बच्चा लड्यो कि बढ्यो । लड्दा आफैँ उठ्न दिनुपर्छ । खाना खुवाउने हैन, आफैँ खान दिनुपर्छ । अनि पो सिक्छ, अघि बढ्छ । यही अभ्यास गरियो । 

अहिले हाइक जाने चलन बढेको छ । सके साप्ताहिक हिँड्ने, नसके महिनाको एक दिन हिँड्ने अभ्यास बढेको छ । पारिवारिक, सामूहिक हाइक चलेको थियो । हाइकमा सानो बच्चा पनि थियो, आफ्नै सुरमा सबैभन्दा अघि हिँडिरहेको थियो । बच्चा लड्यो, आफैँ उठ्छ भन्दै सबै अघि बढे । 

गन्तव्यमा पुगेपछि, घरघरबाट बनाएर लगेको खानेकुरा भाग लगाइयो । समूहमा भएको सदस्यको संख्या अनुसार खाना बाँडियो, एउटा भाग बाँकी रह्यो । अनि पो समूहको सबैभन्दा कान्छो सदस्यको खोजी भयो । जो अघि बाटोमा लडेको थियोे, सबैले आफैँ उठ्छ भनेर अघि बढेका थिए । समूहमा हल्लीखल्ली भयो । सबैको अनुहार निलोकाल‍ो भयो । भाग लगाएको खानेकुरा छाडेर सबै हतारहतार फर्किए । अघि लडेकै ठाउँमा बालक पल्टिरहेको थियो तर अघि जस्तो रोएको आवाज थिएन । बालकलाई छामेँ, चिसो भइसकेको रहेछ । ढुकढुकी पनि बन्द भइसकेको थियो । म आत्तिएँ, जोडले चिच्याएँ ।

सँगै सुतेकी श्रीमतीले झकझक्याएपछि ब्युँझिएँ । नजिकै रहेको बोतलक‍ो पानी घटघट खाएपछि सामान्य अवस्थामा आएँ । माघको चिसो, मध्यरातमा एक सासमै एक बोतल पानी सिध्याएको देखेर श्रीमती छक्क परेर हेरिरहिन् । 

धेरैपछि बोलिन्, “के भयो तपाईंलाई ?” 

मैले जवाफ दिएँ, “नराम्रो सपना देखेँ ।” अनि अर्कोतिर मुन्टो फर्काएँ । 

( मैले जति नै नराम्रो सपना देखे पनि सबै विवरण सुनाउँथे तर यो सपनाको विवरण श्रीमतीलाई पनि सुनाउन सकिनँ । कारण थियो, बच्चा लड्यो कि बढ्यो भन्दा, सपनामै सही एक बालकको ज्यान गयो । अक्षम्य अपराधबोध भएर, हर कुरा साझा गर्न सक्ने श्रीमतीलाई सपनाको विवरण समेत सुनाउन नसकेर ठूलो पश्चातापमा परेँ ।)