आशाका एक एक दाना टिपेर
जम्मा गर्नु छ मनको विशाल भकारीमा
सङ्घर्षका थोपा थोपा बूँद सँगालेर
भर्नु छ सपनाका अनगिन्ती घैलाहरू ।

मुस्कान फुलाउनै पर्छ मैले
लोलाएका ती ओठहरूमा
मल्हम लगाइदिनु छ घाउहरूमा
जो खिल बिझेको हृदय लिएर बाँचेका छन् ।

सम्भावनाका चारा हाल्दै
विचारका भोकालाई सुविचार ख्वाउनु छ
गन्तव्य तय गरेर यात्रामा हराइरहेकालाई
पढाउनु छ सङ्घर्ष र सफल यात्राका कथाहरू
र पुर्‍याइदिनु छ शिखरको चुचुरोमा ।

अँध्यारिएका मनहरूमा
झल्मलाउनु छ आशाका दीप
फक्राउनु छ मुस्कानका थुङ्गाहरू
र सघाउनु छ जगतमा वासना छर्न ।

खोइ देऊ तिम्रा हातहरू
हातेमालो गरौँ प्रगतिपथमा
कसिलो समाऊ बोट चढेको लहरो जस्तो
म तिम्रो मार्गदर्शक बन्न सकूँ ।