मलाई सहरमा महल बनाउनु छैन
मलाई बैङ्कमा पैसा थुपार्नु छैन
मलाई कारमा सयल गर्नु छैन
मलाई आलिसान जीवन जिउनु छैन
मलाई भ्रष्टाचार गरी कमाउनु छैन
मलाई विलासी भई रमाउनु छैन
मलाई कमिसनमा आँखा गाड्नु छैन
मलाई तस्करी चक्करमा फस्नु छैन
मलाई सेटिङ धन्दा वा छलकपट गर्नु छैन
बफादार बनी देशको सेवा गर्ने
म त एक मास्टर पो हुँ त ।
मलाई त सबैतिर ज्ञानको ज्योति छर्नु छ
ज्ञान र शिक्षाको दियो बस्ती-बस्तीमा बाल्नु छ
अन्धविश्वास कुरीति मानसपटलबाट हटाउनु छ
बालबालिकाको भविष्य उज्ज्वल बनाउनु छ
भविश्यका कर्णधारलाई जिम्मेवारी सुम्पिनु छ
शिक्षाको ज्योति बालेर सबैतिर उज्यालो पार्नु छ
कर्मशील उद्यमी नागरिक निर्माण गर्नु छ
नैतिकता र अनुशासनको पाठ सिकाउनु छ
कर्तव्य र राष्ट्रभक्तिभाव बोध गराउनु छ
नेपालआमाको सपुतरूपी सपथ खुवाउने
म त एक मास्टर पो हुँ त ।
मलाई मास्टर पेसा छोडी कहीँ कतै जानु छैन
म त बाटो न हुँ, हजारौँ बटुवाहरूलाई
बाटो देखाउँदै बटुवाहरू पर्खिरहन्छु
म त पुल न हुँ, कैयौँ नदी तर्नेहरूलाई
पारि तराएर नदीमाथि ठिङ्ग उभिरहन्छु
म त दियो न हुँ, अरूलाई उज्यालो दिएर
आफ्नो जीवनको ज्योति मलिन बनाउँदै जिइरहन्छु
म त एक स्थिर यात्री न हुँ, अरूलाई यात्रा
गराउँदा गराउँदै आफू यात्रा गर्नै भुलिदिन्छु
बाल मनसँगै रमाएर सिक्ने सिकाउने
म त एक मास्टर पो हुँ त ।
मलाई मास्टर पेसा नै कति प्यारो लाग्छ
मास्टर हुन जन्मिएकोमा आनन्द लाग्छ
मास्टर हुन पाएकोमा गौरव लाग्छ
बालबालिका र समाजको सेवक
आफ्नो पेसाप्रति गौरव गर्ने
सिक्न सिकाउन जन्मिएको
म त एक मास्टर पो हुँ त ।
सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।