“हन पूरै मन्द मुस्कान छ त ! के भो हँ ?”

अचानक उनको प्रश्नले मलाई झस्कायो । “केही हैन ! जे भए पनि तँलाई चाहिं किन चाहियो र ?” नरम स्वरमै जवाफ फर्काएँ ।  साथमा दुई ओटा मोबाइल हुनुको फाइदा यही होला । एउटा मोबाइलबाट उनीसँग भिडियो कलमा कुराकानी गरिरहेको थिएँ र अर्को मोबाइलमा टिकटक चलाइरहेको थिएँ । उनी अर्थात, अहिलेकी प्रेमिका ।

“केही नभाको भए किन मुस्कुराएको त त्यसरी ? मैले त केही भनेको छुइन !” फेरि बोलिन् । यो पटक भने मलाई ढाँट्न मन लागेन । जे हो त्यही भनिदिएँ । आखिर प्रेमिकासँग लुकाउनु पर्ने के नै पो हुन्छ र ? जब केही लुकाउनु पर्ने अवस्था आउँछ, त्यहाँ प्रेम नै कहाँ बाँकी रहन्छ होला र ?

“हेर् न ! मसँग बिहे गर्छु भन्नेले अर्कैसँग बिहे गरिछे ।”

मैले म अघि मुस्कुराउनुको रहस्य बताइदिएँ ।

“तपाईंलाई चैँ कसरी था भो ?” पुनः प्रश्न तेर्साइन् । “उसको टिकटकमा हेरेर !” मैले भनें ।

पछिल्लो झन्डै एक वर्षदेखि  टिकटकमा

ब्लक गरेकी पूर्व प्रेमिकाले मेरो टिकटक  प्रोफाइल भ्यू गरेको देखाउँदा मलाई अचम्म लाग्यो । उनले मेरो प्रोफाइल चेक गरेपछि मैले पनि उत्सुक हुँदै उनको टिकटक प्रोफाइल चेक गरें । जहाँ थुप्रै नयाँ भिडियो अपलोड गरिएका थिए । केहीमा त लाइक पनि ठोकिदिएँ । प्रोफाइललाई अलिक तलसम्म सारेपछि भने उनको विवाहको फोटो हालेको भिडियो देखियो । त्यही भिडियोले मलाई झस्काएको थियो र म मुस्कुराएको थिएँ अघि । त्यही मुस्कान अहिलेकी प्रेमिकाले थाहा पाएकी हो ।

उनको विवाहको भिडियो देखेर भन्दा पनि मेरो भाग्य सम्झेर चाहिं म मुस्काएँ शायद । किनभने ठिक एक वर्ष अघि मात्र हामी प्रेम सम्बन्धमा थियौं । प्रेम पनि के भन्नु ? जम्माजम्मी एक महिना मात्रै चल्यो त्यो सम्बन्ध । तर, जतिन्जेल चले पनि हामीबीच प्रेम थियो ।

यही कुरा मैले वर्तमान प्रेमिकालाई सुनाएँ । “जलन भाको हो मेरो बूढोलाई ?” उनले थोरै जिस्काउने पारामा सोधिन् ।

“जलनै त किन पो हुनु परेको छ र ?” उनको विवाहले मलाई खासै केही फरक पारेको छैन भन्ने आभास दिलाउँदै जवाफ फर्काएँ । “जलन भन्दा पनि रमाइलो चैँ लाग्यो । सम्बन्ध भन्ने कुरा कोसँग कतिखेर जोडिन्छ र कतिखेर भत्किन्छ  थाहै नपाइने रैछ,” मैले भनेँ ।

“अनि ऊसँग के भएर ब्रेकअप भाको बूढा ?” उनले घाउमा नून छर्किएको पारामा प्रश्न सोधिन् ।

“तँ पनि भोलि कसको श्रीमती भएर जाने हो थाहा छैन । खूब बूढा भनेर बोलाउँछेस् !” मनमनै भनें ।

