साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

तीन स्रष्टालाई श्री लुनकरणदास‑गंगादेवी चौधरी सम्मान

श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई एक भव्य समारोहका बीच सम्मान गरेको छ।

साहित्यकला मन्दिर स्थापनाको २८ औँ वर्ष प्रवेशको अवसरमा मंगलबार वैशाख २७ गते काठमाडौँको अग्रवाल सेवाकेन्द्र भवनमा आयोजित समारोहका बीच तीन स्रष्टालाई सम्मान गरिएको हो।

bahulako diary small and inside post

साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धर, ‘सरस्वती सम्मान’ तेजेश्वर बाबु ग्वंगः र ‘नारायणगोपाल संगीत सम्मान’ न्हूछेबहादुर डंगोललाई प्रदान गरिएको हो। सम्मानित तीनै स्रष्टा ज्येष्ठ नागरिक हुनुहुन्छ।

समारोहमा प्रा.डा. उषा ठाकुर र साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरीले संयुक्त रुपमा तीन स्रष्टाहरुलाई नगद जनही १ लाख ५१ हजार, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

साहित्यकला मन्दिरले स्थापनाको वर्षदेखि नै विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। हालसम्म साहित्यकला मन्दिरबाट करिब १० दर्जन स्रष्टाहरूले सम्मान पाइसक्नु भएको छ ।

स्रष्टा सम्मान समारोहमा सम्मानित भएका स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धरले साहित्यकला मन्दिरले लामो समयदेखि सराहनीय काम गरिरहेको र यही कामका कारण साहित्य कलाको क्षेत्रमा यसले विशिष्ट स्थान बनाइसकेको बताउनुभयो। उहाँले साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरीले स्रष्टाहरूलाई सम्मान गर्ने कामको सुरुआत २८ वर्षअघि नै गरेको र अहिले यसले परम्पराका रुपमा निरन्तरता पाएकोमा खुसी व्यक्त गर्नुभयो।

साहित्यकला मन्दिरका अध्यक्ष तथा गीतकार वसन्त चौधरीले ‘स्रष्टा सम्मान’को २८ औँ वर्षको उत्सव मनाउन पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो। उहाँले सिर्जनामार्फत समाजका हरेक क्षेत्र प्रतिविम्बित हुने उल्लेख गर्दै सिर्जना समाजलाई नजिकबाट नियाल्ने ऐना रहेको बताए। ‘साहित्य होस् या संगीत, कला होस् या रंगमञ्च, यी सिर्जनशील विधाले सदैव हामीलाई अँध्यारोबाट उज्यालोतर्फको यात्रामा डोर्याउँछन्’, उहाँले भन्नुभयो, ‘भनिन्छ नि तमसोमा जोतिर्गमय। साहित्यकलाले हामीलाई मनको अन्धकारबाट निकालेर सिर्जनाको चहकिलो उज्यालोतर्फ डोर्याउँछ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. उषा ठाकुरले वसन्त चौधरीले साहित्य कला क्षेत्रका लागि निरन्तर गर्दै आउनुभएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । साहित्यकला मन्दिरले प्रत्येक वर्ष स्रष्टा सम्मान तथा विभिन्न कृतिहरुसमेत प्रकाशन गर्दै आएकोमा बधाइ दिँदै यस्तो कामले निरन्तरता पाउने अपेक्षासमेत व्यक्त गर्नुभयो। चौधरीको प्रयासले देशका साहित्य तथा कलामा जीवन समर्पित गर्नेहरूलाई प्रोत्साहन भइरहेको समेत उहाँको भनाइ थियो। वसन्त चौधरी सफल उद्योगपतिमात्र नभएर वरिष्ठ कवि, देशभक्त स्रष्टा तथा कर्मठ व्यक्तित्व रहेकोसमेत उहाँले सो क्रममा बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै वसन्त चौधरी फाउन्डेसनकी उपाध्यक्ष मेघा चौधरीले अग्रजलाई आदर र नयाँलाई प्रोत्साहन गर्ने आफूहरुको परिवारको परम्परा नै रहेको उल्लेख गर्दै आगामी दिनमा साहित्य कला क्षेत्रको उन्नयनमा अनवरत लागिरहने प्रतिबद्धता जनाउनुभयो।

साहित्यकला मन्दिरका उपाध्यक्ष वरिष्ठ कलाकार हरिहर शर्माले आफूहरूले सम्मानका लागि मूर्धन्य व्यक्तिको छनोट गर्ने गरेको र यसले सम्मानकै गरिमासमेत बढिरहेको उल्लेख गर्नुभयो।

समारोहमा डा. अस्मिता अर्यालद्वारा रचित पुस्तक ‘मैले बुझेको दुनियाँ’को लोकार्पणसमेत गरिएको थियो।

प्रतिक्रिया
Loading...