
“जाम् कोठामै ।” बाटोमा जम्काभेट भएको उसले केही बेरको भलाकुसारी पछि भन्यो ।
साँझ पर्न लागिसकेकोले पन्छिन खोजें ।
“जाम् न जाम् ।” उसले मेरो हातै तान्न थाल्यो ।
कति एकोहोरो लाग्छ यो मान्छे भनेपछि भन्यो भन्यो । म ऊसँगै हिंडें । हामी नरदेवी मन्दिरलाई दायाँ पारेर अगाडि बढ्यौं ।
मैले गिज्ज्याएँ, “जन्मकैद शुरू भयो, हैन !”
ऊ काउकुती लागेको मान्छेजस्तै मच्चिएर हाँस्यो । ऊ जोसँग बोल्दा पनि यसरी नै हाँसिरहन्छ । धेरै हाँस्दाहाँस्दै उसको गालामा चाउरी पर्न थालिसकेको छ । उसलाई ‘हाँसे’ भनेको त्यसै कहाँ हो र !
उसले भन्यो, “गोजी रित्तिन लागिसक्यो यार । कामको ठेगान छैन ।”
कामको ठेगान नै नभएको मान्छेले किन विवाह गर्ने त ? भनेर मैले केरिनँ ।
बरु साथ दिएँ, “एउटा माडेको पसलमा मान्छे चाहिएको छ रे ! बुझेर भन्छु नि ।”
मेरो कुरा सुनेर ऊ आसे बन्यो ।
केही अगाडि गएर गल्लीतर्फ मोडिएपछि उसको डेराघरमा पुगियो । पुरानो शैलीको घर । कम्पाउन्डको पर्खाललाई आड लाएर उभिएको असारेको रुख र कर्नरमा झुलिरहेको बैंसको बोटले आँगनको शोभा बढाएका थिए । काठको भर्याङ बजाउँदै हामी माथि उक्लियौं । हामीभन्दा माथि एक महिला झर्दै रहिछन् । हामीलाई नाघियो भनेर भगवान्को नाम लिँदै थिइन्, “विष्णु विष्णु विष्णु !”
कोठा पहिलो तलामा रहेछ । दुवैतिर झ्याल भएकाले उज्यालो । मलाई कोठा मन पर्यो । कोठामा एउटी युवती भुइँमा बसेर केही गर्दै थिइन् । उसले मलाई ऊनीसँग चिनायो, “मेरो साथी ललित ।” ऊनले नमस्ते भनिन् । मैले पनि नमस्कार गरें । उसले नभनेरै मैले चिनें, ऊनी उसकी दुलही हुन् । गोरो वर्णमा उज्यालो नीलो टिसर्ट र फुलबुट्टे लुंगीमा ऊनको सुन्दरता खुलेको थियो ।
उसले मलाई टुल दियो । आफू चाहिं खाटमै आसन ग्रहण गर्यो ।
मैले भनें, “घर, कोठा सबै राम्रो रहेछ ।”
“रोजेको हैन, खोज्दा यस्तै पाइयो । राम्रै छ ।,” उसले दुलहीतर्फ हेरेर आँखा झिम्क्याउँदै भन्यो, “छ हैन त सानु ?”
सानु ! उसले प्रेमले बोलाउने नाम हो कि नाम नै सानु हो मलाई थाहा छैन ।
दुलहीले हाँस्दै सतर्क गराइन्, “फेरि ऽऽऽ….!”
ऊनी चिया बनाउन लागिन् । अचम्म चाहिं के देख्न पाइयो भने ऊनले चिया कराहीमा बनाउँदै थिइन् । ऊ स्पष्टीकरण दिँदै थियो, “ताप्के किन्नै भुलिएछ यार । जाने भनेको त्यस्तै भइरा‘छ ।”
यार पनि कति भन्न सक्छ यो मान्छे । त्यसैले त ऊ मेरो लगौंटियार !
“चिनी लाग्ने गर है,” उसले मलाई देखाउँदै भन्यो, “उल्लाई गुलियो धेरै मन पर्छ के ।”
साथीकी श्रीमतीलाई भाउजू भन्ने चलन शिरोपर गर्दै मैले भनें, “हैनहैन भउजू ! ठिकै मात्र गर्दा हुन्छ ।”
ऊनले ठ्याँसठ्याँस पार्दै स्टोभमा दम दिइन् र सलाई कोरेर झ्याँस्स पारिन् । स्टोभ भररर बल्यो । यो स्टोभको आवाज त विक्रम टेम्पोको जस्तो पो आउने रहेछ । कोठै तानेर लैजाला जस्तो ।
कोठाको कुनामा ठूलो जेब्रा झोला भुँडीभरी केही भरेर गजधम्म बसिरहेको थियो भर्खरै ढ्याउ गरेको मान्छे जस्तै । सँगै हरियो रङमा पहेंलो बुट्टा भएको बाक्सा थियो । भित्ताको ह्याङ्गरमा लुगाहरू लट्किइरहेका थिए । लम्बाइको बीचतिर पर्ने गरी ऊनीहरूले भान्सा बनाएका थिए । भान्सा अर्थात् स्टोभ र भाँडाकुँडा राख्ने बाँसको गिद्राको एउटा र्याक । पानी राख्ने एउटा कालो ड्रम, एउटा नीलो बाल्टी र एउटा रातो मग अनि भुइँमा सिलौटो र सिलौटोमाथि एक्ले बाँदरजस्तै टक्रक्क बसिरहेको लोहोरो ।
उसले भित्तामा साप्ताहिक पत्रिकाका ब्लोअपहरू टाँगेको थियो । फोटामा सुन्दरीहरूका पिँडौला र वक्षस्थल लहलह फलिरहेका थिए । सोचें, ऊ आफ्नै दुलहीको नग्न फोटो बनाएर किन टाँग्दैन ?
