“फेरि अस्पतालकै बास हुने त होइन ?” अत्यास लाग्दै आयो कृष्णमणिलाई । कोही जिम्मेवार कर्मचारी देखिंदैनन् अस्पतालमा । राजधानीभित्रकै अस्पतालमा त यस्तो छ हालत । संयम जोगाउन बडो कठिन… ।

0000

डाक्टरको समय लिएर बिहान दश बजेतिर ८० वर्ष नाघ्‍नु भएकी आमालाई जचाँउनका लागि राजधानीकै एक नर्सिङ होममा लिएर गएको हो कृष्णमणिले । जाँचपडतालपछि डाक्टरले तीन दिन अस्पताल भर्ना गरी उपचार गर्नुपर्छ भने । डाक्टरको सल्लाह मान्नु बाहेक अरू के नै गर्न सकिन्छ र अस्पताल गइसकेपछि । स्वभाविक रूपमा कृष्णमणिले पनि त्यसै गरे ।

‘भर्नाको लागि कोठा हेर्न माथि जानू,’ डाक्टरले भने ।

कृष्णमणिले लिफ्टको खोजी गरेनन् । त्यसो त धेरै जसो अस्पतालहरूमा अशक्त बिरामी बाहेक अरूलाई लिफ्ट चढ्ने अनुमति नभएको सूचना टाँसिएकै हुन्छ । भर्याङ चढेरै तेश्रो तला पुगे । त्यहाँ पुगेपछि उनलाई अस्पताल, डाक्टर र भर्ना गर्ने वार्ड, यी तीन बीच कुनै सम्बन्ध र समन्वय नभएको अर्थात् तीन फरक निकायहरू भए जस्तो महसूस भयो ।  तेश्रो तलामा ड्युटीमा रहेका कुनै कर्मचारीले “यहाँ छैन, चौथो तल्लामा जानुस्” भने । कृष्णमणि चौथो तलामा उक्लिए ।

“कस्तो कोठा, सिंगल कि डबल  ?” चौथो तलामा भेटिएको कर्मचारीले सोध्यो । कृष्णमणि झसङ्ग भए, बसपार्कको छेउमा रहेको कुनै सस्तो लजमा एका बिहानै कोठा खोज्न जाँदाको जस्तो अनुभव भयो कृष्णमणिलाई । कसैले ४०५ नम्बरको कोठा खोलेर देखायो, कोठा त राम्रो थियो । उसको आफ्नै घरका कोठाहरूभन्दा धेरै राम्रो । उसले मनमनै सोच्यो- “म त लजमा कोठा खोज्न होइन बिरामी भर्ना गर्न पो आएको हुँ ।” कोठा हेरेर निर्णय गर्ने अवस्था ऊसँग थिएन । उसलाई यौटै चिन्ता थियो- “कोठाको भाडा कति होला र बिरामीलाई कति दिन राख्‍नु पर्ने होला ?” तर यो बताउनेवाला त्यहाँ कोही थिएन ।

“ठीक छ भर्ना गरौं,” कृष्णमणि बोले ।

बिरामी भर्नाको प्रक्रिया शुरू भयो र भर्नासँगै औषधिका सूची र औषधिका बीलहरूले पसिना छुटाउन थाल्ने त भैहाल्यो । औषधिको आवश्यक्ता र दररेटको बारेमा बोल्न साहस जुट्ने स्थिति देखिएन । अस्पताल भित्रकै फार्मेसीमा अदवसाथ औषधि किन्नुको विकल्प बिरामीका आफन्तहरूसँग हुने कुरा पनि भएन । कुनै दाताले बाँड्न लागेको राहत सामग्री थाप्‍न आए जस्तो, तर पैसा तिर्नुपर्ने- कस्तो अव्यवस्था  ? फार्मेशीको व्यवहारले कृष्णमणि मनमनै खस्रक्‍क भए ।