“तँलाई सबै किन चाहियो ?” मैले थोरै झर्किएको स्वरमा भनें ।

“मलाई नभनेर कसलाई भन्नुहुन्छ त अनि ?” उनको जवाफ सही लाग्यो ।

* * * *

ठीक एक वर्ष अघि दशैं-तिहारको छेका पारेर म युएईबाट नेपाल गएको बेला उनीसँग काठमाडौंमा भेट भएको थियो एउटा किताब विमोचन कार्यक्रममा । त्यहीँ हाम्रो परिचय भएको थियो । उनी पनि झापाको र म पनि झापाकै भएकोले हामीबीच थोरै बेसी कुराकानी हुनु स्वाभाविक थियो । कुराकानीकै क्रममा उनले मलाई टिकटकमा देखिरहेको र मेरा कविताहरू पढ्ने गरेको जानकारी गराइन् । उनी पनि नेपाली साहित्यमा सक्रिय नारी स्रष्टा रैछिन् । उनका दुई ओटा कृति बजारमा आइसकेका थिए । काठमाडौंबाट झापा फर्किने बेला उनले नै मलाई उपहार स्वरूप एउटा किताब दिएकी थिइन्, जुन किताब भर्खर बजारमा आएको थियो । अर्को चाहिँ आफैंले किनेर लगेको थिएँ ।

म झापा फर्किएँ मनमा त्यस्तो केही विचार नबोकी । कार्यक्रममा एक दिन भेटेको मान्छेको बारेमा धेरै सोचिराख्ने कुरा पनि  त आउँदैन ।

झापा पुगेको केही दिनमा टिकटकमा म्यासेज आयो । यसो हेरेको उनकै म्यासेज रैछ । “त्यति राम्री मान्छेले मलाई किन पो म्यासेज गरिन् होला ?” मक्ख पर्दै उनीसँग कुराकानी गर्न थालें । साहित्यसँगै जीवनका विविध पाटोमा कुराकानी भए । उनले मलाई आफ्ना धेरै कुरा थाहा दिए जस्तै मैले पनि आफ्ना धेरै कुरा थाहा दिएँ ।

निकै बेरको कुराकानीपछि उनले मलाई विवाहको प्रस्ताव राखिन् सिधै । एकछिन त म अलमलमा परें । त्यति राम्री, त्यति सम्पन्न, आफैंमा सक्षम नारीले मसँग किन विवाह गर्न खोज्दैछिन् ? मनले शङ्का गर्‍यो र आफैंलाई प्रश्न गर्‍यो । काठमाडौंमा आफ्नै व्यवसाय चलाएर बसेको मान्छे, काठमाडौंमै सुविधा सम्पन्न आफ्नै घर, गाडी भएको मान्छे, कलेज पनि पढाउँथिन् । एकछिनसम्म त मलाई विश्वास नै लागिरहेको थिएन उनको प्रस्तावप्रति ।

“म जस्तो खाडीमा सामान्य मजदूरी गर्ने मान्छेसँग बिहे गरेर के गर्नुहुन्छ ?”  मैले अलिक रुखो प्रश्न तेर्साएँ ।

“मैले पैसाको लागि तपाईंसँग बिहे गर्न खोजेको हैन । पैसा त जति भने पनि छ मसँग । पछि पनि कमाइएला । तपाईं असल र इमानदार लाग्यो । त्यही भएर हो ।” उनको जवाफ आयो ।

उनलाई असल लागेपछि मेरो के लाग्छ र ? फेरि केलाई इमानदार  र असल भन्ने ? त्यसको पनि त कुनै मापदण्ड छैन । त्यो त मान्छे अनुसार उसको दृष्टिकोणमा भर पर्ने कुरा होला शायद । यति हो उनको दृष्टिकोणमा म असल ठहरिएँ ।

“केटीहरू इमानदार केटाको पछि लाग्छन् र ? पैसावाला मात्रै हेरेको था थियो मलाई त !” मैले थोरै व्यंग्य प्रहार गरें ।

