परामर्श कोठाभित्र ऊ प्रवेश गर्यो। मैले छेउको कुर्सी देखाएर बस्न आग्रह गरेँ।
“हैन, मलाई बस्ने फुर्सद छैन । म बसे भने त जहाज डुबिहाल्छ नि”। उसले नबस्ने निर्णय दियो।
“ल, तपाईं नबस्ने भए, उभिएरै एकछिन कुरा गरौँ है त ।” म कुरा अगाडि बढाउन प्रयास गर्छु ।
उसले फेरि जवाफ यस्तो दिन्छ, “अँह, म उभिन पनि पाउँदिन, म कुद्नुपर्छ, या घोडाजस्तै, या गधाजस्तै, या गोरुजस्तै । म कुदिरहन्छु, तपाईं बोलिरहनुस् ।”
मलाई हाँसो पनि लाग्यो, तर एक ‘चालीस’ वर्षको वयस्क पुरुष यसरी मानसिक रुपले अस्थिर भएको यथार्थले मलाई हाँस्न दिएन।
ऊ फनफनी म बसेको कुर्सी, टेबल र उसको लागि राखिएको खाली कुर्सीलाई फन्को मार्न थाल्यो ।
“तपाईंलाई थाहा छ, यो कुन ठाउँ हो ? तपाईं यहाँ किन आउनुभएको हो ?”
“हो थाहा छ, म यहाँ सुचना दिन आएको, म हराएको सुचना ।” ऊ घुम्दै बोलिरहेछ ।
“तपाईँ यहीँ हुनुहुन्छ त, कसरी हराउनुभयो ?”
“म कहाँ छु ? ल छामेर हेर्नुस्, म कतै भेट्दिनँ आफूलाई ।”
ऊ हतपत मेरो हात तानेर आफ्नो छातीतर्फ लैजान खोज्छ ।
म झटपट आफ्नो हात फुस्काउँछु । र अनुरोध गर्छु, “ल तपाईं आफैँ छामेर भन्नुस् न । आफूलाई भेट्नुहुन्छ कि ।”
“अँह, म हराइसकेँ । हेर्नुस्, यो टाउको, टाउको भित्रको गिदी सबैमा एउटा लाचार, गोरुझैँ जोतिएर पनि कहिल्यै हाकिमको स्याबासी नपाएको, गाली र गिल्लाले आत्मसम्मान गुमाएको एक कारिन्दा मात्रै छ । म छैन ।”
उसको कुरा अचम्मको तर सत्य नै लागिरहेको थियो ।
मैले थप केही सोध्न नभ्याउँदै, उसले टाउकोमा राखेको दुबै हातले आफ्नो कुममा समातेर बोल्यो, “ल हेर्नुस्, यी दुबै काँधमा पनि म छैन । आमाबाबुका अनगिन्ती रोग र पीडाहरु निको पार्न नसकेको नालायक छोरा मात्रै छ ।”
“ए, हो आमाबुवा बिरामी हुनुहुन्छ ? म थप खोतल्ने प्रयास गर्छु ।”
ऊ मेरो प्रश्नमा ध्यान दिँदैन, एक फन्को फेरि घुम्छ र मेरो सामुन्ने आएर आफ्ना दुबै हत्केला देब्रे छातीमाथि राख्दै बाेल्याे, “थाहा छ ? यो मुटुमा पनि म छैन, बिहे गरेको दशक बितिसक्दा पनि आफ्नी पत्नीलाई न घर, न कार, न सुनको हार, केही दिन नसकेको निकम्मा पतिलाई गरेको व्यङ्ग्य गुन्जिरहन्छ, यहाँ धड्कन छैन ।”
ऊ आफ्नो दुबै हात छातीभरि सुम्सुम्याउँदै डुलाउँछ र निराश हुन्छ । अनि थपक्क बस्छ अघिदेखि खाली रहेको कुर्सीमा ।
“अहिले भेट्नुभयो त आफूलाई ?”
“छैन, यो छातीभरि त सन्तानको भविष्य र सुरक्षाको त्रासले तर्सिएको एउटा ‘बाउ’ को थकित सुस्केरा भेटिन्छ । म छैन ।” अब ऊ शान्त देखियो, मौन र स्थिर ।
“तपाईं को हो ?” मैले सोधेँ ।
ऊ ठुलाठुला आँखा बनाएर मलाई एकोहोरो हेरिरह्यो ।
मलाई हल्का डर पो लागिरहेको थियो, फेरि पनि हल्का मुस्काउँदै सोधेँ, “तपाईंको ‘म’ कस्तो छ त ? बताउनुस् न हामी सबै मिलेर खोज्नेछौँ ।”
“तपाईंले मलाई चिन्नुभएन ? म ‘अमित’। हुन त कसरी चिन्नुहुन्छ त जब म हराइसकेँ ।”
“ल भन्नुस्, अमित कस्तो थियो, अब खोज्नुपर्छ ।” गम्भीर भएर उसलाई विश्वास दिलाउन खोजेँ ।
“अमित कस्तो थियो ? तपाईंलाई थाहा छैन ? ऊ त्यही अमित त हो, जो रातभर बादल र जुनको लुकामारी मा रमाउँथ्यो, अनि आफ्नो गितार लिएर, त्यही बादल र जुनको गीत रच्थ्यो, धुन बनाउँथ्यो, गुनगुनाउँथ्यो ।
त्यही अमित, जसलाई कहिल्यै हतार थिएन । जसलाई कसैको डर थिएन । कुनै शिखर चढ्ने रहर थिएन । एकान्तमा रमाउँथ्यो, फूल र भमराको खेलमा हराउँथ्यो, फूलजस्तै मुस्काउँथ्यो । गोधुली साँझमा चराहरुसँगै सुस्ताउँथ्यो ।”
“अनि ?” मैले थप जान्न खोजेँ ।
“अनि एकाएक ऊ हरायो ।” उसले जवाफ दियो ।
“कसरी हरायो ? कहाँबाट हरायो ? उसको गितार त छ होला नि ?”
“गितार ? तपाईंलाई थाहा छैन गितारका एक एक तारहरु सबैले मिलेर छिनालेको ? सबै तार छिनेपछि, गितारको धुन हरायो, अनि धुनसँगै अमित हरायो ।”
यति भनिसकेपछि ऊ झटपट उठ्यो र फेरि टेबल कुर्सी फन्को मार्दै चर्को आवाजमा करायो, “सूचना सूचना- अमित हराएको सूचना, म हराएको सूचना ।”
ऊ फनफनी घुम्दै थियो, अर्को रुमबाट डाक्टर भित्र पस्नुभयो। मैले झटपट उठेर नमस्ते गरेँ । नमस्ते फर्काउँदै उहाँले भन्नुभयो, “पेसेन्टको ‘इन्साइट’ नै छैन, अहिले काउन्सिलिङभन्दा पनि मेडिकेसनमा नै फोकस गर्नुपर्ने छ, केहीदिन पछि फेरि कन्टिन्यु गरौँला।
मैले उसको आफन्तलाई बोलाएँ, फाइल, रिपोर्टहरु सम्हालेर राख्न अनुरोध गर्दै उसलाई पनि जिम्मा लगाएँ ।
“सूचना, सूचना ” ऊ उद्घोष गर्दै पर पुग्यो।
तर मैले मनमनै दोहोर्याएछु, “म हराएको सूचना ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।