दाङमा कवि घनश्याम अस्तित्वको नवीनतम् कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङद्वारा आयोजित उक्त कार्यक्रम परिषद्को नियमित १ सय ९९ औँ शृङ्खला अन्तर्गत पत्रकार महासङ्घ दाङको सभाहलमा सम्पन्न भएको हो ।

परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल प्रमुख अतिथि तथा नेपाल संस्कृत विश्वविद्यालयका डा. टीकाराम उदासी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

समीक्षकद्वय यज्ञबहादुर डाँगी र प्रमोद धितालले वि.सं. २०८० मा प्रकाशित कृतिभित्रका ६६ कवितामाथि विश्लेषण प्रस्तुत गर्दै कवि अस्तित्वका रचनाहरू वैचारिक र कलात्मक दृष्टिले सशक्त रहेको धारणा राख्नुभयो । उहाँहरूका अनुसार कृतिले समकालीन समाजका विसङ्गति र स्वार्थी प्रवृत्तिमाथि कडा प्रहार गर्दै भुइँमान्छेका आवाजलाई प्रभावकारी रूपमा उठाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि खनाल, विशिष्ट अतिथि उदासी तथा साहित्यकार दीपक शर्मा ‘समीर’ लगायतले कृतिले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै कविको सामाजिक प्रतिबद्धता र लेखनको इमानदारिताको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष सुरेश कुमार पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो । समापनका क्रममा अध्यक्ष रेग्मीले यस्ता समीक्षात्मक कार्यक्रमहरूले सर्जकलाई थप निखार्ने र साहित्यिक बहसलाई समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।

समकालीन यथार्थलाई सशक्त ढंगले प्रस्तुत गर्ने यो कृतिले पाठकमाझ गहिरो प्रभाव छोड्ने अपेक्षा गरिएको छ ।