सुरेन्द्र गौतम

मृत्युलोकबाट मेरो इहलीला समाप्त भो । म हावामा तैरिँदै अनन्त ब्रह्माण्डको नरकपुर पुगेँ । नर्कमा ल्यान्ड गरिसकेपछि तुरुन्त वरिपरि नियालेँ । अनयासै मुखबाट शब्दहरू निस्किए‚ “आहा ! नर्क पनि कस्तो स्वर्गजस्तै ।” म अगाडि बढेँ । हराभरा बगैँचा नियालेँ । बास्नादार फूलहरू सुघेँ । मनमनै सोचेँ‚ “पृथ्वीमा गमलामा रोपेर उमारेका कृत्रिम बगैँचामा यस्तो सुगन्ध काहाँ पाउनु ।” चराहरूको मधुर आवाजले तान्यो । शान्त र निर्मल झरनाछेउमा पुगेर आनन्द लिएँ । निलो तालको पानीलाई चलाउन थालेँ र गम खाएँ‚ “अहो ! धर्तीभन्दा त नर्क नै सुन्दर‚ स्वच्छ र निर्मल ।” उठेर सुवासयुक्त हावाले फोक्सो भरे । छेवैमा अति सुन्दर भवन थियो । केहि नसोची भवनतर्फ लम्कँदै थिएँ कसैले पछाडिबाट मलाई तान्दै भन्यो‚ “कुन लोकबाट आएको ?”

पछाडि फर्केर हेरेँ । द्वारपाले रहेछन् । दुवै जना क्रोधित मुद्रामा मलाई खाउँलाझैँ हेरेका ।

“धर्तीलोक ।” मैले जबाफ दिएँ ।

“कुन देश ?” हेर्दा बाउन्सरझैँ गाँठिलो शरीर भएको अर्को पालेले झपाऱ्यो ।

“नेपालदेखि । नयाँ प्रजातिको जीवाणुले मेरो चोला समाप्त पाऱ्यो । अरूहरू पनि क्युमा छन् । ” मेरो उत्तरले उनीहरू उग्र देखिए । दोस्रो पालेले आफ्नो भाला भुईँमा बजार्दै कड्कियो‚ “तिमी भू–लोकवासीहरू हामीमाथि बोझ बनिरहेका छौ । तिमीहरूको कर्मले हाम्रो पनि दिनरातको चैन उडाइदियौ । ”

म एकछिन ट्वाल्ल परे । अनि दुवैलाई अलिक शान्त देखेपछि बिन्तीबिसाएँ‚ “नर्कभित्र इन्ट्री गराइदिनुस् हजुर ।”
“सम्भव छैन‚ हाउसफूल छ । ” दुवैजना एकैसाथ कड्किए ।

“केवल एकपटकमात्र भित्र छिर्न दिनुहोस् हजुर ।” म भास्सिएको आवाजमा नतमस्तक हुँदै हारगुहार गरेँ । धेरैबेरको बिलौनापश्चात् दोस्रो पाले मेरो छेउमा आयो र भन्यो‚ “ल ! ल ! धेरै चेप्रो नपसार् । हिँड्हामीसँग ।” मैले आफ्नो आँखाको आँसु पुछेँ । सोचे मरेपछि पनि रुनुपर्ने रहेछ । अनि उनीहरूको पछि लागे ।

नारकीय कला कौशलले सुसज्जित भवनको द्वार हुँदै भित्र पसे । एक पछि अर्को गर्दै ढोका उघारिँदै थियो । प्रत्येक कोठामा मृतआत्माहरू सल्याङ्गमल्याङ्ग गरिरहेका थिए । जङ्गली जनावरका सिङ्ग‚ छाला र प्राचीनतम जुरासिक कालखण्डका डायनोसरहरूको कङ्कालसमेत भित्तामा झुन्ड्याइएको थियो । पालैपालो ढोकैपिच्छे फरक(फरक पालेहरूको पछि लागे र अन्तमा एउटा विशाल सभाकक्षमा उपस्थित गराएर पालेहरू फर्के ।

