
सूर्यको पहिलो किरणले हिमालका टाकुराहरूलाई सुनौलो बनाउँदै गर्दा चिम्नी गाउँ बिस्तारै ब्यूँझन्छ । शान्त प्रकृति, चिया बगानको हरियाली, र चीसो हावाले यहाँको प्रत्येक बिहानलाई विशेष बनाउँदै आइरहेको छ । चिम्नी गाउँ भारतको दार्जीलिङ जिल्ला स्थित एउटा ऐतिहासिक गाउँ, जुन खरसाङ बजार भन्दा माथि धूपीको रुखहरू सँगै लुकामारी खेलिरहेको छ ।
यस भूभागको नेपाली रहनसहन, रीतिस्थिति, भाषा, भेषभुषा भने बिल्कुलै आफ्नै लाग्ने । यो भूमिको सुगन्ध आफ्नै लाग्ने । खरसाङ शहरदेखि सिरानमा अवस्थित चिम्नी गाउँ एउटा अद्भुत सुन्दर गाउँ । पहिला पहिला नेपालमा भन्दा राम्रो गुणस्तरको शिक्षा आर्जनको लागि मानिसहरूको रोजाइमा पर्ने स्थानहरू नेपालको पूर्वी सिमाना नजीकैको दार्जीलिङ, कालिङपोङ र खरसाङ ।
नोभेम्बर महीनाको शुरुवातीमै यस भेगमा चीसो मौसमले आफ्नो प्रभुत्व जमाइसकेको छ । खर्साङबाट माथि उक्लँदै गर्दा बाटोमा देखिने मनोरम हरियाली चिया बगान, अग्लाअग्ला धूपीका बाक्ला रुखहरू भएको जंगल र प्राकृतिक सौन्दर्यतालाई मीत लगाई बसेका सुन्दर बस्तीहरूले जो कोहिलाई पनि आकर्षण गरिरहेको छ । धूपीका बोटहरू सँग कुहिरोले लुकामारी खेलेको र हावाको झोकासँगै क्षणभरमै सूर्यको किरणले धूपीका रूखहरूको चेपबाट प्रवेश गर्दाको दृश्य लोभलाग्दो छ ।
बस्तीहरूमा पुग्न पहाडी घुम्तीसहितको कालोपत्रे बाटोले यस स्थानलाई सुगमता तर्फ उन्मुख गरेको छ । चिया बगानमा काम गर्ने मजदूरहरू माहुरीको घारमा माहुरीहरू भुनभुनाए झैं चियाको बुट्टाहरूबाट चियापत्ति टिपिरहेको दृश्यबाट यहाँका मानिसहरू मेहनती रहेको सहजै अनुमान गर्न सकिन्छ । कलकत्ता, सिलिगुरी, जलपाईगुरि लगायतका भारतीय शहरीया मानिसहरूको गर्मी यामको रोजाइमा पर्ने गर्छ यस स्थान । अझ अवस्थित सुविधा सम्पन्न होमस्टेहरूले थप आन्तरिक तथा बाह्य पर्यटक तानिरहेको छ ।
जीविकोपार्जनको लागि पर्यटन बाहेक चिया खेती, बगानका मजदूर, पशुपालन, कृषि र गाउँ घरमा काम नभएको बेला दार्जीलिङ, खर्साङ, सिलिगुरि, जलपाई गुरि, कलकत्ता लगायतका स्थानहरू नै उनीहरूको श्रम र सीप बेची अतिरिक्त कमाइ गर्ने शहर । राई, लिम्बू, तामाङ, शेर्पा, गुरुङ लेप्चा क्षेत्री, ब्राह्मण जस्ता जात-जातिहरू बसोबास गर्दै आइरहेको प्राकृतिक रूपले सुन्दर गाउँ जहाँ हिन्दू बौद्ध, इसाई धर्मावलम्बीहरू एक आपसमा मिलेर बसेको बस्ती । जहाँ दशैं, तिहार, माघेसंक्रान्ति जस्ता पर्वहरू हर्षोल्लास साथ मनाउने गरिन्छ । मन्दिर, स्तूप, गुम्बा लुङ्दर र औपनिवेशिक कालमै बनेका केही चर्चहरूले धार्मिक सहिष्णुता झल्काइरहेको छ ।
