माघको ठिही, पालुङको जाडो । तर गाउँमा भने आलु रोप्ने चटारोले रापिलो माहोल थियो । कोही मल बोक्ने त कोही कुलो सोझ्याउने, कोही ट्र्याक्टर जोत्ने काममा व्यस्त थिए । म पनि आफ्नै सुरमा बारीको कान्ला मिलाउँदै थिएँ ।
त्यही भीडमा एकजना अलिक हट्टाकट्टा तर थकित देखिने अपरिचित मान्छेले मलाई विनम्र आग्रह गरे, “भाइ, यो आलुको बोरा अलि सारिदिनुस् न है ?”
मलाई झनक्क रिस उठ्यो । आफ्नै कामको चाप, त्यसमाथि त्यत्रो ज्यान भएको मान्छेले सानो बोरा सार्न मद्दत मागेको देख्दा मैले झर्किएर भनें, “ए दाइ, यत्रो लक्का जवान भएर एउटा बोरा सार्न सक्नुहुन्न ? म सक्दिनँ, आफ्नै काम छ ।”
मेरो रुखो बोली सुनेर छेवैमा रहेका मेरा दाइले मलाई एकतमासले हेर्नुभयो । उहाँले केही नभनी सुटुक्क गएर ती व्यक्तिको बोरा काँधमा हाल्नुभयो र उल्टै उनकै खेतसम्म पुर्याइदिनुभयो । मलाई दाइको यो व्यवहार अस्वाभाविक लाग्यो । आफ्नै काम सधैँ अर्कालाई लगाउने दाइ, आज किन अपरिचितको खेताला जस्तो बनेर बोरा बोक्दै हुनुहुन्छ ?
यही निहुँमा धेरै दिनसम्म दाइसँग मेरो बोलचाल बन्द भयो । मलाई लाग्थ्यो— दाइले बेकारमा ती अल्छी मान्छेलाई प्रश्रय दिए । तर एकदिन साँझ चुल्होको छेउमा बस्दा दाइले मलाई नजिकै बोलाएर शान्त स्वरमा भन्नुभयो, “भाइ, तँलाई त्यो दिन रिस उठ्यो होला, तर जीवनमा गुन कहिल्यै बिर्सन हुन्न ।”
मैले अचम्म मान्दै सोधें, “कस्तो गुन दाइ, उनी त गाउँका लागि पराई हुन् ।”
दाइका आँखा रसाए । उहाँले गहभरि आँसु पार्दै भन्नुभयो, “तँलाई थाहा छैन भाइ, तीन वर्षअघि हाम्री आमा अस्पतालमा मृत्युसँग लड्दै गर्दा हामी रगत नपाएर छट्पटाइरहेका थियौं । हामीले गुहार माग्दा चिनेजानेकाले त तर्केर हिँडे, तर यही मान्छेले आफ्नो स्वास्थ्यको प्रवाह नगरी रगत दिएर आमालाई बचाएको हो । अहिले उनी भर्खर भर्खर बिरामी परेर तंग्रिएका छन्, त्यसैले मैले उनलाई यहाँ ल्याएर राखेको हुँ । एउटा आलुको बोरा त के भाइ, उनको ऋण तिर्न यो जुनी नै खर्चिए पनि कम हुन्छ ।”
दाइको कुरा सुनेर म स्तब्ध भएँ । मेरो अहङ्कार र क्षणिक रिसको अगाडि ती व्यक्तिको त्याग कति विशाल रहेछ ?
दाइले सेवा र कृतज्ञताको जुन पाठ मलाई सिकाउनुभयो, त्यसले मलाई एक पटक सोच्न बाध्य बनायो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 




