मान्छेले सबै कुरा सहन्छ, तर जब उसको आत्मसम्मानमा डोजर चल्छ, तब ऊ केवल एउटा लास बन्छ ।
===
खण्ड-१
बस्तीको आकाशमा झुण्डिएका रङ्गीचङ्गी झण्डाहरू उत्सवका प्रतीक थिएनन्, ती त गरीबको लाचारी छोप्न टाँगिएका टाला थिए । हर्कमानले आफ्नो झुप्रोको ढोकामा उभिएर हेर्यो-धुलो उडाउँदै चिल्ला गाडीहरू सुकुम्बासी बस्तीको साँघुरो गल्लीभित्र पसे, जसरी कुनै भोको सिकारी शान्त तलाउमा पस्छ । ती गाडीहरूको चमक र बस्तीको हिलोबीच यस्तो विरोधाभास थियो, मानौँ एउटा सुकिला मुकुण्डो लगाएको मान्छेले सडिरहेको लासलाई चुम्बन गर्न खोज्दैछ ।
“नमस्ते ! आमा, बुबा, दिदीबहिनीहरू !” उम्मेदवारका ओठबाट निस्किएका शब्दहरूमा महको लेपन थियो । बस्तीका मान्छेहरूले आफ्ना चाउरिएका गाला र रित्ता आँखाले ती सुकिला मान्छेहरूलाई ट्वाल्ल परेर हेरिरहे । उनीहरूका लागि राजनीति एउटा टाढाको आकाश जस्तो थियो, जहाँ बादल त लाग्थ्यो तर पानी कहिल्यै उनीहरूको सुक्खा खेतमा पर्दैनथ्यो । तर यस पटकको ‘आश्वासन’ अलि फरक र गुलियो थियो ।
नेताले एउटा पुरानो काठको बाकसमाथि उभिएर भाषण ठोके । उनको आवाजमा अभिनयको त्यो उचाइ थियो, जसले मञ्चको नाटकलाई पनि माथ गर्थ्यो । “यो सुकुम्बासी बस्ती अब सुकुम्बासी रहने छैन । तपाईंको हातमा लालपुर्जा हुनेछ । यो जमिन, जहाँ तपाईंको पसिना बगेको छ, त्यो कानुनी रूपमा तपाईंको हुनेछ । हामी डोजर होइन, विकास लिएर आउनेछौँ ।”
हर्कमानले आफ्नो खल्तीमा रहेको च्यातिएको नोट छाम्यो । उसलाई लाग्यो, शायद यो अन्तिम पटक हो कि उसले अभावमा बाँच्नुपर्नेछ । “झूट भनेको मालिक र दासहरूको धर्म हो,” तर सत्य भनेको स्वतन्त्र मान्छेको ईश्वर हो । यहाँ बस्तीका मान्छेहरूलाई ‘झूट’ को अफिम खुवाइँदै थियो ताकि उनीहरूले आफ्नो भोक बिर्सियोस् । नेताका प्रत्येक शब्दमा एउटा सपनाको महल ठडिँदै थियो, तर त्यो महलको जगमा उनीहरूकै चिहान खनिँदैछ भन्ने कसैले चाल पाएनन् ।
प्रचारप्रसारको शैली आक्रामक थियो । कार्यकर्ताहरूले घरघरमा पुगेर गोप्य रुपमा रक्सीका बोतल र मासुका प्याकेटहरू बाँड्न थाले । त्यो मासुको स्वादमा कतै न कतै आफ्नै भविष्यको मासु काटिएको गन्ध आउँथ्यो, तर भोक यस्तो चिज हो जसले नैतिकताको तर्कलाई सजिलै पराजित गरिदिन्छ । हर्कमानकी छिमेकी सानीले भनी, “हर्कमान दाइ, यसपालि त पक्का दिन्छन् रे त ! नेताले मेरो टाउकोमा हात राखेर कसम खाएका छन् ।” हर्कमानले मधुरो मुस्कान दियो, तर उसको मनभित्र एउटा सन्देहको कीराले टोकिरहेको थियो ।
“भोट माग्न झुकेको नेताको शिर र शिकार समात्न निहुरिएको बाघको शरीर-दुवैको उद्देश्य एउटै हुन्छ: झम्टिनु अघिको तयारी ।”
बस्तीका भित्ताहरू ‘युवा नेतृत्व’, ‘जान्नेलाई छान्ने’ ‘क्रान्ति’, ‘परिवर्तन’, ‘चुपचाप ….छाप’ र ‘नयाँ युग’ का नाराले भरिए । ती अक्षरहरू ताजा र चहकिला थिए, तर ती भित्ताहरू आफैँमा मक्किएका र ढल्न लागेका थिए । चुनाव एउटा यस्तो मौसम बनेर आयो, जसले गरिबलाई केही समयका लागि ‘मान्छे’ भएको भ्रम दियो । उनीहरूलाई लाग्यो कि उनीहरूको एउटा भोटले सत्ता पल्टाउन सक्छ, तर उनीहरूले यो बुझेनन् कि सत्ताले उनीहरूलाई पहिले नै पल्टाइसकेको थियो ।
साँझतिर, जब प्रचारकहरूको टोली फर्कियो, बस्ती फेरि उस्तै अन्धकार र शून्यतामा डुब्यो । छोडिएका पर्चाहरू हिलोमा कुल्चिएका थिए । हर्कमानले एउटा पर्चा उठायो, जसमा लेखिएको थियो- “करारनामा: तपाईंको भविष्य, हाम्रो संकल्प ।” उसले त्यसलाई खुम्च्यायो र आगो फुक्न प्रयोग गर्यो । चुल्होबाट निस्किएको धुवाँले उसको आँखा चसक्क भयो । त्यो आँशु धूँवाको कारण थियो कि भोलिको अनिश्चितताको कारण, भन्न गाह्रो थियो ।
