झर्काको थालमा तात्तातो सुक्खा रोटी, रातो गोलभेंडाको अचार,साँधेको गुन्द्रुक, हरियो खोर्सानी,खसीको मासु र तिलको अचार सबै टेबलमा राखिसकेर उसले सोधी, ‘दाजुको घर कता हो, इन्डिया कि नेपाल ?’
आइतबारको दिन उसको होटेलमा खाना खान पुगेको थिएँ साथीहरू सित । नयाँ ग्राहक थिएँ म । मलाई पहिलोपल्ट देखेकीले उसले मीठो स्वरमा त्यो प्रश्न गरी ।
पुलुक्क हेरें उसलाई, जवाफ फर्काएँ – ‘नेपाल हो ।’
खाना राखेर एकछिन उभिएर मलाई हेर्दै फेरि सोधी, ‘नेपालमा नोकरी गर्नुहुन्छ कि बेपार ? यता कहिले आउनु भयो ?’
‘भर्खर आएको बहिनी ! दुई हप्ता भयो, आज शहर घुम्न निस्केको साथीहरूसित । काठमाडौँबाट हो, आइटी पढ्नु बैंकक आएको ।’
त्यो दिन मेरो पहिलो प्रवेश थियो साथीहरूसित त्यो नेपाली रेस्टुरेन्टमा । साँघुरो गल्लीभित्र यौटा बर्मेली छेत्री परिवारले सानो रेस्टुरेन्ट चलाएका रहेछन् । आमा-बाबा अगाडीपट्टि पान दोकान चलाउँदथे भने उनका तीन छोरी जेठी, माइली र कान्छी भित्र रेस्टुरेन्ट । शत प्रतिशत नेपाली खाना पाइने रहेछ – जस्तो कि टिम्मुर हालेको र घिउ र लसुनमा झानेको कालो दाल, गुन्द्रुक, सिलौटोमा पिंधेको गोलभेंडाको रातो र पीरो अचार, डल्ले खोर्सानी हरियो खाने कि रातो ? काँचो कि तेलमा डुबाएको ? इन्डियनहरू रोटी खान्थे भने हामीलाई चाहिं रोटी पनि, भात पनि चाहिने, त्यो पनि नेपाली पाराको । छोरीहरूले चलाएको रेस्टुरेन्टमा आइतवार धेरै भीड हुँदो रहेछ ।
बैंककको सबैभन्दा बाक्लो एशियन मार्केट थियो ‘फहुरात’ । जसलाई लिटल इन्डिया पनि भनिन्थ्यो । जहिले तहिले थाइल्यान्ड भित्र र बाहिरका नेपाली, भारतीय, र दक्षिण एशियाली मुलुकका मानिसहरूको भीडभाड हुने सस्तो बजार । थाइल्यान्डको राजधानीभित्र दिल्लीको पहाडगंज जस्तो गल्ली, होटेल, दोकानहरू । अलिक नसुहाएको तर जनता नै त्यतैतिर धेरै जाने भएपछि के गर्नु ।
पन्जाबी र मारवाडीहरूको कैयन लुगापसल, होटेल थिए त्यहाँ । बर्माबाट बसाइ सरी आएका नेपालीहरूको भने ससाना होटेल, रेस्टुरेन्ट र पान दोकान थिए साँघुरा गल्लीहरूमा । हिन्दी र नेपाली गीत बज्दथ्यो उनीहरूको दोकानको रेडियो क्यासेट प्लेयरमा । नेपाल नै नदेखे पनि उनीहरूको दोकानमा नारायण गोपालका गीतहरू बजिरहेका हुन्थे । नेपालका राजारानीको तस्वीरले सजाएको हुन्थ्यो उनीहरूको काउन्टर । गर्मी यति उखरमाउलो, घण्टा घण्टामा कोक फेन्टा पिउनुपर्ने, पंखाको छेउमा बस्नुपर्ने । दिनमा तीनपल्ट नुहाउनु पर्ने । शरीर पसिनाले लुथ्रुक्कै ।
नेपाली र भारतीयहरुको केन्द्रविन्दु नै रहेछ फहुरात बजार । शुरूमा धेरै थाहा थिएन, पछि नेपाली रेस्टुरेन्टहरू भेटिए पछि त घरै पुगेजस्तो अनुभव हुनथाल्यो ।
त्यो परिवार बर्माबाट बसाइ सरी आएको रहेछ, थाई नागरिक भैसकेका । तर पनि आफूलाई बर्मेली नेपाली नै भन्दा रहेछन् । या भनौं उनीहरू बर्माको मोगोक गाउँका रहेछन्, र बेला बेलामा पुर्ख्यौली घर पनि गइरहन्छन् ।