“सबै केटी एउटै सोचका काँ हुन्छन् र अनि ?” उनले भनिन्, “बाहिरबाट जतिसुकै सम्पन्न र स्ट्रोङ देखिए पनि एउटा छोरी मान्छेलाई असल साथीको खाँचो सधैँ भइरहन्छ । दिनभर बाघ भएर हिंडे पनि साँझ घर पुग्दा सानो बालक जस्तो भएर श्रीमानको छातीमा निदाउने रहर हरेक छोरी मान्छेको हुन्छ । जुन रहर ममा पनि छ र त्यही कुरा मैले हजुरबाट पाउँछु भन्ने आश हो । इमानदारीपूर्वक साथ दिनुहुन्छ भन्ने मेरो विश्वास हो तपाईंप्रति ।”

उनले थपिन्, “कलेजमा मलाई हिटलर भन्छन्  विद्यार्थीहरूले । म त्यस्तो कडा रूपमा प्रस्तुत हुन्छु । त्यो जरूरी पनि छ । नत्र धेरैले मलाई र मेरो जोवनलाई प्रयोग गरिसक्थे होलान् । तर, भित्रबाट म कति कमजोर छु भन्ने कुरा त मलाई मात्र था छ । यही कमजोरीले मलाई असल जीवनसाथीको खाँचो महसूस गराइरहन्छ । त्यसकारण म हजुरसँग जोडिन आइपुगें ।”

हुन त उनको व्यक्तित्व र सम्पन्नताले पहिलो भेटमै मलाई लोभ्याइसकेको थियो । तर, यसरी उनीबाट विवाहको प्रस्ताव नै आउला भन्ने त कल्पनासम्म पनि गरेको थिइनँ । उनी कहाँ, म कहाँ ? सम्पन्न र आफैंमा सक्षम महिलाले आफूभन्दा कम सफल पुरुषसँग पनि बिहे गर्छन र ? मनले यही सोचिरहेको थियो । उनको यस प्रस्तावले निक्कै सोचमग्न बनाइरहेको थियो भने उत्तिकै सकस पनि पारिरहेको थियो ।

उनी मान्छे त मलाई पनि मन नपरेको कहाँ हो र ? तर, हामीबीचको आर्थिक असमानताको यत्रो खाडल देख्दादेख्दै विवाह गरेर भोलि दु:ख पाइएला कि ? हेपाइ पो सहनु पर्ने हो कि ? यस्तै यस्तै कुरा मनमा खेल्यो । आफ्नो क्षमताभन्दा ठूलो अवसरले पनि मान्छेलाई खासै खुशी बनाउन सक्दैन रैछ । मलाई त्यस्तै भइरहेको थियो । तर, उनी भने हाम्रो वैवाहिक जीवन सफल हुने दाबी गरिरहेकी थिइन् ।

* * * *

टिकटकबाट शुरू भएको हाम्रो कुराकानी बिस्तारै म्यासेन्जरको भिडियो कलसम्म पुग्यो । मप्रतिको उनको प्रेम झनझन बढ्दै गइरहेको थियो । उनको प्रेम देखेर म पनि झनझन मक्ख परिरहेको थिएँ । तर, पूर्ण रूपमा भर भने पर्न सकिरहेको थिइनँ । किनभने योभन्दा पहिले पनि केहीले यसरी नै प्रेम र विवाहको प्रस्ताव राखेर बीचैमा छोडेका घटना मनमा ताजै थिए । त्यसकारण पनि उनको प्रस्तावप्रति सन्देह हुनु स्वाभाविक थियो । तर, उनीसँग बिहे गर्न पाए त गजब नै हुन्थ्यो भन्ने चाहिं लागिरहेको थियो मलाई पनि ।

“साँच्चै तपाईंको मावली के थरी ?” मैले अनायासै सोधिहालें । मैले आफ्नो पूरा नाम र थर सामाजिक सञ्जाल तथा साहित्यमा नलेख्ने गरेकोले उनलाई मेरो वास्तविक नाम र थर थाहा थिएन । अब विवाह नै गर्ने भएपछि मावलीको थर सोध्नु त पर्‍यो नै । उनले आफ्नो मावलीको थर भन्नुभन्दा पहिले “तपाईं चैं के थरी ? तपाईंको पूरा नाम के हो ?” मलाई सोधिन् ।

