दशैँको उल्लासले गाउँ ढपक्कै छोपेको थियो । जमराको बास्ना र रातो टीकाको खुशीयालीबीच एउटा घरमा भने रुवाबासी चलिरहेको थियो । छिमेककी बुहारी सुत्केरी व्यथाले छट्पटाइरहेकी थिइन् । गाउँमा न सार्वजनिक यातायातको सुविधा थियो, न त अहिले जस्तो एम्बुलेन्स नै ।

शहरबाट दशैँ मान्न आएका सञ्जय टीका थापेर काठमाडौँ फर्कने तरखरमा थिए । उनको गाडी घरअगाडि स्टार्ट भइरहेको देखेपछि छिमेकीहरू दौडिँदै आए र बिन्ती गरे, – “बाबु, बुहारीको ज्यान जोखिममा छ । सप्रे सुत्केरी, बिग्रे काल” भन्छन्, यो बेला अस्पताल पुर्‍याउन ढिलो भयो भने अनर्थ हुन्छ । लौ न सघाइदेऊ !”

सञ्जयको मन पग्लियो । उनले तुरुन्तै भने, “हुन्छ, छिटो लिएर आउनुस्, म पुर्‍याइदिन्छु ।”

सञ्जयले गाडीको ढोका खोल्न मात्रै के लागेका थिए, उनकी श्रीमती सुनिता आफ्नो पाल्तु कुकुरलाई खोला किनारमा हगाएर फर्किइन् । 

प्रशव व्यथाले छट्पटाइरहेकी महिलालाई देख्नेबित्तिकै उनको अनुहार खुम्चियो ।

“सञ्जय, यो के हुँदैछ ? यी मान्छेहरूलाई गाडीमा चढाउन मिल्दैन ।” सुनिताले कडा स्वरमा भनिन् ।

सञ्जय अवाक भए । “सुनिता, तिमी के भन्दैछौ ? बिचरीको अवस्था गम्भीर छ, अस्पताल पुर्‍याउनु हाम्रो धर्म हो ।”

छिमेकीहरूले पनि हात जोडेर बिन्ती गरे, “बहिनी, तपाईं पनि त एउटी नारी हो, अर्की नारीको प्रशव वेदना बुझिदिनुस् । यति ठूलो गाडी छ, अलिकति ठाउँ दिँदा दुईवटा ज्यान जोगिन्छ ।”

तर सुनिताको पत्थरको मन अलिकति पनि पग्लिएन । उनले कुकुरलाई काखमा च्याप्दै अहङ्कारका साथ भनिन्, “ज्यान जोगिने कुरा मलाई थाहा छैन । मेरो कुकुरलाई गाडीमा अरू मान्छे कोचिएको मन पर्दैन । मान्छे चढाउँदा मेरो ‘टमी’लाई डिस्टर्ब हुन्छ, ऊ डराउँछ । आफ्नो कुकुरलाई तनाव दिएर अर्काको ज्यान जोगाउनु छैन मलाई ।”

मान्छेको ज्यान भन्दा एउटा जनावरको सुविधा ठूलो देख्ने सुनिताको जिद्दी अगाडि कसैको केही लागेन । उनले निर्दयी बन्दै गाडीको सिसा बन्द गरिन् र सञ्जयलाई गाडी हाँक्न दबाब दिइन् । गाडीको धुलो उडाउँदै उनीहरू हुइँकिए ।

पछाडि, अस्पताल जान नपाएकी ती सुत्केरीको छट्पटी र गाउँलेहरूको आँखामा भरिएको आक्रोशले एउटै प्रश्न सोधिरहेको थियो – “के आधुनिकताको नाममा मान्छेको संवेदना यतिसम्म गिर्न सक्छ, जहाँ एउटा कुकुरको सुविधाका लागि मान्छेलाई कालको मुखमा छोडिन्छ ?”