बाइस वर्षको उमेरमा सुयोग्य बर खोजेर बाउआमाले अन्माइदिएकी मन्दिरा पच्चिस नपुग्दै विधवा भइन् । भाग्यले उनलाई एउटा स्वस्थ र सुन्दर छोरो दियो तर श्रीमानलाई चाहिं उनीबाट खोसेर लग्यो । विवाहपछिको एक वर्षमै दिन-प्रतिदिन जीर्ण हुँदै र दुई वर्ष पूरा हुन नपाउँदै अदृश्य हुन पुगेको लोग्नेको मायालु अनुहारलाई छातीभित्र लुकाएर हरेक रात निदाउनुअघि सिरानीमा दुई थोपा आँसु चुहाउँदै मन्दिराले छोरोलाई छ वर्षको बनाइन् ।

एकदिन शुक्रबारे हटियामा शान्ता काकीसँग मन्दिराको भेट भयो । “अबुई, मन्दिरा !” बडो उत्साहले बोलाइन शान्ता काकीले, “दुई चार दिनदेखि म तिमीलाई नै कस्तो सम्झिरहेकी थिएँ । नभन्दै कस्तो ठ्याक्कै भेट भयो !”

“किन काकी ?” मन्दिराले दुई हात जोड्दै सोधिन्, “के कामले सम्झिनु भयो ?”

“कामले मात्र सम्झिन्छु त मोरी ? अनि, के छ तिम्रो हाल खबर ? अलि बिरामी जस्तो देख्छु त !”

“होइन, ठिक छु, काकी । तपाईंलाई किन त्यस्तो लागेको ?”

ढिलो नगरी, कुरालाई मुख्य विषयतिर सोझ्याउँदै शान्ता काकीले भनिन्, “सुन न मन्दिरा, तिमीसँग एउटा कुरा गर्नु छ हौ ! अलि छेउतिर उभिएर एकछिन बोलौं न !” कौतूहलताले मन्दिराको निधार खुम्चियो ।

हातमा आलुको झोला झुन्ड्याउँदै शान्ता काकीले उनलाई मान्छेको भीडदेखि अलि पर्तिरको सानो खाली ठाउँमा लागिन् र भनिन्, “मन्दिरा, हेर तिमीलाई भेटेर एउटा कुरा सोध्न मन थियो । राम्रै भयो- यो हटियामा भेट भयो । मान्छेको भीडको कल्याङकुलुङमा कसैले हाम्रो कुरा सुन्दैन पनि ।” यति भनेर उनले एक पल मन्दिराको अनुहारमा अनिश्चयले हेरिन् ।

“के कुरा हो, भन्नु न काकी !” मन्दिराले आँखामा गहिरो उत्सुकता प्रकट गर्दै सोधिन् ।

“हेर, मन्दिरा, तिम्रो यस्तो लाऊँलाऊँ र खाऊँखाऊँको उमेर छ । जिन्दगी अझै धेरै बाँकी छ । एक्लो जीवन बिताउन गाह्रो हुन्छ । कोही राम्रो मान्छेसँग तिमी बिहे गर भन्ने मेरो सल्लाह छ ।”

“आ, भयो काकी, छोडिदिनुस्, अब यो कुरा नगरौं ।” मन्दिराले निश्चित रूपमा कुरोको बिट मार्ने हिसाबले बोलिन् । त्यो देखेर शान्ता काकीको अनुहार निराशाले अँध्यारो भयो ।

“हो र ? अनि कुरा सुन्दा त हुन्छ नि हौ, शुरूमै तिमी नराम्रो नमान न मन्दिरा ।”

“होइन काकी, नराम्रो मानेको छैन । तर यसअघि पनि एकपल्ट तपाईंले मलाई भन्नु भएकै हो । पोहोरै मैले तपाईंलाई प्रष्टै भनिसकें त । छोरी मान्छेले कहाँ पटक पटक बिहे गर्दै हिंडेर हुन्छ ? अनि, म बिधुवीलाई बिहे गर्न हिम्मत गर्ने को असल मान्छे होला त ?”

उनको अन्तिम वाक्य सुनेर शान्ता दिदीको अनुहारमा जोश भरियो । आलुको झोला भुइँमा राख्दै साउती गरेको स्वरमा उनले भनिन्, “सुन न, मैले एकजना एकदम असल मान्छे भेटेकी छु, यदि तिमी बिहा गर्छ्यौ भने ।”

विवाहबारे कुनै सोच वा इच्छा नभएपनि यस्तो अप्रत्याशित समाचारले मन्दिराको मनमा कौतूहलता बढ्नु स्वाभाविकै थियो ।

“को मूर्ख रहेछ हौ मलाई बिहे गर्न खोज्ने ?” प्वाक्क सोधिन् उनले ।

“त्यसो नभन मन्दिरा, त्यत्तिको असल केटो त यो कलियुगमा बत्ती बालेर खोजे पनि भेटिंदैन ।”

कुरा सुनेर खिस्स हाँसिदिइन् मन्दिरा । उनी हाँसेको देखेर शान्ता काकीको आँखा र अनुहारमा जोश भरियो ।

“यतिखेर तिमी मेरो कुरा चूप्प लागेर सुन मात्रै । समय लिएर सोच-विचार गर । बुवा आमालाई सोध्नु परे म नै गएर सोध्ने, सल्लाह गर्ने काम गर्छु । तिमी हुन्छ मात्र भन, बाँकी कुरा म मिलाउँछु ।”

“कहाँ हुन्छ भन्छु हौ म ? म काखमा बालख छोरो बोकेकी बिधुवा ! मेरो बाबुको बिजोग हुँदैन ? समाजले मलाई के भन्छ ? भयो ! हुन नसक्ने कुरै नगरौं काकी, नजाने गाउँको बाटै नसोध्नू भन्छन् ।”

