ढोकाबाट भित्र छिर्नासाथ मैले देखेँ– छविनाथ सरको आत्मा रोइरहेको थियो ।
‘बाबू तिमी पत्रकार मान्छे, यो कुराचाहिँ नलेख्नु है !’ उहाँले भन्नुभयो, ‘किनभने हामीले भोलि पनि यही समाजमा मिलेर बाँच्नु छ ।’
मैले इनरुवा छोड्नुअघि छविनाथ सरले मसँग कहिल्यै यस्ता कुरा गर्नुभएको थिएन । यसबीचमा, यो के परिस्थिति विकास भयो इनरुवामा कि आज सार्वजनिक ठाउँमा छविनाथको आत्मा रोइरहेको छ ?
त्यो बेला उहाँसँग प्रतिक्षण दैनिकको कार्यालयमा भेट भएको थियो । उहाँ प्रतिक्षण दैनिकका सल्लाहकारमध्ये एक हुनुहुन्छ ।
म इनरुवाको नगरप्रमुखमा राजन मेहता जिताउने अभियानको सरोफेरोमा थिएँ । उहाँ दक्षिणतिर टेबुलछेउ सोफामा बसिरहनुभएको थियो ।
मचाहिँ त्यसै पत्रिकाका सम्पादक इकवाल अहमदलाई खोज्दै त्यहाँ गएको थिएँ । किनकि प्रतिक्षण दैनिकमा एक दिनअघि मैले छाप्नुप¥यो भन्दै ‘मौन अवधिमा घोषणा–पत्रको प्रुफ रिडिङ’ शीर्षकको लेख दिएको थिएँ । तर छापिएन ।
मेरो लेख किन छापिएन ? त्यो लेख उनको पत्रिकामा छाप्न उनको विवेकले किन दिएन ? के कसैले उनलाई त्यो लेख नछाप्न भन्यो ? आखिर के परिस्थिति बन्यो र यो लेख इनरुवाको पत्रिकामा छापिएन ? म कारण जान्न चाहिरहेको थिएँ ।
लेख किन छापिएन ? के त्यो लेख छाप्दा इनरुवामा हाल कायम सामाजिक सद्भाव खल्बलिन सक्थ्यो ? कि त्यो लेखको अन्तर्य कुनै दल विशेषको हार वा जितसँग मात्र सीमित थियो ?
‘सरी दाइ ! यसपटकलाई यो लेख नछाप्ने निर्णय गरियो,’ इकवालले एक दिनअघि टेलिफोनमा मसँग भनेका थिए ।
आखिर त्यस्तो के कुरा थियो, मैले छाप्न दबाब दिँदा–दिँदै पनि इकवाल भाइले त्यो ले ख छाप्न चाहेनन् । उनले निर्णय गरियो भन्नुको अन्तर्यमा के थियो ? उनले एकल निर्णय गरे कि कोही सल्लाहकारसँग सल्लाह गरेर त्यस्तो निर्णय गरे ? यदि एकल निर्णय गरेका हुन् भने किन त्यस्तो निर्णय गरेका हुन् ? होइन यदि सामूहिक निर्णय गरेका हुन् भने अरूहरूले किन त्यो लेख रोक्न सल्लाह दिए ? यो निकै गम्भीर र जवाफ दिनैपर्ने प्रश्न हो भन्ने मेरो ठम्याइ थियो ।
मलाई मेरा हरेक प्रश्नको चित्ताबुझ्दो जवाफ चाहिन्छ । मनमा उठिरहेका प्रश्नको जवाफ खोज्दा–खोज्दै कहिलेकाहीँ म प्रायः निकै परसम्म पनि पुग्ने गर्छ । कुनै प्रश्नको खोजी त यो हदसम्म तन्किन्छ कि जहाँ पुगेपछि फर्किन प्रायः असजिलो हुने गर्छ ।
यहाँनेर एउटा निकै गम्भीर प्रश्न मेरा मनमा आएको छ । यो देशमा एउटा पत्रिकाको सम्पादकलाई यो कुरा छाप र यो कुरा नछाप भनेर उसका साथी, गुरु, मिडिया मालिक वा अरू कसैले दबाब दिन मिल्छ कि मिल्दैन ? मिल्दैन भने किन मिल्दैन ? र, मिल्छ भने के–के विषय वा शब्दमा दबाब दिन मिल्छ, के–केमा मिल्दैन ? कसैले भेटेरै भनिदेओस् मलाई ।
