भदौरे दिन, झरी परेकै छ ! बाटामा हिंड्नेहरू भिजिरहेकै छन् । ट्याक्सीमा आफ्नो डेरातर्फ हिंडेका एक दम्पतीको मन भने एक अर्काप्रति भिज्न सकिरहेको छैन ।

दुई वर्ष पछि पूजा इजरायलबाट फर्केकी थिई । केवल आफ्नो देश र आफ्नो पति महेशलाई सम्झेर । ट्याक्सी भर्खर एयरपोर्ट गेटबाट बाहिर निस्केर गौशाला उकालो लाग्दै थियो । शहर रुझेकोले बाहिर हल्का चिस्यान थियो । शायद भित्र बसिरहेका दम्पती बीचको चिसोपनभन्दा कम । उनीहरू दुई बीचको अस्वाभाविक मौनता र असहजताले चालकलाई समेत घरीघरी रीयर भ्यू मिररमा हेर्न बाध्य बनाइरहेको थियो ।

पूजा महेशसँग कुरा गर्न सकिरहेकी छैन । ऊ महेशतिर प्रेमपूर्ण तरिकाले हेर्छे । महेश भने निर्वाक् झ्यालबाहिर एकोहोरो हेरिरहेको छ । आज पूजा विदेशबाट फर्केकी छे तर ऊ एक्लै आएकी छैन । ऊ सँगै, अझ भनौं ऊ भित्रै उसले अरू कसैलाई पनि लिएर आएकी छे । छिनछिनमा महेश पूजाको बढ्दै गएको पेटतिर हेर्छ र एउटा उच्छ्वास फाल्छ ।

“ब्रदर हामीलाई चाबेलमै झार्दिनू । पहिलाको लोकेशन क्यान्सल गरौं है ।”

अघिदेखिको मौन वातावरणलाई महेशले भङ्ग गर्छ । ट्याक्सी चालकले पनि स्थितिको गम्भीरतालाई बुझेर केही नबोली सहमतिमा टाउको तलमाथि गर्छ ।

सबै ट्याक्सीबाट ओर्लिए । चालकले डिक्की खोलेर पूजाको कालो सूटकेस निकाल्यो । महेशले भाडा दियो । अनि ट्याक्सी धुलो उडाउँदै त्यहाँबाट हुँइकियो ।

चाबहिलको एउटा गेष्ट हाउस । गेष्ट हाउसको एउटा सानो रूम । महेश र पूजा बेडमा बसेर अघि कै शून्यतालाई निरन्तरता दिइरहेका छन् । नीलो पुल बस्ने महेशले आफ्नी पत्नीलाई दिउँसोको उज्यालोमै डेरा लान चाहिरहेको छैन । कारण पूजा हैन । उसमा देखिएको शारीरिक परिवर्तन हो ।

“केही खाने हो ?” महेशले नै कुराको गाँठो फुकाउँछ ।

“अघि फ्लाइट मै खाएँ मैले । तपाईं खानूस् न ।” पूजा बल्ल बोल्न पाउँछे । अनि मनमनै थोरै हलुङ्गो पनि हुन्छे ।

आज एकअर्कासँग यसरी नापजोख गरेर बोल्नु पर्ला भनेर शायद यी दुवैले कहिले सोचेका थिएनन् । महेश चुपचाप कोठाबाट निस्केर तल झर्छ । पूजाले ऊ सिँढी झर्दै गरेको आहट सुनिरहन्छे । र आफू पनि वर्तमानको खुड्किलो झर्दै विगततिर पुग्छे ।

० ० ० ०

२ वर्षअघि । महेश र पूजा एक नवदम्पती थिए । उनीहरू बीच प्रगाढ माया थियो । गर्नलाई असीमान्त कुराहरू थिए । तर दुवैसँग एउटा दिगो र भरपर्दो जागीर थिएन । पैसाको अभावले यिनीहरूको जीवनलाई निकै कष्टकर बनाइरहेको थियो । दुवैले एउटै कलेजबाट स्नातक गरेका थिए । बी.ए. पास गरिसके पछि दुवैले जागीरको लागि धेरै दौडधुप र कसरत गरे । पूजालाई पत्रकारितामा औधी रुचि थियो । उसले ब्याचलरमा पनि पत्रकारिता नै लिएकी थिई । एक दिन एउटा राष्ट्रिय स्तरको मिडियामा संवाददाताको रिक्तता देखेपछि पूजाले आफ्नो सी.वी पठाइहाली । निकै तयारी गरेर एकदमै राम्रो अन्तर्वार्ता पनि दिई । ऊ आफूले जागीर पाउनेमा ढुक्क थिई । तर हामी तपाईंलाई सम्पर्क गर्छौं भनेर बिदा गरेका अधिकारीहरूसँग फेरि कहिल्यै पूजाको सम्पर्क भएन ।