यसरी, आशाको एउटा यस्तो विष वृक्ष रोपियो, जसको फलले अन्ततः सिङ्गो बस्तीलाई नै सखाप पार्नु थियो । यहाँ मानवताको अपमान ‘सम्मान’ को मुकुण्डो लगाएर भित्रिएको थियो । प्रचारप्रसार केवल भोट माग्ने माध्यम थिएन, यो त ती निमुखा मान्छेहरूको आत्मालाई खरिद गर्ने एउटा कानुनी प्रक्रिया थियो । राज्यले आफ्नो शिकार छान्नुभन्दा अगाडि उसलाई ‘आश्वासन’ को मिठो चारा हालिरहेको थियो ।
खण्ड- २
बस्तीमा एउटा विचित्रको छटपटी थियो । बिहानको कलिलो घाम झुप्राहरूका प्वालबाट छिरेर हर्कमानको अनुहारमा ठोक्कियो । उसले आफ्नो सिरानीमुनि जतनले राखेको त्यो रातो रङको मतदाता परिचयपत्र निकाल्यो । उसका लागि त्यो केवल एउटा कार्ड थिएन, बरु एउटा जादुई ढाल थियो, जसले भोलि आउने डोजर र भोकलाई रोक्ने सामर्थ्य राख्छ भन्ने उसलाई विश्वास दिलाइएको थियो ।
हर्कमान जसरी आफ्नो अस्तित्वको प्रमाण खोज्न छटपटाइरहेको छ, त्यसरी नै बस्तीका मान्छेहरू आज ‘नागरिक’ भएको उत्सव मनाउन लामबद्ध थिए । स्कुलको चौरमा लागेको त्यो लामो लाइनमा हर्कमान उभियो । उसको अगाडि साइँला थियो, जसको शरीरमा झुत्रो कमिज थियो तर आँखामा एउटा चमक ।” आज त पक्का हो हर्कमान दाइ, हाम्रो औँलाको यो मसीले भोलि हाम्रो निधारको दुःख पुछ्नेछ,” साइँलाले सुस्तरी भन्यो । हर्कमानले टाउको हल्लायो, तर उसको भित्री मनले कताकता चिसो महसुस गरिरहेको थियो ।
लाइन बिस्तारै अगाडि बढ्दै थियो । सुरक्षाकर्मीका बुटहरूको आवाज र कडा नजरले त्यहाँको वातावरणलाई थप शान्त बनाएको थियो । जब हर्कमानको पालो आयो, उसले मतदान केन्द्रभित्र छिर्दा एउटा मन्दिर पसेजस्तो पवित्रता महसुस गर्यो । कर्मचारीले उसको नाम सोध्यो, कागजात जाँच्यो र उसको देब्रे हातको खुम्चिएको औँलामा नीलो मसीको एउटा थोपा लगाइदियो । त्यो चिसो मसीको स्पर्शले हर्कमानको शरीरमा एउटा तरङ्ग पैदा गर्यो । उसलाई लाग्यो, यो मसी होइन, यो त राज्यले उसलाई दिएको एउटा ‘सुरक्षा कवच’ हो ।
बाकसको नजिक पुगेर उसले स्वस्तिक छाप उठायो । केही पल ऊ रोकियो । उसको हात काँपिरहेको थियो । तर त्यहाँ मतपत्रमा छाप लगाउँदै गर्दा हर्कमानलाई आफू ‘मान्छे’ भन्दा बढी एउटा ‘औजार’ जस्तो महसुस भइरहेको थियो, जसलाई पाँच वर्षमा एक पटक मात्र धार लगाइन्छ । उसले त्यसैलाई छाप लगायो, जसले हिजो उसको बस्तीमा आएर ‘लालपुर्जा’ को सपना बेचेको थियो ।
मतदान गरेर बाहिर निस्कँदा हर्कमानले आफ्नो नीलो औँलालाई घामतिर फर्काएर हेर्यो । ऊ दङ्ग थियो । तर उसले यो बुझ्न सकेन कि त्यो मसी वास्तवमा उसको दासत्वको नवीकरण थियो । राज्यले उसलाई एउटा सानो कोठामा बोलाएर उसको मञ्जुरी लिएको थियो-आफैँमाथि शासन गर्ने, आफैँलाई लुट्ने र आफैँलाई उठीबास लगाउने कानुनी अनुमति ।
बस्तीका अरू मान्छेहरू पनि मसी लागेको औँला देखाउँदै हाँसिरहेका थिए । उनीहरूले सोचे-आज हामीले ‘शक्ति’ प्रयोग गर्यौँ । उनीहरूलाई थाहा थिएन, त्यो शक्ति त मतदान केन्द्रको ढोकाबाट बाहिर निस्कनेबित्तिकै ती चिल्ला गाडीमा बसेर शहरतिर उडिसकेको थियो । गरीबलाई झूटो आश्वासन बाड्नेहरू रक्सीको नशामा सत्य बिर्सिन्छन्, त्यसरी नै यी सुकुम्बासीहरू ‘लोकतन्त्र’ को नशामा आफ्नो वास्तविक हैसियत बिर्सिरहेका थिए ।
