काठमाडौं  । सुदूरपश्चिमाञ्चल साहित्य समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभिन्न सातवटा प्रतिष्ठित पुरस्कार तथा सम्मानहरूका लागि यस वर्षका स्रष्टाहरूको नाम सार्वजनिक गरेको छ ।

समाजको तर्फबाट वर्ष २०८२ का लागि प्रदान गरिने पुरस्कारहरूको निर्णय पुरस्कार छनोट समितिको बैठकले सर्वसम्मत रूपमा गरेको हो । बैठकले साहित्यका विभिन्न विधा तथा वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएकाे सात जना स्रष्टाहरूलाई नगद राशिसहित सम्मान गर्ने निर्णय गरेको जनाएको छ ।

समितिको निर्णयअनुसार यस वर्षको ५० हजार १ रुपैयाँ राशिको ‘बद्री–कृष्णा वाङ्मय पुरस्कार’ काठमाडौं निवासी स्रष्टा जगमान गुरुङलाई प्रदान गरिने भएको छ । त्यसैगरी ५० हजार १ रुपैयाँकै ‘प्रभास राज्यलक्ष्मी कृति पुरस्कार’ दैलेखका स्रष्टा ओम रिजाललाई उहाँको चर्चित कृति ‘पैँकेलो’ उपन्यासका लागि प्रदान गरिनेछ ।

२५ हजार १ रुपैयाँ राशिको ‘सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार’ डडेल्धुराका स्रष्टा कैलाश पाण्डेयलाई प्रदान गरिनेछ भने सोही बराबरको राशि रहेको ‘श्रीलोचन साहित्य पुरस्कार’ हाल कैलाली निवासी स्रष्टा पुष्पराज पाण्डेयलाई अर्पण गरिनेछ ।

यसैगरी २५ हजार १ रुपैयाँ राशिको ‘विष्णुदास–यज्ञ साहित्य पुरस्कार’ डोटीका स्रष्टा पूर्णानन्द ओझा तथा ‘गणेश स्मृति हेमन्ती पुरस्कार’ बाँकेकी स्रष्टा ऋचा लुइँटेललाई प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै ११ हजार १ रुपैयाँ राशिको ‘प्रतिभाश्री सम्मान’ कैलालीकी स्रष्टा हिमांशी भट्टलाई प्रदान गरिने भएको छ ।

लामो समयदेखि भाषा, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय सुदूरपश्चिमाञ्चल साहित्य समाजले हरेक वर्ष यी पुरस्कारहरू प्रदान गर्दै आइरहेको छ । समाजले सिफारिस गरिएका स्रष्टाहरूलाई छिट्टै विशेष समारोह आयोजना गरी पुरस्कार तथा सम्मानपत्र प्रदान गरिने जनाएको छ ।