घरबाट निस्कँदै गर्दा सरिताको आमा बुबाले भनेका थिए, पानी पर्न लागेको छ छाता लिएर जानु भनेर । तर छाता कसरी समात्नु । एउटा हातले बच्चालाई काखी च्यापेकी थिइन् भने अर्को हातमा कपडाको ब्याग झुण्डिएको थियो । सरिताको बुबाले पुर्‍याउन खोज्नु भएको थियो तर भर्खर बिरामी अवस्थाबाट उठेको हुनाले सरिताले मानिनन् । दाइले शनिवारको दिन पुर्‍याइदिने भनेका थिए । श्रीमानको आजै आउनु भन्ने आज्ञाले जान लागेकी थिइन् ।

बसको सिटमा बस्दासम्म आकाश सफा र खुल्ला थियो । बस आफ्नो गतिमा गुडिरहेको थियो । पश्चिमबाट आकाशलाई कालो बादलले ढाक्दै लग्यो । पोखराको मौसम भन्नै नसकिने, क्षण क्षणमा बदलिरहने । बसपार्कमा ओर्लदा थाहा भयो आज ट्याक्सीवालाहरुको हडताल रहेछ । हेर्दा हेर्दै पानी दर्किन थाल्यो । अब घरसम्म पैदल जानु बाहेक अर्को उपाय थिएन ।  ओत लाग्ने ठाउँ कतै देखिनन् । सरिताले छिटो छिटो पाइला चालिरहेकी थिइन् । पानी जोडले दर्किन थाल्यो । तिनले काखको छोरा र आफूलाई साडीको घुम्टोले छोप्ने प्रयत्न गरिन् र छिटो छिटो पाइला चालिन् । त्यसै बेला सरिताको अगाडी छाता ओढेर हिँडिरहेको व्यक्तिले फर्केर हेर्‍यो र भन्यो, “बच्चा रुझ्छ छातामा आउनुस् …।ʼʼ

“भयो पर्दैन…।” सरिताले भनिन् ।

र पनि पानी नथामेपछि सरिताले त्यस व्यक्तिको छाताको सहारा लिन पर्‍यो । सरिता निथ्रुक्क भिजेकी थिइन् । नचाहँदा नचाहँदै पनि त्यस व्यक्तिको शरीरसँग बेलाबेलामा सरिताको कुम ठोक्किरहेको थियो । घर नजिक आइपुग्न लागे पछि सरिताले त्यस व्यक्तिसँग छुट्टिन खोज्दा व्यक्तिले भन्यो, “घरै सम्म पुर्‍याइदिउँला नत्र तपाईंको बच्चा रुझ्ला ।”

भयो भन्दै  सरिता घरतिर लागिन् । त्यो व्यक्ति आफ्नो बाटो लाग्यो । हडबडमा सरिताले त्यस व्यक्तिलाई धन्यवाद भन्न पनि बिर्सिछ ।

दोस्रो तलाको झ्यालबाट सासू र लोग्ने हेरिरहेका थिए । परबाट कति देखे तिनीहरूले नै जानुन् ।

घरमा खुट्टा राख्नसाथ सासुले सरिताको काखबाट बच्चालाई तानिन् र रिसाउँदै भनिन्, “छाता किन नल्याएको थाहा थिएन वर्षाको याम छ भनेर…।”

सरिताले कुनै जवाफ दिइनन् । जवाफ फर्काएमा विवाद हुने सम्भावना थियो । यो कुरा बुझेको भएर सरिता चुपचाप भित्र पसिन् र बाथरुममा पसेर कपडा फेर्न लागिन् । सासू अझै पनि फतफताइरहेकी थिइन् । लोग्ने पनि रिसाएको जस्तो गरेर आफ्नो कोठामा गएर ओछ्यानमा पल्टेको थियो । कोठामा पस्दै सरिताले सोधिन्, “के भयो ? टाउको दुख्यो कि क्या हो !”

लोग्ने केही बोलेन… हेर्दै नहेरी अर्को तर्फ कोल्टे फेर्‍यो । सरिताले सोचिन् शायद दुई दिन आउन ढिला भयो त्यसैले रिसाएको हुनुपर्दछ । सरिता लोग्नेको छेउमा गएर बस्दै भनिन्, “मलाई माफ गरिदिनुस् ।”

केही नबोले पछि सरिताले पुनः भनिन्, “टाउको दुखेको हो भने भिक्स दलिदिन्छु ।”

“त्यस केटाको घरमा गएर त्यही केटालाई दलिदिनु नि ।” सरिताले केही बुझ्नै सकिनन् र भनिन्, “कसको कुरा गर्नु भएको ?”

“धेरै बहाना बनाउनु पर्दैन त्यही जसले छाता ओढाएर पुर्‍याउन आएको थियो ।”

“के भन्नु भएको उसलाई त मैले चिन्दा पनि चिन्दिन ।”

“यदि उसलाई नचिनेको भए कुम जोडेर छाता ओढेर किन आएको त ?”

“विश्वास गर्नुस् ! उसलाई त मैले चिन्दा पनि चिन्दिन । बाटोमा आउँदै गर्दा पानीमा रुझेको देखेर छाता ओढाएको मात्र हो ।” त्यसै बेला सासू अर्को कोठाबाट कराउँदै थिइन्, “सरिता बच्चाको कपडा कहाँ छ ?” लोग्नेको त्यस प्रकारको व्यवहारले सरिता मर्माहत भइन् । आफूलाई थाम्नै सकिनन्… आँखा टलपलायो, आँसु पुच्छ्दै बाहिर निस्किन् ।

“के भयो ! आँखामा आँसु किन …?” सासूले सोधे पछि सबै कुरा सुनाइन् । छोरालाई सम्झाउनु सट्टा उल्टै सरिताको दोष देखाउँदै भनिन्, “छोरोले ठिकै त भनेछ, नचिनेको मान्छेसँग किन आएको ? देख्नेलाई नै अप्ठ्यारो टाँसिएर किन हिँड्नु पर्थ्यो… !”