“पैले तपाईंको मावली भन्नु न, अनि म मेरो थर भन्छु ।” थोरै जिद्दी गरें ।

उनले आफ्नो मावलीको थर भनेपछि म मुसुमुसु हासेँ ।

“किन के भो र ? हाँस्नु भो त ?” थोरै निराश स्वरमा उनी बोलिन् ।

“के हुनु र ? जे नहुनु पर्थ्यो,  त्यही भयो । तपाईंको मावली र मेरो थर एउटै पर्‍यो !” मैले मन खिन्न पार्दै जवाफ फर्काएँ ।

विवाह भन्ने कुरा जुरेको छैन भने कसैगरी पनि हुँदैन भन्थे । आज आएर सत्य लाग्यो त्यो कुरा ।

“थर एउटै भए पनि गोत्र फरक हुन सक्छ । तपाईंको गोत्र के हो ?” थोरै आशावादी स्वरमा उनले प्रश्न गरिन् ।

“हाम्रो थरको जम्माजम्मी एउटै गोत्र हुन्छ – अत्री । नपत्याए घरमा सोध्नु !” मलाई थाहा भएको कुरा भनेँ । उनले पनि घरमा तुरुन्तै फोन गरेर आमालाई सोधिछिन् मावलीको गोत्रको बारेमा । आमाले पनि “अत्री गोत्र हो” भन्नुभएछ ।

निराश हुँदै उनले तुरुन्तै फोन गरिन् मलाई । “म त अभागी रैछु यार !”  उनले गुनासो गर्न थालिन् । “कति लामो समयपछि एउटा असल जीवनसाथी पाएँ भन्ने लागिरहेको थियो । थुक्क ! मेरो भाग्गे !” उनले आफैंलाई सराप्न थालिन् ।

उनको मावली र मेरो थर एउटै भएकोमा मलाई पनि थकथक लाग्यो । यस्तो राम्रो मान्छे हातबाट उम्क्यो भन्ने लाग्यो । हुन त भाग्यमा नभएको कुरा टाउको फुटाएर पनि पाइँदैन भन्छन् । शायद त्यही भएको त होला नि !

मैले चित्त बुझाउने कोशिश गरें ।

खासमा मलाई उनको सम्पन्नता र व्यक्तित्वले लोभ्याएको थियो । काठमाडौंको त्यत्रो घरकी मालिक । “त्यत्रो ठूलो घरको ज्वाइँ बन्न पाए त गजपै हुन्थ्यो होला ?” मनले कल्पना गरिसकेको थियो । काठमाडौं जस्तो ठाउँमा चार तले घर । केटी आफैंमा सक्षम । डबल मास्टर डिग्री । कलेज पढाइरहेकी । साथमा आफ्नै व्यवसाय पनि । यहाँभन्दा बेसी के खोज्नु एउटी केटीमा ? आफू भने मुश्किलले स्नातकको पढाइ सकेर विदेश हानिएको मान्छे । त्यो पनि खाडी मुलुक ।

सामान्यतया केटीहरू केटाको सम्पन्नतामा लोभिने गरेको देखेको थिएँ । तर, आज एउटा छोरो मान्छेलाई छोरी मान्छेको सम्पन्नताले लोभ्यायो । साथमा उनी राम्री पनि थिइन् । ज्यान चाहिं अलिक मोटो थियो । हाइट पनि अन्य केटीहरूभन्दा अग्लो नै थियो ।

उनीसँग विवाह गर्न पाएको भए त मलाई विदेश पनि गइरहनु पर्ने थिएन । काठमाडौंमा भएको उनकै व्यवसाय सम्हालेर बसे पुग्थ्यो । यस्तै यस्तै सोच्यो मनले ।

हाम्रो कुराकानी नै बन्द भयो । लामो समयपछि विदेशबाट घर गएकोले म पनि आफ्नै काममा व्यस्त हुन थालें ।