उसले अप्ठ्यारो मान्दै भन्यो, “तिम्रो त खै के भयो है ।”
मेरो के त ? मैले आफैंसँग सोधें र मनमनै जवाफ दिएँ । ऊनीहरूसँग भावुक भइरहन मन लागेन । मैले सामान्य रूपमा लिएँ र भनें, “लेखान्त शायद !”
उसले सल्लाह दियो, “अब त अर्को विचार गर्नुपर्छ । धेरै ढिलो गर्नहुँदैन ।”
म अझै आफैंलाई जवाफ दिंदै थिएँ । केही बोलिनँ । केवल हेरें मात्र । पहिले उसलाई अनि दुलहीलाई । दुलहीले मलाई पुलुक्क हेरिन् र आँखालाई स्टोभमा पाकिरहेको चियातिर लगिन् । उसकी दुलहीलाई मेरो बारेमा थाहा छ कि छैन । एक्लो परेवा जस्तो मेरो जिन्दगी ऊनले पढ्न सकिन् कि सकिनन् ।
ऊनी स्टिलको दुइटा गिलासमा चिया लिएर आइन् । थाल नै रिकापी थियो । अर्को थालमा ऊनले पफ ल्याइदिइन् । टेबल थिएन । थाल खाटमै राखिदिइन् ।
उसले भन्यो, “खाजा त समोसा पो छ ।” ऊ पफलाई समोसा भन्थ्यो ।
खानभन्दा बढी फुटेर जाने हुनाले मलाई पफ उति मन पर्दैन । साथीको कोठामा नयाँ दुलहीले टक्य्राएको खाजा मन पर्दैन भनूँ कसरी !
चियाको तातो गिलास समातें । सेतो पो छ त चिया । आफैंसँग सोधें, “दूध चिया यस्तै हुन्छ ?” थाहा पाएँ, भाउजूलाई दूध चिया बनाउन आएन । ऊनले चियापत्ती थोरै हालिन् । मात्रा मिलाउन नजानेसम्म यस्तै हुन्छ । आफ्नै अनुभव मिल्न गएकाले यति सोच्न सकेको । तर केही पनि भनिनँ चित्त दुख्ला भनेर ।
मेरो चिया पफ उर्फ उसको चिया समोसा खाइसकियो । घाम डुबिसकेको सूचना झ्यालबाट पसिरहेको मधुरो उज्यालोले दिइसकेको थियो ।
मैले भनें, “निस्कनुपर्ला अब त । ढिलो हुन्छ ।”
लौ, यतै बस्नपर्छ भनेर ढिपी गर्न पो थाल्छ बा ! झन् यसो भन्छ, “सुकुटी छ के ।”
मलाई सुकुटी मन पर्छ भन्ने उसलाई थाहा छ । त्यसैले ऊ मलाई सुकुटीको लहरामा अल्झाउन चाहन्छ ।
उसले थप्यो, “याकको हो । फेरिफेरि पाइन्न ।”
“कसरी भेटायौ र ?”
“दाइहरूले मुस्ताङबाट ल्याको रे !”
मलाई एकातिर याकको सुकुटीले अल्झाउन खोजिरहेको थियो, अर्कोतिर मन भने अप्ठ्यारो मानिरहेको थियो । नयाँ दुलहादुलही बसेको कोठामा कसरी बस्नु ? दुवै जना एकमुख भएपछि मेरो के लाग्थ्यो ? बहुमतको कदर गर्नैपर्यो । सोचें— यो सहरमा यसरी खाम्, बसुम् भन्ने मेरो पनि को छ र ? लौ त नि जे पर्ला भनेर बस्न राजी भएँ ।
उसले दुलहीलाई अह्रायो, “लसुन, प्याज, टमाटर के के छैन हेर त ।”
दुलहीले भान्सामा हेरिन् । “लसुन छ । प्याज छैन, टमाटर इः एउटा ।” ऊनले एउटा गेडो टमाटर तीन औंलाले उठाएर देखाउँदै भनिन् ।
“के देखाइरा’ होला । जाऊ न जाऊ ।”
“हस् हजुर जो आज्ञा,” भनेर दुलही दङदङ भर्याङ बजाउँदै तल झरिन् । ऊनले हाँसेको मुख तल झरिसक्दा पनि बन्द भएको थिएन होला ।
यसो हेर्दा भाउजू अलि उत्ताउली जस्ती देखिन्थिन् । ऊनी खितखित खितखित हाँसिरहने रहिछन् । ऊनले राम्रो रचना मीठो नेपालीको ‘आँखा पनि झम्याकझिमिक गर्ने बैंस’ सम्झाइदिइन् ।
उसले हतपत झ्यालबाट ड्राइभरले जस्तै टाउको बाहिर निकाल्दै बोलाएर भन्यो, “ए सुन त, धनियाँ पनि एक मुठा है ।”
ऊ सुकुटी काट्न बस्यो । भन्दै थियो, “खाने त मासु हैन मसला हो यार ।”
मैले जिस्क्याएँ, “परेवाको सुकुटी छैन ?”
