प्रिय देश,

मैले आफ्नो घरआँगन छाडेर आएको दुई दशक हुन थाल्यो तर तिमीलाई सम्बोधन गरेर भन्ने खासै केही कुरो थिएन । मलाई लाग्थ्यो म ठीक नभए पनि तिमीलाई आराम छ । तर मैले सुनेको छु तिमी अचेल व्याकुल छौ, म जस्तै तिमी पनि दुखिरहेका छौ रे ।

जिजीविषाले सन्ताप गरेको जीवनको मध्यान्हमा आएर देशको टाढा भूगोलमा आज खै किन मनका उफानहरूलाई शान्त गर्न मन लागिरहेको छ । त्यसैले  मनमा उठेका उछालहरूलाई स्थान दिन खोजिरहेको छु त्यसैले तिमीलाई पत्र लेख्दै छु ।

सुनेको छु अचेल तिमी आफ्ना सन्तान आफ्नै आँगनबाट दिनदिनै बाहिरिएको हेर्न बाध्य छौ रे । तिम्रा गाउँ र शहरका गल्लीहरूमा हिंड्ने पदचापहरू क्रमशः कम हुँदैछन् र बस्ती सुनसान भैरहेका छन् रे । घरघरबाट आइरहने वृद्ध बाआमाका खोकाइहरू सुन्न घर भित्र-बाहिर मात्र हैन । टाढा टाढासम्म कोही छैन । दैनिक जसो नै बुढा र निराश आँखाहरू एयरपोर्टको भुइँ आँसुले भिजाउँदै फर्किन्छन् रे । आफन्तका ओहोर दोहोरले गुलजार हुने चाडपर्व रमाइलोपनको छनक नदिएरै बिदा हुँदा कसको मन बोझिल हुन्न होला रु

हुन त मैले पनि तिमीलाई छोडेर परदेशिएको धेरै वर्ष भैसक्यो तर त्यो समयमा दुखाइको आभास मलाई भएन किनकि म जस्ताले देशको आँगन छोड्नु भनेको ठूलै प्रभाव पर्ने बिषय नै थिएन । त्यो त युगौंदेखि चलिआएको एउटा रीत जस्तो न थियो । उस्तै पनि भारत देशमा मजदूरीको काम गरेर आफ्ना परिवार धान्ने नेपालीको नियतिको लेखाजोखा नेपाल भारत सिमानामा कसले नै गर्न भ्याएको छ र आजसम्म रु

मलाई आफ्नो देशको माटोको औधी माया लाग्छ । आफ्नो देशलाई माया नगर्ने को नै होला र रु तिमीलाई र परिवार छोड्दा मेरो मुटु कम्ता दुखेको थिएन र ! मेरो करुण स्वर र स्कन्दन सुनाउने अधिकार कहाँ हुन्छ त्यस वेला एक पटक थाहा पाउन मन थियो ।

आफ्नो घर आँगनको माया मार्दै घाइते चराजस्तै भएर मैले देश छाडे  ।

हो, म बाहिरिनुका कारण धेरै थिए । जब खण्डहर जमीनमा उब्जाउको कुनै सम्भावना नदेखेपछि म बाध्य भएँ देश छाड्न । आफ्ना लालाबालाका पेट भर्न नसकेको बोध भयो र श्रीमतीको सुकिलोमुकिलो पेटिकोट कहिले किनिदिन सक्दैन भन्ने सत्य मेरो सामुन्नेबाट ओहोरदोहोर गर्न थाल्यो, यही सत्यलाई साक्षी मानेर म बाहिरिएँ । अभाव नै अभावको जीवनलाई सहारा दिने कुनै ढाल नदेखेपछि अघिको पुस्ताले  थेगेको परम्परा निर्वाह गर्न पिठ्यूँमा फाटेको झोला र बकुल्लाछाप चप्पल लाएर अरू दाजुभाइ जस्तै मैले पनि आफ्नो भूगोलको सिमाना पार गरेको थिएँ ।

