मित्र ‘उराठी’ गौतम

“हैन माइला तिम्री छोरीको त निकोचाल देख्दिन है ।जति बेला पनि पिपलनेटा चौतारीमा देखिन्छे ।अझ मोबाइलमा वात मारेकै देख्छु । यस्तै हो भने त तिम्री छोरी तर लाग्दिन है । बेलैमा होस पुऱ्याऊ । यसरी छाडा भएर मोबाइलमा केटाहरूसँग इत्तरिँदा पनि किन चुप लागेका हौ ?” –जुँगाको ताउ लगाउँदै सुवेदारबाले माइलालाई अर्ती छाँटे ।

“त्यही त पोहर साल त्यो करवीरेकी छोरी मैना त्यसै गर्थी । एकैछिन मोबाइल बिसाउँथिन् । आखिरमा सल्लेरीको फुर्सेले कतारबाट आउनासाथ मैनालाई टिपेर हिँड्यो । आफ्ना लालाबाला पनि बिचल्ली पारी छोड्यो असत्ती मोराले ।त्यसैले सुब्दारबाको कुरालाई हल्का रूपमा नलेऊ माइला ।”- सुवेदारको कुरामा सही थाप्दै उपबुज्रुक बन्यो कोलडाँडे रिठे ।

“मेरी छोरी त्यस्ती छैन सुब्दार बा । खै आजकल के जाति लाइनमा मास्टरले पढाउँछन् रे । मोबाइल किनिदेऊ भनेर हैरान गरी र किन्देको । त्यसमा लाग्ने लम्मर स्कुलका मास्टरले निःशुल्क देका । सर्खारले यस्तै व्यवस्था गरेको छ रे । यहाँ घरमा फोन लाग्दैन भन्दै पिपलनेटा जान्छे । पछि घरमा आएर पनि लेखपढ गरिरन्छे ।अरू त्यस्तो
नराम्रो केही हैन ।” – माइलाले बेलीबिस्तार लगाए ।

“ए ! यो त बडो अच्छा चिज पो रै’छ त । कोरोनाले स्कुल बन्द भए पनि केटाकेटीले पढ्न पाउने । काइदाको
व्यवस्था गरेछ सर्खारले । लौ मास्टरले पनि राम्रो गरेछन् ।” – सुवेदार बाले कुरा बुझे ।

इस्मा-६, अमरपुर- गुल्मी, हाल-बुटवल