साँझ पर्यो । मतदान सकियो । मतपेटिकाहरू कडा सुरक्षाकाबीच सेनाले शहरतिर लग्यो । बस्तीमा फेरि उही अँध्यारो र उही अनिश्चितता फर्कियो । हर्कमानले आफ्नो ओछ्यानमा पल्टिएर आफ्नो औँला सुँघ्यो-त्यहाँ मसीको एउटा टर्रो गन्ध थियो । उसलाई थाहा थिएन, त्यो गन्ध उसको विजयको सुगन्ध होइन, बरु एउटा ठूलो षड्यन्त्रको दुर्गन्ध थियो । उसले गर्वका साथ लगाएको त्यो नीलो दाग, वास्तवमा भोलि उसको विनाशको वारेन्टमा लाग्ने छापको पूर्व-संकेत थियो ।
जसरी नाटकको अन्त्यमा भ्रमहरू टुट्छन्, त्यसरी नै यो मसी पनि केही दिनमा मेटिनेवाला थियो । तर त्यो मसीले दिएको कानुनी अधिकार प्रयोग गरेर जो सत्तामा पुग्दै थिए, उनीहरूले अब यस्तो खेल खेल्नेवाला थिए, जहाँ यो औँला र यो टाउकोको कुनै मूल्य रहने थिएन । शिकारलाई चारा हालिसकिएको थियो, अब पालैपालो जाल तान्ने बेला मात्र बाँकी थियो ।
खण्ड- ३
बस्तीमा मसीको दाग अझै मेटिएको थिएन, तर शहरका ठूला होटल र सिंहदरबारका बन्द कोठाहरूमा ‘अंकगणित’ को खेल शुरु भइसकेको थियो । हर्कमानले रेडियोको पुरानो ब्याट्री घाममा सुकायो र समाचार सुन्न खोज्यो । रेडियोबाट आउने कर्कश आवाजमा ‘शक्ति सन्तुलन’, ‘भागबन्डा’ र ‘मन्त्रालय’ जस्ता शब्दहरू ठोकिन्थे । हर्कमानका लागि ती शब्दहरू कुनै विदेशी भाषा जस्तै थिए, तर उसलाई विश्वास थियो-आफ्नो मतबाट बन्ने सरकारले, उसका सपना साकार पार्नेछ ।
निर्वाचन परिणामसँगै दृश्यहरू फेरिन थाले- एकातिर अँध्यारो झुपडी थियो भने अर्कोतिर चहकिलो झल्लर बलेको महल । महलमा आज उत्सव थियो । हिजो सडकसम्म ओर्लिएर “हामी तपाईंकै सेवक हौँ” भन्नेहरू आज मखमली कुर्सीमा विराजमान थिए । शपथ ग्रहणको दृश्य टिभीमा देखिँदा हर्कमानले छिमेकीको पसलमा उभिएर हेर्यो । नेताका शरीरमा अब खाँडीका कुर्ता होइन, विदेशी सुटहरू टल्किएका थिए । उनीहरूले ईश्वर र जनताको नाममा शपथ खाए । तर, हर्कमानले ध्यान दिएर हेर्यो-शपथ खाँदै गर्दा ती हातहरूमा कतै पनि मसीको दाग थिएन, जुन दाग उसको आफ्नै औँलामा अझै गाढा थियो ।
“अब त हाम्रो पालो आउला नि हर्कमान दाइ ?” साइँलाले आशावादी हुँदै सोध्यो ।
हर्कमानले भन्यो, “पक्कै आउँछ, साइँला । उनीहरूले त कसम नै खाएका छन् नि ।” तर त्यो कसम केवल एउटा औपचारिक नाटक थियो । यहाँ सरकार निर्माण एउटा यस्तो ‘कर्तव्य’ बनिरहेको थियो, जहाँ जनताको सेवा होइन, स्वार्थको व्यवस्थापन प्राथमिकतामा थियो । सरकार बन्यो, मन्त्रीहरूले कार्यभार सम्हाले र पहिलो पटक उनीहरूले हस्ताक्षर गरेको फाइलमा सुकुम्बासीका लागि कुनै शब्द थिएन, तर उनीहरूको विरुद्ध गोप्य आज्ञाप्तिमा विकास विरोधी-आतंककारीको बिल्ला लगाइएको थियो । साथसाथै, ठूला व्यापारीका कर छुट र आफ्ना आसेपासेका नियुक्तिका सूचीहरू थिए ।
“मतपत्रको त्यो सानो टुक्रामा छाप लगाउँदा मलाई लाग्यो म भाग्य विधाता हुँ, तर वास्तवमा म त आफ्नै विनाशको वारेन्टमा हस्ताक्षर गरिरहेको एउटा लाचार साक्षी मात्र रहेछु ।”
बस्तीमा साँझ पर्दा मान्छेहरूले दीपावली गरे । उनीहरूलाई लाग्यो, “हाम्रो सरकार आयो ।” तर उनीहरूले यो बुझेनन् कि सरकार कहिल्यै ‘गरिबको’ हुँदैन; सरकार त केवल ‘नियम र कानुन’ को एउटा निर्जीव मेसिन हो, जसलाई चलाउने चालकहरू अहिले महलको न्यानोमा बसेर नयाँ योजना बुन्दै थिए । ती योजनाहरूमा बस्तीलाई कसरी सुन्दर बनाउने भन्ने होइन, बरु शहरको ‘सौन्दर्य’ का लागि यो बस्तीलाई कसरी पन्छाउने भन्ने छलफल चल्न थालिसकेको थियो ।
