पानीलाई छोडिदिनु थियो
अलिकति तिर्खा

वतासलाई बाँडिदिनु थियो
अलिकति शीतल

ढुंगालाई दिनु थियो अलिकति वजन
धर्तीलाई अलिकति माटो ।

संकटमा परेको साथलाई
अलिकति साथ

अभरमा परेको बेला
सेवा गर्ने हात
हातलाई अलिकति हात दिनु थियो ।

प्रेमलाई छोइदिनु थियो
प्रेमिल स्पर्श ।

बिर्सिएर
सबै सबै बिर्सिएर
हत्केलामा पत्थरको मुटु बोकेर
कहाँ हिँडिरहेको हो यो
अहंकारको जुलुस ?

पिएर बैषम्य बिष
किन मातिएको हो
यो हत्यारा सोच ?

उभ्याएर बाटाभरि
अदेख तगाराहरू
दिन दहाडै यसरी
किन सल्बलाई रहेका
अँध्याराका ख्याकहरू

खाली खाली आएका
यि हातहरूलाई
यो व्रम्हाण्ड नै बोकाएर
कुल्चिएर भूईँ फूलहरू
हतारलाई पनि हतार हुने गरी
कता हिडिरहेको हो यो लस्कर ?