परदेश मेरो आफ्नो कसरी हुन सक्थ्यो र रु आफ्नो देशमा  कसैले नबुझेको पीडा र छटपटाहट बिरानो देशमा अरूले कम गर्छन् भन्ने आश गर्नु आकाशको तारा टिप्नु जस्तै हो । यहाँ आएपछि मान्छेको महासागरमा मेरो अस्तित्व माइक्रोस्कोपबाट देखिने जीवाणु जत्रो पनि रहेनछ भन्ने कुरा हर क्षण अनुभव हुन थाल्यो । जन्मिसकेपछि बाँच्न आँट गर्ने फगत परजीवी मात्र रहेछु म  ।

तिमीलाई थाहा नै छ पेट भर्नु बाहेक हाम्रो जीवनको उद्देश्य अरू हुँदैन ।  अभावले पेट भन्दा माथि अरू कुरो सोच्न कहाँ दिन्छ र रु  हामीले आफूभित्रका सम्भावना चिन्नु भनेको त अर्कै ब्रह्माण्डमा गए सरह हो । हामीले न त सपना देख्न जानेका हुन्छौं न त हाम्रा छातीमा रहरका कण नै हुन्छन् । उसै पनि आँसुका सरोवरमै तैरिरहने आँखाले सपना देख्ने ओभानो भूमि कसरी पाओस् र, सपनाको उडान भर्न त  जीवन पनि कपास जस्तै हलुका बन्नु पर्ने होला होइन र रु

यहाँ आफ्नो अस्तित्वलाई प्रमाणित गर्न पटकपटक  संघर्षको कठघरामा उभिरहन्छु म ।  आफ्नो दुखलाई टाल्न सुख र आनन्दको टालो किन्न सक्दैनौं हामी । पोहोर साल वर्षभरी दैनिकी ज्यालादारीबाट आएको भारु रुपियाँ जम्मा पारेर म दशैंमा घर जान तयार भएँ ।  आफूलाई एक हप्ताअघि देखि हलुका महसूस गरें । कसैले गाली गरे पनि अनुहार मुस्कानले तन्किन्थ्यो, मन चंगा भै रहन्थ्यो । आँखाअघि जति बेला पनि जहान र बालबच्चाको झल्को आइरहने । खुशी कस्तो हुन्छ भन्ने कुरा थाहा नपाएको मलाई देश फर्किनुअघि प्रायः सधैं यस्तै हुन्छ अनि अन्दाज लाउँछु शायद खुशी त्यस्तै हुन्छ होला ।

घर जाने भनेर किनेको थोरबहुत गट्टाका दाना र श्रीमतीलाई इन्डियन मंगलसूत्र टिनको बाकसमा राखें । सधैं बिहान टिनको बाकसलाई सुम्सुम्याउँथें । यस्तो लाग्थ्यो मानौं मेरो र परिवारको खुशी त्यसमा कैद गर्न सफल भएको छु र साँचो मेरो हातमा छ । यथार्थमा त मेरो खुशी पहाडका एक एक लेक बेसी, कन्दराहरूमा कैद छन् तर त्यसको साँचो मेरो हातमा छैन ।

म जस्ताको लागि दुःखको सिलसिलाले कुनै पल पनि रोकिंदैन । दुःख त लिसो टाँसिए जस्तै सधैं टाँसिरहन्छ जताततै । पाइपाई जम्मा गरेको कमाइलाई घरसम्म पुर्‍याउन  पनि कम्ता सकस हुँदैन र रु हेर न पोहोर घर जाँदा नेपाल भारतको सीमामा बेहोस बनाएर म लुटिएँ ।  होशमा आउँदा मेरो टिनको बाकस मसँग थिएन । त्यसमा भएका कोसेली सम्झेर म बहुत भक्कानिएँ । अँजुलीमा न अटाउने खुशी पलभरमै हराएकोमा म करीब करीब निष्प्राण भएँ । दोष आफ्नै भाग्यलाई दिएँ ।

