“काका, कथा भन्नुस् न ।” सानेले सिरकभित्र घुस्रिएर काकालाई अँगालो हाल्दै भन्यो ।

कमेरोले पोतेको सेतो भित्तामा लागेका काला टाटा हेरेर टोलाइरहेको काका झस्कियो । केही बेर मौन रहेको उसलाई सानेको ढिपीले नबोली सुखै दिएन । उसले कथा सुरु गर्यो ।

“एकादेशमा एउटा ठुलो रुख थियो रे । त्यसमा धेरै चराहरू बस्थे रे । अनि एउटी चरी भुर्र उडी । अर्को चरी भुर्र उडी । फेरि अर्को चरी…”

“काका, साँच्चैको कथा के ! सधैँ यस्तै गर्ने; कि त ‘एउटा चरी भुर्र उडी’ नत्र ‘हिर्का र पिर्काको कथा’ । बोल्दिनँ अब कहिल्यै पनि । भात नि खान्न आज, लौ जा ।”

सधैंझैं आज पनि साने रिसाउँदा सधैँ भन्दा कम उसको काका मुस्कुरायो ।

केही बेरको सन्नाटापछि काकाको नयाँ कथा सुरु भयो ।

“एकादेशमा एउटा सुन्दर रुख थियो । धेरै हाँगा भएको हरियो, बलियो रुख । जसमा औधी रसिला फलहरू झुलिरहन्थे । तर त्यो सुन्दर रुख कहिल्यै खुसी देखिन्नथ्यो । सधैं चिन्तामै हराइरहन्थ्यो । उसको नजिकै अर्को रुख थियो; जसले बारम्बार त्यो सुन्दर रुखलाई कुरूप भनिरहन्थ्यो, होच्याइ रहन्थ्यो । सुन्दर रुख उसको कुरा पत्याउँथ्यो । आफ्नो छाहरीभन्दा केही पर बटुवा सुस्ताउँदा ऊ आफैलाई दोष दिन्थ्यो । आफू अझै अग्लो, अझै घना हुन सकेको भए त्यो बटुवाको काम आउँदो हुँ भनेर सोचिरहन्थ्यो । सोच्दा सोच्दै घाम डुब्थ्यो; डुबेको घाम फेरि उदाउँथ्यो । यस्ता काम न काजका सोचहरूमा उसका धेरै दिन बिते । कति बटुवाको बेवकुफीलाई उसले आफ्नो गल्ती मानिरह्यो भन्ने कुरको हिसाब राखेर साध्य थिएन । उसले केवल धूर्त रुखको कुरा सुन्यो । लटरम्म फलेर नुगेका आफ्ना हाँगाहरू देख्न सकेन । घना जङ्गलका अनेकौं रुखहरूमा आफूलाई बिलकुलै अनावश्यक र कुरूप ठान्यो । उसलाई लाग्थ्यो ऊ भित्रदेखि एकदम खोक्रो छ; कालो ध्वाँसोले लिपिएको । जसलाई देख्दा कि घिन लाग्छ नत्र डर ।”

“काका, ऐना देखाउन पाको भए त त्यो रुखले सब थाहा पाउँदो हो नि है । बिचरा !” सानेका आँखामा चिन्ता थियो ।

“हो त साने, उसलाई ऐना नै चाहिएको थियो । एकदिन मुसलधारे पानी पर्यो । पानी रोकिएपछि रुखले पानीमा आफ्नै छाया देख्यो । तर धेरै समयसम्म आफैलाई बोझ सम्झँदा सम्झँदै ऊ धेरै कमजोर भैसकेको थियो । उसले ऐना देख्दा ढिलो भैसकेछ । अब ऊ उसै गरी फुल्न सक्दैन होला । अब ठुलो हावाहुरी चल्दा कुनै पनि पल ढल्न सक्छ । उसलाई आफैलाई हेला गरेको पाप लाग्यो ।” काकाले भित्तातिर टोलाउँदै लामो सुस्केरा हाल्यो ।

“काका ! मैले आमैलाई आफ्नो नाम लेख्न सिकाको याद छ ? ढिलो भन्नी केइ हुन्न के । अब ढिलो भयो भन्नी त अल्छी हुन्, हाम्रो कक्षाको रामे जस्तै । के थाहा त्यो रुखका जरा बलियै हुन् कि । केही दिनमा फेरि अझै हाँगा पलाउलान् ।” सानेले भन्यो ।

काकाले सेतो भित्ताबाट नजर हटाई सानेलाई हेर्यो । सानेले पनि काकालाई हेरिरहेको थियो ।

सानेको हेराइमा धेरै लामो प्रयासपछि गणितको कठिन हिसाबको समाधान भेटाएको बालकका आँखामा देखिने चमक भेटियो । ठ्याक्कै उस्तै ।

लाहोर, पाकिस्तान