पछि त्यहीँको समाचारवाचिका साथी रेखाबाट उसले थाहा पाई कि त्यो जागीर उनीहरू कै कार्यकारी सम्पादकको नाता पर्ने कोही मान्छेले पाइसकेको रहेछ । भ्याकेन्सी, अन्तर्वार्ता त केवल देखाउनलाई गरिएको औपचारिकता मात्र थियो ।

रेखाको कुराले पूजाको मन सारै खिन्न भयो । आफूसँग योग्यता र सक्षमता भएर पनि तल पर्नु पर्ने समाजको व्यवहार र व्यवस्थासँग उसलाई उदेक लाग्यो ।

पूजासँगै महेश पनि एउटा स्थायी जागीरको खोजीमा दिनदिनै भौँतारिरह्यो । एक पटक नेपाली सेनामा अधिकृत क्याडेट र एक पटक नेपाल प्रहरीमा इन्सपेक्टरको लागि पनि भिडिसकेको थियो । लिखित, शारीरिक, अन्तर्वार्ता, सहनशीलता सबै परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदाल्याउँदै पनि महेश राजनैतिक सिफारिस र शक्तिशाली पहुँचको जाँतोमा घुन जसरी पिसियो । मेरिट लिस्टमा आफ्नो नाम आँखा नचिम्ली तीन पटकसम्म खोज्दा पनि नभेटेपछि महेशले आफ्नो फोनलाई भित्तामा झटारो हान्यो । मनमनै देशको भ्रष्ट व्यवस्थालाई आमाचकारी गाली गर्यो । अनि सिरकले शिरदेखि पैताला छोपेर सुतिरह्यो । तर सधैँ सुतिराखेर उसलाई ओछ्यान मै कसैले केही टक्र्याउन वाला थिएनन् । उठ्नु पर्ने त थियो नै ।

अरू जागीर नखोजी अर्को विकल्प पनि थिएन किनकि अब ऊ पहिला जस्तो एक्लै पनि त थिएन । गाउँमा भएका बुवाआमासँग अलिअलि खर्च पठाइमाग्दै महेशले जेनतेन काठमाडौँमा पूजासँग रुक्खासुक्खा जीविका चलाइरहेको थियो । आफू सबल र सक्षम छोरो भएर पनि प्रत्येक पटक घरकाहरूसँग पैसाको लागि हात पसार्दा उसलाई मनको भित्रि तहसम्म लाज र सङ्कोच लाग्थ्यो ।

“ढक् ढक् । ढक् ढक् ।” महेशले ढोका खोल्यो । पूजा महेशलाई हेरेर मुसुक्क मुस्कुराई । निधारमा फुटेका पसिनाका थोपा पुछ्दै भित्र छिरी ।

“खाना खानुभो ?” उसले सोधी ।

“खाको । हातखुट्टा धोऊ । म खाना पस्किन्छु ।” महेशले चुला बाल्दै भन्यो ।

“हस् ।”

“अन्तर्वार्ता कस्तो भयो ?” महेशले पूजालाई एक पन्युँ भात थपिदिँदै सोध्यो ।

“दामी भाको छ । कहिले रिजल्ट आउँछ जस्तो भइसक्यो ।” पूजा उत्साहित सुनिई ।

“किन र ?”

“कस्तो किन र । जति छिटो जागीर पाइयो, त्यति राम्रो नि ।”

पूजाको सकारात्मक उत्साह र उमङ्ग देखेर उसले जागीर पाउनेमा महेश पनि लगभग निश्चिन्त भयो । र धेरै दिनपछि दिल खोलेर मुस्कुरायो ।

दुई हप्ता बित्यो । जुन बोर्डिङमा शिक्षिकाको लागि पूजाले अन्तर्वार्ता दिएर आएकी थिई, त्यहाँबाट न कुनै फोन आयो न मेल । दिनहरू अझै बित्दै जाँदा उसले बुझिसकेकी थिई कि ऊ फेरि पनि योग्य हुदाँहुँदै तल परिसकी ।

आफ्नै देशमा आफ्नो सक्षमताको भरमा जागीर खान नपाउनु कस्तो विडम्बना ! कस्तो बिचल्ली ! त्यस दिन पूजालाई नराम्रो धक्का लाग्यो । महेश दिनभरि ऊ नजिकै बसिरह्यो । उसलाई आफ्नो अङ्गालोमै कसिराख्यो । आज ऊ काम खोज्न पनि बाहिर गएन । पैसा सकिँदै गएको पर्सबाट चार सय रुपैयाँ झिक्यो । सुँगुरको आधी किलो मासु ल्यायो । र मीठो गरी बनाएर पूजालाई आफ्नै हातले खुवायो । पूजा महेशको मायाले पूर्णतः रुझी । उसले एकछिनको लागि आफ्नो समस्या बिर्सी ।