बिहानीको सिर्सिरे हावासँगै चिम्नी गाउँ निवासी ५६ वर्षीय फुर्वाको बिहान पनि उत्तिकै ताजगी देखिन्छ । जिन्दगीका मोडहरूमा खाएका अनेकौं चोट र हन्डरहरूले उनलाई बलियो बनाइसकेको छ । घरको आँगनमा बौद्धमार्गीहरूको आस्था बोकेर ठडिएको धर्ज्यु र लुङ्दरले घर वरिपरिको दृश्यलाई शोभायमान बनाइरहेको छ । उनी दैनिक, घरमा पूजा गरिसके पश्चात लुङ्दर र धर्ज्युमा समेत पूजा गरी प्रार्थना गर्छन् । लुङ्दरसँग फुर्वाको भाषा, संस्कृति र परम्परा जोडिएको छ र आस्था पनि ।
लुङ्दरको माथिल्लो भागमा रहेको क्रमशः नीलो, सेतो, रातो, हरियो र पहेंलो रङले आकाश, वायु, जल, अग्नी, पृथ्वीको प्रतिनिधित्व गरेको हुन्छ । यी लुङ्दरहरू जति जति हावामा फरफराउँछन् उत्ति नै प्रकृति र प्राणी, जगत् नै शुद्धि हुने, देवगणहरू र पितृहरूबाट आशीर्वाद प्राप्त हुने, पुण्य सुख समृद्धि प्राप्त हुने, मानव शरीर जीवन र प्रकृति बीच सन्तुलन हुने विश्वास छ । लुङ्दरमा लेखिएको देवगणका मन्त्र र प्रार्थनाहरूले मानिसहरूको मनोकामना पूरा हुने, पितृहरूको आत्माले शान्ति प्राप्त गर्ने, दशाग्रह शान्ति हुने, आयु वृद्धि गर्ने र लुङ्दरले छोएको हावाले सम्पूर्ण प्राणी जगतमा कल्याण हुने विश्वास गरिन्छ । लुङ्दरमा अंकित मणीरत्न बोकेको वायुपंखी घोडाले समृद्धिको प्रतिबिम्बित गर्छ ।
पहाडको कुना कन्दरामा जन्मिनु-हुर्कनु सानो कुरा होइन, पहाडका हन्डरहरूसँग सिङौरी खेल्दै अगाडी बढ्नु झनै कठीन हुन्छ । जवानीको समयमा फुर्वा बिहानै उठेर आफ्ना पुराना जुत्ता लगाउँथे, झोलाभित्र केही चामल र पुरानो घुम्टो हाल्थे, अनि आफ्नो नियमित कामतर्फ लाग्थे । चिया बगानको मजदूरी, परिवारको भरणपोषण गर्नुपर्दा उनको जीवन जटिल बनाएको थियो । तर, उनले कहिल्यै हार मानेनन् । उनको परिश्रमले गर्दा बिस्तारै उनका परिवार र जिन्दगीमा सुखका क्षणहरूले प्रवेश गरेको थियो । आजकल उमेरले ५६ वसन्त पार गरिसकेको फुर्वा यस उमेरमा पनि आफ्नो जवानीको जोशका साथ आफैले सञ्चालन गरिरहेको होमस्टेमा अतिथि सत्कारमा व्यस्त देखिन्छ ।
उनको घर नजीकै सञ्चालन भइरहेको होमस्टेमा प्रायः अटूट रूपमा पाहुनाहरू आइरहन्छन् । उनलाई साथ दिन उनकी श्रीमती दावाले अहम् भूमिका निभाइरहेकी छिन् । साना लालाबाला हुर्काई बढाई शिक्षादीक्षा दिलाउन उनको महत्वपूर्ण योगदान छ । फरासिलो र ठट्टा गर्नुपर्ने स्वभावका फुर्वाले दार्जीलिङ्गे लवजमा नेपली भाषा बोल्दा नेपाल तिरबाट घुम्न गएका पाहुनाहरू दङ्ग परेर सुन्ने गरेको र आफ्नो मोबाइलमा भिडियो कैद गर्दै गरेको दृश्य झनै हेर्न लायकको हुन्छ ।