वर्षायाममा लेकका जुकाहरू मानिसको आभाष पाउँदा सलबलाएजस्तै, बिरामीलाई वेडमा राख्‍न तलबाट लिफ्टमा राख्‍न थाल्दा देखि नै नमिल्दो गरी सेतो कोट लगाएका सिकारुहरूको भीड सलबलाएको देखियो । शायद अब “फेला पर्‍यो” भनेर उनीहरू खुशी देखिएका थिए । यो अवस्थाले थप खस्रक्क बनायो कृष्णमणिलाई । देशको राजधानीको लगभग मुटुमा रहेको अस्पतालमा उपचारको लागि आमालाई ल्याएको हो तर अब कता कता चिसो पस्यो । “शायद फसियो” मनमनै सोचे कृष्णमणिले ।

वार्डमा पूरै अव्यवस्था छ । ड्यूटिमा बसेकाहरू, एकाध बाहेक रुखा छन् र जिम्मेवारी विहीन देखिन्छन् । नमिल्दो गरी सेतो कोट लगाएकाहरू पालैपालो बिरामी सुतेको कोठामा पस्छन, कहिले एक्लै कहिले भीडमा पस्छन् लाग्छ यी मेला भर्न आएका जात्रालु हुन र रल्लिइरहेका छन् । यिनीहरू कुनै इन्टर्न होइनन् र यिनीहरू कसैको मातहत वा रेखदेखमा पनि छैनन् । छिल्लिएका अल्लारे ठिटाहरू जस्तै देखिन्छन् तर बिरामी, औषधि, ड्रिप्स, क्यानोला र इन्जेक्सनसँग खेल्छन् । कसलाई भन्न जाने, कोही जिम्मेवार व्यक्ति त्यहाँ भएजस्तो देखिंदैन । यौटी असल नर्स देखियो तर उनी भने आफैंमा परेसान देखिन्थिन् । यो सब चुपचाप हेरिरहेछ कृष्णमणि ।

‌कति औषधि  ? र केका लागि औषधि  ? न बिरामीलाई थाहा छ न बिरामी कुरुवालाई- कागजको चिटमा लिस्ट आउँछ, तलको फार्मेसीमा जाऊ र किनेर ल्याऊ । सिकारुहरू, सेतो कोटमा ड्यूटिमा छन्, अलमलिन्छन्- औषधि चिन्दैनन्, सामान्य उपकरण चलाउन जान्दैनन्, खोलेको औषधि अपुरै छाड्छन्, भूइँमा पोख्छन् अनि यस्तै हो भन्छन् र फेरि औषधिको लिष्ट दिन्छन् । भन्ने ठाउँ छैन, सुन्ने व्यक्ति छैन । कृष्णमणि बोल्न सकिरहेको छैन । फार्मेसीमा भने सित्तैमा राहत बाँडेजस्तो व्यवहार छ ।

यौटा लिफ्ट छ कुन बेला चल्छ थाहा हुँदैन । पटक पटकको चौथो तल्लासम्मको तलमाथि । राजधानीको मुटुमा रहेको प्राइभेट अस्पतालमा अपहरणमा पर्दै गएको महसूस हुन्छ कृष्णमणिलाई । आफ्नो पैसा तिरेर पनि निरीह बन्नुको विकल्प देख्दैन ऊ । “अस्पताल सञ्चालनको मापदण्ड के हो  ? कस्तो मापदण्ड  ? कस्को लागि मापदण्ड  ? के यो देशमा कतै सरकार छ र  ?” कृष्णमणि आफैंसँग प्रश्‍न गर्छ अनि आफैँ चुप लाग्छ ।

“तीन दिनमा घर पठाउने कुरा गर्नु भाथ्यो डाक्टर साबले” बाहिर ड्यूटिमा रहेकी नर्ससँग नरम भएर भने कृष्णमणिले तर त्यसको जानकारी आफूलाई नभएको बताइन् नर्सले ।

“आज आउनुहुन्छ डाक्टर साहेब  ?” कृष्णमणिले सोधे ।

“आउनु हुन्छ,” नर्सले भनिन् ।

“कुनबेला आउनुहुन्छ  ?” कृष्णमणिले प्रतिप्रश्‍न गरे ।

“वहाँको टाइममा आउनुहुन्छ ।” सहज रूपमा नर्सले जवाफ फर्काइन् ।

“डाक्टरको टाइम कुन हो ?” कृष्णमणि सोचमग्‍न भए । “यो नयाँ समयको प्रचलन, शायद हाम्रो चिकित्सा विज्ञानको क्लिनिकल प्राक्टिसमा मात्र हो कि ?” गहिरिए कृष्णमणि ।