सभामा यमराज ढसमस्स गरेर सिंहासनमा पसारिएका थिए । सिंहासनको ठिक तल्लो सदनमा मन्त्री‚ उपमन्त्रीहरू विचारमग्न भएर बसेका देखिन्थे । यमराजको दाहिनेपट्टिको तेस्रो छिँडीको कुनामा चित्रगुप्त कुनै कारिन्दाले झैँ हरहिसाब गर्दै थिए । सिंहासनको ठिक विपरीत अर्को भागको ठुलो कलाकक्षमा सुन्दरीहरू मौन अवस्थामा एकोहोरो टोलाइरहेका थिए । सबैमा मौनता छाएको देखिन्थ्यो । कुनै समस्याको हलको पहलु खोज्न मौन नर्कगणहरू सोचमग्न रहेछन् । म यताउति गर्नसम्म पनि सकेको थिइन । न त पछाडि फर्कने आँट थियो । सभाहलको ढोकाको देब्रे साइडमा एउटा मूर्ति थियो । म त्यही मूर्तिको छेलपारेर उनीहरूको कुरा सुन्न थालेँ ।

तल्लो सदनबाट एक मन्त्री उठ्दै आफ्ना पाखुरा झट्कार्दै बर्बरायो‚ “माहाराज ! भू–लोकवासीले यहाँ पनि बारम्बार त्रास फैलाएका छन् । उनीहरूको कुकर्मको फल सारा ब्रह्माण्डले भोग्नुपर्ने भो ।” सदनकै अर्को कोणबाट अर्का उपमन्त्रीले आफ्नो डेढो आँखा च्यात्दै पड्कियो‚ “अब यसरी हुँदैन नाथ ! मृतात्माले सम्पूर्ण नर्कपुरी खचाखच भो । योपालि त उनीहरूले कोरोना भन्ने जीवाणु पनि साथमै लिएर आएका छन् रे ।”

उता चित्रगुप्त भने हरक्षण हरहिसाब गर्दै गम खाँदै थिए । हिसाबले आच्छु आच्छु परेका उनी पापपुण्यको खाता बन्द गरेर दिक्क मान्दै उनका प्रभुचरणमा बिन्तीबिसाए‚ “मृत्युदेव ! स्वामी ! अब म लगाएत सबै गणहरू हायलकायल भयौँ । केही गरिबक्सियोस् प्रभु ।”

यमराज सबैको कुराले त्रस्त साथसाथै अवाक हुँदै आफ्नो मृत्युपासो फ्याँक्दै कुर्ले‚ “अब यो अति भो मन्त्रीगणहरू । हामी आज नै देवादिगणहरूसँग मिलेर यो समस्याको समाधान निकाल्ने प्रयत्न गर्नेछौँ ।” यति भन्दै आफ्नो श्रीपेच पनि गद्दीमा फालेर आफ्ना स्वर्णवस्त्र सम्हाल्दै सभाबाट बाहिरिए । म बिचरो निरीह भएर त्यो दृष्य चुपचाप हेरिसकेपछि पुनः बाहिर निस्कन खोज्दै ढोका अगाडि के पुगेको थिएँ‚ सभाका अरू पालेहरूले मेरो कठालो समाइहाले । म बाघको पञ्जामा हरिण परेझैँ निरीह बनेर उनीहरूद्वारा लगारिएर मन्त्रीगणहरूको सामुन्ने मिल्काइएँ । चित्रगुप्तले मलाई देखेपछि लख काटी हालेछन् । उनले भने‚ “यो मनुवा मृत्युलोकको नेपालभन्ने देशबाट अल्पायुमै यहाँ आइपुग्यो । यसरी सबै अल्पायुमै आउन लागे हाम्रो नर्कपुरीले वृद्ध र दीर्घरोगीहरूको भण्डारण कसरी गर्ने ?” त्यसबेला भने म चित्रगुप्तको स्मृतिको फिदा नै भएँ किनकि धर्तीका अर्बौँ मानिसहरूको झुन्डमा पनि उनले मेरा बारेमा प्वाट्टै बोलिदिए ।

“मृत्युलोक कुन देशबाट आएको रे ?” एउटा मन्त्रीले सोध्यो ।

“बुद्धभूमि‚ धर्तीको शिर हिमालय पर्वत शृङ्खला रहेको भूमि नेपालबाट ।” मैले गर्वसाथ उत्तर दिए ।
“गौरवको नाममा उही भगवान् बुद्ध र ब्रह्मा रचित प्राकृतिक अभिमान त छ तिमी स्वाँठहरूसँग । आफ्नो कर्ममा गर्व गर्नलायक अरू केही भए पो ?” मलाई अपमानित गर्दै उसले केरकार गरिरह्यो । मैले जबाफ दिइरहेँ ।

“उमेर कति भो ?”