मेरो फेसबुक म्यासेन्जरमा इन–बक्स गरे पनि हुन्छ । विष्णुप्रसाद डट बिजी एट जिमेल डट कममा मेल अपेक्षित छ । मलाई ९८४२०२३२०५ मा फोन गरेर भन्न सक्नुहुन्छ । स्वतन्त्र कुनै लेख लेखेर मलाई ट्याग गरे पनि हुन्छ । मेरो ब्लग पनि छ, महाप्रभा, एउटा फरक साहित्यिक प्रस्तुति । युनिकोड वा अङ्ग्रेजीमा फन्टुस फिक्सन लेखेर गुगल सर्च गर्दा पनि म भेटिन्छु ।
यो सानो जानकारीपछि माथिकै प्रसङ्गमा फर्किऊँ । मैले त यतिसम्म भनेको थिएँ कि ‘भाइ यो लेख भोलिको तिम्रो पत्रिकामा जसरी भए पनि छापिनुप¥यो । यदि त्यसो गर्दा तिम्रो पत्रिकाको कुनै पानाको कुनै विज्ञापन हटाउनुपर्ने भयो भने त्यो विज्ञापनको पैसा म दिन्छु ।’ तर अहँ प्रतिक्षणमा छापिएन मेरो लेख ।
दोस्रो दिन मैले ‘नसोध्नु मेरो पहाड’ शीर्षकमा अर्को लेख लेखेँ । यो लेख पनि मैले प्रतिक्षण दैनिकमा छाप्न आग्रह गरेँ । यो पनि छापिएन । यो शीर्षकको लेख छापिँदा वा नछापिँदा के फरक पर्छ ? त्यसबारेमा म छुट्टै भन्नेछु ।
त्यो दिन इनरुवाका पत्रिकामा मेरो लेख नछापिने स्पष्ट भएपछि मैले यसको वर्ड कपि इनरुवाका मान्छेहरूलाई सुनाउँदै हिँड्न थाले । पहिले धिरज भट्टराईलाई सुनाएँ । त्यसपछि राजेन्द्र पोखरेललाई सुनाएँ । यही सेरोफेरोमा लेखिएका लेखहरू शशी कोइरालालाई पनि कुनै सुनाएँ, कुनै लिङ्क खोजेर पढ्न आग्रह गरेँ । तर अहँ, त्यति गर्दा पनि त्यो लेख इनरुवाका कुनै पत्रिकामा छापिन्छन् जस्तो प्रत्याभूति पाइनँ ।
तपाईहरूले पनि यी साथीहरूलाई भेटेर इनरुवामा हिजोआज सुविद गुरागाई के गर्दैछ ? के लेख्दै छ ? भनेर चर्चा गर्नुभएन कि कसो ! मलाई वर्णमाला दैनिकमा पनि यो लेख छापिन्छ जस्तो लागेन । शशी भाइको, राजेन्द्र भाइको अमर काफ्ले भाइको आँखामा त्यो प्रतिक्रिया देखिनँ ।
बीचमा शशी भाइले मलाई प्रश्न गरे, ‘सुविद गुरागाई पत्रकार हो ? शिक्षक हो ? काङ्ग्रेस हो ? कि के हो ? प्रिय भाइ शशी कोइरालाको मनमा यस्तै प्रश्न थियो त्यो बेला । इनरुवाबाट प्रकाशित हुने चर्चित मिडिया हाउसको मान्छेको मनमा यस्तो प्रश्न बसेपछि मन खङ्ग्रङ्ग भयो । अब, यसभन्दा उताका प्रसङ्ग सुनाउनुअघि तपाईलाई प्रष्ट भनिदिऊँ– म यतिबेला कुनै अखबारी आलेखमा रमाइरहेको छुइनँ । फन्टुस फिक्सनकै सेरोफेरोमा छु । आफूलाई नायक बनाएर आफ्नै कथा लेख्दै छु ।