“बिरामीलाई निको पार्नुभन्दा कम क्षतिमा घर लैजान पाएहुन्थ्यो …” अलि चिन्तित भए कृष्णमणि ।

“के रमाइलोको लागि हो र ८० वर्षीय बिरामीलाई डाक्टर जँचाएर, अस्पतालमा राखेर, पैसा तिर्ने रहर जागेको  ?”

“सेता कोटहरूको मनोरञ्जनको लागि मैले यो सामाजिक सेवा गरेको हो त  ?” थुप्रै प्रश्नहरू एकाएक उब्जिए कृष्णमणिभित्र । तर कुनै प्रश्नको पनि उत्तर पाउने अवस्था त्यहाँ थिएन । यत्तिकैमा वार्डमै कसैले भनेको छुस्स कानमा पर्छ- “नेता डाक्टर पर्नुभयो …”, ऊ झसङ्ग भयो ।

“डाक्टरहरूमा पनि विशेषज्ञता कम नेतागिरी बढी हुन थालेछ” मनमनै सोचे कृष्णमणिले ।

सेतो कोट लगाएका एकजना भित्र पसे र दिइरहेको ड्रिप्ससँग चले । कृष्णमणिले भने, “तपाईंले दिएको ड्रिप्स चलिरहेको छैन ।”

“यस्तै हो,” उनले जवाफ फर्काए । फेरि चिसो पस्यो कृष्णमणिको मनमा । साँझमा स्वयम् डाक्टरले देखे बिरामीको हात सुन्निएको तर न कसैमा जिम्मेवारीबोध न कुनै गाम्भीर्यता । “कस्तो उपचार पद्धति कस्ता स्वास्थकर्मी  ?” आफैसँग बरबराए कृष्णमणि ।

“तीन दिनमा घर पठाउँछु भन्नुभाथ्यो डाक्टर ‍साबले” निराश हुँदै कृष्णमणिले बुझ्न चाह्यो । “खै डाक्टरले त केही भन्नुभा՛छैन” वार्डमा देखिएकी नर्सले भनिन् । डिस्चार्ज नगरी बिरामी निकाल्न सकिने अवस्था छैन । अपहरणमा परे जस्तो महसूस भइरहेछ कृष्णमणिलाई । कि कम्मर कसेरै लफडामा उत्रिनुपर्‍यो नत्र उपाय केही सुझिरहेको छैन ।

“डाक्टर नौ बजे आउनु होला” नर्सले भन्नु भएको थियो तर डाक्टर आएको थाहा भएन । “एघार बजेतिर आउनुहुन्छ होला” तिनै नर्सले भनिन् र सचेत पनि गराइन्- “कतै नजानु होला” तर डाक्टर साँझ पाँच बजेतिर मात्र देखा परे । “गनिमत” भनिठान्यो कृष्णमणिले । दिनभरीको अन्योल, सही सूचना एवम् भद्र-जानकारीको अभाव । समग्रमा अव्यवस्था र हेलचेक्र्याइँ ।

“म पनि कराउनु पर्ने अवस्था आयो नि त डाक्टर साब” असह्य भएछ, मुख खोले कृष्णमणिले ।

डाक्टरको ‘इगो’ मै हर्ट’ भएछ शायद, “के रे ?” भन्दै ठोकी हालुँला जस्तो गरेर घुरे डाक्टरले कृष्णमिलाई । एकाएक कृष्णमणिको मानसपटलमा बिरामी कुरुवाले डाक्टर पिटेका समाचारका प्रसङ्गहरू घुम्‍न थाले । “गुनासो त गर्नै पर्ने भयो, अनि के गर्नु ?” कृष्णमणि थोरै गरम भए । कृष्णमणि गरम भएको बुझेर डाक्टर अलि नरम भए ।