* * * *

केही दिनको मौनतापछि उनको फेरि म्यासेज आयो म्यासेन्जरमा । म्यासेजमा खबर सोध्ने काम सकिएपछि भिडियो कलमै कुराकानी हुन थाल्यो । “सुन्नु न हामी बिहे गरौं हौ ! मावलीको थर मात्रै त मिलेको हो । आफ्नै मावली त हैन नि त तपाईं ! केही हुन्न होला हौ ?” उनले फेरि विवाहको प्रस्ताव राखिन् र भनिन्, “मलाई त कस्तो छट्पटी भयो । त्यही भएर फेरि बोल्न आको म त । आ..! जे सुकै होस् हामी बिहे गरौं । हामी खुशी भए भैगो नि ! अरूसँग के सरोकार भो र ?”

केही बेर सोचेर मैले पनि उनको कुरामा सहमति जनाइदिएँ । किनभने मलाई पनि उनलाई गुमाउन मन थिएन ।  “पापै त लाग्ने हैन । यो भनेको मान्ने कुरा हो । मान्ने कुरालाई नमान्दा पनि हुन्छ ।  नेपालकै अन्य कतिपय जातमा आफ्नै फुपू/मामाको छोरीसँग त बिहे हुन्छ । हामी त आफ्नो पनि हैनौं । मावलीको थर मात्र मिल्न गएको न हो । उनीहरूलाई नलागेको पाप हामीलाई चैं किन लाग्छ ? तपाईं तयार हो भने  म त तयार छु । बिहे गर्ने भए  गरौं ! म त राजी छु है !” मैले उनलाई विश्वास दिलाउँदै भनें ।

मेरो कुराले उनी थोरै खुशी देखिइन् । मलाई पनि उनको पुन: आएको विवाहको प्रस्तावले भित्रभित्रै खुशी बनाइरहेको थियो । माया र युद्धमा सबै कुरा जायज हुन्छ भनेर कसले भनेको होला है ? तर, जसले भनेको भए पनि ठीकै भनेछ । मलाई त्यो कुरा पहिलो पटक महसूस हुँदै थियो ।

“अनि तपाईंको घरमा मान्नुहुन्छ त ?” उनले शङ्कालु स्वरमा सोधिन् । “तपाईं, तपाईंको घरमा मनाउनुस्, म मेरो घरकालाई मनाउँछु । सक्की गो त !” थोरै आत्मविश्वासका साथ मैले जवाफ फर्काएँ ।

मलाई त मेरो घरका मान्छेलाई फकाउन समय लागेन । विवाह नै गर्दिनँ भनेर बसेको मान्छेले आफैं विवाह गर्छु भन्दा घरका मान्छेले नाइँ भन्ने कुरा पनि आउँदैन थियो ।

“एउटी केटी हेरेको छु । अब म बिहे गर्छु !” यति मात्रै भनें । घरमा सजिलै राजी भए । तर, मैले मेरो घरका मान्छेलाई उनी डिभोर्सी महिला हुन् भन्ने कुरा चाहिं जानकारी गराएको थिइनँ । साथै उनको मावली र हाम्रो थर एउटै हो भन्ने कुरा पनि थाहा दिइनँ । विवाह गरेर ल्याएपछि सबै बिस्तारै थाहा पाइहाल्छन्  । अहिले नै जानकारी गराएर उनीहरूको मन किन खुम्च्याउनु ? भन्ने लागेर मैले ती कुरा घरमा थाहा दिइनँ ।

“बुढेसकालमा यसलाई कस्ले पाल्छ होला ?” दैनिक जसो आमा कचकच गरिरहनु हुन्थ्यो विवाहको कुरा निकालेर । यस्तो अवस्थामा मैले नै त्यसरी विवाह गर्छु भन्दा उनीहरूका लागि पनि अचम्मको कुरा थियो ।

“कसैले पगाल्न नसकेको यस्को मनलाई आज आएर कस्ले पगालेछ ? तेस्लाई त लाख् -लाख् धन्नेवाद छ,” आमा मुस्कुराउँदै बोल्नुभयो । “के थरी हो केटी ? कस्की भान्जी हो ?” आमाले जटिल प्रश्न सोध्नुभयो ।

