जसरी नेपाली साहित्यको बजार नेपालभित्र मात्र सीमित छैन, त्यसरी नै कृति प्रकाशन पनि मोफसलबाट पनि हुँदै आएका छन् । “साताका पुस्तक” त्यही मोफसलमा अलमलिरहेका कृति तथा स्रष्टाहरुलाई समेट्ने हेतुले सुरु गरेका हौँ । यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा साताका पुस्तकमा योपटक पाँच पुस्तक । ‘ब्वाँसा’को कथादेखि ‘चिबेचरा’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

१. आकाशगङ्गाको किनार – अजित उत्सव

कवि अजित उत्सवको कवितासङ्ग्रह हो “आकाशगङ्गाको किनार” । बीएन पुस्तक संसारले ल्याएको यो कवितासङ्ग्रहमा ५६ शीर्षकमा कविताहरु सङ्ग्रहित छन् ।

“अजितका कविताहरुभित्र सम्बन्ध छन् – असहज, सन्दिग्ध, मृदुल, विसङ्गत, वक्र, असमान, अचम्म अचम्ममा ।”, पुस्तकको भूमिकामा लेखक तथा समालोचक महेश पौड्याल लेख्छन्, “सम्बन्धलाई राजनीतिले छोएको छ । अविश्वासले छोएको छ । भ्रमहरुले छोपेको छ । राजनीतिले मान्छेभित्रबाट मान्छे हुनुको मूल्य निचोरेको छ र मान्छेलाई अरुको पछिपछि लाग्ने फगत भेडा बनाएर छोडेको छ ।”

कवितासङ्ग्रहको मूल्य नेपाली रुपियाँ २५० रहेको छ ।

२. महसुर ह्वाइटफ्याङ – ज्याक लण्डन

ज्याक लण्डनको उपन्यास हो, ‘महसुर ह्वाइटफ्याङ’ ।  उपन्यास नेपाली भाषामा प्रकाशमणि दाहालले अनुवाद गरेका हुन्। उनले यसभन्दा पहिला महान् जादुगर ओज (The Wizard of Oz) नेपाली भाषामा अनुवाद गरेका थिए।

ह्वाइटफ्याङ एउटा ब्वाँसाको कथा हो । यो कथा उन्नाइसौँ शताब्दीतिर क्यानडाको उत्तरपूर्वी युकोन क्षेत्रबाट सुरु भएर संयुक्त राज्य अमेरिकाको सनफ्रान्सिस्कोमा समाप्त हुन्छ । उपन्यासमा एउटा जङ्गली ब्वाँसाको छाउराले जन्मेका दिनदेखि अनेक हन्डर खाँदै प्राकृतिक र मानवीय जीवन व्यवहारबारे सिक्दै गएको कुरा प्रस्तुत छ।

उपन्यासमा प्रारम्भको अज्ञानी, निरीह, र रिसाह स्वाभावको ह्वाइटफ्याङ हुर्कँदै जाँदा संयमी, समझदार, इमान्दार हुन पुगेको वर्णन छ । उसको सिकाइमा जागरुकता, कहिल्यै नगल्ने आत्मविश्वास, गहिरो अवलोकन, स्थिति परीक्षण, निष्कर्ष, निर्णय, र सिकाइको निरन्तरता सम्पूर्ण मानिसका लागि प्रेरणादायी छन् ।उपन्यासमा लेखकले सिकाइका धेरै पाटाहरु केलाउने प्रयास गरेका छन्, जसमध्येको प्रमुख पाटो समाज हो । लेखकले जनावर र मानिस दुबैको सिकाइको प्रमुख आधार समाज हो भन्ने कुरालाई जोडदार रुपमा प्रस्तुत गरेका छन् ।

वी रिडले प्रकाशनमा ल्याएको यस उपन्यास पाठकहरुको लागि पठनीय र कल्पनाशील हुनुका साथै कुनै बिषयलाई हेर्ने पृथक् दृष्टिकोण प्रदान गर्नेछ । २८८ पृष्ठको “महसुर ह्वाइटफ्याङ” को मुल्य चार सय पचास रुपैँया रहेको छ।