उसले एक दिन झ्यालबाट झुक्किएर कोठामा पसेको परेवालाई कब्जामा लिएर काटकुट पारेको थियो । त्यतिखेर म उसको रुमपार्टनर थिएँ । त्यही घटना सम्झाइदिएँ ।
मुख कुच्याउँदै भन्यो, “धत् । परेवा खान हुन्न । नाथ्री फुट्छ ।”
मैले दनक दिएँ, “चैतवैशाखको धूपमा खाएपछि फुट्दैन त !”
चक्कुले सुकुटी काट्न अप्ठेरो भइरहेको थियो । कन्दै उसले थप्यो, “एकपल्टमै अघा’को ।”
मैले केही भन्नै लाग्दा हातमा कालो पोलिथिनको पोको हल्लाउँदै दुलही आइपुगिन् । सुकुटी काटकुट पारेर ऊ उठ्यो र दाहिने हातको अर्धमुठीबाट कान्छी औला देखाउँदै भन्यो, “आइहालें है ।”
ऊ बाहिर निस्कियो । पाँचै मिनेटलाई किन नहोस् उसले मलाई उसकी दुलहीसँग एक्लै राखिदियो । मलाई उकुसमुकुस भयो । के गर्ने ? खाटमा सुतिरहेको एउटा पुरानो पत्रिका उठाएर पल्टाइरहें ।
ऊ ट्वाइलेटबाट फर्कियो र भन्यो, “ए कैलेको पत्रिका हेर्दै छौ ?”
मैले उसलाई नहेरीकनै भनें, “बासी पत्रिका ।”
उसले भन्यो, “तरकारी पकाउँदा भित्तामा तेलले च्यापच्याप लाग्ने भयो । टाँस्न ल्याको ।”
पत्रिका बासी भए पनि खबर ताजै थिए । माओवादी र सरकार बिचको भालेजुधाइ चर्किंदै गइरहेको थियो ।
“तिम्लाई चल्छ कि चल्दैन ?” उसले दाहिने हातको बूढी औंला र चोर औंलाको चिम्टा बनाउँदै आँखाअगाडि डेढ फुट जतिमा राखेर सोध्यो ।
मैले केही भन्न नपाउँदै उसैले थप्यो, “घरपाला हो । प्योर कोदोको ।”
मैले कुरा समातें, “यो नि दाइले पठाइदे’को ?”
“हैन । उतापट्टि कोठावालाले गाउँबाट ल्या’को रे !”
दुलही घरी दुलहाको मुखमा घरी मेरो मुखमा हेर्दै थिइन् । मैले हाँसूला जस्तो गरेर भनें, “चलाए चलिहाल्छ नि ।”
अब चाहिं ऊनले के सोचिन् होला ? रक्स्याहा ? हुन सक्थें यदि त्यो पीडामा रक्सीको शरण परेको भए ।
बेलुकाको योजना तयार भइसकेपछि उसले भन्यो, “जाम् एक फन्को लाएर आम् ।”
भोजन तयारीको जिम्मा भान्सा र दुलहीलाई छाडेर हामी हावा खान बाहिर निस्कियौं । हामी तल झर्दा गेटबाट एक जना अर्धबैंसे छिर्यो । उसको हातमा हार्नेस थियो र हार्नेसमा मैलोमैलो सेतो रङको एउटा डाँगो कुकुर थियो ।
हामी गेटबाहिर निस्कियौं । मुन्टो मास्तिर गरेर त्यो मान्छे घरबेटीलाई बोलाउँदै थियो ।
साथीले भन्यो, “यो मान्छे आज पनि आयो । त्यसको साँढेलाई हाम्रो घरभेटीको कुकुर्नीसँग लप पार्ने अरे ! खानेकुरा खानै छोड्यो अरे !”
कुरा सुनेर मेरो मुख हाँस्यो । त्यो मान्छेलाई एक चरण हेर्न मन लाग्यो । पछाडि फर्किएँ तर हामी त मोडिइसकेछौं । घर छेलिइसकेछ ।
“मेरो बूढी…”, एक्कासि ऊ रोकियो । हेर्दा ऊ सडकमा पसारिइसकेको थियो । केराको बोक्रामा चिप्लिएछ ।
ऊ लडेको दृश्य त्यस्तै थियो जस्तो पाहा पछारेको भनिन्छ । हाँसो थाम्नै सकिनँ । एउटा लड्दा अर्को नहाँस्नुपर्ने हो तर हाँसो फुत्किइहाल्यो ।
ऊ उठ्यो र धूलो टकटक्यायो । सोधें, “तिम्रो बूढी के त ?”
“ह्याँ बूढी औंलामा ढ्याब्रे मुसा आएर !” देखाउँदै भन्यो, “हेर न ।”
धत् ! केके न भन्न लागेको भनेको त मुसाको कुरा पो रहेछ । हिस्सिएँ ।
मैले उसको दाहिने हातको बूढी औँला हेरें । हो त । टाँकजत्रै रहेछ ।
“बूढीले मुसे भनेर हैरान पारिसकी के !” मसँग सल्लाह मागेको जस्तो सुनियो । मुसाको अनुभव गरिसकेको हुँदा भनिदिएँ, “क्यै गर्न पर्दैन । आफै ठीक हुन्छ ।”
हामी नरदेवी चोकमा पुग्यौं । सडक बत्तीहरू बलिसकेका थिए । पसलतिर पनि बत्ती बल्न थालिसकेका थिए ।
उसले खैनी निकालेर ओठको देब्रेतिर कोच्यो र जिब्रोले मिलायो अनि थुः थुः गर्यो । ओठ गर्भवती महिलाको पेटजस्तो पुटुस्स उक्सियो ।
उसले खाएको खैनी थैलीवाला चियाजस्तो थियो सेतो पोको । सोधें, “कस्तो खैनी हो यो ?”