“ठीकै छ, तिमीलाई मनभित्रबाट इच्छा नै छैन भने त मैले के भन्नु र ! मैले त आफूले देखेको, बुझेको कुरो तिमीलाई सुनाइदिएको मात्रै हो । मेरो कुराले चित्त नदुखाउनू, मसँग नारिसाउनू ।”

“किन रिसाउनु र ! रिसाउँदिन ।” परको भीडतिर टोलाएर हेर्दै अत्यन्त झिनो स्वरले मन्दिराले जवाफ दिइन् ।

तर शान्ता काकीको चित्त बुझेको देखिएन । फेरि पनि कुरा तन्काउँदै उनले भनिन्, “हेर, केटो पनि बिचरा तिमी जस्तै एक्लो ! उसकी श्रीमती पनि बितेकी दुई वर्षअघि । बिचरीलाई पनि दिपकलाई जस्तै क्यान्सर भयो ।” यो कुरा सुनेर चाहिं, मन्दिराले अचम्म मान्दै शान्ता काकीको अनुहारमा पुलुक्क हेरिन् ।

“उमेर पनि भर्खरका हुन्- पैंतीस काटेका छैनन् । अति भलाद्मी मान्छे ! हेर्दा पनि राम्रा छन् । क्याम्पस पढाउँछन् ।” शान्ता काकीले थपिन् ।

“कसको कुरा गर्नु भएको तपाईंले, काकी ? मलाई त कता कता चिनेकै मान्छेको कुरा पो गर्नु भयो जस्तो लाग्यो ।”

“को जस्तो लाग्यो तिमीलाई, भन त !”

“नाइँ, भन्दिन । तपाईंकै मुखबाट सुनौं त- को रहेछ !”

“तिमीलाई चिन्छन् । तिमीले पनि चिन्नु पर्ने हो । ल गेस गर ।”

मन्दिराले एकछिन आफ्ना दुवै ओठलाई दाँतले चेपिन् र केही गमे जस्तो गरी मौन रहिन् ।

“भन न भन । लागेको भन्दा त के हुन्छ र ?” शान्ता काकीले जोड गरिन् ।

“तपाईंको कुरा सुन्दा त मलाई विजय सर हो जस्तो लाग्यो । हो ?”

“हो त नि !”

मन्दिराको अनुहारको गम्भीरता अझै बाक्लियो ।

“क्याम्पसका लेक्चरर विजय रिमाल,” अलि ठोस स्वरले शान्ता काकीले त्यो परिचयको पुष्टि गर्न खोजिन् ।

आश्चर्यले हो वा विस्मृतले, मन्दिरा आफू अगाडिको शून्यतालाई टोलाएर हेर्दै मूर्ति जस्तो अचल भएर उभिरहिन् ।

“मन्दिरा,” शान्ता काकीले बोलाइन् उनलाई ।

पुलुक्क शान्ता हेरिन् मन्दिराले ।

“सुन मन्दिरा ! विजयले आफैं मसँग आएर कुरा गरेका हुन् । तिमीलाई भए बिहे गर्छु भन्छन् । एकचोटी तिमीलाई सोधिदिनु भनेका छन् ।”

आश्चर्य चकित भावमा मन्दिराको मुखबाट निस्कियो, “हो र ?”

“हो त नि ! तिमीलाई पाए बिहे गर्छन् अरे, नत्र गर्दैनन् अरे ।”

“लौ अचम्म !” झिनो स्वरले बोलिन् मन्दिरा ।

अझै जोशले बोल्न थालिन् शान्ता काकी, “बाउआमा, नातागोता सबैले उनलाई ‘बिहे गर बिहे गर’ भनेर हुटहुटी गरेका छन् अरे । नगरुन् पनि किन ? उनको पनि भर्खरै को त उमेर छ । घर व्यवहार चलाउन एउटा साथी नभई हुँदैन । बुढेसकाल लाग्दै जान्छ, यसो तातो पानी दिने मान्छे पनि भएन भने कति गाह्रो हुन्छ !”

“कन्ने केटी पाइहाल्छन् नि त जत्ति ! किन मलाई सोध्न लाएका अरे त ?” मन्दिराको बोलीमा तिरस्कार थियो । तर जतिसुकै विरक्ति र उदासीनता देखाए पनि उनको आँखामा बढ्दै गएको उत्सुकता शान्ताको चतुर दृष्टिबाट लुक्न सकेन ।

“होSS” शान्ताले निक्कै जोशका साथ भनिन्, “जत्ति पनि पाउँछन् ! तर तिमी बाहेक अरू कसैसँग बिहे गर्ने सुरमै छैनन् विजय । गएको शनिवारै त मेरो कुरा भएको हो उनीसँग । मन्दिराले मान्छिन् भने म बिहे गर्न तयार छु भनेर आफ्नै मुखले भनेका विजयले मलाई ! अब तिमी आफैं सोच ।”

“काकी, अहिले जाऊँ । मलाई ढिलो भैसक्यो ।”

हिंड्न पाइला बढाइसकेकी मन्दिरालाई रोक्दै, कानैनेर पुगेर शान्ता काकीले फेरि खुसुक्क भनिन्, “हेर मन्दिरा, सोच्न पनि धेरै चाहिं नसोच । यस्तो खिरिलो ज्यान, तन्किएको चिल्लो छाला, लाऊँलाऊँ र खाऊँखाऊँको उमेरमा यै हरियो सारी लाएर के जिन्दगी बिताउँछ्यौ ? मेरो जस्तो छाला चाउरी पर्न थालेपछि थाहा पाउँछ्यौ ! हेर, तिमीलाई एउटा मौका छ । दुईचार दिनमा म तिम्रोमा आउँछु, त्यस वेला तिमी मलाई जवाफ देऊ है ।”

