पुसको ठिही । बिहान सडकछेउको घाँसमा चिनी छरे झैँ तुसारो हुन्छ । दिन केही घुर्मैलो हुन्छ । अपराह्न पछि चलेको सिरेटोले मुटु छेड्छ ।

मैले पछाडिबाट ऋषिलाई काँधमा थपथपाएर स्कुटर छिटो हाँक्न भनेँ । म भने ऋषिकै ढाडमा टाँसिएर चिसो छलेँ तर प्रयास असफल  हुन्छ । ऋषिको भुल्ने स्वभावले बालापनलाई पनि माथ गर्छ । आज पनि पञ्जा ल्याउन भुलेछन् । अब यात्रामा चिसो हावाको टोकाइले ऋषिका हात नीला हुन्छन् । उसै त प्रायः गरी ऋषिका हात चिसा हुन्छन्, बिरालाको नाक जस्तो । आज त झन् आकाश नै रोएर आँसु खसाल्ला जस्तो धुम्म छ नेपालगञ्ज ।

हामी एउटा साहित्यिक कार्यक्रमबाट फर्किंदै थियौँ । निर्धारित समयभन्दा कार्यक्रम निकै तन्किएको हुनाले फर्कन ढिलो भयो र यो चिसो मौसमको स्वाद चाख्न पायौँ ।

“अहो ! पानी पो पर्छ कि क्या हो ? पानी पर्यो भने त फसाद नै पर्छ ।” ऋषि एकोहोरो फतफत गरिरहे, म सुनेर मात्र बसेँ । केही बोलिनँ ।

“ला ! छिट्टायो त !” ऋषिले यति भन्दा नभन्दै पानी सरर परिहाल्यो । हामीले हिँउदे झरीमा रुझ्ने आँट गरेनौँ र बाटो छेवैको रेस्टुरेन्टमा छिर्यौं । वर्षायामको बेला भए यस्तो रुझानको मिठास बेग्लै हुन्थ्यो । तर यो मीन पचासको मध्य समयमा रुझानको मिठास नाप्ने हिम्मत कसको हुनु !

“ए ! भाइ ! यता तातोपानी ल्याउनू ।” बसाइ केही लम्बिने देखेर मैले वेटरलाई तातोपानीका लागि बोलाएँ ।

“मः मः पनि भन न ।”

मैले ऋषिको वाक्य नसकिं‌दै त्यसै वेटरलाई मः मः पनि भनिहालें । अर्डर लिएर वेटर  भित्र पस्यो । रेस्टुरेन्ट सुनसान नै थियो । बेलुका रक्सीमा झुम्नेहरू आउने बेला भएकै थिएन, दिउँसो खाजा खानेहरूको समय यो होइन । साँझको पूर्वसन्ध्यामा यस्ता खाजाघर अलिक सुनसान नै हुन्छन् । म मेनुमा के के छन् र मूल्य कति कति छन् भनेर घोरिएँ । ऋषि फोनमा व्यस्त बने । अलि पर दुईजना महिला-पुरुष अलिक असहज लाग्ने गरी जिस्किएर बोल्दै थिए । मलाई अप्ठ्यारो लाग्यो । महिला भन्दा पुरुष निकै कम उमेरको देखिन्थ्यो  । झण्डै आमा-छोरा जस्ता तर जिस्काइको मात्रा हद पार गर्ला झैँ ।
“ऋषि सर, नमस्कार !”