“खैनी हैन चैनी हो । यै त छ प्रगति ।”
खैनी प्रगति भएर चैनी भइसकेछ । अब के चुरोट सप्रिएर सुरोट भइजाला ?
“तिमी त खाँदैनौ है,” उसले मतिर हेरेर भन्यो, “नखाएकै राम्रो । बूढीले मुख गनायो भन्छे ।”
मैले आफ्नो प्रगतिका बारेमा केही भनिनँ । बरु दुःखी भएँ— आफ्नो त मुख गनायो भन्ने मान्छे पनि कोही छैन ।
“ए भाइ ! भाइ !”
ऊसँगै म पनि आवाजतिर फर्किएँ । छेउको रासन पसलेले बोलाउँदै रहेछ । ऊ पसलतिर लाग्यो । म पनि पछि लागें । उधारोको कुरा रहेछ । साहूजी टाइमलाइन दिंदै थियो । ऊ अर्को महीनाको भाखा दिंदै थियो ।
म पसलबाहिर उभिएँ । जिन्स पाइन्टको फिफ्थ पकेटमा बूढी औंला छिराएर नजर दौडाउन थालें । मुन्टो ठाडो पारेर मन्दिरलाई एक चरण हेरें । मन्दिरको टुप्पीदेखि आसनसम्म हेरें । ढोकाअगाडि दुइटा सिंहहरू तैनाथ छन् । सेतो जीउ, रातो जगर भएका सिंहहरू मुकुट पहिरिएर पहरा दिँदैछन् । मुकुट सुन्तला रंगको छ । सिंहहरूले साङ्लाको माला लाएका छन् । सिंहको जोडी दम्पती हुनुपर्छ किनभने ती भालेपोथी छन् । सिंहको स्तन छातीमा किन कुँदेको होला ? चार कुनाका टुँडालहरूले आआफ्ना तोप प्रदर्शन गरिरहेका छन् । अन्य टुँडालमा देवीहरू मुण्डमाला पहिरिएर उभिएका छन् । तिनमा समय त्रासदी देखिन्छ । ती टाउकाहरू कसका होलान् ? मुटु ढक्क फुलेर आयो ।
पसलमा साथी र साहूजीको गलफती सकियो । ऊ आयो । हामी मन्दिरतिर टहल्न पुग्यौं । उसले भन्यो, “कमाइसमाइ छैन । दुईदुई जना कतिन्जेल बसेर खाने हो ? चामल साउले र्याखर्याखती पारेको सुन्यौ नि । यस्तै हो भने त बूढीले पनि छोड्छे होला है !” ऊ एक हल्को हाँस्यो । हाँस्न पनि कति रुखो हाँस्छ भने सुन्ने मान्छे नै तर्सिएला जस्तो ।
मन्दिरको छानोमुनि नाम्लोसहित खोकिलामा हात हालेर उभिएका दुई जना भरिया अब भारी नपाइने ठानेर आफ्नो गुँडतिर लम्किए । ठूलो बोरा बिछ्याएर एक जना सडकपुरुष चुरोटको ठुटो तानिरहेको थियो । चुरोटको बाँकी भाग झिलिली बनाउँदै अन्तिम सर्को तान्यो र त्यसलाई भुइँमा ठोसेर किचिमिची बनायो । अनि बोरा ढाडमा चढाएर आफ्नो बाटो लाग्यो ।
मन्दिरको दायाँतिर बिजुलीको पोलसँगै फलफूल पसल थियो । पसलको अगाडि काइँयोका काइँयो केरा फाँसीमा झुन्डिइरहेका थिए । पसलको अगाडि सडकपारि घरको आँगन सानो डबलीजस्तै देखिन्थ्यो । त्यहाँ मालावालहरू आफ्ना नाङ्ले पसल उठाउने सुरसार गर्दै थिए । पसलमा किनमेल गर्नेहरू, कामबाट फर्कनेहरू बाक्लिँदै थिए । साँगुरो चोकमा ट्याक्सी, पुन्टे ट्याम्पु, रिक्सा, साइकल अनि मोटरसाइकल र स्कुटरहरूको तँछाडमछाड र टाँटाँटींटीं । वातावरण नै कोलाहल जस्तो ।
खैनी खाएपछि साथी घरीघरी थुः थुः गरिरहेको थियो । मीठो भए किन थुः थुः गरिरहने होला ? मीठो नभए किन खाने होला ?