शहरका अखबारहरूले लेखे-“नयाँ सरकार, नयाँ आशा ।” तर हर्कमानको भान्सामा उही धुवाँ थियो, उही खाली थालहरू थिए । सरकार निर्माणको त्यो भव्य उत्सव र शपथको गम्भीरता बस्तीको हिलो र गरिबीभन्दा यति टाढा थियो कि मानौँ ती दुई फरकफरक ग्रहका घटना हुन् । हिजो हात जोड्दै आएका कार्यकर्ताहरू आज ‘माननीय’ का वरिपरि पीए र सुरक्षाकर्मीको घेरा बनेर उभिएका थिए । हर्कमान अब उनीहरूसम्म पुग्न सक्ने कुनै बाटो बाँकी थिएन ।
“महलको भव्यता र झुप्रोको दारुणताबीच यस्तो पर्खाल ठडिएको छ, जहाँ शासकका उत्सवको ध्वनि गरिबका चित्कारभन्दा सधैँ चर्को हुने गर्छ ।”
रात छिप्पिँदै जाँदा, महलको उज्यालोमा चम्पेनका गिलासहरू ठोक्किए । सत्ताको नशामा मत्त भएकाहरूलाई यो पनि याद रहेन कि ती गिलासहरूमा जो मदिरा छ, त्यो वास्तवमा हर्कमान जस्ता हजारौँ निमुखाले तिरेको नुनको करबाट आएको हो । गरीबहरू जसरी अन्धकारमा बसेर न्यायको प्रतीक्षा गर्छन्, हर्कमान पनि त्यसरी नै आफ्नो सानो रेडियो समातेर सुतिरहेको थियो-यो भ्रममा कि भोलिको घामले उसको भागको न्याय बोकेर आउनेछ ।
वास्तवमा, सरकार निर्माणको त्यो प्रक्रिया एउटा यस्तो पर्खाल थियो, जसले शासक र शासितबीचको दूरीलाई कानुनी रूपमा वैधानिकता दिएको थियो । हर्कमानले दिएको भोट अब एउटा तथ्याङ्क मात्र बनिसकेको थियो, जसको उपयोग सत्ताको सिँढी चढ्न भइसकेको थियो । अब सिँढी चढिसकेपछि, त्यो सिँढीलाई लात्तीले हिर्काउने तयारी भइरहेको थियो ।
खण्ड-४
महलमा उत्सव सकिएपछि अब ‘काम’ शुरु भएको थियो । तर त्यो काम हर्कमानको भान्सा बनाउने होइन, बरु शहरको नक्साबाट हर्कमानको अस्तित्व मेटाउने थियो । सिंहदरबारका सुकिला टेबुलहरूमा फाइलहरू सरे । एसीको चिसो हावा चल्ने कोठाहरूमा बसेर शासकहरूले ‘सुन्दर शहर’ र ‘स्मार्ट सिटी’ का सपनाहरूमा रङ भर्न थाले । ती रङहरूमा गरिबको रगत मिसिएको छ भन्ने कुरा फाइलको टाइपिस्टलाई पनि थाहा थिएन ।
सरकारी मिडियाबाट त्रासदीपूर्ण निर्णयहरू बाहिर आउन थाल्यो, जसरी मानिसहरू अदृश्य शक्तिको डरले काँप्छन्, अब बस्तीमा त्यस्तै एउटा अदृश्य त्रासको छाया मडारिन थाल्यो । एक दिन सरकारी रेडियो र अखबारहरूले एउटा ‘आज्ञप्ती’ जारी गरे- “सार्वजनिक जमिनमा भएका सबै अवैध संरचनाहरू तीन दिनभित्र खाली गर्नू, अन्यथा राज्यले बल प्रयोग गर्नेछ ।”
हर्कमानले जब यो खबर सुन्यो, उसको हातबाट चियाको गिलास भुइँमा खस्यो । “अवैध संरचना ?” उसले आफैँलाई सोध्यो । हिजो चुनावका बेला यही झुपडीलाई ‘लालपुर्जा दिने आधार’ भन्नेहरूले आज यसलाई ‘अवैध’ घोषणा गरे ? राज्यको भाषा कति छिटो बदलिँदो रहेछ ! हिजो भोट माग्दा ऊ ‘आदरणीय नागरिक’ थियो, आज सरकार बनेपछि ऊ केवल एउटा ‘अतिक्रमणकारी’ बन्यो ।
शहरका शिक्षित र सुकिला मान्छेहरूले चिया पसलमा बसेर छलफल गरे- “हो, शहर साह्रै फोहोर भयो, यी सुकुम्बासीहरूले गर्दा दुर्गन्ध फैलियो, यिनीहरूलाई नहटाई शहर बन्दैन ।” “क्रूरता भनेको त्यो हो, जो मान्छेले अर्को मान्छेप्रति देखाउँछ ।” यहाँ राज्य नै क्रूर बनिरहेको थियो । सरकारले जारी गरेका ती आज्ञप्तीहरूमा कतै पनि विकल्प थिएन । कतै पनि यो लेखिएको थिएन कि ती हजारौँ मान्छेहरू कहाँ जानेछन् ? उनीहरूका छोराछोरीको स्कुल के हुनेछ ? उनीहरूको बिरामी वृद्ध बाबुको ओछ्यान कहाँ सर्नेछ ? सुत्केरी महिला र बच्चाको भान्सा कुन हो ?