बाँच्नलाई केही त गर्नै पर्थ्यो । नेपाल बसेर दुई छाक खाने र लाउनेमा मात्र सीमित उनीहरू बस्न सक्दैन थिए । राजनैतिक सिफारिस, माथिल्लो तहसम्म पहुँच, नातावाद, कृपावाद, बेथिति, अनियमितताले शिथिल भएका नेपालीहरूको लामो सूचीमा उनीहरूको पनि नाम चढिसकेको थियो । आफ्नो देशमा सीधा तरीकाले कुनै गतिलो जागीर पाउनु दुवैलाई असम्भव लाग्न थालेको थियो । अलि पढे लेखेको हुनाले सारै मामुली काम गर्न पनि उनीहरूको मनले मानेको थिएन ।

आखिरमा पूजाले पनि त्यहीँ बाटो रोजी जुन दैनन्दिन हजारौँ नेपालीले रोज्छन् । अंशमा परेको गाउँको एक रोपनी जग्गा बैंकमा धितो राखेर महेशले पूजालाई इजरायल पठायो । खासमा ऊ आफू नै ड्राइभिङ कामको लागि साउदी जानेवाला थियो तर मेडिकल दिएर पठाओमा फर्किंदै गर्दा चालकले बाइक सीधै एउटा ५–६ फिट गहिरो खाडलमा लगेर छिराइदियो । महेशको दाहिने हातमा प्लास्टर लाग्यो । डाक्टरले महेशको हात ७–८ महिनासम्म यस्तै रहने जानकारी दिएपछि उसको पसिना छुट्न थाल्यो । बैंकको सावाँब्याजले उसलाई निद्रामा पनि झस्काउन थाल्यो । यता आफ्नो उपचार खर्चले झन् जटिलता निम्त्याइरहेको थियो । तब बाध्य भएर उसले पूजालाई नै विदेश जान सुझायो । घर, परिवार र झन्झन् बिग्रिँदै गएको जीवनको सन्तुलन मिलाउन पूजाले सोझै महेशको सुझावमा सही थपी । महेशको भाइ जो काठमाडौँ मै छुट्टै कोठा लिएर बसेको थियो । उसलाई केही समय महेशसँगै बस्न र दाइको राम्रो हेरचाह गर्नु भनी जिम्मा लगाएर पूजाले नेपाल छोडी । इजरायल छिरी ।

० ० ० ०

इजरायलमा धनी यहुदी परिवारको घरमा पूजाले केयर गिभरको काम गर्न थाली । नील र उसकी श्रीमती रोना दुवै कामको सिलसिलामा घर वा शहर बाहिर हुँदा पूजाले उनीहरूको दुई छोरीको स्याहार गर्नु पर्थ्यो । साथै धेरथोर घरायसी काम पनि उसले गर्थी ।

यसैगरी डेढ वर्षसम्म त सबै राम्रै चलिरहेको थियो । पूजाले कमाए जति पैसाबाट आफूलाई थोरै खर्च राखेर बाँकी सबै महेशलाई पठाइरहेकी थिई । यता महेशले पनि त्यस पैसाले बैंकको ऋण तिर्दै घर व्यवहार चलाउने र सानोतिनो बचत, लगानी पनि गर्न थालेको थियो । ऊ आफू पनि एउटा रात्रि क्लबमा बाउन्सरको काम गर्थ्यो ।

उनीहरूको जीवनको सन्तुलन बल्ल मिल्न थालेको थियो तर सबै सधैं एकनास रूपमै चल्ने भए किन पो जीवन ? पूजाको सहज हुँदै गएको जिन्दगीमा एक दिन बज्रपात पर्‍यो जब उसको मालिक नीलले उसको पासपोर्ट, नागरिकता मागेर आफूसँगै राख्यो । र उसलाई यौन शोषण गर्न थाल्यो । उसकी पत्नी रोना कामले दुई–तीन दिन नै बाहिर हुँदा उसले पूजाको शरीरलाई जबरजस्ती भोग्ने झन् राम्रो मौका पाउँथ्यो । यसै त सीधी, सोझी पूजा अझ अरूको देशमा, अनजानहरूको बीच उसले केही प्रतिकार गर्न सकिनन् । पासपोर्ट र नागरिकता जफत गरी नपुगेर नीलले उसको नग्न तस्वीर र भिडियोहरू पनि बनाएको थियो ।

“कसैलाई यसबारे बताउन खोजिस् भने नेपाल फर्किने बारे बिर्सिदे । केही गरी फर्किहालिस् भने पनि तेरो फोटो र भिडियोहरू पोर्नसाइटहरूमा हाल्दिन्छु ।” प्रत्येक पटकको करणीपछि एउटा धम्कीपूर्ण चेतावनी दिन उसले छुटाउँथेन ।