अब भने साँझ छिप्पिइसकेको छ । सबैतिर बत्ती बलिसकेका छन् । हामी मन्दिर परिसरबाट फर्कियौं ।
डेराघरको गेटमा आइपुगे पछि उसले खैनी फ्याँक्यो । खैनी फ्याँक्दा उसले ओठभित्र औंला हालेन । ओठ लेप्र्याएर मुखबाट खलाँतीले झैं स्याँ आवाज आउने गरी कडा हावा दियो र खैनीको पोको फुत्त उछिट्यायो ।
हामी गेटभित्र पस्यौं । बिजुलीले आँगन उज्यालो बनाएको थियो । घरबेटीको नाति हुनुपर्छ । ऊ कुखुराको एउटा प्वाँख चोर र बूढी औंलाको चिम्टीले च्यापेर आँगनमा हिंडिरहेको थियो । उसले भन्यो, “अंकल, इः कुख्लाको कपल ।”
कुखराको कपाल ? भित्रभित्रै हाँसें ।
साथीले प्रतिक्रिया जनायो, “यो केटोले हँसाउँछ । अस्ति नि जूनलाई देखाएर भन्दै थियो अंकल, उः बल । अझ के भन्छ सुन्छौ ? दिउँसो आँगनको ढुंगा तातो भएछ । भन्दै थियो, ढुंगालाई ज्वलो आ’छ । अनि अर्को के भन्छ ? बोतलको बिर्कोलाई त बत्तलको ढोका अरे । भयो त अब ।”
चन्द्रमाको बल, ढुंगाको ज्वरो, बोतलको ढोका । मैले नहाँसेर सुखै पाइनँ । खित्का मुखभित्रै किचिमिची पार्दा मेरो अनुहार रातो भएको थियो होला ।
सानो बाबुले मलाई सुनाएको छ कुख्लाको कपल । उसलाई के भनूँ ? जे त पर्ला, समर्थन गर्दै भनिदिएँ, “हो हो, कपाल हो ।”
घरबेटी बा आँगनको पेटीमा बसेर तमाखु तानिरहेका थिए । नाति केटो दगुर्दै गयो र भन्यो, “हजुबा, कुख्लाको कपल ।”
बाजेले एक चरण खोकेर असहमति जनाउँदै भनिदिए, “ढट् ! कुख्राको नि कहीँ नपाएर कपाल हुन्छ ! भुट्ला हो भुट्ला ।”
अब ऊ ‘भुट्ला भुट्ला’ भन्दै घुम्न थाल्यो ।
हामी फेरि भर्याङ बजाउँदै कोठामा उक्लियौं । भाततिहुन पाकिसकेको थियो । स्टोभ निभिसकेको भए पनि मट्टीतेलको गन्ध कताकति आइरहेको थियो ।
दुलही एउटा किताब पढेर बसिरहेकी थिइन् । हामी आएपछि ऊनले किताब बन्द गरिन् । मैले भनिहालें, “ओहो ! भउजू त खुब पढ्नुहुँदो रहेछ । उपन्यास जस्तो छ ।”
ऊनले सोधिन्, “तपाईं पनि उपन्यास पढ्नुहुन्छ ?”
“कहिलेकाहीँ पढ्छु । ‘पल्लो घरको झ्याल’ पढेको राम्रो लाग्यो । ‘सुम्निमा’ पनि राम्रो छ ।”
“मलाई त पल्लो घरवाला मन पर्यो । नामै राम्रो लाग्यो । कता पाइन्छ ?”
“भोटाहिटीतिर जानु न जति पनि पाइन्छ किताबहरू ।”
‘पल्लो घरको झ्याल’ देखाइहालें । मलाई अलि डर लाग्यो । केही जानी त्यो पल्लो घरको झ्यालवाला सुकुलगुन्डो उपन्यासमा जस्तै आइहाल्यो भने ! साथी काम खोज्दै छ । हुन सक्छ मैले भनेकै माडवारीको पसलमा काम पाउला । काममा जाँदा दिनभर हेराहेर भयो भने ! मन परापर भयो भने ! अनि एक दिन त्यही गुन्डोसँग भागिन् भने !
घडी हेरें । सात बजेर पैँतीस मिनेट गएछ । उसले सोध्यो, “कति बजेछ ?”
सजिलोका लागि पाँच मिनेट घटाएर भनें, “साढे सात ।”
“लौ लौ अब खाने ।” उसले मुख मिठ्यायो ।
दुलहीले एक मग पानी दिइन् । मैले भनें, “हात बाटामै धुनु र ? जाम धारामै ।”
ऊ मग भित्रै राखेर बाहिर निस्कियो । म उसको पछिपछि । धारा बायाँतिर कम्पाउन्डको भित्तामा जोडिएको थियो । पानी छ्यालब्याल नहोस् भनेर टुटीमा भुइँबाट एक हातजति माथि हुने गरी पाइपको टुक्रा जोडिएको थियो । साबुनको बट्टा छेउमै थियो । बट्टामा आधाउधी सकिएको नुहाउने साबुन र धेरैजसो बाँकी रहेको लुगा धुने साबुन थिए । लुगा धुने साबुनमा साबुनका टुक्राटाक्री पनि टाँसटुँस पारिएकाले भद्दा देखिएको थियो । उसले नुहाउने साबुन झिक्यो र मर्याकमुरुक पारेर हात धोयो । मलाई भने अरुले प्रयोग गरेको साबुन अलि घिन लाग्छ । अझ बढी त नुहाउने साबुन ।
घिन मानें, “नुहाउँदा कताकता दलेको होला । भात खाने हात धोयौ है । छिः !”
झन् के भन्छ सुन्नुहुन्छ ? केटीले नुहाको भए त चल्छ यार रे !
यो मान्छेलाई घिन भन्ने रत्ति लाग्दैन लाग्न पनि । मैले लुगा धुने साबुनले धोएँ । उसले फेरि धोएन ।
हात धोइवरि कोठामा गएर हामी बारीको पाटामा भतेर खान लाएको जस्तो गरी भुइँमा पलेँटी कसेर बस्यौं । दुलहीले पहिले थाल थालमा सुकुटी ल्याइदिइन् । भित्तामा झुन्ड्याइराखेको रुकस्याकबाट बिस्लरीको बोतल झिकिन् र गिलासमा खन्याइन् । एक गिलास उसलाई एक गिलास मलाई ।
मैले हाँसो गरें, “मिनरल हो ?”