“भोलि लैजानुहोला बिरामी” डाक्टर बोले ।

“चिसोबाट जोगाउन पर्छ ।” डाक्टरले थपे ।

लामो श्वास फेरे कृष्णमणिले ।

“घरमा अक्सिजनको व्यवस्था चाहिँ राम्रोसँग गर्नुपर्छ ।” अक्सिजनको व्यवस्थामा डाक्टरको विशेष जोड थियो । अक्सिजनको लागि कसैलाई भनिदिनु परे आफू तयार रहेको पनि डाक्टरले बताए । त्यसपछि ड्यूटीमा रहेकी नर्सलाई डाक्टरले भोलि पठाउने कुरा बताए, अक्सिजनको लागि फलानाको नम्बर दिनु भनी अह्राए र त्यहाँबाट हिंडे । जे होस् भोलि त बिरामीलाई घर लैजान पाइने भयो भनेर अलि हल्का महसूस गरे कृष्णमणिले ।

“अपहरण मुक्त भएपछि देखाजाला” मनमनै सोचे कृष्णमणिले । वार्डमै, नेपथ्यमा कसैले बोलेको सुनियो- “बिरामीको एक्सरे हेरेर मात्र पठाउने भनेको छ, तल एक्सरे मेसिन बिग्रिएको छ, भोलि मात्र होला अब ।” कृष्णमणिको अनुहारमा कुनै प्रतिक्रिया देखिएन ।

हिजै डाक्टरले भोलि पठाउने भनिसकेकोले बिहानको १०/११ बजेसम्ममा त डिस्चार्ज होला नि भन्ने आसमै थिए कृष्णमणि! बिहान ८ बजेतिर एकजना नर्सले भनिन्- “बिरामीलाई फिजियोथेरापी गर्न लानु पर्छ ।”

कृष्णमणिले प्रश्न गरे- “किन फिजियोथेरापी ? वहाँ फिजियोथेरापीको बिरामी नै होइन ।”

नर्स अकमक्क भइन् । फेरि बोलिन्- “ए त्यसो भए बिरामीलाई ठीक छ त ?”

“अँ…”  यो पटक कृष्णमणि अकमकिए । कस्तो रमाइलो- बिरालोको ख्यालख्याल मुसाको ज्यान । निमोनियाको बिरामीलाई फिजियोथेरापी ! तर हल्का प्रहशनसँगै टर्‍यो फिजियोथेरापी ।

हिजो बिग्रेको भन्ने सुनिएको मेसिन सद्दे नै रैछ क्यारे । एक्सरे गर्न लैजानु भन्ने खबर आयो । एक्सरे गर्नै पर्ने भयो । त्यहीँको महिला कर्मचारीले व्हिलचियरमा राखेर लगिन् । वहाँ अपवाद हुनुहुँदो रहेछ- “आमा चिसो लाग्छ हैं, विस्तारै गर्नुस् न ।” कति नरम, कति शिष्ट ।

“यिनलाई वार्ड रुघ्‍ने सिस्टर र बिरामी जाँच्ने डाक्टर नै बनाउन पाएको भए कति राम्रो हुन्थ्यो होला” मनमनै सोचे कृष्णमणिले । “कस्तो हाम्रो शिक्षा अनि पढाइ  ? कस्ता हाम्रा शिक्षकहरू ?” एकछिन सोच्न मै अलमलिए कृष्णमणि ।

एक्सरे कोठामा पुर्‍याइयो बिरामीलाई । “बिरामीको नाम के हो ?” यौटाले सोध्यो, त्यसपछि अर्कोले फेरि सोध्यो- “नाम के भनेको रे ?” आफ्नो पेशा र कामप्रति कुनै ध्यान दिएको देखिएन । एक्सरे भयो ।

बिरामीलाई अघिकै महिलाले भरपर्दो ढङ्गले लैजानुभयो । रिपोर्ट लिन एक छिन त्यहीं पर्खिए कृष्णमणि । त्यति नै बेला त्यहाँ फोनको घण्टी बज्यो, एक्सरे प्राविधिकले फोनमा आइपिओ, सेयर र बैंकको व्याजबारे लामो वार्ता गरे, कृष्णमणिले सुनिरहे ।

फोन राखेपछि एक्सरे प्राविधिकले फेरि सोधे, “बिरामीको नाम के हो ?”