उनले आफ्नो कामको विषय र त्यस ठाउँको बारेमा बेलीबिस्तार लगाई “यो होमस्टे सञ्चालन गरेपछि नि, सानो व्यस्त भइनँ, अन्त पकाउने, रूम सफा गर्ने डल्लै काम मेरो जहान र मैले नै गर्छु कि । मेरो होमस्टेको फेसिलिटि त फाईभ स्टार लेभलको हो नि त, छोरो इन्जिनियर भएकोले आफैले डिजाइन गरेको हो नि । मेरो छोरी होटेल म्यानेजमेन्ट गरेकीले सबै फेसिलिटि नानीकै प्लानिङमा बनाएको, नानीहरू दुवै जना सिलगुडीमा नोकरी गर्दै छन् । कमाइ पनि राम्रो छ,आफ्नो लागि आफै गर्नसक्ने भइसके त हो अब अन्त हामी पनि जिजु बराजुको पालामा नेपाल बाटै पो आको ।…” लगायतका एकहोरो भट्याइले आफ्नो होमस्टेको विज्ञापन गरिरहेको हुन्छ ।
चिम्नी गाउँको धुपीको जंगल नजीकैको चिया पसलमा फुर्सदको बेला जहाँ फुर्वा र उनका पुराना साथीहरू अक्सर भेट हुन्छ । पुरानो चुलोमा पकाइएको अदुवा मिसिएको चियाको बास्ना चौतारीभरि फैलिएको हुन्छ ।
उनीसँगै पहिला चिया बगानमा काम गर्ने साथीहरू मालिकले कामको समय थप्ने कुरा, तलब बढेको, कोहीकोहीले तलब नपाएको कुरा गर्छन् । कोही भने फुर्वाले धेरै प्रगति गरिसक्दा पनि आफुले प्रगति गर्न नसकेको कुरा गर्छन् । कोही मालिकलाई रीस देखाएर “मालिकहरूलाई कसरी थाहा होस् हामीले भोकै काम गर्नुपरेको छ भनेर ! मालिकलाई त आफूले टोकरीभरि पैसा कमाए पुग्छ । तर फुर्वा दाइ, तपाईंले जस्तो सबैलाई साहस दिन सक्ने हिम्मत कसैसँग छैन । तपाईं बोल्दा हामीलाई लाग्थ्यो, हामीसँग पनि शक्ति छ । तपाईंले बगानको काम छोडेपछि हाम्रो बारे बोल्ने कोही छैन” भन्दै चियाको चुस्कीसँगै आफ्नो मालिक प्रतिको गुनासो पोख्छन् ।
फुर्वाको मातृभाषा तामाङ हो । उनले आफ्नो तामाङ भाषा बिर्सेका छैनन् । आफ्नो श्रीमती, गाउँका पाका उमेर पुगेका बुढा बा आमाहरूसँग कुरा गर्दा तामाङ भाषामा नै बोल्छन् । अझ नेपालबाट कोही आफ्ना सगोत्रीहरू पुगेमा मातृभाषामा नै कुरा गर्न रुचाउँछन् । नयाँ युवा पिँढीहरूले आफ्नो भाषा र संस्कृतिलाई बिर्सेको देख्दा उनलाई पोल्नुसम्म पोल्छ । आफ्नै छोरा छोरीहरूले मातृभाषा बोल्न नजान्दा र नसिक्दा भाषा सँगसँगै संस्कार, संस्कृति र परम्परा समेत हराउने चिन्ताले उनलाई दिनप्रतिदिन सताउन थालेको छ ।
यति मात्र हैन, यहाँका शेर्पा, राई, लिम्बू,गुरुङ मगर लगायतका मानिसहरूले आफ्नो मातृभाषा बिर्सिसकेका छन् । आफ्नो समुदायबाट मातृभाषा लोप हुन लागेकोले फुर्वालाई जस्तै अन्य समुदायका मानिसहरूको मन पोलिरहेको छ । हिन्दू धर्मावलम्बीहरूको कर्मकाण्ड गर्ने पुरोहितहरूको संख्या दिनानुदिन घटिरहेका छन् । अबको पिँढीमा नेपाली भाषाको शुद्ध व्याकरणको ज्ञान कमी भएकोले भाषामा संकुचन आएको छ ।