जसोतसो कुनै नेपाली दाजुभाइकै सहाराले घरसम्म पुगें । मेरो  वर्षभरीको कमाइ दुखाइमै परिणत भयो । परिवारका आँखामा देखिएका आशालाई मैले पूरा गर्नसकिनँ । म आउनु भनेको उनीहरूका लागि मैले ल्याएको टिनको बाकसमा खुशी आउनु पनि हो । तर टिनको बाकस यस पटक घर पुग्न सकेन । म आउँदा घर नै उदास भयो र घर देख्दा म उदास भएँ ।  बुवा घर आएको खुशीमा छोराछोरीको मुहारमा हाँसो आएन । आँगनमा भएको टुटेको पिर्कामा थचक्क बसें र लामो सुस्केरा लिएँ ।

“जे हुनु होइ गयो चिन्ता मानेर हुन्या केइ नाइँ,“ श्रीमती मछेउ आएर ढाडस दिन खोजेझैं लाग्यो  । श्रीमती र मेरा आँखा जुधे । उनका आँखाले मेरो भाव बुझे तर मैले ऊभित्रका संवेदनालाई नबुझे झैं गरिदिएँ । उसले पीडालाई मज्जाले देउडाका गीतमा मिसाउन जानेकी थिई । त्यसैले त गुनगुनाउँदै थिई –

दोबाटोमा देउती थान बोक्या खान्या रैछ,

मैले दिन जान्या रैछन मान्या जोवन जान्या रैछ ।

मेरा नजर श्रीमतीका  चाउरिएका गालामा परे  ।  तर मलाई थाहा छ ती त उमेरले भन्दा पनि  भोगाइ र  संघर्षले कोरिएका रेखाहरू थिए । मेरो समाजका धेरै महिलाले आफ्नो जवानी प्रायः देख्दैनन् ।

मैले आफ्नो घरलाई एक नजरले हेरेर भ्याएँ । जीर्ण अवस्थामा रहेको घर म जस्तै लाचार थियो । घरलाई सम्पूर्ण रूपले “घर” हुन यसका ढोकाबाट आनन्द छिर्न सक्नुपर्छ, झ्यालबाट खुशी चियाउनुपर्छ । आँगनमा मुस्कान, साहस र हरियाली खेलिरहनुपर्छ । बाहिरी दुनियाँबाट थाकेर आएको मान्छे घर छिरेपछि लामो सुस्केरा लिंदै निदाउन सक्नुपर्छ ।

मैले मेरो घर उदास देखें । चुहिने छत, मक्किएको भान्सा अर्थात् घरको यति महत्त्वपूर्ण आँगनै उजाड र बुढो देख्दा आफ्नो पुरुषार्थलाई मनमनै धिक्कारें । अनि कसैले नदेख्नेगरी लुसुक्क महाकाली नदीको छेउमा गएँ । ऊसँग धित मरुन्जेल रोएँ, आँसु बगाएँ र गुनासो गरें ।  मेरा दारीमै अल्झिने आँसु महाकाली नदीकै वेगमा झरे । यसपालि मेरा बढेका  दारीले मेरा आँसु छेक्न सकेनन् । मान्छेको भित्री अवस्थाले बाहिरी दुनियाँलाई रंग्याउने र खुइल्याउने रहेछ । त्यो दिन मलाई प्यारो लाग्ने नदी देख्दा वितृष्णा भयो ।