अपराधी नील भए पनि पूजाले आफूलाई दोषीसरह सजाय दिइरहेकी थिई । परदेशी ठाउँमा उसको मन बहलाउने र खुशी रहने आधार महेशसँग हुने कुराकानी नै थियो । तर पहिला जस्तै ऊसँग घण्टौं खुलेर फोनमा गफिने उसको चाह मरिसकेको थियो । त्यसैले महेशसँग राम्ररी कुरा नगरी नै उसले बीचैमा कल काटिदिन्थी । धेरै पटक महेशलाई यताको बारे भन्न उसले कोशिश गरी तर मनको भावनाले कहिले शब्दको आकार लिन सकेन । नेपालबाट ऊ बिचराले के पो गर्न सक्ला र भन्ने सोचेर पूजा चुपै रही । सबै सही रही ।

अबको छुट्टीमा भने नेपाल जाने सोच बनाई सकेकी थिई पूजाले । नेपाल पुगेर महेशलाई भेट्ने बित्तिकै उसलाई अङ्गाल्ने, चुम्ने, मनभरिको माया पोख्ने सपना थियो उसको । सबै धुलो भयो । घरीघरी आफ्नै शरीर र रूपसँग उसलाई रिस उठ्यो । त्यो भन्दा बढी आफ्नो भाग्यसँग झोक चल्यो । चितामा पुर्याउने चिन्ता र मानसिक पीडाले उसको रूप, रंग, तौल, पहिरन सबै टिठलाग्दो देखिन थालेको थियो । एक दिन उसलाई अचानक रिंगटा लागे झैं भयो । जीउ सारै बोधो र निष्क्रिय जस्तो देखेकोले नीलकी पत्नी रोनाले उसलाई हस्पिटल जान सल्लाह दिई ।

ऊ २ महिनाको गर्भवती भइसकेकी रहिछ । अत्यधिक मानसिक तनाव र पीडाले उसको शरीरमा समस्या आएको अनि महिनावारी बिग्रेको होला भनेर यतिन्जेल उसलाई लागेको थियो । तर हस्पिटलमा वास्तविक कारण थाहा पाए पछि आफूले टेकिरहेको भुइँ नै थर्कमान भए जस्तो उसलाई लाग्यो । चरचरी धाँजो फाटेको जमीन जस्तै उजाड भयो उसको मन । जीवन पनि । निष्प्राण जस्ती भएर पनि उसले दिन कटाउँदै गई । नीलकी दुइटी छोरीलाई हेर्दा उसलाई उनीहरूप्रति दया लागेर आउँथ्यो । बाउको पाशविकता थाहा पाएको दिन यिनीहरूको हालत के होला? कसरी अरूको सामु पर्लान् यिनीहरू । उता आफ्नो बद्लिएको व्यवहारले गर्दा महेश कुन सकसमा होला । सम्झिँदा फेरि उसको तनमन फतक्कै गल्थ्यो । जिउँदो मुर्दा जस्तै सबै सहेर बस्ने हो भने उसको जिन्दगी यही खरानी हुने पक्का थियो ।

त्यसैले उसले जसरी पनि आफ्नो देश, आफ्नो परिवार र आफ्नो पतिको अङ्गालोमा फर्किने कल्पना गरी । कल्पना पनि यसरी गरी कि सहसा उसलाई एउटा अदम्य ऊर्जा, शक्ति र साहसको ज्वारभाटा ऊभित्र उर्लिए झैँ अनुभूति भयो । उसले मनमनै एउटा योजना बनाई । नील घरमा नभएको मौका पारेर उसको पत्नी रोनालाई रुँदै सबै कुरा सुनाई । रोना एक नम्र तर स्वाभिमानी युवती थिई ।

उसले पूजाका दुई हत्केला समाउँदै पहिला उसलाई सान्त्वना दिई । अनि गहभरि आँसु पार्दै भनी, “पूजा मेरो बुढाले जुन पाप गर्यो त्यसको लागि उसलाई परमेश्वरले अवश्य नर्कवास गराउनु हुन्छ । तर तिमीले यदि यो कुरा बाहिर कसैलाई भन्यौ भने ऊ सँगसँगै मेरो, मेरा छोरीहरू र पूरै खानदान कै इज्जतको धज्जी उड्छ । त्यस पापीसँगै हामीले पनि हजार थरी संकट सहनु, भोग्नु पर्छ । त्यसैले बिन्ती छ कसैलाई यसबारे केही नभन्नु है । म तिम्रो सबै डक्युमेन्ट, तिम्रो फोटो भिडियो जे जे छ सब त्यस पाजीसँग लिनेछु । तिमीले जति सक्दो चाँडो नेपाल फर्किने प्रबन्ध पनि म मिलाउँछु । तिम्रो सबै कुरा मिलिसके पछि अनि म त्यसलाई आफ्नै तरीकाले तह लगाउँछु । त्यसैले प्लिज मेरो कुरा मानिदेऊ ।” रोना पिन्चे भइसकेकी थिई ।

