कोठा खोज्दा खोज्दा गोडा गलिसकेका थिए । कहीँ पानीको अभाव, कहीँ घाम नछिर्ने गुम्सिएको अँध्यारो, त कहीँ घरबेटीको कचकच । धेरै सास्तीपछि बल्ल एउटा यस्तो फ्ल्याट भेटियो, जहाँ टेक्नेबित्तिकै मनै फुरुङ्ग भयो ।

खुला कौसी, झ्यालबाट देखिने सुन्दर दृश्य र छोराछोरी खेल्ने सानो बगैँचा । घरबेटी महिला पनि भद्र र शिष्ट । म मनमनै निकै खुसी भएँ- “बल्ल घर जस्तो घर भेटियो ।” तर श्रीमतीको अनुहारमा भने अचानक एउटा छाया छायो । बाहिर निस्कने बेला उनले मेरो कुहिनोमा अलि जोडले चिमोट्दै भनिन्, “भयो, अहिले नै बैना नगर्नुस् । घर गएर सरसल्लाह गरौँ ।”

साँझको खाना खाँदै गर्दा मैले सोधेँ, “किन त्यति राम्रो कोठामा आनाकानी गरेकी ? फेरि यस्तो मौका पाउन गाह्रो छ ।” 

उनले खाँदाखाँदैको गाँस छोडिन् र मेरो आँखामा हेर्दै भनिन्, “कोठा त राम्रो हो तर घरबेटीको अवस्थाले मलाई झस्कायो । उनी एकल महिला रहिछन् । हुर्कँदै गरेकी छोरी । दिनभरि तपाईं घरमै बसेर काम गर्ने, म अफिसको कामले बाहिर गइरहनुपर्ने । उनी राम्री पनि छिन्, बोलीमा पनि माधुर्य । कतै तपाईंको मन डगमगायो अनि घर भाँडियो भने….”

म स्तब्ध भएँ । श्रीमतीको आँखामा ईर्ष्याभन्दा बढी मलाई गुमाउने डर झल्किरहेको थियो । मैले सम्झाउन खोज्दै भनेँ, “हेर, विश्वास त आफैँमा हुनुपर्छ नि, स्थानमा होइन । घरबेटीको रुपमा होइन, कोठाले मान्छेको मन फेर्ने हो भने सम्झ त हामी कति ठाउँमा कोठा सर्‍यौं”

उनले रुन्चे स्वरमा थपिन्, “मलाई विश्वासको डर होइन, समयको डर हो । मान्छेको मन त हो नि, कहिले कता बहकिन्छ के थाहा र ? एउटी नारीले अर्को नारीको आकर्षण पढ्न र बुझ्न सक्छे । म आफ्नो खुसी र परिवारको शान्तिमा कुनै पनि किसिमको जोखिम लिन चाहन्नँ । बरु सानो र अँध्यारो कोठामै बसौँला तर मेरो मनमा शङ्काको बीउ नरोपिने ठाउँ होस् ।”

त्यस रात म धेरैबेरसम्म निदाउन सकिनँ । म सोच्दै थिएँ, “‘के एउटा सुन्दर सम्बन्ध टिकाउन भौतिक सुविधाभन्दा अविश्वासबाट टाढा भाग्नु नै अन्तिम विकल्प हो त ?” 

भोलिपल्ट मैले घरबेटीलाई फोन गरेर भनेँ, “हामी तत्काल कोठा नसर्ने भयौं ।” मैले कोठा त गुमाएँ तर श्रीमतीको मनमा पलाउन लागेको त्यो सानो डरको डढेलोलाई भने मैले तत्काल निभाएँ ।