तिमीलाई थाहा नै छ, म जस्ता बहादुरलाई इन्डियाका विभिन्न गल्लीहरूमा भेट्न सकिन्छ । पुर्खाले देखाएको साहसको ब्याज हामीले पाइरहेका छौं भनेर मन दंग पनि हुन्छु ।  तर यो उपमा कति विरोधाभासपूर्ण छ । हो त नि हामी बहादुर हौं । आफ्नो देशमा स्थान नपाएर परदेश आउन बाध्य भएका “बहादुर”। हातमा रस्सी बोकेर ग्राहकको भरिया बन्न शारीरिक रूपले बलिया “बहादुर” । बेलाबेलामा मालिकका मुखबाट निस्किने गालीहरू सहनसक्ने मानसिक रूपले सशक्त “बहादुर” । ज्यालादारीमा ठगिएको थाहा पाएर पनि नजरअन्दाज गर्नसक्ने “बहादुर” ।  हो, त्यसैले हाम्रो नामसँग बहादुर जोडिनैपर्छ । यो सम्बोधन भ्रम नै भए पनि सुन्दा कम्तीमा पनि हार्न र कमजोर बन्न दिंदैन ।

परदेशमा म कहिले साँघुरो कोठामा त कहिले बस र रेलका प्लेटफर्मका चीऽऽऽऽऽऽसो भुइँमा रात बिताउँछु । पाँच रुपियाँको चिया र पाँच रुपियाँको पफले पेट भोक मेटाउन खोज्दा जहान र बच्चाको अनुहार आँखाअघि आउन छोड्दैन । मनको एक्लोपन निकै भारी र बाक्लो हुँदोरहेछ । मनको चिसोपनलाई आफैभित्र लुकाउँछु । जब अखबारको सिरानी बनाएर र निद्राको नगरीमा पुग्न खोज्छु, “चल साले कहां कहां से पडे रहते है साले” जस्ता  शब्दले निद्रा बिथोलिन्छ । तर यस्ता शब्द सुन्नु हाम्रो दैनिकीको हिस्सा नै हो भन्दा फरक पर्दैन । शब्दवाण घाइते हुने छुट किन हुन्छ र हामीजस्तालाई रु दुख्ने मनलाई ढुङ्गा बनाइदिन्छु र म पुनः बहादुर बन्न  गोजीबाट बिंडी निकाल्छु र पीडा धुवाँमा उडाउन खोज्छु । अनि खुला आकाशमुनि चम्किरहेको जून देख्दा लाग्छ यो जून मेरो घरमा पनि देखिएको होला । यो रात मेरो देश र मेरो ठाउँमा पनि परेको होला, यही हावा मेरो आँगनमा बहिरहेको होला । यसरी म मेरो परिवार र घरको न्यास्रो मेटाउन खोज्छु । व्याकुलतालाई मलहम लगाउन यस्तै कल्पनाको सहारा लिन्छु ।

अँ ! सुन न, पराइ देशमा आफ्ना भावना संवेदनालाई थाती राखेर काम गर्नुपर्छ । त्यसै पनि आफ्नो देश आफ्नो नभएको मान्छेलाई अर्काको देशले किन आफ्नो मानोस् र रु हामी परदेशमा केवल हड्डी र मासुले बनेका मशिन न हौं । त्यसैले त होला गर्दै नगरेकै काममा गल्ती निकालिन्छ र हाम्रो कठालो समातिन्छ ।

मालिकका बच्चाहरू आफ्ना बुवाको अँगालोमा बाँधिएको देख्दा मेरा आँखा पनि रसिला बन्दछन् ।  एकपटक म कामबाट  गलहत्त्याइएँ ।  मालिककी सानी छोरीलाई चक्लेट किनिदिएको कारणले । खै, किन त्यो सानी बच्चीमा मैले मेरै सानी छोरीको झल्को देखें । पिताको मुटुको स्नेहको चोला उध्रियो । यो घटनाले सिकायो कि म जस्तालाई भावना देखाउन बन्देज हुन्छ । मैले आफ्ना भावनालाई आफैभित्र सिलाएर राख्नसिके, सँगसँगै म अपराध बोधले गलें ।