पूजा थोरै आश्चर्यमा परी । आफूमाथि भएको अत्याचारको लागि उसलाई नील फाँसी चढेको पनि कमसल नै लाग्ने थियो । तर नीलकी सोझी पत्नी, निर्दोष छोरीहरूको बारे उसले सोची । अझ बढी सोची आफू बिरानो ठाँउमा, बिराना मान्छेहरूबीच भएको अवस्थाबारे । पूजाले कानूनी उपचार लिए वा रोनाको आग्रह नमाने कुरा बिग्रिन पनि सक्थ्यो । त्यस अनजान ठाउँमा उसले त्यो कदम उठाउन उचित ठानिन । फेरि उसका घाउहरूमा त नेपाल फर्किन पाउने कुराले नै सञ्जीवनीको काम गरिसकेको थियो ।

रोनाले भने अनुरूप पूजाले आफ्नो नागरिकता, पासपोर्ट पाई । अझ थप २० लाख पैसा पनि रोनाले उसलाई दिई । पूजाले जति नाइँनास्ति गरे पनि त्यो पैसा फर्काउन सकिन । रोनाले उसलाई दिएको पैसा क्षतिपूर्ति स्वरूप देको हो या आत्मग्लानिले वा माया, करुणाले । उसले बुझिन । तर नेपाल पुगेर त्यहीँ बाटै भए पनि नीललाई मुद्दा हाल्न मिल्ने प्रक्रिया बारे बुझ्ने सोचलाई उसले रोना र उसको परिवार सम्झेर तुहाइदिई ।

आफ्नो ३ महिना पुग्न लागेको गर्भलाई भने उसले तुहाउन सकिन । जब दोषीले नै सजाय पाएन भने जसको कुनै दोषै छैन उसको घाँटी किन मैले निमोठ्नु । बच्चा जसरी गर्भमा आए पनि आफ्नै गर्भमा आएको हो भन्ने सोचेर उसले त्यस बच्चाको सास खोस्न चाहिन । र उसलाई जन्माउने निधो गरी । अब नेपाल फर्केर रोनाले दिएको पैसाले कुनै सानोतिनो व्यवसाय शुरू गर्ने तर भुलेर पनि विदेशी भूमि नटेक्ने उसले निश्चय गरी ।

सबै कुरा मिलिसकेको थियो । भोलि ऊ नेपाल फर्किंदै थिई । खुशीले उसलाई निद्रा नै परेको थिएन । उसले महेशलाई कल गरी । महेश अहिलेसम्म सबै कुराबाट अनभिज्ञ नै थियो । नेपाल पुगेरै भन्ने भनेको सबै कुरा उसले आजै महेशलाई फोनमा सुनाई । उताबाट महेशको श्वासप्रश्वास बाहेक केही सुनिएन । पूजाले महेशको प्रतिक्रिया बुझ्न चाहेकी थिई । उताबाट फोन काटियो । भोलि महेशसँग भेटेर नै राम्रोसँग कुरा गर्ने उसले मन बनाई ।

महेशलाई शुरूमा सबै कुरा अनौठो, अपत्यारिलो र कष्टकर लाग्ला तर आफ्नो पत्नीको पीडा र भोगाइ सुनेपछि उसले सबै कुरा सामान्य रूपमै लिन्छ र यस बच्चालाई पनि स्विकार्छ भन्ने कुरामा ऊ विश्वस्त थिई ।

० ० ० ०

दिन ढल्यो । रात पर्‍यो । अँध्यारो छायो । अँध्यारोमै निस्के महेश र पूजा गेष्ट हाउसबाट । आफू बस्ने डेरा पुगेपछि महेशले बाहिरको फलामे ढोका खोल्यो । दायाँबायाँ तलमाथि कतै नहेरी हतार आफ्नो कोठातिर हान्नियो । पूजालाई पनि त्यसै गर्न लगायो । कोठा आइपुगे पछि पूजा नुहाउनलाई बाथरुम छिरी । महेश अझै पनि मौन थियो । दिक्दार भएर झ्यालबाहिरको अविरल झरी एकटकले हेर्दै थियो ।

