एकाबिहानै सिर्सिर हावाले ब्युँझाउन खोज्छ रूखलाई । पातको च्यादर ओडेर सुतिरहन्छ रूख । आमा जस्तै जिस्कन्छ हावा र हल्लाउँछ हाँगा, भाँच्छ भाँच्छ जस्तो गरी । खाटबाट लड्न लागेको बच्चा जस्तै झस्केर ब्युँझन्छ रूख । अटेरी कोइली गाउँछे यसैको हागाँमा बसेर । 

“मेरै छहारीमा धमाधम चल्दैछ गीतको व्यापार, सित्तैमा हाँगामा किन गाउँछे यो चरी ?” मनमनै भन्छ रूख । किनकी मुखै फोरेर भन्नलाई चरा र रूखका भाषा मिल्दैनन् । फेरि कोइलीले गाएकी हो वा रोएकी हो ? विचरा रूखले कसरी जानोस् । रोएकै भए पनि बेच्न जान्यो भने त गीत भन्दा आँसु नै बिक्छ नि यो संसारमा । नजान्नेले मात्र हो आँसु पोख्ने । मनमनै गुन्छ रूख, “म किन यति विघ्न दार्शनिकको जस्तो मन खेलाउँछु आजकल ? के मैले साँच्चिकै जिउन बिर्सिसकेँ र ? अर्काको दुःख देख्नु जतिको हानी हुने कुरा जीवनमा अरू केही छैन भन्ने जानेरै पनि म किन देख्छु अर्काका दुःख बिनासित्ति ? आफ्नो दुःख भास जस्तै हो । अरुको चिहान । भासबाट त बल गरे निस्कन सकिएला,  चिहानबाट ?” चिन्तन गर्दा कोइली देखि औधी रिस उठेर आयो रूखलाई । फेरि सोच्यो, “चिहानमा काम गर्ने मान्छेले मसानसँग मित लाउन सक्नुपर्छ । नभए एक्लोपनको भूतले निल्छ सर्लक्कै” सम्मालिन्छ रूख । अब उसलाई कोइलीको होइन छिमेकको तन्नेरी रूखसँग रिस जाग्छ । अनि डर लाग्छ कोइलीका पखेटासँग ।

रूखका पखेटा कहिल्यै पलाएनन् । “ढाड भाँचिएर उत्तानो लडेको बिरामी जस्तो वर्षौं एकतमासले बिस्तारा रुँघेको छ रूखले । ल्वाप्पा ख्वाउँदै बहन्छ हावा यसकै अनुहार हुँदै । घामले मेलो सारिरहन्छ दिनभर यसकै टाउको माथिबाट र लुसुक्क छिर्छ क्षितिजको ढोका खोलेर । खोलाले सुसेल्दै यात्रा गर्छ यसकै पाइतलामा गुद्गुदी लाउँदै । कसैले सोधेनन् कहिल्यै, “रूख, चढ मेरो बुई, संसार घुमौँ, वा मेरो घर आ रूख आज पाउना लाग, वा तैरँदै बग मेरो छातिमा…।” मान्छे भएको भए डाँको छाडेर रुन्थ्यो होला । रूखको आँखा छैनन्, आँसु छैनन् । रूखको मनै नमिठो भएर आउँछ । “किन आज यति सारो कुरा खेलाउँदै छु म हँ ?”, सोध्छ आफैँलाई । 

रूख हुनु भनेकै सहनु हो । त्यो पनि चुपचाप । बिना प्रतिक्रिया । रूख हुनु भनेको समर्पण गर्नु हो । रूख हुनु भनेको साक्षी बस्नु हो- नचाहेको मुद्दामा । वर्षौं पछि आज रूखलाई निर्वाण प्राप्त भएको प्रतीत हुँदैछ । रूखले जति तपस्या बुद्धले पक्कै गरेनन् होला । आफैँलाई बुद्धसँग दाँजेर मख्ख पर्यो रूख । तपस्या आँखा चिम्लेर हुँदैन । आँखा खोलेर देख्न सक्नुपर्छ संसार । आँखा चिम्लेर देख्ने संसार त कल्पना मात्र हो । एउटा भ्रमलाई अर्को भम्रले अर्थ्याउन सक्दैन । झुक्याउन भने अवश्य सक्छ । रूखले हेरेरै तपस्या गर्यो । 