मन्दिराको अनुहार एकाएक अझै अँध्यारो भयो । रिसाएकी पो हुन कि जस्तो देखेर शान्ता काकीले भुइँको आलुको झोला उठाइन् र “फेरि भेटौंला है त,” भन्दै बाटो लागिन् ।

साग-सब्जी किनमेल गरेर मन्दिरा घर पुगिन् । पकाई-तुल्याई सासू, ससुरा, देवर र छोरालाई खुवाएर कामधन्दा सक्दा राती अबेर भैसकेको थियो । निदाउन भनेर चिम्लिएको आँखा अगाडिको अन्धकारमा विगतका सम्झनाका त्यान्द्राहरू सिर्सिरे बतासमा झैं हल्लिएको देख्न थालिन् मन्दिरा ।

आइ. ए. पढ्दै गरेको वेला एकदिन उनकी आमाले हाँस्दै भनेका शब्दहरू फेरि अहिले उस्तै प्रष्टसँग कानैमा आई दोहोरिएको सुनिन् उनले, “त्यो अस्ती बुवालाई चिना देखाउन आएका रिमाल केटा त तँलाई हेर्न पो आएका रहेछन् ।”

“लौ ! को बौलाहा रछ, मैले त यादै गरिनँ !”

“तेरै क्याम्पसमा पढाउँछन् अरे त ! बिचरा बुवाले त चिना हेर्दिनुभो, ‘बिहेको साइत यै वर्ष उत्तम छ है’ भन्दिनुभो । उल्लाई झन सजिलो भैगो । तँलाई मन पराएछन् । बिहे गर्न भनेर विष्णु मामालाई भनेर सम्चार पठाई पो हालेछन् ! हामीलाई थाहा पत्तो नदिई तँलाई हेरिवरि गैसकेछन् ! हेर त कति चतुर !”

“हाम्रो क्याम्पसमा पढाउने सर को रिमाल रहेछन् त ! के विषय पढाउँछन् अरे ?” मन्दिराले मनको तीव्र उत्सुकता बाहिर देखियोस् भन्नेमा सचेत हुँदै सामान्य स्वरले सोधिन् ।

“खोइ त्यो त मैले सोधिनँ ।” आमाले यति भनेर बाँकी कुराको फेर तन्काउनु भएन ।

“हो र ? अनि के विचार गर्नुभयो त आमा ?” भनेर सोध्दै उत्ताउलिने कुरा पनि आएन । त्यसपछि आमा गाईवस्तुले खोले खाए की खाएनन्, भोलिको घाँस कता खोज्ने भन्नेतिरको चिन्तामा लामै बरबराउन थाल्नु भयो । तर त्यो विवाहको प्रस्तावले मन्दिराको मनमा भित्रभित्रै कस्तो खलबली मच्चायो भनेर त्यहाँ कसले देखोस् !

भोलिपल्ट क्याम्पसमा मन्दिराले उनका दुइटी मिल्ने साथीलाई “यहाँ, एकजना रिमाल थर भएका को लेक्चरर हाम्रो क्याम्पसमा पढाउँछन् हँ ?” भनेर खोजीनिती गरिन् । त्यसवेला ती केटीहरूले सोझो जानकारी दिनुको साटो, “किन, तँलाई बिहे गर्न मन लागेको हो भने प्रष्ट भन्” भनेर उल्याए मात्रै ।

“हो, बिहे गर्न मन लागेरै हो” भनेर जवाफ दिने हिम्मत उनीसँग थिएन । अथवा, विवाहको सम्भावना वास्तविक हुँदाको अवस्थामा उनलाई धेरै बोलेर जिस्किन उचित पनि लागेन ।

“बिहेको कार्ड पाएपछि थाहा पाउँछन् यिनीहरूले,” मनमनै भनिन् मन्दिराले ।

तीन दिनको चियोचर्चो पछि मन्दिराले पत्ता लाएरै छोडिन् । अर्को बिल्डिङमा कमर्सलाई अंग्रेजी पढाउँदा रहेछन् विजय सर । कक्षामा पढाउँदै गरेको वेला आफू बाहिर बरन्डामा हिंड्ने बहानामा खुला ढोकाबाट हेरिन् मन्दिराले सरलाई । झलक्क एकचोटी देख्ने मौका मिल्यो उनलाई । हेर्दाका राम्रा रहेछन् सर । बरु आफू पो त्यत्तिको केटोको जोडी नदेखिने हुँ कि भन्ने आशंकाले पोल्यो पनि मन्दिरालाई ।

तर, समस्या चाहिं के भयो भने त्यस उप्रान्त मन्दिराकी आमाले त्यस केटोबारे थप कुरा कहिल्यै गरिनन् । बुवाआमाको निर्णय के भयो भन्नेबारे पनि घरमा कुनै कुरा उक्किएन । एक हप्तासम्म त सहिनसक्नु उकुसमुकुस भयो मन्दिरालाई । तर, जसै समय बित्दै गयो, निराशालाई स्वीकार गर्नु बाहेक अरू केही उपाय छैन भन्ने बुझिन् मन्दिराले ।

एक महिना बित्यो । एक साँझ आमाछोरी फर्सीका मुन्टा केलाउँदै गर्दा आमा चाहिंले भनिन्, “नानी, तेरो पनि लगन कहिले आउने हो ! बुवा पनि यसोउसो चिने जानेकालाई अलि गतिलो केटो खोज्न भन्दै हुनुहुन्छ । यस पाली मंसिरमा तँलाई अन्माइदिन पाए हामीलाई ढुक्क हुने थियो !”

आमाको कुरा सुनेर हात-पाखुरामा सरर काँडा उम्रियो मन्दिराको । आमाले थाहा नपाउने गरी उनले एकचोटी मुठी कसेर मन दरो बनाइन् र लामो सास फेरिन् । त्यसपछि एकदम शान्त स्वरले सोधिन्, “आमा अनि त्यो अस्तिको रिमाल केटाको कुरा चाहिं के भयो त ?”