पूजा नुहाएर बाथरूमबाट निस्की । लिभिङको सोफामा बसिरहेको महेश नजिक गएर बसी । लामो समयपछिको मिलन । वर्षौं पतिको माया र स्पर्शबाट वञ्चित पूजाले आफूलाई थाम्न सकिन । अप्ठ्यारो मान्दै भए पनि उसले महेशलाई अँगाल्न खोजी । महेश जुरुक्क उठ्यो । पूजालाई सारै नराम्रो लाग्यो । उसले भित्ताको घडी हेर्यो । रातिको आठ बजिसकेको थियो ।

“म खाना बनाउँछु । दिउँसो पनि नखाको तिम्ले ।” उसले घडीतिर हेर्दै भन्यो ।

पूजा दिउँसैदेखि महेशमा आएको परिवर्तन ख्याल गर्दै थिई । त्यसको सम्भावित कारण पनि उसलाई ज्ञात थियो ।

“भोकै लाग्या छैन । म खादिनँ । तपाईँ बस्नु । खाना म बनाउँछु ।”

“खान त मलाई नि मन छैन खासै । छोड्देऊ उसो भए ।” महेशले कोठाबाट निस्किँदै भन्यो ।

“कता हिंड्नु भाको यति खेर ।”

“एउटा चुरोट खाएर आउँछु । बट्टाको सकिएछ ।”

“यस्तो पानी पर्दैछ ।” पूजाले झ्यालबाट बाहिर हेरी । महेश केही नबोली भित्र छिर्‍यो र सुत्ने कोठातिर लाग्यो ।

“आउनु न, एकछिन यतै बसौँ ।” झ्यालबाट आइरहेको चिसो हावाका झोक्का र पानीका हल्का बाछिटालाई आफ्नो मुहारमा स्पर्श गर्न दिंदै उसले महेशलाई बोलाई ।

“निद्रा लागिराछ । म सुत्छु ।”

“के भाको छ तपाईँलाई महेश ! यति वर्षपछि आज हामी भेट भएका छौँ । म कुन नर्कको यातना भोगेर आएकी छु । तर तपाईँलाई केही मतलबै छैन । पीर, सुर्ता, माया, स्नेह केही छैन । किन यस्तो अनौठो व्यवहार गर्नु भाको तपाईँले मलाई ।” ढिला नगरी पूजाले ठाडै सोधी ।

“मलाई केही नसोध । तिमीलाई राम्ररी थाहा छ म किन यसरी अनौठो भइराछु । जे कुरा गर्नु छ भोलि गरौँला । अहिले म एकदमै थाकेको छु । सय थरी कुराहरू सोच्दासोच्दा टाउको फुट्न लाग्या छ मेरो ।” महेशले दिनभरिमा नबोले जति एकैपटकमा बोल्यो । र आफ्नो कोठाभित्र छिर्‍यो । पूजाले आफ्नो आँसु थाम्न सकिन । बरर झरिहाले । उसलाई आफ्नो पतिसँग अहिले नै साफसाफ कुरा गर्न मन लागेको थियो । मजाले सम्झाउन मन लागेको थियो कि उसले जानीबुझी कुनै अपराध गरेकी हैन । ऊ त केवल दुर्दान्त नियतिको शिकार भएकी हो भनेर । तर महेश उसको कुरा नसुनी कोठाभित्र छिरिसकेको थियो ।

पूजा अझै आफ्नै सोचाइमा डुबेकी छे । महेशले घुरेको सानो आवाज घरीघरी उसको कानमा परिरहेको छ । भोलि बिहान महेशसँग कुराको टुङ्गो लगाउने ठहर गरेर ऊ पनि सुत्न जान्छे । रात उसलाई निकै लामो र बोझिलो लागिरहेको छ । अनेक थरी कुरा मनमा खेलाउँदै बेडमा लडेको दुई घण्टा पछि बल्लतल्ल उसका आँखाहरू लोलाउन थाल्छन् । ऊ सुत्छे ।

० ० ० ०

बिहानीको उज्यालो मद्धिम छ । आकाश काला बादलहरूका घेरामा धुम्म छ । ढल निकास गतिलो नभएको टोल छ । हिजो देखिको अविरल वर्षा छ । तल गल्लीदेखि चोक सबै पिँडुलासम्मको पानीमा डुबेको छ । मान्छेको आवतजावत निकै कष्टकर भएको छ । जस्तोसुकै बाधा भए पनि महेश बाहिर निस्कन हातमा छाता बोकेर तम्तयार छ । ढोकाको सङ्घार नाग्नै लागेको छ ।

“यस्तो पानीमा कहाँ हिंड्न लाग्नु भाको ।” अघिदेखि महेशको गतिविधि हेरी बसेकी पूजाले सोध्छे ।

“जहाँ गए पनि फर्केर आउँछु त । तिम्लाई हरेक कुरा नसोधी हुँदैन ।” बाहिर परिरहेको पानीभन्दा चिसो ढङ्गले महेशको जवाफ आउँछ । पूजा त खङ्ग्रङ्गै हुन्छे । चकित पनि ।