“ऐले नै सबै किन चाहियो ? चिन्ता लिन पर्दैन । आफ्नै जातको हेरेको छु !” मैले भनें । आमा थोरै ढुक्क हुनुभयो । आमाले त्यसरी केटीको थर सोध्नुको कारण पनि छ । यसअघिका मेरा केही प्रेम सम्बन्धहरू अन्तरजातीय थिए । जुन कुरा आमालाई राम्रोसँग थाहा थियो । आफूले सबैभन्दा धेरै विश्वास गरेको कान्छो छोराले आफ्नो जातको केटी ल्याउँदैन कि ? भन्ने आमाको ठूलो चिन्ता थियो पहिलेदेखि नै । तर, म भने आमालाई सम्झाइरहन्थें, “जुन जातको भए पनि बुहारी राम्रो ल्याइदिएँ भने भएन ? जुन जातको भए पनि तपाईंलाई माया गर्ने ल्याइदिन्छु । त्यति भएसी भएन ?”

“ल ल ! बिहे गर्ने हो भने यै दशैंमा भित्र्याउनु पर्छ, यसो टिकाटालो गरेर । मलाई पनि साथी हुन्छे । छिटो कुरा अघि बडा !” यति भनेर आमा आफ्नो काममा लाग्नु भयो ।

* * * *

उनी एक  डिभोर्सी महिला थिइन् । उमेर त मभन्दा ३-४ वर्ष कान्छी नै हो । बल्ल ३०/३१ वर्षकी । १५/१६ वर्षको कलिलो उमेरमै विवाह भएको रहेछ । विवाह भएको केही समयमै उनको श्रीमानले अर्कै केटी भगाएछ । डिभोर्स भएको पनि १०/१२ वर्ष भइसकेको रहेछ । साथमा त्यति नै वर्षकी एउटी छोरी पनि थिइन् । ती सबै कुरा स्वीकार गरेर म उनीसँग विवाह गर्न तयार भएको थिएँ । जीवनलाई नजिकबाट बुझेको मान्छेसँग विवाह गर्दा आफ्नो पनि जीवन सहज होला कि ? भन्ने मेरो बुझाइ थियो । डिभोर्सपछि झापाबाट काठमाडौं आएर आफ्नै तरिकाले सङ्घर्ष गरेर उनी अहिलेको अवस्थामा पुगेकी रैछिन् । दुई चार जनालाई रोजगार समेत दिएकी उनले काठमाडौंमा अनेक किसिमको सङ्घर्ष गर्नु परेको सुनाउँथिन् ।

* * * *

विवाह गर्ने कुरामा हामी दुवै जना राजी भएपछि उनले चिना देखाउने कुरा गरिन् । म झापा र उनी काठमाडौंमा भएकोले दुवैको चिना लगेर एकसाथ हेराउन सम्भव थिएन । त्यसैले मैले मेरो जन्ममिति पठाइदिएँ ।

“तर, यदि ज्योतिषीले हाम्रो बिहे सम्भव छैन, चिना मिलेन भन्यो भने चैं म बिहे गर्दिनँ है हजुरसँग ! हजुरले यसमा दुःख मान्न पाउनुहुन्न नि !” थोरै अप्ठ्यारो मान्दै भनिन् ।

“त्यस्तो पनि हुन्छ ? चिना मिले गर्ने, नत्र नगर्ने ! त्यस्तो पनि कहीं हुन्छ ? चिनाभन्दा माथि प्रेम हैन र ?” थोरै घुर्क्याउने पारामा सोधें ।

“हुन्छ त अनि ! पैले पनि घरकाले नगर् भन्दाभन्दै भागेर बिहे गर्ने हुँदा दुःख पाएँ । त्यसको सजाय अहिलेसम्म भोगिरहेको छु । अबको चाहिं त्यस्तो नहोस् भन्नका लागि पनि चिना त मिलाउनै पर्छ । मैले चिनेको जान्ने ज्योतिषी छन् तिनैलाई देखाउँछु !” आफ्नो स्पष्ट धारणा राखिन् ।

