मोहन सिंह साउद

वर्षैभरि खेतबारीमा जोतिनुछ
मानो रोपी मुरी फलाउने सपना बोकी
अहोरात्र खटेर आफू बाँच्नुछ बचाउनुछ
परोपकारी अन्नदाता बनी
कहिले आकासे पानी कुर्नुछ
कहिले कुलाको पालो पर्खिनुछ
सिंचाइ गरी खेती लगाउन
कहिले बिउमल नपाउने पिर
कहिले रोपेको नउम्रिएला भन्ने पिर
कहिले किरा सलहले सखाप पार्ला भन्ने पिर
कहिले असिनाले लैजाला भन्ने पिर
कहिले बाढी पहिरोले बगाउला भन्ने पिर
कहिले फल्ला नफल्ला भन्ने पिर
पिरैपिरमा जिउनु छ किसानको जीन्दगी ।

देशमा शासन ब्यवस्था परिवर्तन भए
प्रधानमन्त्री मन्त्रीहरू परिवर्तन भए
शासक प्रशासकहरू परिवर्तन भए
शासकहरूका जीवनशैली परिवर्तन भए
तर किसानका दिनहरू
कहिलै परिवर्तन भएनन्
उनीहरूले त सिर्फ
झुटा आश्वानहरू पाइरहे
खोक्रा भाषणहरू सुनिरहे
इमान्दार किसान न परे
नेताले जे भन्यो पत्याइरहे
जहाँ भोट हाल भन्यो हालिरहे
तर किसानलाई हेर्ने कुनै सरकार आएन ।

किसानहरू कहिले शासकबाट ठगिए
कहिले दलालबाट ठगिए
कहिले ऋणी साहुबाट ठगिए
कहिले प्रकृतिबाट ठगिए
लाग्छ किसान त जताबाट नि
ठगिनुपर्ने वर्ग पो रहेछ ।

(सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी)