कार्यक्रम सुरु हुनै लागेको थियो । त्यहाँ दुई महिलाहरू पनि पुगे । कैले न मैले साहित्यको “स” पनि नरुचाउनेहरु आज उक्त कवि गोष्ठीमा पुगे र खासाक्खुसुक गर्दै थिए । “खै ! त त्यस्ती जिउकी जस्ती त लाग्दिन त ?” अर्कीले भनी ।, “भर्खर गाइँगुइँ सुनिएको हो दुई रचार महिनामै कहाँ देखिन्छ र ?”

प्रभा

रुपा कविता वाचनमा व्यस्त थिई । उसलाई के थाहा ? उस्कै गाउँका दुई महिलाहरू उसलाई चियो गर्न आएका छन् भनेर । उनीहरू अझै पनि प्रश्न सूचक आँखाले हेर्दै गन्थन गर्दै थिए । “खै ! कविता भन्दै लखर्रलखर हिँड्थी । सधैँ संगत छोरा मान्छेकै हुन्छ भन्थे । हुन पनि सक्छ नि यो कलियुगमा के पो नपत्याउँनु र ?”

छेवैमा बसेकी एक युवतीले उनीहरूका गन्थन सुनिरहेकी थिई, तर बिषय के हो ? उसलाई पत्तो भएन तर कुरा चाहिँ रुपाकै काटेका भनेर अड्कल भइसकेको थियो ।

ती महिलाहरूको गन्थनले दिक्क भएर उस्ले प्रश्न तेर्स्याई । “यहाँहरूले रुपाजीको बारेमा कुरा गर्नु भए जस्तो लाग्यो । तर कुन विषयमा हो ? किन त्यस्ता अपशब्दहरू वहाँलाई भनिरहनु भएको छ ?”

एउटीले बिस्तारै भनी । “नानी यी रुपाले बिहे गरेकै छैनन् । तर गाउँमा दुई जिउकी छ भनेर हल्ला चलेको छ । कुरा के हो ? तपाईँलाई त थाहा होला नि ?”, अर्कीले प्याच्च भनि हाली । “ आजकलकालाई के, बिहा हुनु र नहुनु ?के लाज शरम ?”
उनीहरूको कुरा सुनेर त्यो युवती हाँसेर हुरुक्कै भई र हाँस्दै भनी, “अहो ! हजुरहरुले उल्टो सुन्नु भएछ । रुपा साँच्चिकै कहाँ दुई जिउकी भएकी हुन् त ? उनको त्यो “म दुई जिउकी भएकी छु । “कविता संग्रहको नाम पो हो त ! त्यो शीर्षकको कविता त कस्तो चर्चामा आयो । उनले त्यही किताबबाट नेपालको ठूलो पुरस्कार पाएकी हुन् । ”

ती दुई महिलाहरू अकमक्क परे । “ थुईक्क ! यी साहित्तेकाररूका पनि भाषा बुझी नसक्नु हुँदा रैछन्” भनेर बाटो लागे । ती युवती ती अन्जान महिलाहरूलाई हेर्दै अझै हाँसी रहेकी थिई ।