* * * *
फुर्वा सँगैको दौंतरी पेमा तामाङ, अझै पनि चिया बगानमा नै मजदुरी गर्दै छन् । केटाकेटी देखिनै पिउने बानी परेकोले उनले जीवनमा खासै प्रगति गर्न सकेको छैन । उनकी श्रीमती दमको व्यथाले च्यापेको सात वर्ष भइसकेको छ । बिरामी श्रीमतीको औषधी गर्ने पैसाको जोहो गर्न सकेको छैन । हुर्केकी एक जना छोरीको विवाह कालिङपोङ तिरको केटासँग भएको छ । बासको लागि सानो झुप्रो । आँगनमा शान्तिको प्रतीकको रूपमा फरफराई रहेको लुङ्दर । लुङ्दर, जसले पेमाको अभाव सहितको अस्थिर जीवनलाई धैर्यता र शान्त हुन प्रेरित गरेको छ । उनको मात्र हैन गाउँका हरेक बुद्ध धर्मावलम्बीहरूको घरको आँगनमा लुङ्दर र धर्ज्यु फरफहराई रहेका छन् । त्यही लुङ्दर र धर्ज्यूको पूजा गरी श्रीमतीको स्वास्थ्यको कामना गर्दै दिनको शुरूवात गर्छन् ।
अभाव नै अभावमा जीवन बिताउनु परेता पनि उनले हरेश खाएको छैन र कहिल्यै बेइमान गर्न जानेको छैन । अझै पनि उनी मेहनत गर्दै केही रकम जोहो गरी सिलिगुडिमा लगी आफ्नी श्रीमतीको उपचार गर्ने सपना साँचिरहेको छ । सबै दुःखको बेलीविस्तार लगाउँदै साथी भाइहरूलाई सहयोग गर्न अनुरोध गर्दा सहयोग मिल्ने भएको छ । आफ्नी श्रीमतीलाई बचाउन सकिन्छ भन्ने झिनो आशा पलाएको छ ।
* * * *
चिम्नी गाउँ केवल प्रकृतिको सौन्दर्यले मात्र परिचित भएको छैन, यो ब्रिटिशकालीन औपनिवेशिक विरासतको साक्षी पनि हो । गाउँको चियाबगान जहाँ फुर्वाका पुर्खाहरूले आफ्नो पसिना बगाएका थिए, आज पनि समयको गवाही दिइरहेको छ । ब्रिटिश साम्राज्यले चिया खेतीका लागि यो क्षेत्र रोजेको थियो । उनीहरूको आगमनले यहाँका मानिसहरूको जीवनशैली परिवर्तन गरिदियो । औपनिवेशिक युगको अवशेषको रूपमा १९ औं शताब्दीमा अंग्रेजहरूले बनाएको विश्राम गृहको २४ फीट अग्लो चिम्नी आफ्नो अस्तित्व जोगाउन ठिङ्ग उभिरहेको छ । विश्राम गृह ध्वस्त भएता पनि यो चिम्नी पुरानो युगको मौन साक्षीको रूपमा निरन्तर उभिरहेको छ ।
आजकल फुर्वा आफ्नो पहिचानको लागि धर्म संस्कृति र पुर्खाको मातृभाषाहरू आत्माको प्रतीक भएको कुरा आफ्ना साथीहरूलाई सम्झाउँछन् । पुर्खाहरूले दुःख सहेर पनि आफ्नो धर्म, आफ्नो परम्परा कहिल्यै नबिर्सी हरेक वर्ष मनाइरहेको बुद्ध जयन्तीका र ल्होसारको दिन गाउँभरि उत्सव मनाउन निरन्तर लागिरहेको छ । ब्रिटिशकालीन औपनिवेशिक विरासतको साक्षी भएर अविश्राम रूपमा चिम्नी गाउँको चिम्नी उभिए जसरी आज पनि शान्तिको प्रतीकको रूपमा प्रत्येक बौद्ध मार्गीहरूको आँगनमा पाँच रङका धर्ज्यु र लुङ्दरहरू हरपल हावामा फहराइरहेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