“२९ वर्ष ।”

“पढाइ लेखाइ के कति हो ?”

“डिग्री पास हुँ ।”

“काम के गर्थिस्रु”

“बेरोजगार थिएँ ।”

“देशलाई चाटुककारको झोलीमा सुम्पेपछि के काम पाउँथिस् त ?”

अर्कोचाहिँ मन्त्रीआफ्नो आसनबाटै कुर्लियो ‚ “मृत्युको कारण ?”

“कोरोना भाइरस ।”

सबैले मुखामुख गरे । अनि मन्त्रीहरूमा सबैभन्दा अनुभवि र वृद्ध देखिने नर्कमन्त्री उठेर बोल्यो ।

“ज्ञान यिनीहरूलाई । भौतिक सुख सुविधा यिनीहरूलाई । प्राकृतिक स्रोत यिनीहरूलाई । भविष्यको परिकल्पना गर्ने दिमाग पनि यिनीहरूलाई । परन्तु यिनीहरूको पापले भरिएको भड्किलो आत्मा हामीहरूलाई ?” उक्त मन्त्री मेरै सामुन्ने आएर झन् चर्को गरी धर्तीवासिलाई तथानाम भन्दै गए ‚ “स्वार्थ र अहङ्कारले युद्ध यिनीहरूले नै गर्छन्‚ लास हामीलाई । विज्ञानको नाममा विषालु रसायनका सौदागररु, सन्ताप हामीहरूलाई । अप्राकृतिक तरिकाले नाभिकीय होडबाजी गर्छन्‚ त्रास हामीलाई । जात‚ वर्ग‚ वर्ण र लिङ्गको आधारमा राजनीति गर्छन्‚ दुःखी आत्मा हामीलाई ।”

त्यही मौकामा कलाकक्षमा अहिलेसम्म चुप बसेकी एक सुन्दरीले चौका हान्दै थपिन्‚ “प्रकृतिको चक्रमा जिउने बेजुबान जनावरका संहारक यिनीहरू ! सृष्टिचक्रमा असन्तुलन ल्याउने घृणित कार्य यिनीहरूको ! अप्राकृतिक मांसाहारमा फस्ने पनि यिनीहरू ! सङ्क्रमणयुक्त र खतरनाक जीवाणुको उत्पादनमा हात यिनीहरूको‚ अनि दोषचाहिँ मुसा‚ चमेरा र अन्य जनावरहरूलाई ?”

सबैले म तिरै ङ्गगित गरेकोमा मलाई पनि भाउन्न छुट्यो । आफू मरीसकेको भए पनि देशको माया लाएर आयो र आपत्ति जनाय‚ “माननिय नरकजनहरू ! म त एक नेपालि हुँ त । आफै विकास गर्न पछि परेको मेरो देसले यि सबै हर्कत त गरेन होला नि ?”

सदनमा आफ्नो रत्नजटित टोपी ओल्टाइपल्टाइ गरी नियालिरहेको अर्कोमन्त्री झोक्कियो ‚ “हो ! हो ! तँ स्वाँठ नेपाली नै हो । तेरो लिँडे बुद्धिले दर्साइहाल्यो । आफ्नो हातमै भएको देशको भविष्य लेख्न नजानेर आफ्ना नेता गतिला चुन्न नसक्नेले पाउने दुःख भनेकै यही हो । आज तेरो इहलीला अन्तको कारक कोरोना होला तर वास्तविक कारण त आफैँ होस् । प्राकृतिक स्रात र सम्पदाले सुसज्जित बनाएर हाम्रा ब्रह्मादेवले सुम्पेको भू–स्थललाई रिङ्गाउने साँढेहरू जन्माउने तँजस्तै अशिक्षित साक्षरहरूले हो । मृत्युको व्यापार गर्ने शासकको पक्षपोषण गर्ने त जस्ताहरूको भाग्य त्यही चिहानघाट हो ।”

सभामा उपस्थित सबै गलल्ल हाँसे । म भने मरिसकेपछि पनि रातो मुख लगाउँदै पालेहरूद्वारा ढोकाबाहिर फ्यालिएँ । त्यतिबेला मलाई लाग्यो म वास्तवमा नै निम्छरो छु र मेरो देशका शासक पनि । अरूदेशका त काण्ड पनि ग्रान्ड हुन्छन् नि‚ हाम्रो त जहिल्यै शासकीय हास्यशृङ्खला ।

