पशुपति दर्शनका लागि गएकी थिई ।

चारैतिरबाट आरोपको बौछार नन्दूमाथि हुन थालेको थियो । नन्दू जुन पार्टीको सदस्य बनाइएको थियो, त्यसमा यादवकै वर्चस्व थियो । नब्बे प्रतिशत केन्द्रीय सदस्य यादव जातकै थिए । उनीहरू सबैका आँखाको कसिङ्गर थियो यो तेली मन्त्री । सबैको दबाबमा पार्टी अध्यक्ष सुखीलाल यादव नन्दूलाई पार्टीबाट निस्कासित गर्न बाध्य भए । नन्दूले मन्त्रीक्वाटर खाली गर्ने पत्र पायो । अपर्णाका पति उसलाई दुई दिनका लागि पनि आफ्नो घरमा बास दिन राजी भएनन् ।

यसै दुर्भाग्यका बीच मन्त्री नन्दूको विरूद्ध अर्को मामिला पनि अगाडि आयो । सञ्चार माध्यममा छ्यापछ्‌याप्ती देखियो, भारतीय सीमामा नाकावन्दी गरिएको बेला एउटा डी.एस.पी. को पाशविक किसिमले हत्या भएको थियो, जसमा हत्या नन्दूको अगुवाइमा भएको रहेछ । नाकावन्दीको लाभ उठाएर उनले पेट्रोलको तस्करी गर्न थालेका थिए अरे । निगरानीका लागि गएको डी.एस.पी. राजीव कँडेलको टोलीले पेट्रोलका सिलेन्डरले भरिएको ट्रक रोक्ता नन्दूले उनको मधेस मुक्ति दलमा भित्रिएका अपराधीहरूका समूहको सहयोगमा कँडेलको हत्या गरेका थिए अरे । विशेष अदालतले डी.एस.पी. कँडेलको हत्या गरेको सिद्ध भएको हुनाले नन्दूलाई आजीवन कारावासको सजाय सुनायो ।

मरिच र सुकुमेलको ठूलो व्यापारी लादू साहुले भ्रष्टाचारहरूका प्रमाण संलग्न गरी उनको विरूद्ध अख्तियार दुरूपयोग आयोगमा निवेदन दर्ता गरायो । त्यो आरोप पनि सिद्ध भयो र उनलाई पाँच वर्ष कैद, ४० करोड पचपन्न लाख ९५ हजार ९ सय नब्बे रूपैया दस पैसा जुरमाना र त्यही बराबरको बिगो जफत गर्ने फैसला गरियो । शुद्धिकरण अनुसन्धान विभागले लगभग ८८ करोड रुपैंयाको स्रोत नखुलेको दाबी गरेको थियो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा १ अनुसार नन्दू भयानक अपराधकर्मी साबित भएका थिए र उनको तुलना हिन्दी सिनेमाका डर लाग्दा अपराधी ‘दादा’ हरूसित गर्न थालिएको थियो ।

नन्दूलाई जेल चलान गरियो । उनलाई भविष्यमा ‘साइन्टिस्ट’ को रूपमा देख्ने शिक्षकहरूका मीठा-मीठा कल्पनाहरू नक्खु जेलभित्र कुहिंदै थिए । आमा पनि स्वर्गीय हुनुभयो र तिनको मलामी जाने मानिस पनि दश जना नातेदार बाहेक कोही निस्किएन ।

= = = =

बाह्र वर्षपछि जब नन्दू जेलबाट फर्किए, उनीप्रति कसैले कुनै सम्मान देखाएन । समाजमा आफ्नो अकल्पित अपमान देखेर उनी मुर्मुरिन्थे, ‘साला सक्खरमा झुत्तिने कमिलाहरू ।’ उनी बौलाए, तर आफूलाई बौलाहा मान्न उनी तयार थिएनन् । श्रीमती, छोरो, बुहारी र घरका सबै सदस्यलाई उनी प्रतिपक्षी दलका सदस्य ठान्थे र घरलाई संसद । संसदमा जस्तै घरका कुर्सीहरू उचालेर उनी बूढी, बुहारी र एकलौटो नातिको खप्परमा हान्थे । छानो उचाल्ने गरी चिच्याउँथे, ‘म संसद चल्न दिन्न ।’ त्यसपछि संसद अवरूद्ध हुन्थ्यो । इन्क्लाव- जिन्दावाद । भ्रष्टाचार बन्द गर । महङ्गी नियन्त्रण गर ।