हर्कमान र साइँलाहरू नेताको घर पुगे, जसलाई उनीहरूले भोट दिएर जिताएका थिए । तर त्यहाँ ‘माननीय’ को दर्शन पाउन सम्भव थिएन । गेटमा बसेका सुरक्षाकर्मीले उनीहरूलाई यसरी हेरे, मानौँ उनीहरू कुनै सरुवा रोग बोकेका कीटाणु हुन् । “मन्त्रीज्यू व्यस्त हुनुहुन्छ, आज्ञप्ती फिर्ता हुँदैन, यो त क्याबिनेटको निर्णय हो,” जवाफ आयो ।
हर्कमानले बुझ्यो-त्यो ‘क्याबिनेट’ एउटा यस्तो मेसिन रहेछ, जसले गरिबको सपनालाई कागजको टुक्रामा बदलेर रद्दीको टोकरीमा फालिदिन्छ । आज्ञप्तीका प्रत्येक अक्षरहरूले हर्कमानको छातीमा तीरझैँ बिझिरहेका थिए । कानुनको दफा र उपदफाहरू यति तिखा थिए कि तिनले हर्कमानको मानवतालाई छियाछिया पारिरहेका थिए ।
बस्तीमा अब रुवाबासी शुरु भयो । मान्छेहरूले आफ्ना स-साना पोकापुन्तरा बाँध्न थाले । कतिपयले त चुनावमा पाएका ती झण्डाहरूलाई नै पोको बाँध्ने डोरी बनाए । राज्यले ‘विकास’ को नाममा आफ्नै नागरिकमाथि युद्धको घोषणा गरेको थियो । हर्कमानले आफ्नो औँलाको त्यो मसीको दागलाई हेर्यो, जो अझै हल्का नीलो देखिँदै थियो । उसलाई महसुस भयो-यो मसी त वास्तवमा एउटा सम्झौता रहेछ, जहाँ उसले आफैँलाई वध गर्नका लागि जल्लादलाई अनुमति दिएको थियो ।
“कानुनको कलममा दया हुँदैन, त्यहाँ त केवल सत्ताको स्वार्थ र कागजको क्रूरता हुन्छ; जसले एउटा नागरिकलाई एकै रातमा अतिक्रमकारी बनाइदिन सक्छ ।”
राज्यको कलमले कोरेको त्यो एउटा रेखाले हर्कमानको घर र सडकको बीचको दूरी मेटाइदियो । अब हर्कमानको घर, घर रहेन, त्यो केवल एउटा ‘अतिक्रमण’ भयो, जसलाई कुनै पनि बेला डोजरले नामेट पार्न सक्थ्यो । शासकहरूले यस्तो नियम बनाएका थिए, जहाँ गरिब हुनु नै सबैभन्दा ठूलो अपराध थियो । आज्ञप्ती जारी भयो-अब कार्यान्वयनको पालो थियो, र त्यो कार्यान्वयन फलामको दाँत भएको डोजरले गर्नेवाला थियो ।
खण्ड- ५
बिहानको ६ मात्र बजेको थियो । बस्तीमा अझै चियाको धुवाँ राम्रोसँग सल्किसकेको थिएन । अचानक जमिन थर्कन थाल्यो । टाढाबाट एउटा यस्तो ठूलो आवाज आयो, मानौँ कुनै विशाल राक्षसले आफ्नो दाँत किटिरहेको छ । हर्कमान ढोकामा निस्कियो र देख्यो-पहेंलो रङका ‘डोजर’ हरू यमराजका दूत जस्तै लाइन लागेर आउँदै थिए । उनीहरूको अगाडि सेना, सशस्त्र प्रहरी र नगर प्रहरीको एउटा ठूलो जत्था थियो, जसका हातमा लाठी र बन्दुक मात्र थिएनन्, आँखामा एउटा यस्तो कठोरता थियो जसले भन्थ्यो- “तिमीहरू मान्छे होइनौ, तिमीहरू आतंककारी हौ, विकासका अवरोध हौ ।”
बस्तीमा अचानक कोलाहल मच्चियो । “भत्काउन शुरु गर !” एउटा सुकिलो मानिससँगै उभिएको बर्दीधारी अफिसरले आदेश दियो । पहिलो प्रहार साइँलाको झुप्रोमा भयो । फलामको त्यो विशाल पञ्जाले जस्ताको छानालाई एउटा कागजको टुक्रालाईझैँ निमोठ्यो । साइँलाकी बूढी आमा भित्रै थिइन् । उनी चिच्याउँदै बाहिर निस्किइन् । तर डोजरको आवाज यति ठूलो थियो कि गरिबको चित्कार त्यसमा विलीन भयो । हर्कमानले आफ्ना केही सरसामान जोगाउन खोज्यो-एउटा पुरानो बाकस, छोराको स्कुलको झोला, र एउटा सानो ग्यास चुल्हो । तर प्रहरीको लाठीले उसको ढाडमा प्रहार गर्यो । “हट यहाँबाट !” उनीहरूले गर्जिए ।