भारत हुँदै सुनेको थिएँ देशमा गणतन्त्रको शंखघोष भयो रे । अर्को दिनको बिहानै दिल्लीको चाँदनी चोकमा  मजस्ता बहादुर जम्मा भएर खुशी साटेका थियौं । ओहो ! अब त परदेशिनु नपर्ला कि भन्ने ठूलो आश पलाएको थियो ।  हाम्रा पनि दिन फर्किने कुरा सोचेर “दिल खुश” भएको थियो । मनमा हाम्रो देश राम्रो देश भन्ने अहम् पलाएको  थियो । मालिकले गाली गर्दा यस्तो लाग्थ्यो हुत्तिएर जाऊँ आफ्नै गाउँघरमा  ।

तर यो सब त हाम्रो भ्रम रहेछ भन्ने कुरा स्पष्ट हुन धेरै समय लागेन । हामीजस्तालाई कुनै पनि शासन व्यवस्थाले के फरक पार्‍यो र रु साधनविहीन व्यक्तिलाई नयाँ आएको शासन व्यवस्थाले पनि आश्रय दिन कठिन मान्ने रहेछ । त्यसैले मलाई न त नयाँ नेपालले कुनै फरक पारेको छ न यहाँ बन्ने गरेका कागजी विकासका नीतिहरूले फरक पारेको छ । म सधैं आफ्नो दुःखलाई महाकालीझैं बेअसर बनाएर बगिरहेको हुन्छु । अभाव र अवरोधका बीच बग्नुमै मैले आफ्नो नियति सम्झेको छु  । सत्तामा बसेकाको स्वार्थले आज तिमी पनि दुखेका छौ भन्ने सुन्दा भने मन अमिलो बनेको छ ।

तिमीलाई कत्तिको थाहा छ रु मेरो समाज आधुनिकताको परिभाषाको अनभिज्ञतामै रमाइरहन्छ । यस समाजले सदियौंदेखि बोकेका रूढिवादी मूल्यमान्यताहरूले मस्तिष्कमा उज्यालो छिर्ने छिद्रहरू बन्द गरिदिन्छन् । परम्पराका नाममा अन्धकारमा जिउन बाध्य भएका हुन्छौं ।  यहाँ कयौं “इजा” छन् जो साहसको पटुका कम्मरमा बाँधेर जीवन जिउने कलामा निपुण देखिन्छन् । देख्छु, कतिपय दिदीबहिनी बहुविवाह, बालविवाहको बेदीमा चढ्न बाध्य नै छन् । उनीहरूको पाठेघर छोरो जन्माउने यन्त्र बनेको हुन्छ । उपचार नपाएर कतिले अकालमै ज्यान फालेका हुन्छन् ।

मुलुकको केन्द्रमा छाउपडीका कुराले निक्कै गर्मागर्मी चल्दा छाउगोठहरू भत्काउन लगाइन्छ । तर भत्काइएका छाउगोठ केही समयपछि पुनः सलबलाउँछन् जब यहाँ अन्य कारणले फर्सी र काँक्राका लहराहरू कुहिन थाल्छन् कारण छाउपडी राम्ररी नबारिएको भन्ने निष्कर्ष निकालिन्छ । सदियौं देखिका मनका पर्खालहरूमा टाँसिरहेका यस्ता कुसंस्कारलाइ सहजै भत्काउन सम्भव हुनसक्छ र रु हुन पनि यस्ता कुराले किन आश्चर्य मान्नु र रु जब शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतालाई शासन व्यवस्थाले  पूरा गर्दैन वा गर्न सक्दैन त्यतिवेला यिनै परम्पराहरूलाई सिरानी बनाएर निदाउनु पर्ने बाध्यता आइलाग्ने रहेछ । यी सबै कुराको आभास त त्यतिखेर झन् हुन्छ जतिवेला मान्छे आफ्नो थातथलो छोडेर परदेशी बन्दछ ।

हस् त मेरो देश, सधैं तिम्रो आरामीको कामना गर्दछु ।

तिम्रो आश्रयबाट सधैं टाढा रहेको,

“बहादुर”