कवि एवं गीतकार बसन्त चौधरीको दुई काव्य-पुस्तक सार्वजनिक भएको छ । नेपाली कवितासङ्ग्रह ‘तिमीविनाको म’ तथा हिन्दी काव्य-सङ्ग्रह ‘अनेक पल और मैं’ को एक कार्यक्रममा बिच राजधानीमा लोकार्पण गरिएको हो ।
वरिष्ठ कवि तुलसी दिवस, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, कथाकार भुवन ढुङ्गाना र डा. करुणाशंकर उपाध्यायले चौधरीका पुस्तक लोकार्पण गरेका हुन् ।
कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले नेपाली कविता हिन्दी भाषामा स्थापित हुने बाटोमा रहेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘नेपाली भाषाका कविता हिन्दीका पाठकसम्म पुग्ने बाटो बलियो बन्दै गएको छ । बसन्त चौधरीले बहुल भाषामा साहित्य सृजना गरेर भाषान्तरको मार्ग खुल्ला गर्नुभएको छ । नेपालको नाम उँचो राख्नुभएको छ ।’
वरिष्ठ कवि तुलसी दिवसले बसन्त चौधरी सहृदयी कवि भएको उल्लेख गरे । दिवसले भने, ‘कविताको विविधता र शैलीगत भिन्नता हुँदाहुँदै पनि कविहरूबिच समानता हुन्छ । चौधरी मूलतः हृदयका कवि भएकाले स्थापित कविहरूका गुणसँग उनको निकटता देखिन्छ ।’
यस्तै मुम्बई विश्वविद्यालयका हिन्दी विभाग अध्यक्ष प्रा. डा. करुणाशंकर उपाध्यायले बसन्तका कविता र गीत मानव–मन र प्रकृतिको गहिरो आत्मबोधबाट सिर्जित भएको टिप्पणी गरे । उनका अनुसार चौधरीले बहुल भाषामा काव्य सृजना गरेर अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने बाटो तय गरेको बताए ।
समारोहमा कवि बसन्त चौधरीले सङ्ग्रहबाट दुई कविता वाचन गरेर सुनाएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।