गाउँमा डोजरयात्रा शुरू भयो । लामो सुँड पसारेर डोजर उकालो चढ्दै थियो । माथिबाट पहराले डोजरलाई देख्यो र भन्यो, ‘बाबु डोजर ! पहरासँग ठोक्किन नआऊ, ठोक्किन आयौ भने विनाश हुन्छ ।’

तर डोजरले मानेन, ऊ पहरो भत्काउन अगाडि बढ्यो ।

पहरामा पुग्नुअगाडि ठिङ्ग उभिएका दुई रूखसँग डोजरको साक्षात्कार भयो । रूखहरूले डोजरसँग हात जोड्दै भने, ‘हामीलाई नलडाऊ प्रिय डोजर ! हामी बाँच्न चाहन्छौं ।’

तर डोजरले रूखको कुरा सुनेन । डोजरले रूखहरू ढलायो र त्यहाँबाट माटो सम्याउँदै पहरातर्फ अगाडि बढ्यो ।

पहरालाई हानेर डोजर अगाडि बढ्दै गर्दा खोल्सा आइपुग्यो । खोल्सामा बगिरहेको पानीले अनुनयविनय गर्‍यो, ‘मित्र डोजर ! तिमी किन मेरो स्वच्छन्द बगाइमा अतिक्रमण गर्छौ ? यसरी म निस्कने मूल छियाछिया पारेपछि म सुक्छु, अनि मान्छेहरू के खान्छन् ?’

डोजरले कान बन्द गर्‍यो ।

खोल्सा भत्काएर डोजर ढुङ्गा, माटो, बुट्यान भत्काउन अगाडि बढ्यो ।

डोजरका अगाडि जलले याचना गर्‍यो, ढुङ्गाले चिच्याहट निकाल्यो, जङ्गल रोयो, जमिन क्रुद्ध भयो । तर जमीन भत्काउँदै अगाडि बढेको डोजरको गति रोकिएन ।

केही दिनपछि डोजरले खनेको ठाउँबाट ठूलो पहिरो गयो । डोजरले थिल्थिल्याएको पहाडबाट खसेको पहिरोले डोजर मात्र पुरेन, सारा गाउँ नै पुर्‍यो । गाउँ मात्र पुरेन, गाउँभित्र हजारौंको जीवन पुरिदियो ।

डोजरले डाँडो खायो । डाँडोले गाउँ खायो ।

पहिरोमा पुरिएर गाउँ हरायो, मान्छेको सास हरायो, लाश हरायो । तर डोजर हराएन ।

डोजर मालिकले आफ्नो डोजर पुरिएको बीमा दाबी गर्‍यो । पुरिएको डोजरको सट्टा नयाँ डोजर आयो । तर पुरिएको मान्छेको सट्टा अर्को मान्छे आएन ।

*****

 (नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बागमती प्रदेशस्तरीय लघुकथा प्रतियोगितामा प्रथम स्थान प्राप्त कविता)