“हैन आमाले पनि यो के भन्नु भएको ! मैले त त्यस व्यक्तिलाई चिन्दा पनि चिन्दिन, उसले त मलाई भन्दा पनि छोरा… तपाईंको नातिलाई छाता ओढाएको थियो ।”

त्यही बेला सासूको काखमा भएको छोरा रुन थाल्यो । छोरालाई लिएर सरिता भान्सा कोठातिर लागिन् । दूध चुसाउँदै छोरालाई सुताउन लागिन् ।

केवल छोरालाई पानीबाट बचाउन भनेर छाताको सहारा लिएकी थिई । यहाँ  कुराले अर्कै मोड लिइरहेको थियो । त्यस दिन देखि घरको परिवारिक वातावरणमा कालो बादल मडारिन थाल्यो । छाता ओढ्नाले घरमा कलहको बीजारोपण भयो । माइतीमा सरिताको आमा बुबाको कानमा पनि यो कुरा पुग्यो । आमा बुबाले छोरीको भविष्य बारे चिन्ता गर्न थाले ।  यसमा सरिताको कुनै दोष थिएन ।

००००

तीन महिनापछि…

आइतवारको दिन, घमाइलो थियो, सरिता झ्याल छेउमा उभिरहेकी थिइन् । छोरा सुतिरहेको थियो । सासू टी.भी.मा सिरियल हेरिरहेकी थिइन् । लोग्ने आफ्नै कोठामा थिए । त्यसै बेला ढोकाको बाहिरी घण्टी बज्यो । कसैले पनि ढोका खोल्न नगए पछि सरिता आफैले गएर ढोका खोलिन् । ढोका बाहिर उभिएको आगन्तुकलाई देखेर सरिता झस्किन् । जुन व्यक्तिको छाता ओढ्नाले घरमा यस्तो कोलाहल मच्चिरहेको छ त्यही व्यक्ति उसको अगाडि उभिएको थियो ।

सरिताको एक मनले डराइरहेको थियो भने अर्को मनले कुरा छर्लङ्ग पारेर समस्याको समाधान होस् भनी चाहिरहेको थियो ।

“राम्रो भयो ! तपाईं यहाँ आउनु भएकोले ।” सरिताले सङ्कोच मान्दै भनिन् ।

“तर तपाई यहाँ कसरी… ? ” आगन्तुकले आश्चर्य मान्दै सोध्यो ।

“म आफ्नो घरमा नबसे कहाँ बस्नु ?”

“मैले त्यस्तो भन्न खोजेको होइन … ! तपाई देबेन्द्रको …?”

“म श्रीमती थिएँ … तर अब  अदालतको फैसला पर्खिरहेकी छु ।” आगन्तुकले केही बुझ्नै सकेन … ऊ असमञ्जसमा पर्‍यो ।

ढोकामा मान्छे बोलेको सुनेर सरिताको लोग्ने पनि आइपुग्यो । आगन्तुकलाई देखेर “अहो रमेश दाइ तपाई ! कति बेला आइपुग्नु भयो …?” सरिताले आफ्नो लोग्नेलाई हेरिन् । रमेशको बारेमा तिनले लोग्नेको मुखबाट सुनेकी थिइन् ।

आगन्तुक बैठक कोठाको सोफामा बसे पछि सरिताले भनिन्, “मलाई माफ गर्नुहोला, त्यस दिन  धन्यवाद पनि नभनी छुटेछु । छाता ओढाएकोमा धन्यवाद है ।”

आगन्तुकले केही सम्झेजस्तो गरेर सोध्यो, “अघि भर्खर ढोकामा के भन्नु भएको … मैले बुझ्नै सकिन !”

रमेशको जिज्ञासामा सरिताले एक पटक सासू र लोग्नेको अनुहारामा हेरिन् । उनीहरूको अनुहारमा एक प्रकारको गल्ती महसुस भएको भाव स्पष्ट झल्कन्थ्यो । सरिताले सबै कुराहरू बिस्तारमा भनिन् ।

यो सुनेर दुःख महसुस गरेर रमेशले भने, “देबेन्द्र तिमी पनि अचम्मको मान्छे रहेछौ । कर गरेर छाता ओढाएको थिएँ । यिनी त मानेकै थिइनन् । छोराको लागी मात्र भनेर छाता ओढ्न मानेकी । अनि काकी तपाईंले त आफूलाई समाजसेवी भन्नु हुन्छ … !”

लोग्ने र सासूले केही बोल्नै सकेनन् । सरिताप्रति यत्तिका दिन सम्म गरेको व्यवहार सम्झेर उनीहरूलाई आत्मग्लानि भइरहेको थियो । रमेशले कुराको बिट मार्दै सरिता तर्फ फर्केर भने, “तिमीले मलाई भोकै राख्ने हो कि, केही खानेकुरा खुवाउँछौ ?”

भान्सामा पसेर सरिताले खाजा बनाउन लागिन् । आज तिनको मन हलुको भएको छ । देबेन्द्रले पनि ससुरालीमा  सासू ससुरालाई फोन गरेर आफूबाट गल्ती हुन गएकोमा क्षमायाचना गरेको कुरा सरिताले भान्साबाट स्पष्ट सुनिरहेकी थिइन् ।