म तिनताक बैङ्ककमा Klong Luang स्थित एशियन इन्स्टिच्यूटबाट अफ ट्क्नोलोजि (AIT) मा म्यानेज्मेन्ट इन्फर्मेसन सिस्टम पढ्न गएको थिएँ । बैंककदेखि पूर्व करीब ४७ किलोमिटर टाढामा थियो AIT । हामी युनिभर्सिटीकै होस्टेलमा बस्थ्यौं । करीब २०-२५ जना नेपाली र आठ जना भूटानबाट आएका नेपाली र जोङ्खाभाषी छात्रछात्राहरू थियौं ।
हरेक हप्ताको आइतबार AIT ले एसी बस दिन्थ्यो बैङ्कक जान र किनमेल गर्न । पैंतालीस मिनटको यात्रापछि नेशनल स्टेडियम पुगेर बसबाट उत्रेर फहुरात हिंडेर जान्थ्यौं । नेपाली बाहेक भारतीय, भूटानी, फिलिपिनो, बर्मेली, मलेशियन आदि पनि हुन्थ्यौं बसभित्र ।
रेस्टुरेन्ट चलाउने तीन जना मध्येमा मेरो उमेरकी माइली थिई, असाध्यै राम्री, सुडौल शरीर, गाजलु आँखा, गोरो वर्ण, पछाडी नितम्बसम्म झुन्डिने बाटेको कपालको चुल्ठो, डन्डिफोरले पनि बिगार्नु नसकेको चिल्लो र बाक्लो गाला । मैले कहिल्यै पनि नाम सोधिनँ उसको । थाहा भै हाल्यो को जेठी, माइली र कान्छी । नाम किन चाहियो । शायद म पनि त्यतिबेला ह्यान्डसम थिएँ होला, माइलीको नजरमा पहिलो भेटमै परेछु । खाना खानु नै गएको, अर्डर गर्नै पर्यो, खानै पर्यो । खाँदा बीच बीचमा उनीहरूसित कुराकानी चल्थ्यो । हाम्रो बस चार बजे मात्र लिन आउँथ्यो, तर चार-पाँच घण्टासम्म मक्ख परेर त्यहीं बसिरहनु पनि त भएन । फेरि शपिङ पनि गर्नुथियो । तर पनि सकेसम्म धेरै समय माइलीलाई हेरेरै बसिरहूँ जस्तो लाग्थ्यो । सम्भव भने थिएन ।
आइतबारे हेराहेर रोकिएन हाम्रो ।
“थाई केटीहरू मात्रै के हेर्नु हौ, हेर्ने नै हो भने नेपाली नै राम्रा, हेर्नु त यी तीन जना ।” यस्तै गफ हुन्थ्यो हाम्रो ग्रुपमा ।
हरेक हप्ता हुर्रिएर त्यहीं होटेल जान्थ्यौं । खाना खान र तीन जना दिदी बहिनीहरूलाई हेर्न पल्केका हामी कहिले आइतवार आउँछ भनेर कुर्थ्यौं । सबैले मन पराउँथे उनीहरूलाई । पन्जाबी, मारवाडी, मद्रासी, सबैसित मीठो ठट्टा गर्दै खान पस्किने उनीहरूलाई हरेक ग्राहकबारे राम्रै ज्ञान थियो ।
यसरी नै हामी झ्याम्मिंदै गयौं । मौनतामा माया अल्झेको आभास हुन्थ्यो, मलाई अनि माइलीलाई पनि ।
यस्तै यौटा आइतवार माइलीकी आमाले छेउमा आएर मलाइ सोधिन्, ‘नानी के थरीको रे ?’
‘थापा छेत्री हुँ आमा ।’ तत्काल भन्नु भ्याएँ, किनकि मलाई अन्दाज थियो कुन उद्देश्यले सोधेकी हुन् ।
‘हामी ढकाल छेत्री हौँ, बर्माबाट एता आएका येतैको भयौं । हजुरलाई एता मन पर्यो कि परेन ।’
“पर्यो नि आमा” भन्दै माइलीलाई पुलुक्क हेरें । ऊ मुसुक्क हाँसी । हतारिएर लजाउँदै भित्र किचनतिर पसी ।
हरेक हप्ताको हाम्रो आँखा जुझाइ लुकेर हेर्ने गरेकी आमाले पहिल्यै अनुमान काटिसकेकी रहिछन् । कुरा कोट्ट्याउन थालिन्, ‘हजुरको घर परिवार विहाबटुल के कस्तो छ कोनि ?’
