

मोहन सिंह साउद
खोज्छन् सबै सुख सुख भनी त्यो सुख कहाँ छ हेर
वर्तमानमै खुसी भई जिउने समय फाल्छौ किन खेर
त्याग रिस, राग, द्वेष, ईर्ष्या अनि घमण्डी हुने प्रवृत्ति
गर सहयोग मनमा पाप नबोकी लिएर निःस्वार्थ नीति ।
मरेर लानु केही छैन व्यर्थ गर्दछौ किन धन थुपार्ने लोभ
कमाउने तनावमा सधैँ बस्दछौ किन मनमा पाली रोग
खाली हात आयौ हेर जानेछौ त्यही खाली हात लिएर
यति कुरा बुझ्यौ भने रमाउनेछौ सुखी जीवन जिएर ।
कुविचार कहिलै नलेऊ हेर सबको भलो चिताउने गर
आफैँभित्र ईश्वरको वास छ अनि कसको पर्छौ र भर
पवित्र मनमन्दिर छ जहाँ मूर्तिमा ईश्वर पाइन्छ र कहाँ
जसको मनमा पाप हुँदैन भगवान्को वास हुन्छ त्यहाँ ।
मै खाऊँ मै लाऊँ भन्ने मानसिकताले तड्पी बाच्छौ कति
अरूको शोषण गरी आफैँ धनी बन्ने राख्छौ र किन मति
आफू बाँच अरूलाई बचाऊ त्यही हो पुण्य कमाउने मन्त्र
आचरण असल भएमा बाधा गराउनेछ र कुनै तन्त्र ?
सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 









