भर्खरै शिवहरिका जेठा छोराले उनको अगाडि एउटा टपरी टपक्क राखिदिए । टपरीमा भातको ठूलो डल्लो थियो—घिउ र चिनी मिसाइएको । त्यो डल्लो देख्नेबित्तिकै उनको मुखमा थुक भरियो ।

सधैं “बालाई सुगर छ, भात नदिनु, गुलियो नदिनू,” भन्दै मकैको च्याँख्ला, तिते करेलाको अचार र साग मात्र भागमा राखिदिने छोराले आज यसरी स्वादिष्ट खाना दिएको देखेर उनको खुसीको सिमा रहेन ।

त्यति मात्र कहाँ हो र ! उहिले ढिँडोको डल्लोमा भए पनि एक पित्को घिउ हाल्न पाए यो सुक्खा घाँटीबाट सजिलै तल झर्थ्यो कि भनेर भनेको बेला – “पिण्डो खाने बेलामा के घिउ-घिउ भनेर निहुँ खोजिराख्या हो, भन्या यी बाले !” भन्दै झर्कने जेठी बुहारीले नै आज भातमा घिउ र चिनी हालेर डल्लो पारिदिएको आफ्नै आँखाले देखेपछि उनी फुरुङ्ग भए ।

घुटुक्क थुक निले उनले, अनि भातको डल्लो टिप्न लागे । तर छुन नपाउँदै, एउटा कुकुर आएर टपरीमा मुख हाल्यो र दुई गासमै भात सखाप पारेर टपरी चाट्न थाल्यो ।

शिवहरी ट्वाल्ल परेर हेरिरहे ।

एक क्षणपछि कान्छो छोराले अर्को टपरी ल्याएर उनको अगाडि राखिदियो । टपरीभरि चामल, अनि त्यसमाथि छुट्टाछुट्टै दुनामा चिनी, घिउ, गेडागुडी र दाल थियो । उनी छक्क परे ।

मनमनै उनले सोचे, “भोलीपर्सीको लागि पनि भान्चाको सामान लेराइदिएछ छोराले ।”

टपरीमै सय रुपियाँको एउटा नोट पनि राखिएको थियो । उनी त्यो नोट टिप्न आँट्दै थिए, त्यत्तिकैमा कसैले भनी हाल्यो, “हात्ती राख्नु न, हात्ती ! बाकै लागि त हो ।”

एकैछिनमै त्यहाँ त हजारको नोट पो देखियो !

बाबुका लागि एक कप चियाको पैसा पनि नझर्ने कान्छो छोराको खल्तीबाट आज हात्ती नै झरेपछि—शिवहरिको तेस्रो नेत्र पनि खुल्यो ।

तर त्यो धेरैपछि देखिएको हजारको नोट खल्तिमा हाल्ने सोच्न नपाउँदै, अरू नै कसैले टपक्क टिपिहाल्यो ।

त्यही मान्छेले टपरीको सबै सामान पनि उठाएर एउटा डालोमा हाल्यो र बोकेर गयो । शिवहरी हेरेको हेर्यै भए ।

त्यही बेलामा, “ल, काकाको नयाँ खाट पनि आयो !” भन्दै उनका भतिजोले एउटा चम्किलो नयाँ खाट लिएर आयो ।

“ओहो ! मेरै लागि नयाँ खाट ?” शिवहरिले पत्याउनै सकेनन् ।

“अब घाटतिर जाने बेलाको बाको लागि के को खाट !” भनेर टोकिरहने, रोकिरहने साहिँली बुहारी समेत आज उनकोलागि खाट आएकोमा हर्षित थिइन् । उनले सोचे,“बल्ल त्यो बिहेको थोत्रो खाटबाट छुटकारा पाइने भैयो !”

खाट मात्र कहाँ हो र ?

त्यसमा त नयाँ डस्ना, तकिया, तन्ना हालेर—एकदम सफा, सुकसुकाउँदो बिछ्यौना तयार गरियो उनकै अगाडि ।

ओछ्यानमा पट्ट्याएर राखिएको न्यानो सिरक देखेपछि भने, उनले मन नै थाम्न सकेनन् ।

कपास डल्ला परेर एकातिर थुप्रिएको झुत्रो, पुरानो सिरकले कहिल्यै नतताएको आफ्नो आङ यो नयाँ सिरकले तात्ने आशमा उनी त्यही बिछ्यौनामा लम्पसार पर्न मात्र के आँटेका थिए—त्यही अघिको मान्छे फेरि आइपुग्यो ।

उसले धमाधम ती सबै बिछ्यौना, सिरक, तन्ना पट्याउन थाल्यो । शिवहरी छक्क परे ।

“यी सबै सामान हाम्रो बासम्म पुग्छ हैन त, बाजे ?” कान्छो छोराले सोध्यो ।

“अनि के भन्या ? यो सबै तिम्रै बाकै लागि त हो । म त माध्यम मात्र हुँ नि । सोच त, कति खुशी हुन्छन् होला तिम्रा बा यो सबै पाएर !”

पुरेत भित्रभित्रै मुस्कुराउँदै थिए, तर बाहिर झर्किएको जस्तो बोलीले बोले ।

शिवहरी मख्ख परे, “अब त सबै सामान आफ्नै छाप्रोमा पुर्‍याइदिन्छन् भने त झन् गजब हुने भो नि !” भनेर मनमनै सोच्न थाले ।

घरभरि पाहुना र छिमेकीहरू थिए । सबै शिवहरिको तारिफ गरिरहेका थिए ।

१३ दिन अघि मात्र आफूसँग बेस्सरी बाझ्न आएको छिमेकी साहिँलो त, “मलाई त शिवहरिको नियास्रो लाग्न थालिसक्यो !” भन्दै थियो ।

“त्यो जगल्टा नपाल न छोरा” भन्दा कहिल्यै नटेरेको कान्छो छोराले आज टाउको खुइलाएको देख्दा उनी झन् चकित परे ।

तर के भइरहेको छ भन्ने उनी बुझ्न सकिरहेका थिएनन् ।

त्यत्तिकैमा त्यही अघिको मान्छे फेरि आयो र भन्यो, “ल, अघिको सिदा, दक्षिणा अनि यी खाटका सबै सामान पुरेत बाजेको घरसम्म पुर्‍याइदेओ त केटा हो !”

बल्ल शिवहरिको घैँटोमा घाम लाग्यो । उनले बुझिहाले—आज त उनको तेह्रौं दिन पो रहेछ । उनी त मरिसकेका रहेछन् ।

तर बाँचुन्जेल नपाएको माया, सत्कार र सम्मान आज सबैतिरबाट पाइरहेका थिए ।

त्यसैले, मरेकोमा पनि उनलाई कुनै दुःख लागेन—उनी मनमनै मुस्कुराए ।