शराब पीने दे मस्जिद में बैठ कर,
या वो जगह बता जहाँ खुदा नहीं ?
– मिर्जा गालिब

मस्जिद खुदाका घर है, पिने की जगह नहीं,
काफिर के दिल में जा, वहाँ पर खुदा नहीं ।
– अल्लमा इकवाल

काफिर के दिल से आया हुँ मैं ये देखकर,
खुदा मौजूद है वहाँ, पर उसे पता नहीं ।
– अहमद फराज

खुदा तो मौजूद दुनियाँ में हर जगह है,
तू जन्नत में जा वहाँ पीना मना नहीं ।
– वासी शाह

पीता हुँ गम–ए–दुनियाँ भुलाने के लिए,
जन्नत में कौन सा गम है ? वहाँ पीने में मजा नहीं ।
– सनम हाश्मी साकी

हम पितें है मजे के लिए, बेवजह बदनाम गम है ।
पूरी बोतल पी कर देखो, फिर दुनियाँ क्या जन्नत से कम है ?
– मीर तकी मीर

छोड दे ये प्याला सराबका गुलशन,
गम भुला दे ऐसी कोई सराब नही ।
– गुलशन

एउटै विषय प्रसङ्गको सेरोफेरोमा क्रमशः सात नामुद सायरहरू सम्झिँदै थिएँ, परबाट प्रार्थनाको आवाज आयो– अल्लाह हु अकबर … !

बीचमा नहर छ, उत्तर–दक्षिण । पश्चिमतिर लमतन्न बाँध छ, पूर्व पनि उस्तै सुनसान छ । बाँधमा निकै पर–परसम्म खुला लहलहाउँदो धानका बिरुवा बयेली खेल्दै छ । वातावरणमा चारैतिर खुदा गुन्जिरहेको छ ।

नहरको डिलमा बबुरको रुख तल सियालमा सायरी सम्झिँदै बसिरहेको म जुरुक्क उठेर केही ओरालो लागेँ । युरिक–एसिडको समस्याले गर्दा लामो समयसम्म पिसाब थेगिराख्न सक्दिनँ ।

थप पश्चिमतिर हेरेँ । कंशमडानका बाँकी रुखहरू देखिए । म जता फर्किंएर उभिएको थिएँ, त्यो कंशमडानभित्र सनातन लाटीमाइको थान छ । कंशमडानको सेरोफेरो सानोमा हाम्रो वनभोज गन्तव्यस्थल थियो ।

कक्षा ६ मा हुँदा स्कुले र गाउँले ठिटाहरू मिलेर वनभोज खान कंशमडान आएको सन्दर्भ म कहिल्यै बिर्सिन्नँ । खानेकुरा पाकिसकेको थियो । एक–दुई जनाले खान थालिसकेका पनि थिए ।

मसहित आधाभन्दा धेरै साथीहरू खान बाँकी थिए । अब खानुप¥यो भन्दै म थाल पखालेर उभिइरहेको थिएँ । त्यत्तिकैमा कुबेर आचार्य नामका साथी हुर्रिँदै आए र खोइ मलाई भात ? भन्दै सोझै गएर भातको भाँडामा हात हालेर खान थाले ।

‘ए, ए, ए के गरेको त्यस्तो ?’ भन्दै हामी हातमा समातेको ताल छोडेर कुबेरलाई समात्न लाग्यौँ । तर उनले त हाँप र झाँप गर्दै, मासु कहाँ छ भन्दै मासुको भाँडामा पनि जुठो हात हाले । हामी के भन्ने के गर्ने भयौँ । त्यस्तो सोझो साथीको यस्तो रौद्र रुप देखेर हामी विस्मितमात्र भएनौँ, डरले सातोपुत्लो गयो ।

कुबेर भने मासु जुठो हालेर ‘खोइ अब म थालमा खान्छु’ भन्दै साथीहरूले खाँदै गरेको थाल खोस्न दौडिए । ‘कुबेर त बहुलायो,’ भन्दै साथीहरूबीच भागदौड मच्चियो । त्यत्तिकैमा केही साथीहरू उनलाई समातेर घरतिर लागे ।