उनको मुखबाट प्रश्न निस्कन पाएको थिएन, आमाले अलि चर्कै स्वरमा भनिन्, “आSS नगरौं तेस्का कुरा ! तेस्को थाई जागीर रैन रछ । एक त मास्टर, तेइ माथि अस्थाई !”

मन्दिराको मनमा चीसो भयो । अरू कुरा सोध्ने हिम्मत आएन उनलाई । त्यसमाथि, प्रतिरोध गर्ने वा आफ्नो मन खोल्ने त कल्पना बाहिरको कुरा थियो ! आमाको आगाडि “ठीकै छ नि त आमा, भोलिको दिनमा केटोले केही प्रगति गर्ला नि ! त्यसैले, बरु यसैसँग मेरो बिहे गरिदिनुस् ।” भन्नु त सिनेमाको डाइलग जत्तिकै अवास्तविक कल्पना हुन्थ्यो ! बरु आगोमा हिंड्न सजिलो होला, तर मनको विचार खोल्नु त असम्भव जस्तै लाग्यो मन्दिरालाई !

अनि त्यसै दिनको राती अबेरसम्मको अनिदो छटपट पछि मन्दिराले विजय रिमाल भन्ने नामलाई बलपूर्वक आफ्नो मनबाट निकालेर फ्याँकिदिएकी थिइन् ।

त्यसै साल मंसिरमा राष्ट्र बैंकको एकजना सज्जन खरदारसँग मन्दिराको विवाह धूमधामसँग भयो ।

विवाहको एक वर्ष पश्चात्को कुरा हो, घरमा एकदिन ससुराको नाममा सपरिवार निमन्त्रणा कार्डमा बेहुलाको नाम विजय रिमाल देखेर झस्किएकी थिइन् मन्दिरा । उनले सबैको आगाडि सोधेकी थिइन्, “यो विजय नाम कतै कलेजमा अंग्रेजी पढाउने सरको नाम त होइन ?”

उनको अनुमान सही निस्कियो । टाढाको नाताले ससुराका भान्जा र श्रीमानका भान्दाइ पर्दा रहेछन् विजय भन्ने थाहा पाएर एकछिन अचम्म लागेको थियो मन्दिरालाई । तर त्यो सामान्य जानकारी बाहेक न कहिल्यै विजयलाई फेरि देखेकी थिइन् उनले, न त कहिल्यै नातेदारको हैसियतमा विजय उनीहरूको घर नै आएका नै थिए । त्यो विवाहको निम्तो मान्न पनि परिवारका अरू सबै गएका थिए, मन्दिरा चाहिं सन्चो नभएको बहानामा घरै बसेकी थिइन् ।

बन्द आँखा अगाडिको अन्धकारमा प्रकट भएका ती दृश्यहरूबाट निजात पाउन उनले आँखा खोलिन् । तर खुला आँखाको अगाडि पनि अन्धकार उस्तै थियो । जीवनमा जम्मा एकपल्ट, एक निमेषको लागि देखेको त्यो आकृति- कक्षामा पढाउँदै गरेको विजय सरको त्यो धूमिल आकृति- आज फेरि आफ्नो आँखा  अगाडिको अन्धकारमा सर्लक्क उत्रिएको देखिरहेकी  थिइन् उनी । सम्झिँदा यस्तो लाग्यो मन्दिरालाई मानौं त्यो आकृति, बाटो हिंड्दा बेवास्ताले कुल्चिएर छाडिएको सेतो गुलाफको एक थुँगा हो । तर त्यै गुलाफलाई भुइँबाट टिपेर ल्याई शान्ता काकीले उनलाई ‘लिन्छ्यौ भने लेऊ’ भनेर दिंदै थिइन् । मन्दिरालाई यस्तो लाग्यो मानौं नियतिले उनीमाथि फेरि एकपल्ट एउटा निर्दयी र अविवेकी ठट्टा गरिरहेको थियो ।

उनले आफ्नो अबोध छोरोलाई सम्झिन् । सासूससुरालाई सम्झिन् । आमाबुवालाई सम्झिन् । दिवंगत आफ्नो प्यारो मान्छेलाई सम्झिन् । उनले ती सम्बन्धहरूको छेउछाउ विजय रिमाल नामको मान्छेसँग आफ्नो नाता के हो भन्ने खोजिन् । प्रश्न मनमा अनुत्तरित नै रह्यो । तर पनि किन हो, आज उनलाई त्यो मान्छेलाई मनबाट निकालेर फ्याँकिहाल्न मन लागेन ।

परन्तु, जहाँसम्म निर्णय लिने कुरा छ, खोला छेउको यामानको ठूलो ढुङ्गा उठाऊँ कि नउठाऊँ भन्नेमा सोच्न आवश्यक नभएझैं, उनले निर्णय लिनुपर्ने अभिभाराबाट आफूलाई अलग्गै राखिन् ।

भोलिपल्ट बिहान सासूलाई चिया टक्र्याउँदै गर्दा मन्दिराले सोधिन्, “आमा, माइत गएर आमालाई भेट्न उपद्रो मन लागेको छ । आज जान्छु नि, है ?”

