काठमाडौं । वासु शशी स्मृति परिषद्ले साहित्यकार वसन्त चौधरीलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८२’, साहित्यकार जयदेव भट्टराईलाई ‘वासु शशी स्रष्टा पुरस्कार–२०८२’ तथा साहित्यकार हरि मञ्जुश्रीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८२’ प्रदान गर्ने निर्णय गरेको छ।

परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। परिषद्का सदस्य–सचिव प्रद्युम्न जोशीका अनुसार कवि एवं नाटककार वासु शशीको ९०औँ जन्मजयन्तीका अवसरमा आगामी चैत १३ गते पुरस्कार समर्पण गरिनेछ।

पुरस्कारअन्तर्गत ‘वासु शशी साहित्य पुरस्कार’को राशि २५ हजार रुपैयाँ तथा ‘वासु शशी स्रष्टा पुरस्कार’को राशि २१ हजार रुपैयाँ रहेको छ।

चार दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय चौधरीका कविता, उपन्यास र निबन्धसहित डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन्। उहाँका राष्ट्रियता नदुखोस्, संवाद, मेरा डायरीका पानाहरू, मेघा र मेरा कविताहरू, तिमीविनाको म, जीवन–मन्त्र, देवयानी लगायत कृतिहरू चर्चित छन्।

त्यस्तै, नेपाली भाषा–साहित्यमा दीर्घकालीन योगदान पुर्‍याउँदै आउनुभएकाे भट्टराईका जीवनी, अनुसन्धान र सम्पादनसम्बन्धी डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन्। व्यक्तित्व र शब्दचित्र, साहित्यकार परिचय र अभिव्यक्ति, सन्दर्भ र खोजी, छाडेर जानेहरू, सय वर्षको कविता लगायत उहाँका कृतिहरू चर्चित छन्। उहाँले मधुपर्क र आरम्भ पत्रिकाको सम्पादनसमेत गर्नुभएकाे छ ।

साहित्यकार मञ्जुश्रीका कथा, कविता, उपन्यास, निबन्ध, जीवनी र अनुसन्धानसहित तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन्। उहाँका अनाहक उद्गारहरू, रहरहरूको लहर, फेरिएको पर्खाल, हरिमञ्जुश्रीका कथा, नानीबाबु र हामी केही बोल्न सकेनौँ, चालीसौँ शताब्दी लगायत कृतिहरू प्रकाशित छन् भने उहाँले एक सयभन्दा बढी कृतिको सम्पादनसमेत गर्नुभएकाे छ ।

वासु शशी साहित्य पुरस्कारबाट यसअघि विनोद अश्रुमाली, मञ्जु काँचुली, गणेश रसिक, अशेष मल्ल, हरि अधिकारी, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, इन्दिरा प्रसाई, राधेश्याम लेकाली, मोमिला, श्यामल, प्रतिसरा सायमीलगायत स्रष्टा पुरस्कृत भइसक्नुभएकाे छ । त्यसैगरी वासु शशी साहित्य सम्मानबाट तीर्थराज वन्त, तुलसी दिवस, यादव खरेल, शिव रेग्मी, परशु प्रधान, रमा शर्मा, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कर्ण शाक्यलगायत व्यक्तित्व सम्मानित भइसक्नुभएकाे छ ।