महिलाले ऋषिलाई नामै सम्बोधन गरेर नमस्कार गरिन् र हामी भएतिरै लम्किइन् । त्यो पुरुष काउन्टरमा बसेर के के काम गर्न थाल्यो ।

“अहो ! रमा के छ हालखबर ? कस्तो छ  तिमीलाई ?” ऋषिले निकै आत्मीय पाराले सोधे ।

“ठिकै छ सर !” रमाले छोटो बोलीमा जवाफ दिई । अनि, हामीतिर बढेका पाइला थामी ।

“अँ साँच्चै, तिमीले त बिहे गर्यौ रे ! बधाई छ है नव जोडीलाई ”, ऋषिले जिस्कने पाराले भने ।

असजिलो खालको मन्द हाँसो हाँसेर ती महिला काउन्टरतिर लागी । जाँदाजाँदै धन्यवाद सर ! भन्न छुटाइन ।

मैले जिज्ञासु नजरले हेरको देखेर  नजिकै आएर ऋषिले भने, “रमाले बिहे गरिछन् ।”

“यो उमेरमा बिहे ?” मैले आँखीभौँ खुम्च्याउँदै झण्डै सासले मात्रै बोलेर सोधेँ ।

“बिहेलाई उमेरले के फरक पार्छ र ?” ऋषिले सामान्य जवाफ दिए ।

मलाई ऋषिको जवाफले चित्त बुझेन । प्रश्नमाथि प्रश्नका चाङ लागे । यो उमेरमा भर्खरै बिहे ? किन ? कसरी ? कोसँग ?

मेरो जिज्ञासु भाव देखेर ऋषिले भने, “एकल महिला हुन् । अहिले मन मिल्ने जोडी पाइन् होला र बिहे गरिन् । ऊ तिनै हुन् , यिनका नयाँ पति ।”

मैले ऋषिको इसारापट्टि ध्यान दिएँ, म झनै अचम्मित भएँ । किनभने अघि त्यहाँ ती महिलासँग जिस्किने पुरुष त त्यही कम उमेरको केटो रहेछ । प्रत्येक बोलीमा ‘सानू’ भनेर बोलेको सुनेकी थिएँ । कुराको जरो यतातिर पो रहेछ !

“यिनका छोराछोरी छैनन् ?” ऋषिलाई सोधेँ ।

“छन्, छोरा–बुहारी, छोरी–ज्वाइँ, नातिनातिना” ऋषिले छोटो उत्तर दिए ।

“अनि त्यो केटाको नि ?” प्रश्न थपेँ ।

“केटो अविवाहित नै हो ; उसको पहिलो बिहे यो ।” मेरा प्रश्नहरूका ऋषिले सहज उत्तर दिँदै गए । तर मेरो मनमा अझ असहजता थपिँदै गयो । हाम्रो जस्तो पुरुषप्रधान समाजमा यो कसरी सम्भव भयो होला र ! कि यो प्रेमिल मेल हुनुपर्छ कि पर्दापछाडि खेल हुनुपर्छ ।

मैले ती महिलातिर हेरेर मुस्कुराएँ, उनले पनि मीठो मुस्कान फालिन् । पक्कै उनकै कुरा गर्यौं हामीले भन्ने लख काटिन् होला ।

तातोपानीको गिलास हातमा बोकेर हात तताउँदै म उनी भएतिरै लम्किएँ । ऋषि मोबाइलमा जोतिन थाले ।

“दिदी, नयाँ बिहे गर्नुभएछ; बधाई !” जवाफ नफर्काई उनी हाँसिरहिन् । तर मलाई उनीसँग बोलेर मनका जिज्ञासा मेटाउनु थियो ।

“परिवारमा को को हुनुहुन्छ ? यो कसरी भयो ? मलाई त खसखस लागेर सोध्न आएँ ।”

“अहिले हामी दुईजना छौँ । उहाँ, मेरो पति रमेश र म ।” यति भन्दा उनी र उनको पति भनिएको केटाले मुखामुख गरे । उनले कुरा सुचारु गरिन् ।