दुलही हाँसिन् । उसले एक टुक्रा सुकुटी चपाउँदै गिलास हातमा लिएर मतिर उचाल्यो । उसले चियर्स गर्न खोजेको थियो । मैले पनि गिलास उठाएर मीत लाइदिएँ । ट्याक्क आवाज आयो ।
उसले एक घुट्की लायो र ‘आह !’ गरेर मुख बिगार्यो । मलाई मात्न डर लाग्छ । त्यसैले हतार नगरी सुकुटी चपाइरहें ।
हामी खाँदै गर्दा ऊनी ओछ्यानमा गएर हामीतिरै फर्केर गुडल्किइन् । फिलामेन्ट बल्ब भित्तामा बसेर हामीले खाएको हेरिरहेको थियो । बत्तीमा झ्यालबाट छिरेर आएको एउटा फुस्रो पुतली घुम्दै ठोक्किंदै गरिरहेको थियो ।
उसको गिलास भुइँमा थियो । यसो हेरें । आधी भइसकेछ । खालीमा मेरो भागको ‘प्योर’ स्वात्त खन्याइदिएँ । उसले ‘ए, ए, के गरेको !’ भन्दै हातले छेक्न खोज्यो तर मैले खन्याइसकेको थिएँ ।
भनें, “यसो साथ दिने मत्तै हो के ।”
“हत्तेरिका ! खान्छौ होला भनेको त ।”
ओछ्यानबाट दुलहीले समर्थन गरिन्, “खानू खानू छोरामान्छे भएर नि !”
ऊनीहरूले मलाई जति हौस्याए पनि म गलिनँ । उसले घुट्की लाइरहँदा म चिया पिए जसरी सुरुप्पसुरुप्प गर्दै थिएँ । बोतलको बाँकी उसले नै सिध्यायो । उसको क्षमता पनि गजबको छ । दुई थाल भात खाए पनि उसको भुँडी बाहिर उक्सिंदैन । रक्सी टन्नै पिए पनि ऊ देखिने गरी मात्दैन । यसो भनूँ ऊ मनमनै मात्छ ।
‘पिइ’ सकेर हामी ‘खाइ’तिर लाग्यौं । उसले पहिलेपहिले जस्तै औँलाको कापकाप तिहुनको झोल निस्कने गरी गिजिङगिजिङ पारेर मुछ्यो । मुखभरिको गाँस हाल्यो अनि आवाज आउने गरी निल्यो ।
दुलहीले भात देब्रे हातले भात खाने रहिछन् । अलि सिकसिक लाग्यो । कामसाम गर्नु त ठिकै हो खान चाहिं अलि मनले नमान्ने के ।
सुखको मानो लुँड्याइयो । सुत्ने तरखर भयो ।
कोठाको चौडाइतिर दुवै भित्तामा टाँसिएर दुईवटा खाट घोडाजस्तै उभिएका थिए । बीचमा मान्छे छिर्न मिल्ने खाली भाग थियो । एउटा खाट डबल थियो भने अर्को सिंगल । दुवै खाट सामान्य खालका थिए । सिंगल बेडवाला चाहिं अलि पुरानो थियो । उसले भन्यो, “यो चाहिं घरबेटीले त्यत्तिकै चलाउन दिएको ।”
ऊ र म डबल बेडमा भरियौं । दुलही अर्कोमा । मलाई कुनातिर सुत्न निसासिएको जस्तो हुन्छ र अत्यास लाग्छ । तर मैले छेउमा सुत्छु भन्न सकिनँ किनभने छेउबाट भाउजूको ओछ्यान नजिक पर्थ्यो । त्यसैले म कुनातिर परें । जिन्स पाइन्ट लाएरै सुत्न मलाई गाह्रो भइरहेको थियो ।
मलाई निदाउन समय लाग्छ । म उत्तानो परेर निद्रा बोलाउँदै थिएँ । म निदायो भन्ने ठानेर होला ऊ मुल्के बाँदर जस्तै खुस्लुक्क झरेर दुलहीतिर लस्कियो र नदीमा खोला मिसिएजस्तै मिसियो । म आश्चर्यचकित भएँ । एक छिन पनि छुट्टिन नसक्ने मेरा नातेदार आँखाअगाडि आए जो ससुराली जाँदा पनि श्रीमतीसँगै सुत्थे रे !
म र ऊनीहरु बीचको दूरी कति होला ? तीन फिट ? म घरीघरी ऊनीहरुको गतिविधि छड्के नजरले खिचिरहेको थिएँ ।
कोठाको चौडाइतर्फ सडकको भित्री गल्ली पर्थ्यो भने लम्बाइतर्फ घरकै आँगन थियो । दुवैतर्फ झ्याल भएकाले कोठामा हावाले कावा खान सक्थ्यो । जूनेली रातको मधुरो उज्यालो सीसा र पर्दा छेडेर कोठामा पसेको थियो । दुइटा झ्यालबाट छिरेको प्रकाशले कोठा झिसमिसे भएको थियो ।
आज जूनेली रात नभइदिएको भए ! झ्याल एकातिर मात्रै भइदिएको भए ! पर्दा अलि असली हालिदिएको भए ! जूनेली रातलाई के दोष । झ्याललाई के दोष । पर्दालाई के दोष । यसो पो भन्नुपर्छ— ऊसँग जम्काभेट नभइदिएको भए !