उता देवादिगणहरूसँग भलाकुसारीमा लागेका नर्कका राजा स्वर्गपुरी पुगेछन् । त्यहाँ पहिला नै विभिन्न देवादिगणहरूको जमघट रहेछ । शिव‚ ब्रह्मा‚ विष्णु‚ इन्द्र‚ बुद्ध‚ इत्यादि यता पूर्वी एसिया र दक्षिण एसियाका प्रतिनिधिहरू । अर्कातर्फ यसु ख्रिष्ट‚ अल्लाह‚ यहुदी देवगणहरू‚ लगाएतका मध्यपूर्वी‚ युरोप‚ अमेरिकी र स्कान्डभिएन क्षेत्रका प्रतिनिधि इष्ट देवहरू । त्यहाँ पनि हामी मुर्ख मानवहरूले भू(लोकमा गरेको ज्यादतीको टिप्पणी नै थियो । कुनै देवगणहरूको टिप्पणी थियो “हामीले सबथोक दिँदा पनि मानिसहरूको लोभको भकारीको पिँध पनि भरिएन । उनीहरू उल्टै हाम्रै नाममा हिंसा र हत्यामा उत्रिन्छन‚ कलङ्क हामीलाई लाग्छ । जल‚ जमिन‚ जङ्गल‚ र अन्य बहुमूल्य खनिज साथ साथै सूर्यदेवको अनुकम्पा रहँदा पनि त्यसैका लागि काटाकाट गर्छन् ।”

अरू देवहरूले भन्दारहेछन्‌‚ “पृथ्वीवासीहरूमा स्वत्व हरायो । जैविक र पर्यावरणीय चेत हरायो ।” स्वर्ग र नर्कपुरीमा समेत उनीहरूका जहाजको दुर्गन्ध र प्रदूषणले हाम्रो अमरत्वमाथि पनि धावा बोल्दै छ । ब्रह्माण्ड रहे पो हामी पनि रहौँला‚ नत्र त उनीहरूले आफूसँगैहामीलाई पनि नामेट पार्ने भए ।”

देवताहरूको बैठकमा ब्रह्मले आफ्नो सृष्टिमा मानिस रचना गर्नु नै अपराधबोध गर्दै मुख छोपेछन् । अर्कातर्फ ध्यानमै बसेका गौतम बुद्धलाई सबैले नियाल्दै थिए । प्रायः शान्त रहने उनी पनि मानव कुकर्म र खोक्रो राष्ट्रवादको कडा आलोचना गरेछन् । हेरक शताब्दीमा पृथ्वीमा फैलिने नयाँ नयाँ रोगव्याधि‚ मानवको अन्य प्रजातिमाथिको हिंसा र दमन‚ साथै विलासी र अप्राकृतिक जीवनशैलीले आफूले देखाएको मार्ग भुलेकोमा दुःख पोखेछन् ।

देवहरूका पनि देव‚ धर्तीका पालनहार शिवजी पनि नबोली बस्नै सकेनछन् र आफ्नो पीडा पोखेछन्‌‚ “मानवको अप्राकृतिक विकाशशैलीले मेरो वासस्थान कैलाश पर्वत नै नाङ्गो पत्थरमा कुरूप हुँदै छ । धर्तीको कुनै कुना बाँकी नराख्ने भए अराजक मनुवाहरू रु” उनले थप्दै बोलेछन्‌‚ “मानिसहरू कहिले खनिज र जमिनको मोहमा एकअर्कासँग लडे । सबैभन्दा बढी त शक्तिको होडबाजीमा भएको प्रथम र दोस्रो युद्धले नै धर्तीलाई हायलकाय पारे । अहिले धर्तीले उनीहरूलाई आफैँ सबक सिकाएकी छिन् ।”

सबै देवगणहरूको विचार विमर्शपछि नर्काधिपतिले बिन्तीबिसाए‚ “ आदरणीय प्रभुगणहरू १ नर्कपुरीमा त खुट्टा राख्नेसम्म ठाउँ छैन । मृतात्माहरूको उचित व्यवस्थापनको परामर्श दिइबक्सियोस् ।”