“आठ वर्ष पहिले मेरो पहिलो पतिको देहान्त भयो । त्यसपछि एक्लै सङ्घर्ष गरेर छोराछोरी पालनपोषण गरेँ । छोराछोरीको बिहेदान सकियो । उनीहरूको आफ्नै संसार बन्यो । नातिनातिना जन्मिए । मेरो संसार फरक हुँदै गयो । सबै आ-आफ्ना दुनियाँमा रमाउँदै गए । मलाई चाहिँ एक्लोपनले अँगाल्दै गयो । विगत केलाएर आफ्नै मनलाई डस्नुभन्दा बिहे गरेर नयाँ साथी बनाउने निधो गरेँ । यसै सिलसिलामा आफन्तको माध्यमबाट रमेशसँग भेट भयो । हाम्रो कुराकानी मिल्यो, मैले रमेशलाई बिहे गरेर यस घरमा ल्याएँ ।”

मैले एकछिन दुवैलाई पालैपालो हेरेँ र भनेँ, “वाह ! ठिक गर्नुभयो ।”

मेरो मनले बुझ्न मानेकै थिएन; झनै अचम्ममा परेँ ।

यो पुरुषप्रधान समाजमा बिहे गरेर श्रीमतीको घर जानु ? त्यो पनि गाउँ समाज, झन् यति अनमेल विवाह । यो समाजले कसरी पचायो होला ? कति धेरै चुनौती परे होलान् ? प्रश्नको उत्तर खोज्दै गर्दा रमेशप्रति आदरभाव जागेर आयो । उनको महान् हृदयलाई सलाम गरेँ । कामना गरेँ उनको मन यस्तै रहिरहोस् सधैँ । नबदलियोस् मौसम जसरी ।

हाम्रो कुराकानीसँगै आत्मीयता पनि बाक्लिंदै थियो । प्रायः अरूका कुरामा चासो दिन नरुचाउने मलाई यो परिवेशले राम्रोसँग तान्यो । मैले रमेशलाई पनि बोलाएर सोधें, “हजुरको परिवारले यो विवाहलाई स्वीकार गर्छ त ?”

रमेशले हातको फाइल काउन्टरमा राखे र मतिर आउँदै बोले, “हेर्नुस् तपाईं जस्तै उदेक मानेर यहाँ आउने धेरै छन् । अरू मानिस त हाँसोको पात्र जसरी हामीलाई हेर्छन् र जान्छन् । हाम्रो व्यापार हो अरूको के मतलब ! हामी चुप लागिदिन्छौँ । तपाईंले मात्रै जान्न चाहनुभयो कारण र कथा ।” रमेश गम्भीर मुद्रामा देखिए ।

“परिवारसँग सर-सल्लाह गरेर नै रमासँग बिहे गरेर यहाँ आएको हुँ  ।” रमेशले छोटो बोले ।

“रुकुमको एउटा विकट गाउँको समाजमा यो पक्कै सहज थिएन । यस्तो निर्णय गर्ने बाबुआमा पक्कै महान् हुनुपर्छ । उहाँहरूप्रति अथाह सम्मान जागेर आयो । यति फराकिलो सोच नभए हाम्रो जस्तो रुढीवादी समाजमा यो सम्भावना नै थिएन । सत्तरी वर्षका बूढाले सात वर्षकी कन्या बिहे गरेको मिथक सुन्दै आएको समाजलाई उमेर पाकेकी महिलाले भरभराउँदो केटो बिहे गरेको पक्कै पचाउन सक्दैन । यिनीहरूको परिवारको महानता र यिनीहरूको आँट हिम्मतलाई मान्नै पर्छ । यो त सामाजिक क्रान्ति मात्रै नभएर सांस्कृतिक क्रान्ति पनि हो । जसले जरा गाडेर बसेको संस्कारलाई कुरीकुरी गरेको छ । परिवर्तनको शङ्खघोष गरेको छ । आफूभन्दा बढी उमेरका छोराछोरी, बुहारीहरूलाई खुसी राखेर रमाको जिन्दगीको रथ हाँक्न रमेशले देखाएको साहस अतुलनीय छ । सदियौँदेखि महिला थिचोमिचोमा थिए । रुढीवादी संस्कारले थिचेको थियो । कहीँ कतैबाट परिवर्तनको सुरुवात भएकोमा निकै खुसी लाग्यो । अनि बुबा आमा‌ले मान्नु भयो सजिलै ?”  फेरि  सोध्न पुगेछु ।