“छोरो छोडेर जाऊ । मन लागे जति बसे हुन्छ ।”

सासूको भावहीन सादा उत्तरले मन्दिराको मनमा च्वास्स घोच्यो । एक मनले त ‘होस् जान्नँ’ भन्ने पनि लाग्यो । तर फेरि सोच्दै जाँदा, साँच्चै नै छोराको अवसानपछि बुहारीको पीडालाई बुझेर सासूले नरम कुरा नै गरेकी हुन् कि भन्ने पनि लाग्यो ।

* * * *

बस बेतोडले हुइँकिंदै थियो । झ्याल नजीक सीटमा बसेकी मन्दिराको अनुहारमा हावाले हिर्काउँदै थियो । बाहिर एक पछि अर्को गर्दै पछाडि छुट्दै गएका बिजुलीका खम्बा र रित्ता खेतहरू मन्दिरालाई आफ्नै जीवनका प्रतिबिम्बहरू जस्तो लाग्यो । एकनास बसको घ्यार्र आवाजलाई चिर्दै वेलावेला ड्राइभरले बजाइरहने हर्नको लयमा आफूलाई बगाएर उनले पटक पटक शान्ता काकीले ल्याएको प्रस्तावलाई तौलिएर हेर्ने धृष्टता गरिन् । तर आफ्नो जीवनको निर्णय आफ्नै हातमा लिने भन्ने कुरा उनलाई त्यति नै गाह्रो लाग्यो जति सिटमा बसेको साधारण यात्रुलाई त्यो बस हाँक्न गाह्रो हुन्छ ।

आँगनमा आइपुगेकी छोरी देखेर मन्दिराका आमाबुवा हर्षित भए । साँझ खाटमा बसेर आमाछोरी बत्ती कात्दै बसेका वेला आमाले भनिन्, “तैंलाई सम्झेर दिक्क भाकी थिएँ । आइस् छोरी, खुSSशी लाग्यो । बुवा पनि खुशी भएर माछा लिन जान्छु भन्दै हुनुहुन्थ्यो, निस्किसक्नु भयो कि क्या हो ! अब दुई-तीन दिनमा त बारीको सिन्की पनि निकाल्ने वेला भैगाको छ । यस पाली त अलि दिन बस है, छोरी !”

मन्दिराले आमाको काखमा टाउको लुकाइन् र घुँक्कघुँक्क रुन थालिन् । कात्दै गरेको बाती टपरामा राखेर आमाले उनको कपाल सुमसुम्याउँदै भनिन्, “कति रुन्छेस् छोरी ! दैवले तेरो भाग्यमा यस्तै लेखेका रहेछन् त ! अब जे भो भगवानको इच्छा अनुसार नै भो भनेर चित्त बुझा । बाँचीखान घर खेत छँदै छ । सासू-ससुराले हेला गरेका छैनन्, मायै गरेका छन्, उनैको सेवा गर ।  छोरो हुर्का । आउन-जान हामी माइती छँदैछौं । तँलाई केको दुःख छ ?”

मन्दिराले टाउको उठाइन् र सारीको नीलो सप्कोले आँखा पुछिन् ।

केही बेरमा बा कोठामा आइपुगे । “होइन, जानु भएको छैन तपाईं ?” आमाले सोधिन् ।

“जान्छु, अहिले समय छ । एकछिन तिमीहरूका बात सुनौं न भनेर आएको ।” झ्याल छेउको बेंतको कुर्सीमा घ्याच्च बस्दै उनले भने ।

आमा र बुवा दुवै एकैसाथ भएको मौकामा ठूलो साहस गर्दै मन्दिराले मुख खोलिन्, “बुवाआमालाई म एउटा कुरा सोध्छु, ल ?”

“सोध न छोरी, जे सोध्छ्यौ सोध, हामी बाँचुन्जेल जानेको कुरोको जवाफ दिन्छौं,” आमाले भनिन् ।

बोल्न खोज्दा घाँटी सुके झैं लाग्यो मन्दिरालाई । त्यै पनि, केही बेरपछि, दुवै हातका औंला उनेर जोडले अँठ्याउँदै, प्रयत्नपूर्वक मधुरो स्वरमा सोधिन् उनले, “बुवाआमा, म जस्ती बिधुईलाई कोही असल मान्छे माग्न आयो भने बिहा गर्दा हुन्छ कि हुँदैन ?”

आमाका आँखा अचानक ताजुबले ठूला ठूला भए । एकछिन उनले छोरीको अनुहारमा एकोहोरो हेरिन् । त्यो हेराइले मन्दिरालाई असजिलो भयो । बुवाले पनि शुरूमा अचम्म मान्दै छोरीका मुखमा ट्वाल्ल हेरे तर एकाएक उनी कालो बादल लागेको आकाश झैं गम्भीर अनुहार लाएर भुइँतिर हेर्दै टोलाउन थाले ।

वातावरणमा एकाएक विचित्रको सन्नाटा छायो । मन्दिराको छातीभित्र मानौं हुन्डरी चलिरहेको थियो ।  मुटु फुट्ला झैं गरी बढेको ढुकढुकीलाई सहेर बुवाआमाको उत्तर पर्खिएर बसिन् उनी ।

बुवा जुरुक्क उठेर हिंडे । आमा निकै बेरसम्म केही बोलिनन् । तर त्यसपछि अकस्मात उम्लिएका आँखा रातो सप्कोले पुछ्दै उनी बोलिन्, “नानी, अरू सबै कुराको जवाफ तँलाई चित्त बुझ्दोगरी दिन सक्छु म, तर यो प्रश्नको उत्तर चाहिं म दिन सक्दिनँ ।”

मन्दिराले तत्काल भनिन्, दुख नमान्नू है आमा, मैले त्यत्तिकै सोधेकी हुँ ।”

“एक चोटिलाई सोधिहालिस् छोरी, तर अब उप्रान्त यो प्रश्न नसोधेस् । कूल, घरान, समाजमा हाम्रो जुन मान र इज्जत छ, त्यो सबै माटोमा मिल्छ, धूलोपीठो हुन्छ ! त्यस्तो काम गर्नु त धेरै परको कुरा भयो नानी, त्यस्तो शब्द मुखबाट निकाल्नु नै पाप हो ।”

“बुझें आमा, अब अरू नभन्नू ।”

बुवा फेरि टुप्लुक्क ढोकामा देखा परे । छोरीको प्रश्न उनलाई बज्रको प्रहार भएको थियो । त्यो प्रहार थाम्न नसकेर नमजाले रन्थनिएर छटपटिंदै थिए उनी भन्ने प्रष्टै देखिन्थ्यो । ढोकामै उभिए उनी, भित्र छिरेनन् ।