ऊ अझै सम्झन्छ त्यो साँझ । चुपचाप आएकी त्यो आइमाई कसरी भूत जस्तो गरी एकनाससँग हेर्दे थिई उसका हाँगा । जस्तो ठुलो चोट दुख्दैन , ठुलो दुःख पनि बोल्दैन । दुःखले गाँजेको मन लाटो जस्तो हुन्छ । न विलौना गर्छ, न गुनासो । चुपचाप बसी त्यो आइमाई रूखको फेदमा । शान्त लाग्थ्यो अनुहार, “मानौँ संसार जिते पछि अलेक्जेण्डर शयन गर्देछन् आफ्नै बिस्तारामा । विस्मृतीले दुःख हरेको जस्तो । ब्युँझेर हातको डोरी खेलाइरही धेरै बेरसम्म । गरिब देखिन्छे । लोग्नेसँग झगडा परेको हुनुपर्छ । शायद भनेको मिलेन । गरिबीसँग भएको हुनुपर्छ । गरिबहरू एक अर्कालाई माया त औधी गर्छन् तर गरिबीसँग भने झगडा गरिरहन्छन्, कुस्ती खेलिरहन्छन् र हेर्नैलाई लाग्छः लोग्ने स्वास्नी लड्दैछन् । सायद यसको छोरो मर्‍यो होला अचानक । अचानक किनकी गरिबका घरमा रोग लाग्दैन । शायद फेरि भनेको मिलेन । गरिबले रोग चिन्दैन, र त गरिबहरू अचानक मर्छन् तर गरिबहरू यति कमजोर दुःखले विचलित हुदैनन् । वर्षौं किरा परेका घाउ बोकेर हिँड्ने केटाकेटी,  मरन्च्यासे रून्चे लागेका चिचिलाहरू, कुपोषणले खोक्रिएका छोराछोरीहरू त सहजै सहन्छन् गरिबहरू । अन्यायले थिलोथिलो परेको मन र शोषणले चुसेको जीवन जिउने गरिबहरू मृत्यु जस्तो सामान्य घटनाले विचलित हुनै सक्दैनन् । यसको छोरो मरेको होइन होला । रूखले आफ्नो हाइपोथेसिस आफैँले खण्डन गर्‍यो ।

बिस्तारै अझ शान्त बन्छे आइमाई । आफ्नो ज्यानै बिर्सैर लडाइँमा निस्केको योद्धाको जस्तो साहस देखिन्छ उसको शालीनतामा । मान्छेले जे पनि गर्न सक्छ यस्तो साहसले । आजसम्म रूखले अनेक साहसी मान्छे देखेको थियो । सबैले अन्त्यमा साहसको खोल खोली डरको चकलेट चुसेका थिए तर आइमाईलाई कसैलाई देखाउनु थिएन, र त ऊ यो साँझको अन्धकारमा आएकी थिई । अझ उसलाई त आफैँलाई पनि देखाउनु थिएन । अब भने एक लामो श्वास लियो रूखले । चिसो सिरेटोले कामजोरो आएको झैँ हल्लाए पात र हाँगा । 

“ए आइमाई ! जा भाग् यहाँबाट ” भन्न मन लागेर आयो । धामीले हाँ फुँ गरी खरानी उडाएर बोक्सी भगाएझैँ खेद्न मन लाग्यो आइमाईलाई आफ्नो काखबाट । उफ् रूख हुनुको अफसोच । न भाषा छ ।  न त हिँड्नु छ ।

उसले रूखको फेदलाई अँगालो हाली, जसरी पराइसँग बिहे हुनु अघिल्लो रात काँतर प्रेमीलाई अन्तिम अँगालो हाल्छे प्रेमिका । रूखलाई सिरिङ्ग भएर आयो । काँतर प्रेमी जो आफ्नी प्रेमिकालाई छुन पनि डराउँछ । साहस गरी रोक्दैन, बरु रोकिन्छ आफैँ । डराएर एक छाक भातको पीरले ।  एक टुक्रा रोटीको डरले । काँतर प्रेमी सम्झेर लाज लाग्छ आफैँसँग रूखलाई ।