“भनेँ त परिवारमा सरसल्लाह गरेर नै आएको हुँ।” रमेशले दृढ स्वरमा मलाई हेरेर भने ।

“सरी, सरी, मैले यो असहज समाजलाई कसरी बुझाउनु भयो भनेर सोधेकी । तपाईं त रिसाउनु भयो कि  क्या हो ।”  परिस्थिति बिग्रिएला भनेर सम्हाल्न तिर लागेँ ।

त्यसो हो होइन, सबै राम्रै छ । समाज सहज त हामीले बनाउने हो । सकारात्मक सोच र इमानदार  हुनुपर्छ, सबै कुरा आफै मिल्दै जान्छ ।” रमेशको जवाफ आयो ।

जवाफमा जीवन र दर्शन  महसुस गरेँ ।

“माने पछि शारीरिक र मानसिक दुवै रूपले सन्तुष्ट हुनुहुन्छ ।”  उनीहरूलाई हाउभाउले जिस्काउँदै सोधे ।

एक छिनको सन्नाटा पछि रमा  बोलिन्, “हेर्नुस्, तपाईंको कुरा मैले बुझेँ । मानसिक प्यास मेटियो तपाईंको भने शारीरिक प्यास जहिले पनि छायामा पर्छ । शरीरको लागि मन विचलित गर्नेहरू कहिल्यै सन्तुष्ट हुन्नन् । तर, मनका लागि शरीरको उपभोग गर्नेहरू कहिल्यै असन्तुष्ट हुँदैनन् । मनलाई बिर्संदै उपभोक्ता बनेर होमिनेहरू मृगतृष्णामै सीमित बन्छ र भौँतारिन्छन् बुझ्नुभयो ।”

“माया यस्तो चिज हो जसमा इमानदारिता छउन्जेल अर्को संसारको परिकल्पना नै हुँदैन । माया  छ भने दुःख पर्दा पनि सुखको खोजी हुँदैन । माया छैन भने  सुखमा पनि सन्तुष्टि हुँदैन ।” रमेशले पनि आफ्ना कुरा राखे ।

“समाज परिवर्तन‌को लागि ठूला र अर्जेय क्रान्ति गर्नै  पर्दैन, केवल साना-साना कुराको परिवर्तन आफैबाट सुरु गर्नुपर्छ, जस्तो कि हामी । सामाजिक विभेद, छुवाछुत उच्च-नीच, वर्ण विभाजन सबै सबै ।

“सकारात्मक बिन्दुबाट सुरु गरे  अरू बिस्तारै डोहोरिन्छन् हैन त ?”  मैलाई प्रतिप्रश्न गरिन् रमाले  । म नजानिंदो तरिकाले बुझे झैँ गरेर उभिएँ ।

मैले मन थाम्न सकिन । रमालाई अँगालोमा कसेँ । रमेशलाई शुभकामना दिएँ । कार्यक्रमबाट फर्कंदा ल्याएको माला र खादा झोलाबाट झिकेर दुवैलाई लगाइदिएँ । गहभरि आँसु भरेर रमा बोलिन्, “मेरो यो निर्णयलाई मेरा छोराछोरीले स्वागत गरे पनि आफन्त र गाउँ समाजले निकै अपमानजनक वक्रदृष्टि लगाएका थिए । तपाईंको यो हौसलाले म त फूल जस्तै हलुङ्गो भएँ ।”

हाम्रो कुरा सुनिरहेका ऋषि “फूलको आँखामा फुलै संसार” भन्दै हामीतिर आए र मोबाइलमा हाम्रो  तस्वीर कैद गरे । त्यतिञ्जेल हाम्रो अर्डरको मःमः आइसकेको थियो । बाहिर पानी पनि थामिइसकेको थियो । हामीले सटासट मःमः निल्यौँ र घरतिर लाग्यौँ ।