“अन्तिम कुरा भन्न दे छोरी !” आमाले फेरि एकपल्ट भन्न थालिन्, “त्यस्तो कुरा मनमा आउनै नदिनू, तर होइन, केही गरी कुनै दिन मनमा त्यस्तै उपद्रो जागेर गलत काममा खुट्टो उचालियो भने त्यस उप्रान्त हामीलाई बाउआमा नभन्नू । त्यो दिन हामी तेरालागि मरिसकेका हुनेछौं ।”

भोलिपल्ट बिहानै मन्दिरा घर फर्किने सुरसार गर्न थालिन् । आमा चाहिंले उसलाई यति छिटो नफर्किन धेरै बिन्ती गरिन् । “खोई, मैले अलि बढी नै शब्द बोलेर तेरो चित्त दुखाएँ कि ?” भन्दै उनले आफूलाई पछुतो लागेको कुरा पनि लुकाइनन् ।”

“आमा, तपाईंले जे भन्नुभयो, आफूलाई सही लागेको कुरा नै भन्नुभयो । यसमा मैले चित्त दुखाएकी छैन । तर मलाई अहिले जान दिनुस् । अर्को चोटी आउँदा अलि दिन बस्ने गरी आउँछु ।” भन्दै उनी माइतबाट बिदा भइन् । हिंड्ने वेला बुवाले टाउकोमा हात राखेर ‘आशीर्वाद’ भनिदिनु भएकोले उनलाई अलिकति शीतल महसूस भयो ।

“किन यति चाँडै फर्कियौ त बुहारी ?” सासूले सोधिन् ।

“धेरै बस्न मन थिएन । फर्किहाल्ने गरी गएकी थिएँ ।” छोटो उत्तर दिइन् मन्दिराले ।

शुक्रबारको दिन थियो । दिउँसो चार बज्न लागेको हुँदो हो । शान्ता काकी टुप्लुक्क आइपुगेर भन्न थालिन्, “यो एउटा चोलो छेकाउनु थियो र दर्जीकोमा हिंडेकी । बाटामा यता छिर्न मन लागेर आएँ है ।”

“एहे, काकी मेरो पनि पो दर्जीकोमा जाने काम छ त,” भनिन् मन्दिराले ।

घरमा कुराकानी गर्न उपयुक्त वातावरण नहुने देखेर शान्ता काकी र मन्दिराले बाहिर निस्कने चाँजो ठ्याक्कै मिलाए । बाटो लाग्नेसाथ शान्ता काकीले सोधिन्, “अस्तिको कुरामा के सोच्यौ त मन्दिरा तिमीले ?”

मन्दिरा केही बोलिनन् । एकछिन पर्खिंदा पनि उनको जवाफ नआएकोले शान्ता काकीले डराउँदै भनिन्, “हेर मन्दिरा, तिमी नराम्रो चाहिं नमान । यस्तो पेचिलो कुराको बीचमा रहनु मलाई पनि गाह्रै छ । तर विजय जस्तो भलादमी मान्छेले सोधिदिनु भनेर हत्ते गरेकोले सोधिदिएकी मात्रै हुँ । नभन्नू तिमीलाई भनिहालें, त्यसैले जे सोच्यौ त्यो जवाफ लिन मात्रै आएकी हुँ ।”

“काकी, अहिले यतिखेर विजय सरलाई कहाँ भेट्न सकिन्छ होला ?” अचानक मन्दिराको प्रष्ट र सिधा प्रश्न सुनेर स्तब्ध भइन् शान्ता काकी !

“अहिले ?’ उनले सोधिन् ।

“हजुर, अहिले !”

“अहिले त क्याम्पसमै होलान् विजय भाइ ।” हातको घडी हेर्दै शान्ता काकीले भनिन् । “छुट्टी हुने वेला पनि भयो । हिडिंसके कि अथवा क्याम्पसमै छन् !”

“एक चोटी जाऊँ न त काकी, भेटेरै कुरा गरौं ।” मन्दिराको बोलीमा अचम्मको साहस देखेर चकित भइन् शान्ता काकी । एक पल ठिङ्ग उभिएर सोचिन् उनले र त्यसपछि एउटा खाली रिक्शा रोकिन् र भनिन्, “ल जौं ।”

पुग्दा ठ्याक्कै छुट्टी भएको समय थियो । कलेज प्रांगण र गेटमा विद्यार्थी र शिक्षकहरूको चहलपहल देखिन्थ्यो । मन्दिरालाई कलेज भवन बाहिर एक कुनोमा पर्खिन लाएर शान्ता काकी विजयलाई खोज्न निस्किन् । केही बेरमा निकै पर अफिसको बरन्डामा शान्ता काकी र एक पुरुष आकृति उभिएर कुरा गर्दै गरेको देखिन् मन्दिराले । हेर्दा हेर्दै विद्यार्थी र शिक्षकहरूको चहलपहल पातलिंदै गयो र एकै छिनमा वातावरण चकमन्न भयो । त्यसपछि शान्ता काकी र त्यो पुरुष आकृति हिंडदै वर वर आफूतिर आउँदै गरेको देखिन् उनले ।

शान्ता काकीको मध्यस्थतामा मन्दिरा र विजयले संकोचको मुस्कान सहित एक अर्कालाई नमस्कार गरे । अग्लो जीउडाल, कालोकालो वर्ण, बान्की परेको अनुहारमा कालो पातलो जुँगा, ढाका टोपी, खरानी मफलर र खैरो कोटमा देखा परेको त्यो विजय रिमाल नामको स्वरूप मन्दिरालाई आफूले पहिले झलक्क देखेको आकृतिभन्दा फरक र सोचेको भन्दा सुन्दर लाग्यो ।