हाम्रो पेटमा मुसा कुदिरहेका थिए । चोखो तरकारी, अचार र चिउरा बाँकी थियो । तर हामीलाई खान मन लागेन । केही स्थानीयले लगे, बाँकी त्यहीँ पोखिदियौँ र भाँडाकुँडा समेट्नतिर लाग्यौँ । पिकनिक न सिकनिक भयो ।

हामी खानेकुरा फाल्नुपरेकोमा भन्दा पनि साथी बिरामी भएको (विचित्र हर्कत गरेको) मा चिन्तित थियौँ । उसलाई के भयो होला ? उसलाई ठिक होला कि नहोला । घरमा गएर के भन्ने होला ? यस्तै कुरा सोचेर हामी आफैँमा समेटिएका थियौँ ।

कुबेरले त्यस्तो बहुलाहा व्यवहार देखाउनुको कारणबारे चर्चा–परिचर्चा हुँदा केहीले भने उसले धतुरोको दाना चबाएछ, त्यसैले त्यस्तो भयो । केहीले भने ‘उसले लाटीमाईको थानतिर फर्किएर पिसाब फेरेको थियो, त्यही भएर लाटीमाईको छौँडा खनिएका हुन् ।’

खासमा कुबेरको त्यो दिनको रौद्र प्रस्तुतिको कारण के थियो ? मलाई अहिलेसम्म पनि थाहा छैन । धतुरोको दाना खाँदा कस्तो हुन्छ ? त्यो पनि थाहा छैन । खाने प्रयास गरेको पनि छैन । कुनै देउताको छौँडा खनिनुको अनुभव पनि थाहा छैन ।

धन्न घर आउन्जेल सम्ममा कुबेरको रौद्र रूप शान्त भइसकेको थियो । हामीले पिकनिकमा भागाभाग भएको कुरा अभिभावकहरूलाई बताएनौँ । उल्टै गाली खाइने डरले तैँ चुप, मै चुप भयौँ ।

त्यो दिनको कारणबारे कुबेरसँग सोध्दा ‘खोइ मलाई नै थाहा छैन, छोडिदेओ त्यो कुरा,’ भनेर टारे । हामी पनि जे हुनु भइसकेपछि अब कारण थाहा पाएर के गर्नु भन्ने सोचेर घटना बिर्सिनतिर लाग्यौँ । तर, त्यस्तो नसोचिएको उत्पात भएको घटना के बिर्सिनु ?

अल्लाह हु अकबरवाला प्रसङ्गमा फर्कौँ । लाटीमाईतिर फर्केर केटाहरूको भाषामा ऋतु परिवर्तन गर्न मन लागेन । अलिकति उत्तर फर्किएँ । अगाडि थियो त्यही मस्जिद, जसको प्रष्ट देखिएको माइकबाट उर्दू–फारसी भाषामा ‘ईश्वर महान् छन्,’ भन्दै प्रार्थनाको आवाज आइरहेको थियो ।

अलिकति एङ्गल मिलाएर थप उत्तर चापेँ । सम्झेँ, यतातिर मैले नदेखे पनि अलिपर रामधुनी छ । त्योभन्दा अलिपर औलिया बाबा र त्योभन्दा अझै पर बराह भगवान्को बास छ ।

यस्तो पृष्ठभूमिमा, बीच बाघमा उभिएर सोच्दा–सोच्दै म रनभुल्लमा परेँ । यता पनि मस्जिद, उता पनि मस्जिद । यता पनि मन्दिर, उता पनि मन्दिर । यता पनि गिर्जाघर, उता पनि गिर्जाघर । यता पनि गुम्बा, उता पनि गुम्बा । यता पनि गुरुद्वारा, उता पनि गुरुद्वारा । पूर्व–पश्चिम, उत्तर दक्षिण, आग्नेय–वायव्य, ईशान–नैऋत्य, आकास–पाताल जता फर्के पनि कतै न कतै, कुनै न कुनै देवालय हुनुपर्छ ।

सोचेँ– जब कण–कणमा भगवान् छन्, दसै दिशा ईश्वरका बासस्थान हुन् भने म कतातिर फर्किएर पिसाब फेरौँ ?