बस्तीमा जताततै धुलो र धुवाँ फैलियो । पुस्तौंदेखि पसिना बगाएर ठड्याइएका ती भित्ताहरू सेकेन्डभरमै माटोमा मिले । हर्कमानले देख्यो-हिजो चुनावमा ऊसँग हात मिलाउने कार्यकर्ता आज डोजरको पछाडि उभिएर मुस्कुराहटको साथ फोटो खिचिरहेको थियो । मानौँ, एउटा महान् विजय प्राप्त भइरहेको छ । कसैका लागि यो ‘शहरको सौन्दर्यीकरण’ थियो, तर हर्कमानका लागि यो उसको सिङ्गै अस्तित्वको अन्त्य थियो ।
एकै छिनमा सिङ्गो बस्ती एउटा युद्धभूमि जस्तो देखियो । जहाँ हिजो बालबालिकाहरू खेल्थे, त्यहाँ आज ईटाका टुक्राहरू टिनका पाताहरू, डण्डीहरू, भाँडाकुडा र च्यातिएका कपडा छरिएका थिए । हर्कमानकी श्रीमती हिलोमा बसेर रोइरहेकी थिइन्, उसको हातमा एउटा च्यातिएको फ्रेम थियो, जसमा उसको परिवारको पुरानो फोटो थियो । “मान्छेले सबै कुरा सहन्छ, तर जब उसको आत्मसम्मानमा डोजर चल्छ, तब ऊ केवल एउटा लास बन्छ ।”
मुसलधारे पानी पर्न थाल्यो, तर ती मान्छेहरूको ओत खोसिएको थियो । राज्यले आफ्नो ‘आदेश’ पूरा गरेको थियो । एउटा ठूलो होर्डिङ बोर्डमा लेखिएको थियो- “हाम्रो शहर, राम्रो शहर ।” त्यसैको मुनि हजारौँ मान्छेहरू घरबारविहीन भएर आकाशतिर हेर्दै थिए । हर्कमानले आफ्नो च्यातिएको नागरिकताको प्रमाणपत्र धूलोबाट उठायो । उसलाई लाग्यो, यो कागजको टुक्राले उसलाई घर त दिन सकेन, तर एउटा परिचय दिएको थियो- ‘राज्यद्वारा शिकार भएको एउटा अभागी ।’
“जब विकासको नाममा फलामका डोजरहरू चल्छन्, त्यहाँ केवल माटोका भित्ताहरू ढल्दैनन्, बरु राज्यप्रतिको अन्तिम भरोसा र एउटा मान्छेको आत्मसम्मान पनि सँगै कुल्चिइन्छ ।”
साँझसम्ममा त्यहाँ केवल भग्नावशेष मात्र बाँकी थियो । डोजरहरू काम सकेर फर्किए । सेना-पुलिसहरू पनि आफ्ना गाडीमा चढे । तर ती सयौँ परिवारहरू कहाँ जाने ? कसैलाई थाहा थिएन । उनीहरूका लागि अब सारा धर्ती नै एउटा खुला जेल जस्तो भएको थियो । हर्कमानले पुनः आफ्नो औँलाको त्यो मसीको दागतिर हेर्यो- त्यो दाग उसको अपमानको प्रतीक बनेको थियो । उसले त्यही औँलाले त्यो शक्तिलाई चुनेको थियो, जसले आज उसको बास मात्र खोसेन, उसको अस्तित्वमाथि नै फलामको दाँतले प्रहार गर्यो ।
खण्ड- ६
बस्ती उजाडिएको दोस्रो रात । आकाशबाट मुसलधारे पानी परिरहेको थियो, तर ओत लाग्नका लागि न त जस्ताको पाता बाँकी थियो, न त झुप्रोको त्यो पुरानो ओछ्यान । भग्नावशेषको एउटा कुनामा हर्कमान र साइँला बसेका थिए । साइँलाको आँखामा एउटा यस्तो शून्यता थियो, जुन कुनै पनि आँशुभन्दा भयानक देखिन्थ्यो । ऊ एकतमासले त्यो डोजरले कुल्चिएको आफ्नो छोराको कापीकलम र पुस्तकलाई हेरिरहेको थियो ।
“हर्कमान दाइ,” साइँलाले सुस्तरी भन्यो, “हामीले राज्यको के बिराएका थियौँ र ? हामीले त भोट दिएका थियौँ, कर तिरेका थियौँ । के गरिब हुनु नै यति ठूलो पाप हो कि हामीलाई आफ्नै धर्तीमा पशुभन्दा पनि नीच बनाइयो ?”
