
पानीलाई छोडिदिनु थियो
अलिकति तिर्खा
बतासलाई बाँडिदिनु थियो
अलिकति शीतल
ढुंगालाई दिनु थियो अलिकति वजन
धर्तीलाई अलिकति माटो ।
संकटमा परेको साथलाई
अलिकति साथ
अभरमा परेको बेला
सेवा गर्ने हात
हातलाई अलिकति हात दिनु थियो ।

सुरेन्द्र देवकोटा
प्रेमलाई छोइदिनु थियो
प्रेमिल स्पर्श
बिर्सिएर
सबै सबै बिर्सिएर
हत्केलामा पत्थरको मुटु बोकेर
कहाँ हिँडिरहेको हो यो
अहंकारको जुलुस?
पिएर वैषम्य विष
किन मात्तिएको हो
यो हत्यारा सोच ?
उभ्याएर बाटाभरि
अदेख तगाराहरु
दिन दहाडै यसरी
किन सल्बलाई रहेका
अँध्याराका ख्याकहरु
खाली खाली आएका
यी हातहरूलाई
यो ब्रह्माण्ड नै बोकाएर
कुल्चिएर भुईँ फूलहरु
हतारलाई पनि हतार हुने गरी
कता हिँडिरहेको हो यो लस्कर ?
© गोरखा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 