अब बिस्तारै चढ्ने छे मेरा हागाँमा । बाध्ने छे मलाई र आफूलाई । कुद्नेछे मेरो काधँबाट र छाड्ने छे अन्तिम श्वास मेरै ओठमा सिर्सिर हुने गरी । त्रासदीको चुम्बन कुरेर मैले जीवन बाँचेको रहेछु । सुन्दरता महिलामा हुन्छ । कामुकता हुन्छ । हो मलाई थाहा छ र म लोभिएको पनि छु सुन्दर चुम्बन प्रति तर त्यही ओठमा कस्तो त्रासदीको मूल फुटेको ?”  सम्झेरै गल्यो रूख ।

“अब यसले एक इन्च सर्नु अघि म आफैँ भासिएर भुइँ बन्न पाए ।” कामना गर्‍यो रूखले । “म रूख नभएर घाँस भएको भए । झार भएको भए ।” आफ्नै उचाइ देखि पहिलो पटक दिक्क मान्यो रूखले । अहिलेसम्म आइमाईले आफ्नो हातको डोरीमा गाँठो पारिसकेकी थिई । औँलाहरूमा उसको मन चलिरहेको प्रतीत हुन्थ्यो । घाँटीमा डोरी नापेर फेरी बिसाई एक पल । “किन बोल्दिन यो आइमाई ?”  रिसले रन्थनियो रूख । “मौनता मेरो कमजोरी, यसको हतियार ।” रूखलाई विश्वास थियो, अरुलाई चिच्याएर, रोएर, गाली गरेर मान्छेले आफैँलाई माया गर्छ । आइमाई न त रुन्छे, न कराउँछे, न त कसैलाई गाली गर्छे । रूख मुर्मुरियो ।

अब आइमाई हाँगामा छे । रूखले कल्पना गरेकै हाँगामा छे । कल्पना गरेकै जसरी बाँधेकी छे आफूलाई रूखसँग र तयार छे । सैनिकले सलामी ठोक्न हाकिम कुरेको जस्तै शायद कुर्दै होली मनको अन्तिम आदेश । 

अब एक निमेषका लागि मान्छे बन्न पाए भन्ने लागेर आयो रूखलाई । मान्छेहरूको करतुत देखि दिक्क भइ भगवानसँग कहिल्यै मान्छेको जुनी नमागेको रूखलाई आज मान्छे बन्न औधी रहर जागेर आयो । रातभर सुनिदिन्थेँ यसका कथाहरू । खर्पनमा बोकेर नदीमा सेलाइदिन्थेँ यसका दुःखहरू । घोडा बनेर कुदाउँथे यसका बच्चाहरूलाई । यसैयसै छट्पटायो रूख ।

रूखको कल्पना चुलिँदै गयो । मान्छेसँग मन सापट माग्यो । एक चिटिक्कको बार्दली भएको घर सापट माग्यो । अगेना र आँगन सापट माग्यो । एक टुक्रो खेत र एक हल गोरु माग्यो । बादलसँग वर्षा माग्यो र पिँढीमा बसेर बलेँसीबाट तप्तप खस्ने थोपासँग जिस्कियो र रमायो । दलिनमा घरी घरी भुर्र उड्ने गौँथलीको सङ्गीत सुन्यो र झुम्यो । बार्दलीमा बसेर दुधसँग मकै चपाउँदै रामायणका श्लोक गुन्गुनायो । पर हरियो च्यादर ओढेर बसेकी पहाडको सुन्दरता हेरेर मस्कियो । हलो बोकेर गैरी खेत ओर्लियो । कुलो सोझ्यायो । धानका बाला सँगै नाच्यो । गुन्गुनायो जीवनको मधुर संगीत । सुसेल्यो जीवन । 

भन्छन् कल्पनाको सीमा हुँदैन । कल्पनामा नियन्त्रण पनि त हुँदैन नि । सापट मागेको मनसँगै लोभ भित्रियो । घरसँगै जिम्मेवारी । खेतसँगै कर्म । वर्षासँगै चाहना । धर्मसँगै आडम्बर । संगीतसँगै गुनासो । जीवनसँगै मृत्यु ।