आज बिहानै उनको बौलट्टीपन पराकाष्ठामा पुगेको थियो । उनी आफ्नो पाँच तले बाल्कनीमा उभिए, मुठी बाँधेर माइकको कल्पना गरे र त्यसलाई मुखमा टाँसेर गर्जिन थाले, ‘दारू र सेक्स फ्री हुनुपर्छ । जिन्दगीको मज्जा लिनु मौलिक अधिकार हो । फन्डामेन्टल राइट । तेरो बावुको के जान्छ ?. कोठाभित्र जे पनि गर्न पाउनुपर्छ । संसारमा को भ्रष्टाचारी होइन ?. तहकीकात होस् । साले, ठूलो भ्रष्टाचारीले सानो भ्रष्टाचारीको डाहा गरेर हुन्छ ? भ्रष्टाचारको मौका नपाएकाहरूले भ्रष्टाचारको विरोध गर्ने र मौका पाउनासाथ त्यसमा चुर्लुम्म डुब्नेहरूको देशको सिस्टमै यस्तो छ । तेरो सिस्टमै यस्तो छ, जसरी भए पनि पैसा कमाऊ । पैसा, पावर, पोजिसन, प्रेस्टिज, एजुकेसन, पैसा छ भने सब तेरो । छैन भने, तेरो जिन्दगी एउटा गुलामको जिन्दगीभन्दा पनि गएगुज्रेको हुन्छ ।’

बाथकी रोगिणी तीला भाउजू खोच्याउँदै बार्दलीमा आइन् र उनलाई भित्र लैजान तान्न थालिन् । तर, उसको भाषण बन्द भएन, ‘हाम्राजस्ता देशमा सबै राजनैतिक व्यवस्था टाठा बाठाहरूले भ्रष्टाचार गर्न पाउने व्यवस्था हुन पुगेको छ । नो लोकतन्त्र नो करप्सन । नो डेमोक्रेसी ।’

भाउजूले जत्ति-जत्ति बल लगाएर तान्थिन्, उनी त्यत्तिनै नाइटोदेखिको बल झिकेर चिच्याउँथे, ‘डेमोक्रेसीबाट भ्रष्टाचार र ग्ल्यामर झिकिदेऊ, साले कोही चुनावमा उठ्न पनि मान्यो भने म कुत्ता । म कुत्ता… तिमी कुत्ती…’

भाउजू नन्दूलाई भित्र लैजान सफल भइन्, तर गर्जन अझै सुनिन्छ । म उनको साथी, उनको छिमेकी । अरूले जे भने पनि, मेरो मनले प्रश्न गर्छ, के मेरो साथी नन्दू मन्त्रीबाट निष्कासित भएपछि पागल भए कि उनी त्यसै दिन पागल भए जुन दिन ‘साइन्टिस्ट’ हुने सपना छोडेर मन्त्री हुने सपना देख्न थाले ??. हो, उनी त्यसै दिन पागल भएका थिए, जुन दिन उनले जीवनमा सक्रिय राजनीतिलाई प्रश्रय दिएका थिए ।

तीला भाउजूले नन्दूलाई कोठाभित्र लगेर थुनिन् । म सडकमै थिएँ । भाउजूले मलाई सडकमा देखेकी रहिछन् । उनी सप्कोले आँसु पुछ्‌दै तल झरिन् ।

मैले अचम्म मानेर सोधें, ‘भाउजू, नन्दू किन बौलायो ?’

भाउजूले रुँदै भनिन्, ‘बाबु, उहाँ बौलाउने धेरै कारण छन् । उहाँले म जीवनभरि मन्त्री भएर खान्छु भनेर सोच्नुभएको थियो क्यारे । तर, तुलसीपुर, दाङमा कृषिमन्त्रीको रूपमा भाषण गर्दागर्दै उहाँले मन्त्री पदबाट खारेज भएको कुरा एक्कासि सुन्दा नै पहिलो पटक उहाँको दिमाग खज्मजिएको मैले अनुभव गरेकी थिएँ । मन्त्री पदबाट खारेज भएकै दिन क्वाटर खाली गर्नु परेको र सुरक्षा व्यवस्था खोसिएको पीर छँदै, अपर्णाले उहाँलाई रीताको हत्यारा भनेर अब उप्रान्त फोन नगर्न भन्दा उहाँलाई ठूलो चोट परेको थियो । उहाँ प्रत्येक बिहान उठेर बैठकमा जानुहुन्छ र त्यहाँ कुर्सीहरू खाली देखेर कराउनुहुन्छ । मन्त्री भएको बेला यी सबै कुर्सी भरिभराउ हुन्थे, तर अब चरोमुसो पनि ढिम्किंदैन । अनि उहाँको बौलट्टीपन बत्तिन्छ । अब बिहानबिहानै सलामी दिने सेना हुँदैनन्, उहाँ तल गएर फर्किनुहुन्छ, अनि झन् पागल हुनुहुन्छ । यहाँ सबै पावरका भोका छन्, बाबु पावरका भोका…’ भन्दै आँसु पुछ्‌दै भाउजू फेरि माथि उक्लिइन् ।

मैले मनमनै सोचें, मन्त्री नन्दू ‘शाह’ बन्नुभन्दा भैंसी चराउने मेरो साथी नन्दू ‘तेली’ नै ठीक थियो । सुखी थियो, पागल त थिएन !!

(राजेन्द्र विमलको कथासंग्रह ‘सरबरिया टोल’बाट)