खाटमा काला छायाँहरू रात्री पुतलीजस्तै सक्रिय हुन थाले । बेस्सरी तर्सिंदा जस्तै मेरो शरीर जिरिङ्ग भयो । उज्यालो भएको भए नाडीका रौंहरू दुम्सीका काँडाजस्तै ठाडाठाडा भएको देख्ने थिएँ । गाउँघरका आमाहरूको बोलीमा भन्नुपर्दा दृश्य ‘जेन्जर’ थियो । उसको रेड एरियामा दुलहीले छापा मारिरहेकी थिइन् । ऊनका हत्केलाका पचभैया सेनाले एकसाथ हमला गरिरहेका थिए । ऊ उत्तानो परेको र छेउतिर भएको कारण मलाई धमिलै सही, दृश्य देख्ने सुविधा थियो । यस्तो लाग्दै थियो मानौं पृथ्वी उल्टो घुमिरहेको छ ।
मलाई ढाडमा बेस्सरी चिलायो । सहनै नसकेपछि बटारिएर कन्याएँ अनि ऊनीहरूतिरै फर्किएँ । यो मैले ऊनीहरूलाई दिएको ‘हल्ट’जस्तै थियो । हल्टले काम गर्यो । ऊनीहरू खासखुस कुरा गरे अनि भुइँमा झरे । उसले खाटमुनिबाट केही झिकेर भुइँमा ओछ्यायो । दुलहीले कम्मल लिएर गइन् ।
उपन्यासमा सुम्निमाकी छोरी र सोमदत्तको छोरो झैं प्रेममा एउटै डल्लो परेका ऊनीहरूको शरीरलाई कुनामा कम्मलले लुकाएर राखेको थियो । म उत्तानो परेको थिएँ त्यसैले गोडेनतिर भुइँको दृश्यपान गर्न सक्दिनथें । अब म केवल मनको लड्डु खान मात्र सक्थें । त्यहाँ उपन्यासमा जस्तो कोशीको मधुरो कलकल थिएन । एकदम सन्नाटा बीच ऊनीहरूको स्वासप्रश्वास पुशअप गर्ने रिकुटेको जस्तो सुनिएको थियो ।
अघि सम्मको हेर्ने कथा अब सुन्ने कथामा परिणत भइसकेको थियो । म कुनै कार्यक्रमको प्रमुख अतिथि जस्तै अन्त्यसम्मै धैर्यधारण गर्न विवश थिएँ । एक्लै यो ‘प्रत्यक्ष प्रसारण’ सुन्ने आँट नभएर मेरो मुटु भटकभटक गरिरहेको थियो । म ब्यारेकको सेन्ट्रीजस्तै सतर्क पोजिशनमा ओछ्यानमा उत्तानो परेको थिएँ; फिलिममा मरेको मान्छेजस्तै ढलिरहेको थिएँ ।
मुखमै आइसकेको मेरो निद्रा तित्राजस्तै भुरुरु उडेर गइगयो । आफ्नै निद्रा उडेको एकादेशको आवाजले म झस्किएँ । तर पनि म ऊनीहरूलाई ढुक्क बनाउन घुर्ने प्रयास गरिरहेको थिएँ । सुत्दा कहिल्यै नघुर्ने मान्छे आज घुरिरहेको थियो । कथाले पनि के के माग्छ के के !
प्रेम अर्थात् भ्रम । कम्मलभित्र प्रेम नामको भ्रम चलिरहेको थियो । मानव विकासको यस कालखण्डसम्म पनि यो भ्रम उस्तै छ । आस्तिकका लागि ईश्वरको लीला । नास्तिकका लागि के ? विज्ञान शायद । चाहे जे होस् म यसको साक्षी किनारा बसें ।
नवदम्पतीको कोठामा म आउनु भूल । त्यहीँ बास बस्नु महाभूल । मैले आफैंलाई लोपारें, “खुब ठूलो भाग खान आइस् ।”
शहरभरी चलचित्र आगो दन्किइरहेको थियो । मनमनै गुहार मागें : आगो लाग्यो कोठैमा दमकल बोलाइदेऊ । यतै आगो उतै आगो । मलाई हपहप गर्मी हुन थाल्यो । म वैदिक ऋषिमुनिहरू जस्तै मनकै बलमा उडेर गएँ र त्रिशूलीमा डुबुल्की लाएँ !
एक किसिमको असहजताले मलाई न्याकिरहेको थियो । कोठामा मनको पार्टेशन बनाएर लुक्न बल गरें । मनलाई मौन राख्ने कसरी ? झन् ध्यानको अभ्यास गर्दाजस्तो चल्न थाल्छ मन । झन् कुनै दिन रुमपार्टनरले कोठामा तरुनी खेती गरेको क्षण पो झलझली आँखाअगाडि आयो । सेतो टिसर्ट र स्टोन वास गरेको नीलो ह्वार्लाङ्गे जिन्स पाइन्ट लाएकी, केटाहरूको कोठामा आएर सुत्न सक्ने त्यो हिम्मतवाली तरुनी आँखामा नाचिरही ।
यो र त्यो दुवै रातलाई जोखतौल गरें । कुन कस्तो ? हात्ती छाप चप्पलकी आमा आएर कानमा खुसुक्क भनिदिइन्, “उस्तै उस्तै हो बाबु !”