फन्टुस फिक्सनको ब्रान्ड न्यु इपिसोडका लागि प्रस्थान–बिन्दु यस्तो छ । कृपया यसमा म थोरै बहकिनसक्ने खतरा पनि छ । कृपया इच्छुक पात्रले समयमै सचेत गराउनुहोला भनेर केही दिनअघि सामाजिक सञ्जालमा लेखेको थिएँ ।

प्राप्त प्रतिक्रियामध्ये सरोज बरालको प्रतिक्रिया मननीय छ । उनले विषयको गम्भीरतालाई आत्सात गर्दै उही भाषमा सुझाएका छन् – ‘इधर खुदा है, उधर खुदा है । जहाँ भी जाउँ खुदा ही खुदा है । चारों तरफ खुदा है । … अबे देख के चल । गढ्ढे में गिर जाएगा !’

बाध शब्दको अर्थ त तपाईलाई थाहै छ । पर–परसम्म धानखेत भएको खुला फाँटलाइृ मधेसमा बाध भनिन्छ । तिनै धानखेत, बाध, साइफन, गाँजा, भाङ, धतुरो, ईश्वर आदि शब्दसँग जोडिएका अरू पनि अनेक अविस्मरणीय प्रसङ्गको नजिक छु म । सन्दर्भ मिलाएर सुनाउँदै जाउँला ।

म सबै हिन्दु सनातनीहरूसँग क्षमा चाहन्छु, त्यो दिन बीच बाधमा उभिएर वायव्य दिशातिर फर्किएर वराह भगवान् सम्झिएँ । विष्णु र बालक ध्रुवको प्रसङ्ग सम्झिएँ, जो कण–कणमा भगवान् विष्णु देख्छन् भन्ने मिथक प्रचलित छ ।

बालक ध्रुवसँगै सम्झिएँ मैले– भगवान् विष्णुका सहस्र अवतारमध्ये एक, बराह अवतार । त्यतिबेला मेरो नजिकै भएको मस्जिदमा प्रार्थना गर्ने विश्वासीहरू सुँगुरलाई छुनु पनि हुँदैन भन्ने ठान्छन्, हामी भने बराह अवतार भन्दै पूजा गर्छौँ । सम्झिँदा विचित्र र अनौठो लाग्छ विश्वासहरू पनि ।

मेरे मनमे है राम मेरे तन में है राम । यति भनिसकेपछि विश्वास र आस्था शब्दसँग जोडेर थप व्याख्या गर्नु समयको अपव्यय हुनसक्छ ।

एक दिन धरानबाट म र दिनेश पौडेल सर इटहरी फर्किँदै गर्दा पानीपियानेर आइपुगे पछि मलाई मोटरसाइकल हाँक्दाहाँक्दै निद्रा लाग्ला–लाग्ला जस्तो भयो । हामी बाटोछेउ धारा भएको ठाउँमा एकछिन बिसायौँ । मुख धुँदै फलैँचामा सुस्ताएर उताउति हेर्दै थिएँ, जताततै चिहानै–चिहान देखिए । कोही भर्खर बनाइएका, कोही काई परेका ।

एकाएक मनमा गजल फु¥यो – यता हे¥यो चिहान देख्छु, उता हे¥यो चिहान देख्छु । के भा’को यो बस्तीभित्र ज्युँदो एक्लो भगवान् देख्छु ।

यसबाहेक, तपाईलाई थाहा छ म लामो समयसम्म पिसाब च्यापिराख्न सक्दिनँ । त्यो दिन नहरको डिलमा उभिएर दसै दिक्पालका ईश्वरहरू र तिनका अनुयायीसँग क्षमा माग्दै न वायव्य न पिश्चम, बीचैमा ऋतु परिवर्तन गरेँ ।

यसबाहेक, हरेक शिवरात्रिका दिन पवित्र पाशुपत क्षेत्रमा गाँजाले लठ्ठ भएको ज्यान किरातेश्वरपछाडि भित्तामा अडेस लगाएर, कैलास डाँडातिर फर्केर पिसाब गर्दैगर्दा जुन आनन्द अनुभूत हुन्छ, त्यो अवर्णनीय छ ।