मैले पनि उनको कुरामा सहमति जनाइदिएँ । मसँग अर्को विकल्प पनि त थिएन । अब चिनाकै कारण विवाह हुँदैन भने त मेरो पनि के लाग्छ र ? मैले यही सोचें र उनलाई पनि यही भनें ।

चिना हेराउने कुरा भएको भोलिपल्टै ज्योतिषीले भनेका सबै कुरा रेकर्ड गरेको एउटा भ्वाइस म्यासेज मेरो वाट्सपमा आयो । समग्रमा हाम्रो चिना मिलेको र विवाह गर्न कुनै समस्या नभएको ज्योतिषीले भनेका थिए । ज्योतिषीको कुराले उनी पनि खुशी थिइन् र म पनि ।

दशैं नजिकिँदै थियो । टीकाकै दिन सामान्य तरिकाले विवाह गर्ने भनेर उनी र म बीच सल्लाह भइरहेको थियो । यता घरमा पनि त्यही अनुसार जानकारी गराएको थिएँ । तर, उनले भने हाम्रो सम्बन्ध र विवाह गर्ने बारेमा उनको घरमा कुनै जानकारी नै गराएको रैनरैछ त्यतिन्जेल । चिना हेराउने काम सकिएपछि मात्रै घरमा थाहा दिने भनेर बसेकी रैछिन् ।

तर, उनको आमाले हाम्रो विवाहको कुरा स्वीकार गर्नुभएन । ठाडै अस्वीकार गर्नुभएछ । “हैन तँलाई लाज लाग्दैन यस्तो कुरा गर्न ? पैले पनि बुद्धि बिगारिस् र त्यस्तो भयो । ऐले आएर फेरि यस्तो कुरा गर्छेस् ? आफ्नै माइतीलाई मैले कसरी छोरी दिनु ? कसरी ज्वाइँ भन्नु ? यस्तो नहुने काम नगर् है छोरी ! तँलाई त्योसँग बिहे गर्नु नै छ भने म मरेपछि मात्र गर् । अहिले चाहिं म गर्न दिन्न । अब आफ्नो खुशी गर्छेस् भने त मेरो भन्नु केही छैन ।” आमाको कुरा मलाई सुनाइन् ।

उनको आमाले अस्वीकार गर्नु ठीकै पनि हो । सामान्यतया हाम्रो नेपाली समाजमा कुन चाहिं आमाले आफ्नो छोरीको विवाह आफ्नै माइतीको थरसँग होस् भन्ने चाहन्छ र ? त्यसकारण आमाको अस्वीकारलाई मैले सामान्य रूपमै लिएँ ।

“अब के गर्ने त ?” मैले सम्पूर्ण जिम्मा उनकै हातमा छोडिदिएँ । उनले पनि आमाको निर्णय विरुद्ध नजाने निर्णय सुनाइन् र हाम्रो सम्बन्धलाई यहाँभन्दा अघि नबढाउने घोषणा गरिन् ।  मनमा खिन्नता भए पनि मैले सजिलै “हस् हुन्छ, हजुरको जय होस् !” भनिदिएँ र भिडियो कलबाट उनीसँग बिदा मागें ।

* * * *

हप्ता-दश दिनपछि फेरि उनको म्यासेज आयो म्यासेन्जरमा, “दाइ के छ खबर ?”

“बिहे भाको भए श्रीमती हुन्थिस्, एउटै ओछ्यानमा सुत्नुपर्थ्यो । अहिले आएर दाइ भन्छेस् ? तँलाई जाँ….!”

मनमनै गाली गरें र उनको म्यासेजको रिप्लाई दिएँ, “बरु मसँग नबोल्दा हुन्छ । केही फरक पर्दैन । तर, यो दाइ भन्ने काम नगर्नु !” त्यसपछि उनको कहिल्यै म्यासेज आएन । त्यति मात्रै हैन, ब्लक गर्न मिल्ने जति सबै ठाउँमा ब्लक गरिन् । म चाहिं पढ्न बाँकी रहेको उनका दुई वटै किताब बोकेर युएई फर्किएँ ।