म पनि सहमत भएँ । हो, उस्तै उस्तै हो ।
केही बेरपछि ऊ खुसुक्क आएर मसँग ओछ्यानमा पस्यो र फुसुक्क निदाइहाल्यो । दुलही पनि आफ्नो ओछ्यानमा आएर घुर्न थालिन् । घुराइ भने मैले बन्द गरिसकेको थिएँ । मलाई निद्रा टरेर साह्रै गाह्रो भयो । आँखा पीरो हुन्छ, हाईहाई आउँछ तर निद्रा पर्दैन । बल्लतल्ल निदाएछु । बिहान म उठ्दा ऊनीहरू उठिसकेका थिए ।
ऊनीहरू कसैले केही थाहै पाएन भने जसरी ढुक्क थिए । रातमा बाउआमाको लीला थाहा पाउने बालक जस्तै म पनि ज्ञानी बनें ।
स्टोभको ठ्याँसठ्याँसपछि भररर शुरू भयो । आगोको लप्कालाई चकटी बनाएर हिजोकै कराही मेरा लागि चिया पकाउँदै थियो । फेरि सेतो चिया ?
दुलहीले चिया टक्र्याइन् । आज कालो रहेछ । हिजोको भन्दा त यही ठिक छ । मनमनै भनें । चियाले पेट तातो बनाएर म त्यहाँबाट निस्किन लागें । साथी पनि मसँगै निस्कियो । भर्याङबाट ओर्लन लाग्दा मेरा आँखा सामुन्नेको पल्लो कोठामा पुगे । कोठाको ढोका खुलै थियो । एउटी महिला भुइँ सफा गर्दै थिई भने पुरुष ढोकातिर ढाड फर्काएर सुतेको थियो । त्यो मान्छेले सिरकमाथि दाहिने खुट्टा चढाएको थियो ।
म गेटबाट बाहिर निस्किएँ । ऊ पनि गेटबाहिर सम्म आयो । ऊ भन्दै थियो, “कहिलेकसो आउँदै गर न है ।”
‘भइहाल्छ नि’ भन्दै म हिँडें । मनले चाहिँ यसो भनें, “इस् आम्ला ! कात्तिकेहरू !”
म मन्दिरको दायाँतर्फ बाट अगाडि मोडिएँ । सडकमा, पसलहरूमा मान्छेहरूको चहलपहल शुरू भइसकेको थियो ।
मंसिरको महिना । जाडो शुरू हुन थालेको थियो । आसन्न पुस-माघको काठमाडौं सम्झेर अत्यास लाग्छ । मन चाँदनी शाहको कविताको पारिलो घाम खोज्न थाल्छ ।
सडकमा एक जोडी कुकुर दुईतिर फर्केर अल्झिइरहेका थिए । अर्को डाँगो कुकुर तिनीहरूलाई हेरेर के गरूँ कसो गरूँ भइरहेको थियो । धत् भन्दै फटाफट अघि बढें । उखानको बाह्र हाते पिँडालु घाँटीमा कोक्याउन थाल्यो ।
म क्षेत्रपाटीबाट धोबीचौर पुगें । चौरमा कपडा सुकाउन टाँगिएका लट्ठाहरूलाई दायाँतिर उभिएको पब्लिक युथ क्याम्पसले हेरिरहेको थियो । चौरमा कोही मर्निङ वाक गरिरहेका थिए कोही मर्निङ रन गरिरहेका थिए, कोही अगाडिको चौतारीमा मर्निङ सिट गरेर चुरोट तान्दै थिए । एक पुरुष चौरमै म्याट बिछ्याएर भुजंगासन गर्दै थियो ।
म डेरातिर लागें । कोठा खुलै देखेर म नराम्ररी झस्किएँ । ढोकाको ताला फोडिएको रहेछ । म आत्तिंदै भित्र पसें । कोठामा सामानहरू सबै असरल्ल थिए । गाडधन नै राखेको जस्तो सबै नै खोतलखातल गरेछ । बाक्सा पनि खुलै थियो । अलिअलि भएको पैसा, गहना सब लट्टीपट्टी पारेछ । ऊनका लागि ऋण गरेर बनाएको औंठी पनि थिएन ।
भुइँभरी चिठीका खामहरू छरिएका थिए । खाममा कुल्चिएको जुत्ताको डोब प्रस्ट देखिन्थ्यो । खामहरू जतनले टिपेर पुछपाछ गरी छातीमा टाँसें । मैले कति जतनले बाक्सामा राखेको थिएँ ऊनका हस्ताक्षरहरू । प्रियका यादहरूलाई निर्मम तरिकाले कुल्चिने ती पैतालाहरूलाई धारे हात लाउँदै सरापें ।
ऊनको फोटो पनि भुइँमा खसालिदिएछ । फोटोमा पनि जुत्ताको छाप थियो । हातको चक्र लाग्ला भनी हत्केलालाई फ्रेमजस्तै पारेर उठाएँ । फोटोमा लागेको फोहर प्रेमपूर्वक रुमालले पुछें । ऊनी झलझली आँखाअगाडि आएर उभिइन् । कानमा ऊनको मृदु आवाज गुन्जन लाग्यो ।
मैले ओठहरू आपसमा बेस्सरी थिचें । आँसुका डल्ला गालामा बित्ता नाप्दै चिउँडोबाट खसे । दाहिने हर्थुंगोले आँसु पुछें । एक मग पानीले मुख धोएँ र सिँगान निचोरें । छाती, मुटु, मन सबै सबै हुरहुरी जल्न थाले । यति पीडा त ऊनको परिवारले ऊनलाई मबाट चुँडेर लगेको दिन पनि भएको थिएन ।
मन विह्वल भयो । कोठामा बसिरहन मन लागेन । खाना बनाउन झनै मन लागेन । गह्रुँगो पाइला बोकेर बाहिर निस्कें । मलाई पाइलाहरूले लखरलखर लिएर हिंडें । एक खिल्ली शिखर चुरोटले मलाई धुवाँ बनेर साथ दिइरहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