स्वर्गमा रातभरि यही कुरामा विमर्श चलेछ । सबै देवादिगणहरूले आ-आफ्नो राय राखेछन् । अन्ततः कुनै निवारण नभेट्याएपछि एक शाश्वत सत्यकै निर्क्यौलमा पुगेछन् । –“सृष्टि चक्रमा जीवनमृत्यु चलिरहन्छ । चराचर जगत्‌मा रहेका अनेकौ जीवजन्तुहरू यही चक्रमा बाँधिएका छन् । मानिसहरूलाई यो चेत हुन पनि जरुरी छ कि प्रकृति सधैँ तिनीहरूको पक्षमा नरहन सक्छिन् । प्रकृतिको दोहनको मूल्य भारी पर्छ भन्ने मर्म बुझ्नजरुरी छ ।” अन्तिममा विष्णुले भनेछन्‚ “यो पनि एक किसिमको धर्मयुद्ध नै हो । अन्याय र अत्याचारको प्रतिफल जहिले पनि नोक्सान ले नै चुकाउनुपर्छ । चाहे त्यो मानवले मानवमाथिको अत्याचार होस् वा त्यो जैविक चक्र र नियम माथिको दोहन नै किन नहोस् ।”

भोलिपल्ट मिर्मिरेमै नर्काधिपति आफ्नो पुष्पक विमानमा नर्कपुरी सवार भए । सभा आमन्त्रण गरेर इति वृतान्त सुनाउँदै मृत्युलोकबाट आयातित आत्माहरूको व्यवस्थापनको पनि चुरो फुस्काउँदै सुस्साए‚ “देवादिगणहरूको निर्णयार्थ भू(लोकबाट कालोबजारी‚ भ्रष्टचारी‚ व्यभिचारी र अत्याचारीहरूलाई मृत्युपाश फ्याँकी यमलोक झिकाइने छ र कडाभन्दा कडा यातना दिइने छ । परन्तु कोभिडलाई देवहरूले पनि रोक्न नसक्ने भएका कारण साधरणजनहरू जो यसको सिकार हुन्छन्उनीहरूलाई यमलोकमा उचित स्याहार सम्भारको प्रबन्ध गरिने छ ।”

केही क्षणमै कर्म अनुरूपको दण्डको मेन्यु निर्माण गर्नतिर मन्त्रीगणहरू लागे । जसमा कालोबजारी र भ्रष्टहरूलाई विषालु बिच्छीहरू छाडेर शरीरभरि टोकाउने । अत्याचारी र बलात्कारीहरूलाई तताएर रातो पारेर बिच्छ्याएका धारिला फलाममाथि खसालिदिने । गफाडी र भद्दा मजाक गर्ने तर सिन्को पनि नभाच्नेहरूलाई मुखभित्र तातो अलकत्राको लेदो खन्याइदिने आदि इत्यादि ।

म ढोकाबाट गल्हत्याइएको दुःखी आत्मालाई पुनः यमराज आएपछि सभाकक्षमा उपस्थित गराइयो । सभाहलमा टाँसेका दण्डका मेनुहरूले मेरो होस उडायो । पढ्दै जाँदा आफूले के गरेको र कस्तो सजाय भोग्ने हो भन्दै मनमा तर्कना गर्दै थिएँ । सिंहझैँ गर्जेर नर्काधिपतिले सोधे‚ “यही मनुवा हो नेपालबाट आएको रु” अनि चित्रगुप्ततर्फ फर्किँदै आदेश दिए‚ “चित्रगुप्त १ यो मनुवाको जन्मकुण्डली निकालिहाल ।”

चित्रगुप्तले मजाक गर्दै बिन्तीबिसाएँ‚ “स्वामी ! यो लालबुझक्कड र गैरजिम्मेवार नागरिक हो । चुनावको बेला दहीचिउरे हुने‚ आफ्नो मतको उनुचित प्रयोगगरी सर्कसका जोकरहरूजस्ता प्रतिनिधि चुन्न नहिच्किचाउने तर अघिपछि क्यै गरेनन् नेताले माहासङ्कटमा पर्दा भन्दै बिलौना गर्ने एक प्रतिगमनको गोटी हो ।” यमराजले आफ्ना पाखुरा झड्कार्दै आदेश दिए‚ “अब यसलाई बङ्गुर कोच्ने खोरमा हाल सैनिकगण ।” अनि थपे‚ “दण्डको मेनुमा यो पनि लेखेर थप्नु कि शिक्षित तर गैरजिम्मेवार‚ समाजलाई र राष्ट्रलाई सही दिशानिर्देश गर्न चुक्ने‚ जो कोही आए भने त्यही बङ्गुरको खोरमा बस्नेछन्‌‚ त्यही बङ्गुरको खान्की दिइने छ र त्यही बङ्गुरको मलमूत्रको गन्धमा जकडिनेछन् ।”