“कोठा खोज्न हिँडेको । हामी आजै यहाँबाट सर्ने हो । भरै राति । तिमी कोठाभित्रै बसिरहनु । बाहिर निस्कन पर्दैन ।” छाता खोल्दै महेश फेरि बोल्यो ।

अटेसमटेस भावनाहरूलाई पूजाले यहाँभन्दा बढी मनमा राख्न सकिन, “कोठा किन सर्नुपर्ने महेश! म बाहिर किन निस्कन नहुने । आफ्नै घरमा पनि हिजो राति चोर जस्तै लुसक्क किन आउनुपर्ने हामी । मेरो यस अवस्थाको कारण तपाईँलाई यस्तो अप्ठ्यारो भाको हो भने सीधै भन्नू ।”

“थाह रैछ त आफूलाई । सबै कुरा मेरै मुखले सुन्न मन लाग्छ ।” उसले खोलिसकेको छाता बन्द गर्‍यो । कोठाभित्रै छिर्‍यो । ढोका ढप्प लगायो । आफू पनि पूजा बसिरहेको सोफामा बस्यो । अब खुलेरै कुरा गर्ने सोच उसले बनायो । उसको शब्द प्रहारले पूजाको भने मुटु नै छेड्यो । महेशबाट उसले यस्तो पराई र चिसो व्यवहारको कल्पना गरेकी थिइन । ऊ निर्वाक् आफैमा टोलाइ रही ।

“तिमीलाई त्यहाँ त्यो मान्छेले जबरजस्ती नै गरे पनि, बच्चा नै बसे पनि, अर्बोसन त गर्न सक्थ्यौ । न तिमीले बच्चा फाल्यौ । न यसबारे मलाई कहिले केही भन्यौ । यता फर्किने अघिल्लो रात एक्कासि यो सब सुनाए पछि मलाई कुन तनाव हुन्छ । तिमीलाई अन्दाजा छ । अन्तिम समयमा सुनाए पछि मैले यो सब घटनालाई कुन रूपमा बुझ्ने । फेरि तिम्ले भनेको सबै कुरा साँचो नै हो भन्ने पनि के आधार छ । सबै सुनेको, बुझेको तिमीबाटै हो । तिम्ले त मलाई यस्तो यस्तो भयो भन्यौ, सक्यो । खेप्नुपर्ने, सहनुपर्ने त मैले नै हुन्छ ।”

पूजालाई उसको लोग्ने महेश होइन अरू नै कोही अपरिचित मान्छे बोलिरहेको भान भयो । उसले महेशको अनुहारमा हेर्दै उसको कुरा सुनिरही ।

“अब जे भयो भयो । भइसकेको कुरालाई बदल्न पनि सकिँदैन । तिम्लाई म आज पनि त्यति नै माया गर्छु जति पहिला गर्थें । ल ठीक छ, तिम्ले भनेको कुरामा मलाई विश्वास छ तर तिम्ले यो घटनाको कहिले नमेटिने खतको रूपमा जसलाई आफूसँग लिएर आएकी छौ नि, त्यसले चाहिं हाम्रो सम्बन्धलाई कहिले फुल्न फक्रिन दिंदैन पूजा! म यो विदेशी छाउरा कि छाउरीले गर्दा अनेक फाल्तु तनाव चाहँदिन । तिम्रो गर्भ बसेको ३ महिना भइसक्यो त्यसैले बलात्कार भएको प्रमाणित गराएर भए पनि यसलाई जसरी पनि फाल्नुपर्छ । अनि यहाँबाट पनि हामी आजै सर्नुपर्छ । तिम्रो यस्तो अवस्था हुँदाहुँदै हामी यहाँ बस्यौँ भने मान्छेहरूले दुनियाँ थरी कुरा काट्छन् । त्यही भएर हामीले डेरा सर्नु बाहेक अरू कुनै विकल्प छैन । हाम्रो जीवन पहिला जस्तै हाँसीखुशी बिताउनु छ भने तिम्ले पनि मैले भने जस्तै गर्नुपर्छ पूजा!” महेशले अन्तिम वाक्य बोल्दाबोल्दै आफ्नो स्वर धेरै सानो गरिसकेको थियो ।