हर्कमानसँग कुनै जवाफ थिएन । उसले जीवनको अन्तिम किनारामा पुगेको महसुस गर्यो, अनि ईश्वर र न्यायलाई धिक्कार्यो, साइँलाको मौनताले पनि त्यही गरिरहेको थियो । मध्यरातमा साइँला बिस्तारै उठ्यो । हर्कमानलाई लाग्यो, ऊ कतै पानी पिउन वा शौच गर्न गयो होला । तर साइँला फर्किएन ।
भोलिपल्ट बिहान, जब झुल्किएको घामले भत्किएका पर्खालहरूलाई चुम्यो, बस्तीको छेउमा रहेको पुलमुनि एउटा विभत्स दृश्य देखियो । साइँला लडिरहेको थियो । उसको शरीर पानीमा तैरिरहेको थियो । उसको सर्टको खल्तीमा च्यातिएको कागजको टुक्रा देखियो-त्यो त्यही मतदाता परिचयपत्र थियो, जसलाई उसले आफ्नो भाग्यको साँचो ठानेको थियो ।
बस्तीमा रुवाबासी चल्यो, तर त्यो चित्कार शहरको कोलाहलमा कतै हरायो । प्रहरी आयो, मुचुल्का उठायो, र साइँलाको लासलाई एउटा कालो प्लास्टिकमा बेरेर गाडीमा हाल्यो । सरकारी कर्मचारीले रिपोर्टमा लेख्यो-“व्यक्तिगत तनावका कारण आत्महत्या ।” तर हर्कमानलाई थाहा थियो, यो आत्महत्या थिएन । यो त राज्यले गरेको एउटा ‘कानुनी हत्या’ थियो ।
“जहाँ न्याय मर्दछ, त्यहाँ शान्ति केवल एउटा लासको मौनता मात्र हो ।” साइँलाले हार स्वीकार गरेको थिएन, उसले त आफ्नो मृत्युमार्फत राज्यको त्यो क्रूर ‘विकास’ लाई गिज्याइरहेको थियो । हर्कमानले देख्यो, साइँलाको त्यो नीलो मसी लागेको औँला अहिले पहेँलो भइसकेको थियो । त्यो मसी, जसले उसलाई सपना देखाएको थियो, अन्ततः उसको अन्तिम साक्षी बनेर रह्यो ।
“आत्महत्या गर्नेले हार मानेको हुँदैन, बरु उसले आफ्नो मृत्युमार्फत जीवितहरूको समाज र मृत राज्यको विवेकलाई एउटा अन्तिम र भयानक प्रश्न सोधिरहेको हुन्छ ।”
साँझ फेरि शहरका बत्तीहरू झिलिमिली बले । मन्त्रीहरूले एउटा अर्को सम्झौतामा हस्ताक्षर गरे । कसैलाई याद भएन कि एउटा नदीमा एकजना मान्छेको आशा र अस्तित्वसँगै समाप्त भएको थियो । हर्कमानले साइँलाको त्यो च्यातिएको परिचयपत्र खल्तीबाट उठायो र आफ्नो मुट्ठीमा कस्यो । उसको मनमा अब दुःख होइन, एउटा भयानक आक्रोश र शून्यताको जन्म भयो । राज्यले शिकार खेलिरहेको थियो र साइँला त्यो खेलको एउटा सानो अंश मात्र थियो ।
खण्ड- ७
सुकुम्बासी बस्तीको भग्नावशेषबाट केही मानिसहरूलाई पशुझैँ ट्रकमा कोचेर शहरको एउटा कुनामा रहेको ‘होल्डिङ सेल्टर’ पुर्याइयो । राज्यले यसलाई ‘पुनर्स्थापना’ को नाम दिएको थियो, तर यो त केवल एउटा विशाल कङ्क्रिटको पिँजडा थियो । एउटै हलभित्र सयौँ परिवार । न हावा छिर्ने झ्याल, न त मान्छेको मर्यादा जोगाउने कुनै गोपनीयता । त्यहाँको गन्धमा पसिना, फोहोर र निराशाको मिश्रण थियो, जुन जेलको हिरासतलाई पनि माथ गर्थ्यो ।
“हामीलाई यहाँ किन ल्याएको ?” हर्कमानले एउटा सरकारी सुरक्षाकर्मीलाई सोध्यो । जवाफमा उसले एउटा चिसो हेराइ र लाठीको ठोकन मात्र पायो । “चुपचाप बस्, राज्यले सित्तैमा बास दिएको छ, खान दिएको छ, अझै कति नखरा ?”
