काठमाडौं । उपन्यासकार केनी पाण्डेको अंग्रेजी भाषामा लेखिएको उपन्यास ‘कन्भिक्ट’ आज काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा एक समारोहबीच लोकार्पण गरिएको छ । अटिजमलाई मूल विषयवस्तु बनाइएको यो उपन्यास लेखक पाण्डेको तेस्रो कृति हो ।

कार्यक्रमका प्रमुख अतिथि मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले कृतिको लोकार्पण गर्दै अटिजमलाई न्युरोलोजिकल समस्या भएको उल्लेख गर्नुभयो । उहाँले अटिजमले व्यक्तिको जैविक उमेर र मानसिक उमेरबीच असन्तुलन ल्याउने बताउँदै यस विषयमा राज्य, स्वास्थ्यकर्मी र समाज सबैको साझा भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कोइरालाले अटिजमसम्बन्धी सचेतना बढ्दै गए पनि सरकारी स्तरमा अझै पर्याप्त काम हुन नसकेको उल्लेख गर्दै यस्ता कृतिले समाजमा चेतना विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उपन्यासमा इरानको कुर्दिस्तानमा जन्मिएका उमर नामक २३ वर्षीय युवाको जीवनकथा केन्द्रमा रहेको छ, जो संज्ञानात्मक रूपमा आठ वर्षको बालकसरह व्यवहार गर्छन् । अटिजम भएका व्यक्तिको पारिवारिक संघर्ष, सामाजिक चुनौती, उपचार प्रयास र न्यायिक प्रक्रियामा देखिने जटिलता उपन्यासले विस्तृत रूपमा चित्रण गरेको छ । साथै अटिजम भएका व्यक्तिहरू कानुनी प्रक्रियामा परेमा देखिने समस्या र न्याय प्रणालीको सीमिततामाथि पनि कृतिले प्रश्न उठाएको छ ।

कार्यक्रममा बोल्दै राजदरबारका पूर्व प्रमुख संवाद सचिव चिरणशमशेर थापाले उपन्यासले अटिजमबारे तथ्यपरक जानकारीसहित परिवारले भोग्ने पीडा गहिरो रूपमा प्रस्तुत गरेको बताउनुभयो । जापानमा अध्ययन गर्नुभएकी डा. रोजिना पाण्डेले नेपालमा अटिजमबारे बुझाइ अझै कमजोर रहेको उल्लेख गर्दै समाजमा सचेतना अभिवृद्धि आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यस्तै साहित्यकार धीर भण्डारीले कृतिको पृष्ठभूमि, पात्र निर्माण र न्यायिक प्रक्रियामा देखिने अलमललाई उपन्यासले सूक्ष्म रूपमा विश्लेषण गरेको बताउनुभयो । सुवर्णकुमार कर्मचारीले विद्यालय तहमा अटिजमप्रति बुझाइ विस्तार गर्न यो पुस्तक उपयोगी हुने बताउँदै शिक्षक र अभिभावकले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

डाक्टर सुरेन्द्र केसीले गम्भीर सामाजिक–चिकित्सकीय विषयलाई आख्यानमा रूपान्तरण गर्नु लेखकको महत्वपूर्ण उपलब्धि भएको बताउँदै लेखकलाई बधाई दिनुभयो ।

कार्यक्रममा वक्ताहरूले उपन्यासले अटिजम, मानसिक स्वास्थ्य, पारिवारिक संघर्ष तथा सामाजिक चेतनालाई एकैसाथ उजागर गरेको उल्लेख गर्नुभयाे । उहाँहरूले यस कृतिले नेपालमा अटिजमबारे अध्ययन–अनुसन्धान र नीति निर्माणमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयाे ।

अन्त्यमा लेखक केनी पाण्डेले कृतिमार्फत अटिजमबारे बुझाइ विस्तार गर्ने प्रयास गरिएको बताउँदै सबै सहभागी र सहयोगीप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, चिकित्सक, प्रशासनिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । पुस्तक शब्दमिडिया प्रा.लि. (साहित्यपाेस्ट)ले प्रकाशन गरेकाे हाे ।