कुरा कसरी शुरू गर्ने भन्नेमा अनिश्चित भएर तीनै जना एकछिन असमञ्जसमा परेपछि शान्ता काकीले नै भनिन्, “ल तिमीहरू कुरा गर्दै गर है, म एकछिन उता डुलेर आउँछु ।”

“होइन काकी, तपाईं यहीं बस्नुस,” मन्दिराले उनलाई रोक्दै भनिन् ।

“बाहिर कतै बसेर चिया खाँदै गफ गरौं न त, है ?” विजयले नरम स्वरमा भने ।

“होइन, होइन, यहीं ठीक छ । छैन र ?” मन्दिराले गम्भीर हुँदै भनिन् । “सर, तपाईंबाट मेरो लागि एउटा सन्देश भनौं वा समाचार मेरो कानमा परेको छ । यस बारे मैले जवाफ दिनुपर्ने भएकोले म तपाईंलाई भेट्न आएकी हुँ ।”

सुनेर एक पल त विजय स्तब्ध झैं भए । तर तुरुन्तै शालीन स्वर र हाउभाउमा उनले भने, “हो, यसलाई समाचार वा सन्देश भन्दा पनि, म त्यसलाई प्रस्ताव भन्न चाहन्छु । भेट्न आउनु भएकोमा खुशी लागेको छ । सुनौं न त, तपाईंको जवाफ के हो ?”

“जवाफ दिनुअघि म स्वयम् तपाईंको मुखबाट एकपल्ट सो प्रस्ताव सुन्न चाहन्छु । अनि मैले दिने जवाफको पनि अर्थ पूरा होला ।”

मन्दिराको त्यत्तिको आत्मविश्वासी शब्दहरू सुनेर विजयलाई कताकता हिचकिचाहट महसूस भयो । हुन त यसरी अप्रत्याशित रुपमा भेट भएर अन्तरंग कुरा हुँदै गरेको घटनाबाट नै उनी भित्रभित्रै आश्चर्यले गलिसकेका थिए । अझ शान्ता काकीको उपस्थितिमा सिधै यसरी खुला ठाउँमा उभिएर मन्दिराको सामु मनको कुरा खोल्न विजयलाई कताकता असजिलो लाग्यो । उनले भने, “ठीकै छ, यसरी उभिएर भन्दा पनि हिंडदै हिंडदै गफ गरौं न त ।”

तीन जना कलेज प्रांगणको गोरेटोमा अघि बढ्न शुरू गर्दा नै विजयले आफ्नो पिठ्यूँ पछाडि मुठ्ठी लुकाएर कस्दै साहसका साथ भने, “हेर्नुस मन्दिराजी, कुरा सिधा छ- म तपाईंसँग विवाह गर्न चाहन्छु । कृपया तपाईं यो प्रस्ताव स्वीकार गर्नुस र हामी हाम्रो बाँकी जीवन सँगै बिताऔं ।”

“मन्दिरा बोलिनन् । त्यसपछि कोही केही बोलेन । हिंड्दै हिंड्दै उनीहरू कलेजको अग्र भागमा रहेको सानो फूलबारी नजिक पुगे । त्यहाँ पुगेर विजय टक्क रोकिए । एक पाइला अगाडि बढिसकेका मन्दिरा र शान्ता काकी पनि रोकिए । एक सेकेन्ड ढिलो नगरी शान्ता काकी केही नबोली फटाफट उनीहरूलाई त्यहीं छोड्दै अगाडि बढिन् र “म एकछिनमा आउँछु” भन्दै कलेज गेटबाट बाहिर निस्किन् । यस पटक मन्दिराले उनलाई रोकिनन् ।

“मेरो जवाफ खोइ त ?” मन्दिराको आँखामा सिधै हेर्दै सोधे विजयले ।

“मलाई तपाईंले किन मन पराउनु भएको ? मेरो परिस्थिति त तपाईंलाई थाहै छ । मेरो छोरो छ, म त सासू ससुरासँग बस्छु । मैले विवाहको निर्णय लिनु र त्यसलाई सम्पन्न गरेर देखाउनु भनेको सजिलो कहाँ छ र ?”

“तपाईंले निर्णय लिनुभयो भने सम्पन्न गर्ने प्रयत्न म गर्छु । अझ भनौं, हामी दुवैको प्रयत्नले सम्भव होला भन्नेमा मलाई विश्वास छ ।”

“मेरो छोरोलाई आफ्नो छोरो मान्न सक्नुहुन्छ ?”

आशाले उज्यालो भयो विजयको अनुहार । “किन नसक्नू ? त्यस बारे नसोची मैले यत्रो प्रस्ताव राखें होला त ?”

एकाएक विचलित भएको हाउभाउमा उनले भनिन्, “तर म त गोप्य विवाह गर्न सक्दिन । मलाई भगाएर लैजाने सोच्नु भएको छ भने त्यो विचार त्यागिदिनुस् ।”

“म तपाईंको घरमा कुरा गर्न सक्छु । उहाँहरू मान्नु हुनेछ । अथवा, मनाउने काम मेरो भयो ।” विजयले जवाफ दिए ।

अकस्मात भयले उत्तेजित हुँदै बोलिन् मन्दिरा, “अनि तपाईंको आफ्नै घरमा चाहिं कसरी मनाउनु हुन्छ ? तपाईंले मात्र मलाई अपनाएर हुन्छ र ? तपाईंको घरले मलाई कसरी अपनाउन सक्छ ?”