अब रूख पूर्णरूपमा कल्पनाको पञ्जामा परिसकेको थियो । चिया पसलमा गफ दिन थाल्यो रूख । भीडमा भाषण गर्न थाल्यो । व्यापार थाल्यो । प्रवचन थाल्यो । सम्पत्ति कमायो । छोरालाई विदेश पढ्न पठायो । एक रात डायरीमा लेख्यो यस्तो जीवनः 

कान्छो छोरोले एकबिहानै इमेल गर्‍यो अमेरिकाबाट र लेख्यो, “बा म मेरो शोधकार्य नेपाली सीमान्तकृत समुदायको जीवनशैलीबारे गर्ने सोच गरेको छु । आउँदो दशैँमा टिका थाप्न आउँदा त्यसको पनि प्रपोजल बनाउन सहयोग गर्नु होला भनेर अहिले नै भनिराखेको ।” 

मैले हुन्छ भनेर प्रतिउत्तर त लेखेँ तर दोधारमा परेँ, अब कुन समुदायका बारेमा मलाई थाहा छ र ?

राम्रो अंग्रेजी माध्यामको स्कुलमा पढेतापनि उसलाई मैले घरमै नेपाली इतिहास, साहित्य तथा संस्कृतका ग्रन्थहरू पनि राम्रोसँग पढाएको थिएँ । त्यसकै प्रभाव होला, उसले मलाई सधैँ बा भनेरै सम्बोधन गर्छ र इमेल पनि नेपालीमै लेख्छ ।

अनमोल मेधावी थियो थिएन मलाई कहिल्यै थाहा भएन । मलाई अझै पनि उसको नतिजाका बारेमा खासै चासो छैन । मलाई मात्र यो थाहा छ कि उसले आफ्नो अध्ययनको विषय आफैँले छान्यो । विश्वविद्यालय आफैँले रोज्यो । देश आफैँ छोड्यो । आफ्नो जीवन आफैँ बाँच्दैछ र भन्छ, “जिन्दगी भनेको कुनै प्रशिक्षकले कोरेको सिधा वा बाङ्गो धर्कोमा हिँड्दै खेर फाल्ने इन्जिनियरिङ्ग विद्यार्थीको प्रयोग होइन ।”  

मनमनै भन्छु, “मेरै भाषा बोल्छ मोरो, डिएनए टेस्ट लिनै पर्दैन । आफ्नै छोरो हो ।” म ढुक्क हुन्छु ।

सेवानिवृति भएकै वर्ष एक दिन जब आफूलाई अति फुर्सदिलो पाएँ, अनि बल्ल सोधेँ उसकी आमालाई उसको पढाइको बारेमा । 

नामः अनमोलमणि शर्मा

मास्टर्स इन एन्थ्रोपोलोजी एन्ड सोसोलोजी

आमाको नामः शर्मिला पौडेल शर्मा

“बाबुको नाम त थाहा होला, महासयलाई ।” लामो व्यङ्ग्य कसिन् श्रीमतीले । 

“आमाको त पक्का थाहा छ, बाबुको चैँ भन्न सक्दिनँ ।” व्यङ्ग्यलाई व्यङ्ग्य ।  

“त्यो त म पनि भन्न सक्दिनँ ।” सिरियस हुँदै बोलिन् उनी । अब सिरियस हुने पालो मेरो थियो । तर ठट्टामै भनिदिएँ  “तिमी पनि हजुरआमाकै डिट्टो छौ । आफ्नो श्रीमानको नाम कहिले नकाढ्ने ।”

“हो है प्रधुम्नजी ।” उनले थपिन् । 

हारेँ नभनी खुसुक्क अध्ययन कक्षमा छिरेँ म । 

“यही बानीले गर्दा बस्न सकेकी हुँ यो मान्छेसँग बुढेसकालसम्म । सजिलै हारिदिन्छ ।”

उनले यो भनेको मैले धेरैपटक सुनेको छु । जोइटिङ्ग्रे भन्ने शब्दसँग कत्ति पनि डर लाग्दैन मलाई । हार्नु नराम्रो हो जस्तो कहिल्यै लागेन । मलाई कसैलाई शासन गर्नु छैन । धनी हुनु छैन । प्रख्यात हुनु छैन । त्यसैले होला, छ त एक चिम्टी माया हालेको चिया सबेरै ओछ्यानमा आओस् । एक चिम्टी माया हालेको तातो पानी मध्याह्नमा आओस् र एक पछ्यौरी माया ओढेर सुत्न पाइयोस् प्रत्येक रात । यी सबै कुरा मैले हार्दा मात्रा पाएको छु र त सजिलै हारिदिन्छु र जित्छु आफैँलाई । जित्नेहरूलाई देखेर दया जागेर आउँछ ।