बाहिर पानी दर्किन छोडेकै थिएन । उसले सोफाबाट उठेर झ्याल बाहिर हेर्दै भन्यो, “फेरि दह नै बनाएर छोड्ला जस्तो छ उपत्यकालाई ।” महेशले आफूलाई अघिभन्दा हल्का महसूस गरिरहेको प्रष्टै देखिन्थ्यो । उसको ओठमाथि बल्ल एउटा विजयी हो कि कुटिल मुस्कान छाएको थियो । यता पूजाको मनमस्तिष्कमा भने पृथ्वीकै भार लादिए सरह भएको थियो । उसले महेशको कुरामा कुनै बैरीको जस्तो निष्ठुरता र निर्ममता आभास गरिरहेकी थिई । उसले बुझ्न सकिन कि महेश पहिलादेखि नै यस्तै थियो कि, समय र परिस्थितिले उसलाई यस्तो मतलबी र निर्मोही बनायो । चुप बसेर सहिरहनुको नतिजा के हुन्छ त्यो उसले विदेश हुँदा नै थाहा पाइसकेकी थिई । गर्नलाई त ऊसँग सय मुरी कुराहरू थिए तर आफ्नो लोग्नेको परिवर्तित वा भनौं पहिले नै जरा गाडेर बसेको मानसिकता र व्यवहार हेर्दा उसलाई जति सम्झाउन खोजे पनि भालुलाई पुराण सिवाय केही हुनेवाला छैन भन्ने पूजाले ठम्याई । र निःशब्द बसिरही ।

महेशले उसको मौनतालाई स्वीकृति सम्झियो । मनमनै झनै दङ्ग भयो । किचन गयो । दुई कप दूधचिया बनाएर ल्यायो । एउटा कप पूजालाई दिँदै आफू फेरि सोफामा बस्यो ।

पूजा अझै पनि चुपै थिई तर आफूले अगाडि चाल्ने कदमबारे आफ्नो मनलाई दृढ बनाइसकेकी थिई । विदेशको भोगाइले ऊभित्र भरपूर आँट र साहसको बीउ उमारिसकेको थियो । महेशले चिया खाएर सकीनसक्दै बल्ल हिजोदेखि परिरहेको पानी पनि अचानक थामियो । माथि आकाश र तल पूजाको मन कुनै खोलाको पानी जस्तै सँगसँगै संगलिए र छ्याङ्ग भए ।

“तिम्ले सानोतिनो सामानहरू मिलाउँदै गर ल । म ४ बजेतिर आउँछु । अनि बाँकी ठूलो सामानहरू मिलाउँला । अँध्यारो भएपछि गाडी आउँछ । अनि सामान ओसार्नुपर्छ । ए साँच्ची अलि खुकुलो खालको लुगा लगाएर बस है ।” पूजाको पेटतिर हेर्दै उसले आफ्नो कुराको बिट मार्‍यो । छाता टिप्यो । ढोका खोल्यो । एकपटक आकाशतिर हेर्‍यो । के सोचेर हो छाता कोठाभित्रै फाल्यो । यत्ति कै बाहिर निस्कयो ।

पूजाले झ्यालतिर आएर पर बाटोमा पुगिसकेको महेशलाई एकटकले हेरिरही । त्यस हेराइमा माया त थियो तर मायाभन्दा बढी कुनै चीजलाई अन्तिम पटक हेरिरहे जस्तो भाव थियो ।

० ० ० ०

पाँच बज्न लाग्दा महेश कोठामा आइपुग्यो । ढोकामा ताल्चा थिएन मात्र बाहिरबाट चुकुल लगाएको थियो । बाहिर ननिस्कनु भन्दाभन्दै पूजा बाहिर निस्केको सोचेर ऊ मनमनै मुर्मुरियो । ढोका खोलेर भित्र छिर्दा सामानहरू केही नमिलाको देखेर उसलाई अलि अजिब लाग्यो । ऊ छिट्छिटो पाइला चाल्दै आफ्नो रुमभित्र छिर्‍यो । पूजाले हिजो ल्याएको कालो सूटकेस त्यहाँ थिएन । उसको मनमा झनै चिसो पस्यो । सिरानीमाथि एउटा कागज थियो ।

उसले कागज आफ्नो हातमा लियो । एउटा लामो सुस्केरा निकाल्यो । त्यो पूजाले उसको लागि छोडेको चिठी थियो । पूजाको भावना, उसले भन्न चाहेका कुराहरू महेशलाई चिठी नपढी नै आफूले बुझे झैँ लाग्यो । फेरि पनि उसले त्यो चिठी पढी सिद्ध्यायो । उसले अनुमान गरेका कुराहरू नै पूजाले लेखेकी थिई । महेश कोठाभित्रै फनफनी फन्को लाउन थाल्यो । बेडमा बसेर एकछिन गम्भीर भएर केही सोच्न थाल्यो । अनि हताश बतासिएर आफ्नो कोठाबाट निस्कयो । ढोका थुन्ने, चुकुल लाउने, ताल्चा हाल्ने केही सुर उसमा छैन । ऊ बेसुर दौडिएर पर घुम्तीसम्म पुगिसकेको छ । गन्तव्य कहाँ हो ? राम जानून् ।