“त्यो त मेरो जिम्मेवारीको कुरा हो ! यदि नसक्ने भए त म तपाईंलाई प्रस्ताव नै राख्ने थिइनँ नि ! होइन र ?” विजयले शान्त स्वरले उत्तर दिए ।

मन्दिराको भय साम्य भएन । “भयो, यो जन्जालमा नपरौं । मैले आज बिनसित्ति तपाईंलाई दुःख दिएँ । म जस्ती बिधुईलाई तपाईंको घरले बुहारीको इज्जत देला भन्नेमा मलाई शंका छ । भयो, भयो, म जान्छु । मैले बेकारमा तपाईंलाई अलमल्याएँ । म जान्छु ।” यति भन्दै उनले फटाफट पाइला कलेजको गेटतिर लम्काइन् ।

“मन्दिरा !” विजयले जोडले पुकारे । स्वर उनको, हप्काएको जत्तिकै कडा थियो ।

मन्दिराले पुलुक्क फर्केर हेरिन् । उनको गति अलिकति सुस्त जरुर भयो तर उनी रोकिइनन् । विजयको अनुहार दिग्भ्रमित झैं अँध्यारो देखियो । तर उनले पनि ढिलो नगरी पाइला लम्काए र मन्दिराको हात च्याप्प समाए । लाचार र निरीह आँखाले विजयको अनुहारमा हेरिन् मन्दिराले । विजयले आदेश दिए जत्तिकै स्वरमा भने, “हिंड जाऔं त्यहीं ।” दुवैजना फेरि त्यही फूलबारीको नजिक आए ।

भुइँमा हेरेर टोलाएकी मन्दिराको अनुहारमा हेर्दै विजयले भने, “अब, यो खुला क्याम्पसको बीचमा उभिएर हामी धेरै समय नाबिताऊँ । यस बारे जति छलफल गर्‍यो, कुरा उत्ति नै तन्किन्छ । तिमीले यहाँसम्म आएर मलाई भेट्नुको अर्थ मेरो प्रस्तावबारे पहिले नै पर्याप्त सोचिसकेकी छ्यौ । तर सोचाइको कुनै सीमा हुँदैन । अब हामीले अरू सोच्यौं भने पनि हामीलाई जीवनभरको सोचाइले पुग्ने छैन । त्यसकारण, मन्दिरा, अब यो सोचाइलाई अरू धेरै नबढाऔं । तिमी अब मलाई अन्तिम पटक जवाफ देउ । त्यसपछि म तिमीलाई फेरि सोध्ने छैन । र, मेरो अनुरोध छ तिमीलाई, मेरो प्रस्तावमा कृपया सकारात्मक जवाफ देऊ ।

मन्दिराले फूलबारीतिर एक पल हेरिन् । धेरै फूलहरू त थिएनन् । रंगीचंगी कोरोटिनका केही अग्ला बोटहरू, केही सयपत्रीका बुटा र एउटा बोटमा केही सेता गुलाफहरू थिए । फूलबारी घेरेको होचो पर्खालबाट हात लम्काएर एउटा सेतो गुलाफको फूल टिपिन् मन्दिराले । र, विजयलाई सो गुलाफ दिंदै भनिन्, “मेरो जवाफ !”

अनिश्चित भावले मन्दिराको आँखामा हेर्दै विजयले भने, “सेतो गुलाफ- यो त प्रतीक हो शुद्धताको, मित्रताको ।”

“हो, शुद्धता, मित्रता, अनि, अर्थहरू त मान्छेले दिने त हो नि ! जे अर्थ लाए पनि हुन्छ नि, होइन र ?” मधुर स्वरले बोलिन् मन्दिराले ।

“तिमी यसको के अर्थ लाउँछ्यौ त, मन्दिरा ? म तिम्रै मुखबाट सुन्न चाहन्छु ।”

“नयाँ शुरूवात, र शायद, जीवनभरको साथ ।”

मन्दिराको जवाफ सुनेर विजयको आँखामा हर्ष र आश्चर्यको बाढी उर्लिन खोज्यो । तर त्यो बाढीलाई जबरजस्ती रोक्दै मधुर दृष्टिले मन्दिराको अनुहारमा हेरिरहे उनले । त्यत्तिकैमा गेटबाट चियाउँदै शान्ता काकीले कराएर भनिन्, “कुरा सकिएन ? कि, तिमीहरू बिस्तारै आउने हो भने म जाँदै गर्छु है त !”

“होइन काकी, अब सकियो, आउनुस् यता,” भन्दै बोलाइन् मन्दिराले ।

“होइन, के कुरा भयो हौ यति लामो ? निर्णय के भयो, म पनि सुनौं न !” नजिक आइपुगेर सोधिन् शान्ता काकीले ।

विजयले हातको सेतो गुलाफ शान्ता काकीलाई देखाउँदै भने, “काकी मैले यस्तो उपहार पाएको छु ।” र मन्दिरातिर फर्केर भने, “एकपल्ट फेरि भनिदेऊ मन्दिरा, शान्ता काकीको सामु, यो गुलाफको अर्थ के हो ?”

“प्रेम !” मन्दिराले मधुर स्वरले जवाफ दिइन् ।

जवाफ सुनेर शान्ता काकीको मुख आश्चर्य र अविश्वासले आँ भयो ।

विजय र मन्दिराको छोटोमीठो विवाह एउटा मन्दिरमा सम्पन्न भयो । विधुवा बुहारीको विवाह सम्पन्न गर्न साथ, समर्थन र सहयोग गरेकोमा मन्दिराका सासू-ससुराको समाजमा चौतर्फी प्रशंसा भयो । मन्दिराको अपेक्षाको विपरीत, सबैभन्दा गर्व त मन्दिराका बुवाआमालाई भएको देखियो जो वेलामौकामा मान्छेका सामु शिर उँचो पारेर भन्ने गर्थे, “छोरी मान्छे भएपछि हाम्री मन्दिरा जस्तो दरो मुटु भएकी हुनुपर्छ !”

अनि … अनि, मन्दिरा र विजयको घरको भित्तामा त्यो सेतो गुलाफ सुन्दर फ्रेमभित्र सजिएर सदाको लागि जीवित रह्यो ।