३. चिबेचरो – केशव सिलवाल

केशव सिलवालको नवीनतम् कवितासङ्ग्रह हो ‘चिबेचरा’ । सिलवालले कवितामा गहनताका साथै सरल भाषा र सबैले बुझ्ने बिम्ब प्रयोग गरेर कवितालाई शक्तिशाली तुल्याएका छन् । उनका कविताहरूकाे प्रमुख विशेषता गहन विषयवस्तुकाे सरल र सरस प्रस्तुति हो ।  कवितासङ्ग्रहमा ५० शीर्षकका कविताहरूमा उत्पीडनमा परेका मान्छेहरूकाे कथा समेटिएकाे छ ।

प्रगतिशील लेखनसँग जोडिएका सिलवाल मार्क्सवादी आन्दोलनका क्रममा थुप्रै जनसांस्कृतिक संगठनमा जोडिएका थिए । उनी अखिल नेपाल लेखक संघका निवर्तमान अध्यक्ष तथा जनसांस्कृतिक महासङ्गका उपाध्यक्षसमेत हुन ।

चिबेचरा ल्याउनुअघि उनले २०६३ सालमा ‘वर्जित अवशेष’ र २०६६ सालमा ‘धारिला मानिसहरू’ कवितासंग्रह प्रकाशित गरेका थिए । त्यस्तै उनले दर्जनाैँ फुटकर कवितासमेत प्रकाशित गरेका छन् । त्यसक्रममा उनकाे ‘पोलिटिकल कविता’ पाठकमाझ चर्चित बनेकाे थियाे ।

यो सङ्ग्रह सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो ।

४. तिमीविनाको म – बसन्त चौधरी

बसन्त चौधरीको नवीनतम कवितासङ्ग्रह हो “तिमीविनाको म” । ८५ वटा कविता सङ्ग्रहित यस कवितासङ्ग्रहमा प्रत्येक कविताहरु नेपाली र अङ्ग्रेजी दुई भाषामा सङ्कलित छन् ।

बसन्त चौधरी सधैँ राष्ट्रिय तथा समाजिक समस्याको मूलभूत धरातललाई चुम्ने कोसिस गर्ने कवि हुन् । उनका कविताहरुमा वर्तमानका मान्छेहरुका दुःख–सुख, हासो, रोदन तथा प्रेमानुभूतिहरु गहन रुपमा प्रस्तुत भएका छन् । कवि पर्यावरणप्रति सचेत देखिन्छन् । प्रकृतिमाथि मानवको अविवेकी व्यवहार र अतिक्रमणबाट सिर्जना भइरहेको भयाभह अवस्थाप्रति चौधरी सचेत छन् । प्रेमिल परिवेशबाट प्राप्त हुने सद्भाव र ममताले मात्र हामी दीर्घजीवी बन्न सक्छौँ भन्ने सकरात्मकता बोकेको चौधरीकृत यो सङ्ग्रहका महत्वपूर्ण कृति बनेको छ ।

रमण घिमिरेको सम्पादनमा प्रकाशनमा आएको कृतिको मूल्य रु. ४९९ रहेको छ ।

५. जब महाकाली उर्लन्छ … – लक्ष्मण राजवंशी

 साहित्यकार लक्ष्मण राजवंशीको कथासङ्ग्रह हो “जब महाकाली उर्लन्छ …” । यो सङ्ग्रहमा अकस्मात्, नामर्द, जिउँदा मान्छे, संकल्प, आफैँभित्र हराएका युद्धवीर, अन्तहीन कथा, निःसासिएको बालक, त्यसै ग्रहण लाग्दैन, मृगतृष्णा, श्रीकृष्णलीला, लालमणि, अविश्वास, भ्रूणहत्या, शुभ संकेत, चक्रव्यूह भेदन, बाँच्ने विशिष्ठ कला, गोली टाउकोमा घाउ मुटुमा, सत्याग्रह, महाजाल, जिउँदो लास, अकल्पनीय संवाद गरी २२ वटा कथाहरु सङ्ग्रहित छन् ।

नेपाल भाषा अकेडेमीमा भाइस चान्सलर भएर काम गरिसकेका राजवंशी नेपालीसहित नेपाल (नेवारी) र अङ्ग्रेजी भाषामा समेत बराबर कलम चलाउने साहित्यकारमध्ये पर्दछन् । उनका नेपाल भाषामा १५, नेपाली भाषामा ८ र अङ्ग्रेजी भाषामा ६ वटा कृतिहरु प्रकाशित छन् ।