त्यो ‘सित्तैको खान’ एउटा अपमानको डल्लो थियो । एउटा ठूलो बाल्टिनमा ल्याइएको बासी जाउलो लिन मान्छेहरू लाइन लाग्नुपर्थ्यो । हर्कमानले आफ्नो थालमा त्यो जाउलो थाप्दा उसलाई महसुस भयो-उसको नागरिकको हैसियत अब समाप्त भइसकेको छ । ऊ अब केवल एउटा ‘नम्बर’ थियो, जसलाई राज्यले जीवित राख्नुपर्ने एउटा बोझ ठानेको थियो । त्यहाँ बिरामीहरू खोकिरहेका थिए, बालबालिकाहरू भोकले रोइरहेका थिए र वृद्धहरू शून्यतामा हेरेर आफ्नो मृत्यु पर्खिरहेका थिए, सुत्केरीहरू पोसिलो खानाको अभावमा दूध नआएर बच्चा रुवाइरहेका थिए ।
होल्डिङ सेल्टरमा हर्कमानले आफ्नै आत्मा बिस्तारै मरिरहेको महसुस गर्यो । त्यहाँ कुनै तर्क चल्दैनथ्यो, कुनै मानवीय संवेदनाको ठाउँ थिएन । राज्यका मान्छेहरू कहिलेकाहीँ क्यामेरा लिएर आउँथे, उनीहरूलाई खाना बाँडेको फोटो खिच्थे र “हामीले सुकुम्बासीको व्यवस्थापन गर्यौँ” भन्दै शहरतिर फर्किन्थे । त्यो फोटोमा हाँस्न बाध्य पारिएका अनुहारहरूभित्र कति ठूलो ज्वालामुखी दन्किरहेको छ, त्यो लेन्सले देख्न सक्दैनथ्यो ।
एक रात, हर्कमानले सेल्टरको एउटा कुनामा बसेर आफ्नो हत्केला हेर्यो । चुनावी प्रचारका बेलाका ती चिल्ला कुराहरू, मतदानको दिनको त्यो नीलो मसी, सरकार बनेपछिको त्यो भव्य उत्सव, आज्ञप्तीको त्यो धारिलो अक्षर, डोजरको नृशंसता र साइँलाको त्यो पानीमा डुबेको लास; यी सबै कुरा एउटा चलचित्रझैँ उसको आँखाअगाडि घुम्न थाले ।
उसले आफ्नो औँला सुँघ्यो । त्यो मसीको गन्ध अब हराइसकेको थियो, तर त्यसले छोडेको दाग उसको आत्मामा गहिरो भएर बसेको थियो । राज्यले उसलाई ‘शिकार’ बनाएको थियो-पहिले आश्वासन दिएर फसाएको थियो, त्यसपछि उसको श्रम र भोट लुटेको थियो, र अन्तमा उसलाई एउटा अर्थहीन वस्तुझैँ यो अस्थायी सेल्टरमा फालिदिएको थियो ।
“हामी मान्छे हौँ कि पशु ?” उसले अन्धकारमा एउटा प्रश्न फ्याँक्यो । तर त्यहाँ कोहीमा बोल्ने आँट थिएन । केवल सेल्टरको बाहिर रहेको प्रहरीको बुटको आवाज ‘ठक-ठक’ गर्दै गुञ्जिरहेको थियो, जसले सम्झाइरहेको थियो कि यो ओत होइन, यो त राज्यको एउटा कानुनी हिरासत हो ।
आज हर्कमानले एउटा कुरा प्रष्टसँग बुझ्यो-जो राज्यको नाममा शक्तिमा पुग्छन्, उनीहरूका लागि ‘जनता’ केवल चुनावका बेला चाहिने औजार मात्र हुन् । जब काम सकिन्छ, औजारलाई फोहोरको टोकरीमा फालिन्छ । हर्कमान अब एउटा अध्येताझैँ यो समाजको क्रूर यथार्थलाई हेरिरहेको थियो । उसले बुझ्यो, उसको वास्तविक मुक्ति यो होल्डिङ सेल्टरमा होइन, बरु यो ‘शिकारी राज्य’ को विरुद्धमा उठ्ने चेतनामा छ ।
“हामीलाई पशुझैँ थुन्नेहरूले बिर्सिएका छन्-पशुले त केवल सहन्छ तर जब एउटा सचेत मान्छेलाई पशुवत व्यवहार गरिन्छ, उसको मौनताभित्र एउटा नयाँ विद्रोहको जन्म भइरहेको हुन्छ ।”
अँध्यारो हलको एउटा कुनाबाट कसैले सुस्तरी भन्यो, “भोलि फेरि चुनाव आउला नि ?”
हर्कमानले भुइँमा थुक्यो र आँखा चिम्लियो । अब उसलाई सपनाको लोभ थिएन, केवल यथार्थको त्यो तिखो पीडा थियो, जसले उसलाई भित्रभित्रै जलाइरहेको थियो । राज्यले शिकार गरेको त्यो क्षण अब एउटा इतिहास बनिसकेको थियो; जहाँ हर्कमानको व्यक्तिगत इतिहास, र सिङ्गो एउटा वर्गको कहिल्यै निको नहुने घाउ बल्झिरहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