अनि फेरि भने, “खै एक्सरेको पैसा तिर्नुस् ।”

कृष्णमणिले पैसा तिरे । कागजहरू छरपस्टिएको देखियो । कृष्णमणिले सम्झाए- “फरक कागज पर्ला नि है ।”

रिपोर्ट लिन नौ बजे बोलाएकोले कृष्णमणि ठीक नौ बजे पुगे । “यहाँ होइन २७ नं कोठामा जानुस्,” एक्सरे प्राविधिकले भने ।

कृष्णमणि २७ नं कोठामा गए । “टाइम लाग्छ कुर्नुस्,” कसैले भन्यो ।

कुर्नुको विकल्प केही थिएन । “वार्डमा भर्ना गरेको बिरामीको रिपोर्ट वार्डमै पठाइदिएको भए कति राम्रो हुन्थ्यो होला,” मनमनै गमे कृष्णमणि । करीब आधा घण्टापछि रिपोर्ट पाए । एक्सरेको रिपोर्ट पाएपछि कृष्णमणिले सोचे, “अब त छुटकारा मिल्छ होला ।”

“डाक्टरले घर पठाउने भन्नु भा՛छ । कतिबेला डिस्चार्ज गर्नुहुन्छ ?” वार्डमा पुगेर कृष्णमणिले आँट गरेरै सोधे ।

“खै डाक्टरले लेखेकै छैन, वहाँले नलेखी त हुँदैन ।”

“कुन बेला आउनुहुन्छ त डाक्टर साहेब  ?”

“वहाँको टाइममा आउनु हुन्छ ।”

कृष्णमणि अलमलियो, “कुन हो ‘वहाँ’को टाइम ?”

फेरि अपहरणमा परे झैं लाग्‍न थाल्यो कृष्णमणिलाई । “कस्लाई भन्ने हो थाहा छैन… ।”

“फेरि अस्पतालकै बास हुने त होइन ?” अत्यास लाग्दै आयो कृष्णमणिलाई । कोही जिम्मेवार कर्मचारी देखिंदैनन् अस्पतालमा । राजधानीभित्रकै अस्पतालमा त यस्तो छ हालत । संयम जोगाउन बडो कठिन… । यस्तो अव्यवस्था र अतिको विरोधमा संयम गुमाएर डाक्टरलाई हात हाल्ने र अस्पताल तोडफोड गर्नेहरू प्रति सम्मान पैदा भयो कृष्णमणिको मनमा एकाएक । जीउ तन्काएरै स्यालुट ठोकूँ जस्तो लाग्यो तर सम्हालिए ।

यत्तिकैमा जानकारी आयो इमर्जेन्सी बाहेक देशभरका अस्पतालका सबै सेवा बन्द गरी डाक्टरहरू हडतालमा उत्रिएको र बनेपामा बिरामी जाँचे भनेर बिरामी जाँच्ने डाक्टरलाई नै कालो मोसो दलिदिए रे । यो सुनेपछि भित्तामा अडेस लागेर उभिरहेका कृष्णमणि भूइँमा थचक्कै बसे ।

“अब, डाक्टर आउँछन् कि आउँदैनन् ?”

“बिरामी डिस्चार्ज गर्ने काम हुन्छ कि हुँदैन ?”

“भर्ना भएको बिरामी इमर्जेन्सी हो कि होइन ?”

श्रृङ्‍खलाबद्ध प्रश्नहरूमा अल्झँदै गएका कृष्णमणिको ध्यान उसकै अघिल्तिरको भित्तामा झुन्डिएको पोस्टरलाई बाहिरबाट आएको हावाको सिरेटोले हल्लाउँदै गर्दा, भित्तामा धस्रिएर आइरहेको लफ्र्याक लफ्य्राक आवाजले भङ्ग गर्‍यो । कृष्णमणिले भित्ताको पोस्टरलाई हेर्‍यो । पोस्टर आकर्षक थियो र त्यसमा नेपाल मेडिकल काउन्सिल, २०२४ को दफा २२ बमोजिमको चिकित्सकको आचारसंहिता लेखिएको थियो ।

***