म फसें । खोइ के भन्नु, हिम्मत नै आएन ‘म विवाहित हुँ’ भन्न । माइलीले सुनी भने मलाई काँचै निल्छे ।
यो सरासर धोका नै थियो, तर मैले माइलीलाई मन पराउँछु, माया गर्छु, बिहे गर्छु इत्यादि भनेको पनि छैन । केवल आकर्षित मात्र भएको थिएँ ।
प्राय: विवाहित पुरुषहरू यस्तै त हुन्छन्- राम्री देखेपछि उसकै पछि लाग्छन्, कसैले बिहे नै गरेर कान्छी ल्याउँछन्, कसैले टाइम पास, कसैले चाहिं घरकी श्रीमतीले गरेको जुलुम खप्न नसकेर पनि शान्ति पाउन अर्कीतिर लाग्ने गर्दछन्, माया खोज्ने गर्छन् । तर माइलीको सुन्दरता नै काफी थियो मलाई आकर्षित पार्न । हुनु त माइली माथि नजर गाड्ने कति थिए कति, कति नेपाली विद्यार्थीहरू आए-गए,चाहे त्यो खाना खाने बहानामा होस् । शायद यो पहिलोपल्ट थियो होला माइलीले कसैलाई चासो दिएकी ।
जेठी दिदीले भान्साबाट रोटी बेल्दै मलाई हेरिरहेकी थिइन् । कान्छी स्कूले रहिछे, तर आइतवार होटेलमा सघाउँदी रहिछ । उसले पनि कान ठाडो पारेर सुनिरहेकी थिई मेरो जवाफ कस्तो आउँछ भनेर । उनीहरूलाई शायद थाहा भैसकेको थियो हाम्रो हेराहेर अर्थपूर्ण थियो भनेर । एक प्रकारको अव्यक्त प्रेम नै थियो ।
“त्यो पछि भनुम्ला आमा,” त्यति मात्र भन्नसकें ।
एकतमासको चकमन्नता छायो केही बेर, कोही बोलेनन् ।
त्यतिबेलै हाम्रो AIT फर्किने बेला भयो, हाम्रो बस समात्नु नेशनल स्टेडियम सम्म दश मिनट जति हिंड्नुपर्थ्यो । हतार भयो ।
मैले भनें, “आमा अहिले जान्छु, हतार भयो, बसले छोड्छ फेरि । अर्को हप्ता आउँछु नि, अनि बात गरौंला नि है ।”
उनीहरू हेराहेर गरे, मौनतामा कतै आशाको दियो बलेको थियो होला या कतै आशङ्काको । मेरो जवाफ पूर्ण थिएन । तर पनि माइलीको अनुहार उज्यालो भयो, हरेक हप्ताको आइतवार अब उसलाई पनि मलाई जस्तै उत्कण्ठ प्रतीक्षा हुन थालेछ, क्षणिक भेटको ।
हामी निस्कन लाग्दा माइलीले बोतलमा खानेपानी ल्याएर दिई, “लामो बाटो छ, तिर्खा लाग्ला, यो पानी बोकिराख्नू ।‘ बोली आदेशात्मक जस्तो थियो, कति मीठो लाग्यो । मायाले दिएको पानीको बोतल समाउँदै उनलाई नियालिरहें । उनी मुस्काई मात्र । मसँग हिंडेर मलाई दैलोसम्म पुर्याइन्, शायद केही भन्नुथियो । मैले भनें, ‘धन्यवाद बैनी, आउने आइतवार फेरि भेटौंला नि है ।’
अफसोस। …।
अर्को हप्ताको आइतवार दुर्भाग्यवश भनौं वा सौभाग्यवश, हाम्रो एशियन ग्रुपको दुई दिने पिकनिक यात्रा हुनेभयो पट्टाया शहरमा । बैंकक पुगे पछि पट्टाया नजाने टुरिस्ट को होला र । समुद्रमा प्याराग्लाइडिङ, बोटिङ, राती नाइट क्लबमा मस्ती, अल्काजार क्याबरेट शो, आदि कार्यक्रम हुन्छन् । र पनि मलाई भने माइलीको याद आइरह्यो, शायद पर्खिन् होला म आउँछु भनेर । त्यति बेला थाइल्यान्डमा मोबाइल फोन आइपुगेको थिएन । उनीहरूको दोकानमा ल्याण्डलाइन फोन पनि थिएन र चिट्ठी पठाउनु त झन् कता हो कताको कुरा । अचानक बनेको हाम्रो यात्रा बारे माइलीलाई खबर गर्नु पनि सकिनँ ।
त्यसपछि, कहिले अर्को आइतवार आउँछ भनेर छटपटी लागिरह्यो । माइलीको तस्वीर आँखामा आइरह्यो ।
नभन्दै हाम्रो बस अर्को आइतवार फेरी फहुरात पुग्यो । मैले माइलीलाई पट्टयामा किनेको केही गिफ्ट पनि लिएर गएको थिएँ ।