साँझमा प्रमोद यादव भाइसँग भेट भयो । उनी प्रतिक्षण दैनिकमै काम गर्थे । प्रमोदले सुरुमै, दाइ यो लेखमा आचारसंहिता लाग्छ कि लाग्दैन भनेर सोधेका थिए । लाग्दैन भाइ लाग्दैन । यदि कसैले लाग्छ भन्छ भने पत्रकार महासङ्घका सभापति महेन्द्र बिष्ट मेरा साथी हुन् । म डिल गर्छु यो कुरामा भनेँ । तर अहँ लेख छापिएन ।
इनरुवाका पत्रिकाले छाप्न रुचि नदेखाएको त्यो लेख मैले कैलाश पञ्चारिया, कौशल भट्टराई, वीरेन्द्र केएम, पिएमणि भट्टराई, नवीन गड्तौलाहरूको पहुँचसम्म पु¥याए । कसैलाई पढेरै सुनाएँ, कसैलाई लिङ्क खोजेर पढ्न आग्रह गरेँ । साँझ फेरि रामदेवको पसलमा किशोर कोइराला, सन्तोष तिवारी, विष्णु भट्टराई, रामदेव साह लगायतलाई मैले ‘मौन अवधिमा घोषणापत्रको प्रुफ रिडिङ’ र ‘नसोध्नु मेरो पहाड’ शीर्षकका दुईवटै लेखहरू सुनाएँ । लेख सुनेर रामदेव भाइ डराए । उनले ‘नसोध्नु मेरो पहाड’ शीर्षकमा परेको ‘रामदेवको चिया दोकानमा चिया खाँदै,’ भन्ने पदावलीबाट ‘रामदेव’ शब्द हटाउन आग्रह गरे । तर मैले मानिनँ । कठै ! मेरो इनरुवा । रामदेव भाइ डराइडराइ चिया दोकान गरिरहेका छन् मेरो माटोमा । कसले सिर्जना ग¥यो यो परिस्थिति ? मेरो लेखले कि यहाँ हामीले रोपेको, हुर्काइरहेको वातावरणले ?
‘मौन अवधिमा घोषणापत्रको प्रुफ रिडिङ’ शीर्षकको लेखमा एमाले इनरुवा नगर कमिटिले निकालेको चुनावी घोषणा–पत्रका कुरा, त्यो लेख्न वा लेख्न लगाउने मान्छेको सोच र इनरुवाबासीको सरोकारको विषय उठाएको थिएँ । तर लेख छापिएन । इनरुवाका नेटको सहज पहुँच नभएका जनताले समयमै त्यो सूचना थाहा पाएनन्, जुन म धेरैभन्दा धेरै इनरुवाबासीले चाँडोभन्दा चाँडो थाहा पाउन् भन्ने सोचिरहेको थिएँ । यसरी इनरुवाका धेरै जनताको चाँडो सूचना पाउने अधिकारलाई प्रभावित पार्ने यो घटनालाई त्योसँग जोडिएका सरोकारवालाहरूले कसरी लिनुपर्ने हो ? कृपया कसैले मलाई यो पनि भनिदेओस् ।
यहाँनेर एउटा अर्को कुरा पनि छ । म जसरी लेख्दै, मान्छेलाई सुनाउँदै, प्रतिक्रिया लिँदै, करेक्सन गर्दै हिँडिरहेको छु । एउटा लेखकले, एउटा पत्रकारले वा परिवर्तन चाहने जो कोहीले यस्तो गर्न मिल्छ कि मिल्दैन ? म खुला बहसमा उत्रिएको छु ।
विचरा प्रमोद भाइ यो मामलामा भने उनी निकै इमानदार देखिए । ‘दाइ मैले त छाप्न खोजेको थिएँ तर सकिनँ । मैले जागिर बचाउनु पर्ने भो दाइ,’ उनको प्रतिक्रिया थियो ।
कठै ! एउटा पत्रकारले आफूलाई छाप्न मन लागेको कुरा आफ्नो पत्रिकामा छाप्न पाउँदैन । र पनि नागरिक समाज केही थाहा नपाए जस्तो गरिरहेको छ । एउटा पत्रकारलाई जागिर बचाउँछस् भने बचा नभए जा भन्छ कुनै मिडिया हाउस सञ्चालकले ? यदि भन्छ भने हामीले आफ्नो माटोमा कस्तो खालको पत्रकारिताको अभ्यास हुर्काइरहेका छौँ ?