तर हारेर जित्ने मेरो शैली शाश्वत होइन । अचेल कहिलेकाहीँ समयसँग पौठेजोरी खेल्दा खेल्दै थाक्छन् मेरा बढा पाखुराहरू । यसै यसै डराउँछु । आत्मविश्वास उल्का खसेझैँ खस्छ । सुगर शून्यमा पुग्दा फत्रक्कै गलेको जस्तो गल्छ शरीर । सोच्छु, “म किन डराउँछु यति साह्रो ।” र यही विनाकारण डराउने कुराले झनै डराउँछु । थाहै नपाई डराउनु थाहा पाएर डराउनु भन्दा भएङ्कर भएर आउँछ । म बुढीलाई भन्न पनि सक्दिनँ । डरको आगो फैलाउन चाहन्नँ भनूँ वा डराउछुँ भनूँ । र फेरी रातभर यही हिसाबकिताब हुन्छ । नाफा घाटा । गीताको श्लोक सम्झन्छु जो सबैले जान्दछन् र सुनाउँछन् पनि । हिउँले पोखरी धानेर राखेको जस्तो थामिन्छ मन । अर्कै सूर्योदय अघि सम्मका लागि ।

“मैले किन डराउनु ? म सँग के छैन ? मेरी श्रीमती । मेरो छोरा । मेरो घर । मेरो उपलब्धी । मेरो नाम । जोडेर हेर्नै हो भने जीवन जितै जितले भरिन्छ । हार त रहर बन्छ । दु:ख त शिला खोज्नुपर्छ । तैपनि म किन डराउँछु यति विघ्न ?” 

यो समयसँगको पौँठेजोरीले सुत्न दिँदैन आजकल । मेरै सपनाले ऐँठन हुन्छ प्रत्येक रात । आफ्नै कल्पनाले तर्साउँछ पलपल । घर भत्किन्छ र भताभुङ्ग हुन्छ । सन्तान बिलाउँछ हावामा । श्रीमती किच्कनी बनेर निल्छे मलाई जिउँदै । म चाहँदै नचाहेको सपना देख्छु । म सोच्दै नसोचेको कल्पना गर्छु आजकल ।

मानव कल्पित रूख दोधारमा छ सुख र दुः खको । रूख भ्रमित छ जीवन र मृत्युको परिभाषामा । रूख विचलित छ । यस्तै विचलन, कल्पना, सपना, भ्रम र दोधारले आँखामा पट्टी बाँधिदिन्छन् रूखको । यिनै दुविधाले हात समाएर डोर्याउँछन् एक साँझ उसलाई । आज्ञाकारी बच्चो बन्छ । एउटा बुढो रूखको फेदमा लगेर छाडिदिन्छन् यी यावत् दुविधाले उसलाई । उक्त बुढो रूख चुपचाप छ । हाँगा हाँगा नियाल्छ ऊ । सोच्छ ऊ एक्लै छ । उसलाई दुःखले डोर्‍यायो यहाँसम्म कि सुखले ? उसलाई थाहा छैन । अब यत्ति थाहा छ कि यो नै उसको कर्म हो । महत्त्वपूर्ण कर्म । उसले आफ्नो हातमा खेलाउँदै गरेको डोरीले झस्काएर ब्युँझाउँछ उसलाई कल्पनाबाट । मानिसबाट पुनः एकाएक रूख बन्छ । झस्कन्छ । 

“आइमाई ?”, खै के भयो थाहा छैन । कल्पनामा उसले के छुटायो छुटायो । आइमाई कता हराई हराई । हावा बनेर बगी वा पानी बनेर बगी भेउ पाउनै सकेन । बिहानको घाम बनेर उदाई कि बिहानकै तारा बनेर अस्ताई ? थाहै पाएन । उसैबेलादेखि रूख बुद्ध बनेर बाँचेको छ ।