जब हामी तीन जना साथीहरू बर्मेली होटेल पुग्यौं, त्यहाँ ताल्चा लागेको रहेछ । छेउको तामिल रेस्टुरेन्टको मान्छेले भन्यो, मोगोक (बर्मा) मा उनीहरूको हजुरआमा खस्नु भएकोले सपरिवार होटेल बन्द गरेर उता जानु भएछ । दुख लाग्यो, दुई हप्ता भयो भेट हुन सकेन माइलीसित ।
त्यस पछिको दुई हप्तामा त हामी नेपाल फर्किनु थियो, हाम्रो कोर्स सकिंदै थियो र रिटर्न फ्लाइट पनि बुक गरिंदै थियो । सबै एआइटीले गर्दै थियो । मलाई एकदम नराम्रो लाग्यो, शंका लाग्यो उनीहरू बर्माबाट कहिले फर्केलान्, छेत्री परिवार हो, क्रियाकर्म सक्ने १५ दिन त लाग्छ नै, त्यतिन्जेल त म यहाँ हुँदिन ।
मसित माइलीलाई भेट्ने वा संवाद गर्ने कुनै उपाय थिएन । केवल पर्खिनु मात्र सक्थें उनी नआउन्जेल ।
मेरो अन्तिम आइतवार आयो, र हस्याङफस्याङ गर्दै फेरि साथीहरूसित बर्मेली होटेल पुगेँ । होटेल बन्द नै रहेछ । अब यो नै अन्तिम मौका थियो, तर कस्तो विडम्बना, भेट हुन सकेन । फेरि म फर्केर थाइल्यान्ड आउँला नआउँला । निराश भएर हामी फर्कियौं । यतिका महिना बैंकक र वरपरका दर्शनीय ठाउँहरू घुमेको सारा खुशीयाली समाप्त भयो । हृदय गह्रुङ्गो भयो।
०० ०० ००
त्यसको करीब तीन वर्षपछि हाम्रो संस्थाको एशियन सेमिनार क्याम्बोडियाको राजधानी नोम-पेन्हमा भाग लिने मौका पाएँ । हामी सेमिनार सकेर बैंकक फर्केर दुई दिन आफ्नो प्राइभेट टूर गरेर फर्किने प्रोग्राम थियो । क्याम्बोडिया बाट फर्किने बित्तिकै म एक्लै फेरि फहुरात पुगें । बर्मेली होटेल खुल्लै थियो ।
बाहिर छेत्री बूढाबूढीहरू पानदोकानमा नै थिए, भित्र जेठी र कान्छी बहिनीहरू रोटी र अन्य खाना बनाउन व्यस्त थिए । उनीहरू मलाई देख्ने बित्तिकै हर्षित भए । जेठी आएर सोधिन्, ‘अपुई दाजु, सन्चै, कहिले आउनु भयो ? कति दिन बस्नुहुन्छ ?’
“दुई दिनको लागि बैङ्कक झरेको, भोलि नेपाल फर्किन्छु । पहिलाको जस्तो लामो बस्दिनँ, बहिनी !“
मेरा आँखाहरूले माइलीलाई खोजिरहे । तर देखिनँ र सोधिनँ पनि ।
खाना अर्डर गरें । अरू पनि धेरै ग्राहक थिए, त्यसैले दिदी बहिनीलाई मसित कुरा गर्नु फुर्सद थिएन । पहिला मेरो नाम, थर, आदि सोध्ने आमा पनि म भएतिर आउनु भए न । त्यति वास्ता पनि गर्नु भएन ।
खाना खाइसके पछि मैले अन्तमा इशारा गरेर कान्छीलाई बोलाएँ, उनी तीन वर्षको अन्तरालमा झन् ठूली, झन् तरुनी भएकी रहिछन् ।
‘नमस्ते दाजु’
नमस्ते फर्काएर सोधें, ‘आज माइली बहिनी आउनु भएन दोकानमा, सन्चै होलिन् ?’
उनले भनिन्, ‘होइन दाजु, माइली बर्मामा छे त । उसको त मान्डलेमा बिहा भयो नि पोहोर साल, छोरा पाएकी छे अहिले, अब दशैंमा आउँछे ।’
कान शून्य भयो, के के हातबाट खसेर टुक्राटुक्रा भए जस्तो भान भयो । मेरो प्रतिक्रिया नपर्खी कान्छी किचनतिर लागी ।
फर्किंदा एसी बसभित्र पनि पसिनाले शरीर भिज्यो – कानमा त्यही शब्द गुन्जिरह्यो – “छोरा पाएकी छे अहिले ।”
नेपाल फर्केपछि फेरि कहिले जुरेन फहुरात जान । बैंकक ट्रान्जिट भएर विदेश जाँदा माइलीको याद आइरह्यो । छेत्रीनीहरूको होटेल केवल सम्झनामा मात्र रह्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।