के यही हो मेरो माटोमा मैले रोप्न चाहेको पत्रकारिताको बिरुवा र त्यसको परिणाम ? अहँ, होइन । कसैगरी म रोक्न चाहन्छु उल्टो गतिलाई ।
‘मौन अवधिमा घोषणापत्रको प्रुफ रिडिङ’ थाहा खबर डट कम र पूर्वी बजार दैनिकमा अक्षरशः छापिएको छ । तपाई हेर्न, पढ्न चाहनुहुन्छ भने लग इन गर्न सक्नुहुन्छ ।
बङ्गलादेशको एउटा ब्लगरलाई मन नपराउनेहरूले लेख्दालेख्दै मारि नै दिए भन्ने सुनेको छु । मलाई पनि त्यसरी नै मार्छन् होला एकदिन । त्यतिबेला मेरो मनमा त्यस्तै भय उत्पन्न भइरहेको थियो ।
यहाँनेर म मलाई मार्न चाहनेहरूलाई भन्न चाहन्छु, तिमीहरू जो, ‘अब अति भइसक्यो, अब सुविद गुरागाईलाई नमारे त हामीहरू चैनले सुत्न पनि नपाउने रहेछौँ,’ जस्तो लागिरहेको छ भने ठिकै छ, मार मलाई । तर याद राख मेरो विचारलाई तिमीहरूले कहिल्यै मार्न सक्तैनौ ।
हैट्, भन्दा–भन्दै निकै भावुक र चुनौतीपूर्ण कुरा भनियो । तर जुन दिन म शम्भु घिमिरे हत्या–काण्डको रहस्य उधिन्दा–उधिन्दै निकै नजिक पुगेको इनरुवालाई आभास हुनेछ, दासढुङ्गा काण्डका साक्षी अमर लामाजस्तै म पनि हठात् मारिनसक्छु । यस विषयमा म अहिले यतिमात्रै भन्छु ।
त्यो दिन छविनाथ सरसँग मैले इनरुवा छोड्दा इनरुवालाई भएको घाटाका बारेमा केहीबेर कुरा भयो ।
‘छविनाथ सर अब म फेरि इनरुवा फर्किन चाहन्छु,’ कुराकानीको बीचमा मैले भनेँ, ‘इनरुवा फर्केर सुनसरी प्रावि स्थापना गर्न र जयन्त सरको सालिक बनाउन चाहन्छु !’
तपाईलाई यहाँ स्मरण गराइदिऊँ– यो कुरा मैले इनरुवाका धेरै जनासँग भनेको छु । राजन मेहताको चुनावी घोषणा–पत्रमा पनि सुनसरी प्राविको जीवन एउटा आशाको रूपमा जीवित छ ।
सुनसरी प्राविका तत्कालीन प्रधानाध्यापक जयन्त भट्टराई सरको नाम सुन्नेबित्तिकै छविनाथ सरका आँखा रसाइहाले ।
उहाँ केही बोल्न सक्नुभएन । एकछिनअघिसम्म पत्रकारका रूपमा प्रस्तुत मेरो मन पनि एकाएक शिक्षकमा रूपान्तर हुन खोज्दै थियो । छविनाथ सर भावुक भएको देखेर कवि मन जुर्मुराउन खोज्यो । मैले त्यो परिस्थितिमा आफूलाई उभ्याइरहन सकिनँ र सरक्क बाहिर निस्किएँ ।
सिँढीमा ओर्लिँदै गर्दा सोचेँ– आउने त भनेँ तर आउने कसरी ? बाटो अझै पनि खोज्दै नै छु । यदि समाउने हात सही भेट्टाएँ भने म इनरुवा फेरि आइपुगुँला । गलत हातमा परेँ भने बीच बाटैमा कतै हराउन पनि सक्छु ।
‘म आए पनि नआए पनि, जे भए पनि तपाई नरुनु छविनाथ सर, आँसु पुछ्नु,’ मैले मनमनै भनेँ, ‘किनभने इनरुवामा तपाईजस्तै म पनि रोएको छु धेरै पल्ट । तर अब हामी रुने होइन । दाजु–भाइ मिलेर आफ्नो माटोमा हाँसो, खुसी, सुख र समृद्धिको रुख उमार्नुपर्छ ।’
छविनाथ सरले त्यो बेला ‘बाबू यो कुराचाहिँ नलेख्नु है,’ भन्दै मसँग केही कुरा गर्नुभएको थियो, जुन कुरा हाललाई अफ द रेकर्डमा राखौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।